Loading... आजः १३ माघ २०७७, मंगलवार । Tuesday 26th January 2021

जुलुस निकालेर फर्किएला राजसंस्था ?

अहिले मुलुकका विभिन्न स्थानमा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि मोटरसाइकल ऱ्याली तथा जुलुसहरू निस्किरहेका छन् । मुलुकमा राजसंस्था र हिन्दुधर्मको चर्चा विगतमा पनि हुने गरेका हुन् तर ती सङ्गठित थिएनन्, मानिसहरू एकर्कामा कुरा गर्थे, सकिन्थ्यो । अहिले भने एकपछि अर्को निरन्तर सडकमा ऱ्याली र जुलुसहरू देखिएका छन् । जुलुसमा सहभागी मानिसहरू को हुन् ? कुन पृष्ठभूमिका हुन् ? यतिका वर्ष मौन रहेका यी मानिसहरू राजा बाहिरिएको १२ वर्षपछि किन सडकमा आए ? यी प्रश्नहरूको उत्तर खोज्नु शायद आवश्यक छ ।

कतिपयले सडकमा आउनेहरूलाई राजावादीको संज्ञा दिएका छन् । के यी सबै पुराना राजावादी भनेर चिनिएकाहरू मात्रै हुन् ? या गणतन्त्रमा चौतर्फी निराशा छाएपछि यो मुलुकको अस्तित्वका लागि राजसंस्था चाहिने रहेछ भन्ने कुराको आत्मसात गर्नेहरू पनि छन् ? विगतमा राजसंस्था र धर्मनिरपेक्षताका विषयमा अभिमत राख्न नपाएकाहरू आफ्नो मत सार्वजनिक रूपमा राख्न थालेका छन् । पहिला बोल्न हिच्किचाउनेहरू अब खुलेर बोल्न थालेका छन् । राजाले नारायणहिटी छोड्दै गर्दा टेलिभिजन हेरेर आँशु झार्ने सर्वसाधारणहरूको सङ्ख्या ठ्लो थियो । त्यतिबेला उनीहरूको बोलीको खासै अर्थ हुँदैनथ्यो र बाहिर निस्किएर यो गलत भयो भन्ने आँट पनि थिएन ।

हिजो राजसंस्थाले गरेका कतिपय काम राम्रा थिएनन् होला, वरिपरिका मानिसलाई विश्वास गर्दा राजाले धोखा पाएका थिए होलान् । तर, जनस्तरमा राजसंस्थाको बारेमा आवाज नउठी एक्कासी संसदबाट राजसंस्था हटाइएको थियो । अहिले १२ वर्षपछि गणतन्त्रमाथि जनस्तरबाटै प्रश्न उठ्न थालेको छ ।

राजसंस्था गएपछि आँखैअघिल्तिर धेरै कुरा भए । विगतमा राजसंस्थाले विश्वास गरेका, नेता बनाएकाहरू रातारात गणतन्त्रवादी भए । अप्ठ्यारो परिस्थितिमा साथ दिनेहरूको सङ्ख्या खुम्चियो । जतिले दिए तिनको आवाज सुनिने अवस्था थिएन । तर त्यस्तो अवस्थामा पनि राजाले आफ्नो ‘इमेज’ बचाएर राखे । राजाले मध्यरातमा नारायणहिटी छोड्दाको दृष्य धेरैको आँखामा वर्षौं बिझाए पनि मानिसहरू मौन रहे । बिना जनअभिमत, बिना जनसहमति राजसंस्थालाई जसरी फालियो, त्यसबाट राजालाई पीडितको रूपमा हेरियो र एउटा ठूलो जमातका बीच राजा फाल्नेहरूको छवि पीडकका रूपमा रह्यो । तथापि, तात्कालीन राजा ज्ञानेन्द्र त्यतिबेला राजनेताको शालिन छाप छोडेर बिदा हुनुभएको थियो ।

२०६५ साल जेठ १५ गते नेपालको संसदलाई प्रयोग गरेर फालिएको राजसंस्था के साँच्चै नेपालीहरूले नै फालेका थिए ? नेपालका राजनीतिक दलहरूको तात्कालीन एजेण्डामा नरहेको कुरा रातारात कसरी आयो ? यसको खोजी गर्नका लागि देशबाहिर गरिएको शान्तिवार्ता र १२बुँदे सम्झौतालाई हेर्नुपर्ने हुन्छ । त्यतिबेलाको शान्ति सम्झौता यदि नेपालमै, नेपालीद्वारा नै गरिएको हुन्थ्यो भने न्यायिक प्रक्रिया अहिलेसम्म यसरी अल्झिएर रहने थिएन । शान्तिवार्ता विदेशीले गराए जसका कारण उनीहरूलाई नेपालमा सहज रूपमा चलखेल गर्नका लागि राजनीतिक परिवर्तनबाहेक कसैले न्याय पाउनु या नपाउनुसँग मतलव भएन । परिणाम उनीहरूले खोजेझैँ निस्कियो । राजसंस्था हुँदा अनेक प्रक्रिया पुऱ्याएर नारायणहिटीमा राजालाई भेट्नुपर्ने झन्झटबाट उनीहरू मुक्त भए, किनभने नेताहरू स्वयम् उनीहरूले चाहेको बेला भेट्न जान थाले । हिजो राजसंस्थाले गरेका कतिपय काम राम्रा थिएनन् होला, वरिपरिका मानिसलाई विश्वास गर्दा राजाले धोखा पाएका थिए होलान् । तर, जनस्तरमा राजसंस्थाको बारेमा आवाज नउठी एक्कासी संसदबाट राजसंस्था हटाइएको थियो । अहिले १२ वर्षपछि गणतन्त्रमाथि जनस्तरबाटै प्रश्न उठ्न थालेको छ ।

