बाल अधिकार खै ?
आज अन्तर्राष्ट्रिय बालदिवस । बालदिवस होस् कि बाल अधिकार । केवल नारामा मात्र सिमित रहने गरेका छन् । यस वर्ष कोरोना संक्रमणका कारण लाखौ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । यस वर्ष त कोरोनाले शिक्षण संस्थाहरु बन्द भएकाले उनीहरु विद्यालय जान पाएनन् । तर कर्णाली प्रदेशमा कयौ बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । उनीहरुले शिक्षाको उज्यालो ज्योतिसँग साक्षात्कार गर्न नपाएपछि भविष्य स्वतः अन्धकारमा पर्ने निश्चित नै हुन्छ । बालबालिकाको अधिकार के हो ? उनीहरुले गर्न पाउने र नपाउने कार्यहरु के के हुन् ? यस्ता यावत कुराको जानकारी अभिभावकदेखि शिक्षकसम्ममा हुनु जरुरी छ । कतिपय अभिभावकहरु नै स्वयम् निरक्षर भएको कारण पनि बालबालिकाको अधिकार बारे अनविज्ञ छन् भने कतिपयको घरको अवस्थाका कारण बाध्य भएर उनीहरुको अधिकारको संरक्षण गर्न सकिने अवस्था छैन । यस्तो अवस्थामा राज्यले खेल्नु पर्ने भूमिका निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण रहन्छ । तर हाम्रो सरकारले हरेक दिवसहरु केवल नारामा मात्र सिमित गर्ने गरेको छ ।

कर्णाली प्रदेश आफैमा भौगोलिक विकटता र आर्थिक तथा सामाजिक विविधतामा रहेको प्रदेश हो । कर्णाली प्रदेश शहर भन्दा पनि गाउँ बढि भएका कारण यहाँका बालबालिकाहरु विहान साँझ घरको काम गरेर दिनमा विद्यालय जानु पर्ने अवस्थामा छन् भने कतिपय बालबालिकाहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा होस् या जिल्लाका सदरमुकाममा रहेका होटलहरुमा भाँडा माझिरहेका भेटिन्छन् । त्यसैगरि सवारी साधनहरुमा हेर्ने हो कापी किताबले भरिएको झोला बोकेर विद्यालय जाने उमेरमा उनीहरु गाडिको ढोकामा ढ्याक ढ्याक हान्दै यात्रुहरुको सेवा गर्ने र आफ्ना जागिर पूरा गरिरहेका भेटिन्छन् ।
नेपालको संविधानले स्वास्थ्य शिक्षा जस्ता कुराहरुमा सबैको समानता र अधिकारको कुरालाई सुरक्षित गरेको भएपनि अनाथ, टुहुरा तथा गरिबीले थिचिएका बालबालिकाहरुले आफ्नो अधिकारको उपयोग नै गर्न पाएका छैनन् । त्यसको लागि संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले समेत ध्यान दिन जरुरी छ भने अर्कोतिर बालबालिकाका क्षेत्रका काम गर्ने विभिन्न संघ संस्थाहरुले समेत केवल डलरको खेतीमा मात्र सिमित नभई साँच्चिकै बाल अधिकारको संरक्षणमा लाग्नु आवश्यक छ । आजको बालक भोलिको देशको मेरुदण्ड भएकोले उनीहरुको भविष्यलाई सुन्दर बनाउन सकिएन भने भोलि पछुताएर मात्र केही हुनेवाला छैन । कतिपय बालबालिकाहरु बेसाहारा भएकै कारण अर्काको लहलहैमा लागेर लागु औषधमा समेत फसिसकेका छन् । कतिपय सडक पेटीको बास गर्ने र चोरी तथा अवैध धन्दामा समेत लाग्ने गरेका छन् भने कतिपयलाई आफ्नो स्वार्थपूर्ति गर्नका लागि प्रयोग गरिएका छन् । यो निकै डरलाग्दो अवस्था हो ।
अर्कोतिर बालिका बलात्कारका घटना डरलाग्दो अवस्थामा बढिरहेका छन् । आफ्नै घरपरिवार, आफन्त तथा परिवारबाटै बालिकाहरु सुरक्षित छैनन् । कतिपय अवस्थामा चेतनाको अभावको कारण त कतिपय अवस्थामा दण्डहिनताको कारण पनि यस्ता घटनाहरु दोहोरिने भएकाले बलात्कारिलाई कडा भन्दा कडा सजायको दिएको खण्डमा केही हदसम्म भएपनि त्यसलाई न्यूनिकरण गर्न सकिन्छ । प्रत्येक नागरिक बाल अधिकारको संरक्षणमा ज्ट्न सकेमा मात्र यसले सार्थकता पाउन सक्छ । अन्यथा नारामा मात्र सिमित गरेर बालबालिकालाई सुरक्षित र अधिकार सम्पन्न बनाउन कठिन छ ।