मुलुकमा राजसंस्थाको पुनःस्थापना गर्ने नै हो भने राष्ट्रिय सहमति आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय शक्तिहरूको पनि भूमिका होला तर विदेशीले भूमिका निर्वाह गरेका कामहरू टिकाउ हुँदैनन् भन्ने प्रमाणित हुँदै गएको अवस्थामा नेपालीहरूले नै बाहिरी शक्तिबाट निर्देशित भुललाई सच्याउनु पर्छ ।

मुलुकमा विस्तारै स्थापित हुँदै जाला भन्ने ठानिएको गणतन्त्रलाई प्रश्नचिह्न खडा गर्ने अवस्थामा कसले पुऱ्यायो ? यसको जिम्मेवार कोही छ भने ती नेताहरू नै हुन् । हिजो राजसंस्थालाई बंश-परम्पराका आधारमा चल्ने भनियो तर अहिले नेताका सपरिवार कुनै न कुनै पदभन्दा बाहिर छैनन् । छोरा-छोरी, ज्वाइँ-बुहारी, पत्नि-पति सबै राज्यसत्ताका कुनै न कुनै ओहदामा हुँदा सर्वसाधारणको मनमा कम्तिमा राजसंस्था हुँदा यस्तो त थिएन भन्ने परेको छ ।

मानिसको मनमा विद्रोह पैदा हुन ठुलो कुरा चाहिँदैन । जब कुनै कुरामा विभेद महसुस गर्छ तब मानिस विद्रोही बन्छ । पछिल्लो समयमा नेताहरूको रातदिनको झगडा र स्वार्थ मिलाउनका लागि अनेकौँ बैठक, आरोप प्रत्यारोप, सुविधाभोगी ब्यवहार, स-साना आयोजना उद्घाटन गर्न हेलिकप्टरको प्रयोग, विलाशी सवारी साधनलगायतका कुराले जनतामा ‘इरिटेशन’ पैदा भएको छ । संविधानसभाको अवधिमा मानिसलाई नयाँ संविधान आएपछि केही होला भन्ने एक प्रकारको अपेक्षा थियो तर संविधान आएपछि आफैले बनाएको संविधानलाई लागु नगर्न नेतृत्व तहबाट जे–जस्ता गतिविधि भए त्यसबाट पनि जनस्तरमा निराशा पैदा भयो, भइरहेको छ ।

अहिले मुलुकका विभिन्न ठाउँमा भएका मोटरसाइकल ऱ्यालीमा जति मानिस देखिँदै छन् त्यति मात्रै राजसंस्था र हिन्दु धर्मको समर्थनमा छन् भनेर बुझियो भने त्यो गलत हुनेछ । मोटरसाइकल नभएका या भएर पनि सडकमा ऱ्याली हुँदैछ भन्ने थाहा नपाएका, जुलुससँग खासै चासो नभएका तर यो मुलुकमा एउटा तटस्थ संस्था आवश्यक छ र त्यो राजसंस्था नै हो भन्ने सोच वा मान्यता राख्ने मानिसहरूको सङ्ख्या ठुलो छ । गणतान्त्रिक संविधानका प्रयोगकर्ताहरूको कार्यब्यवहारले यस प्रकारको सोच राख्नेहरूको सङ्ख्या दिन-प्रतिदिन बढ्दो छ । त्यसोभए के यस्ता ऱ्याली र जुलुसले राजसंस्था र हिन्दु धर्मलाई पुनःस्थापना गर्न सक्छन् ? यो प्रश्नको जवाफका लागि राजसंस्था हटाउँदाको पृष्ठभूमिलाई हेर्नुपर्ने हुन्छ ।

अहिले मुलुकका विभिन्न ठाउँमा भएका मोटरसाइकल ऱ्यालीमा जति मानिस देखिँदै छन् त्यति मात्रै राजसंस्था र हिन्दु धर्मको समर्थनमा छन् भनेर बुझियो भने त्यो गलत हुनेछ ।

कलंकी या रत्नपार्कमा जुलुस निस्किएर राजाले नारायणहिटी राजदरबार छोडेका या छोड्नु परेको होइन । नेपालको राजसंस्था हटाउनका लागि विदेशी भूमिका निर्णायक थियो । पशुपतिको पुजारी हटाउन नसक्नेहरूले २ सय ४० वर्षको इतिहास बोकेको राजसंस्था हटाए भनेर बुझ्नु गलत हुनेछ । नारा, जुलुस, ऱ्यालीलगायतले राजा विस्थापित भएका होइनन्, त्यसैले यस्ता जुलुसले मात्रै राजसंस्थालाई स्थापित गर्न सक्दैन । तर, मानिसमा भएको निराशा सडकमा देखाउने र देखिने कामचाहिँ भएको छ । साथै सडकका यी आवाजले बाटो भुल्दै गएका राजनीतिक दल र नेताहरूलाई सजग बनाउने काम पनि गर्न सक्छ ।

यदि मुलुकमा राजसंस्थाको पुनःस्थापना गर्ने नै हो भने राष्ट्रिय सहमति आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय शक्तिहरूको पनि भूमिका होला तर विदेशीले भूमिका निर्वाह गरेका कामहरू टिकाउ हुँदैनन् भन्ने प्रमाणित हुँदै गएको अवस्थामा नेपालीहरूले नै बाहिरी शक्तिबाट निर्देशित भुललाई सच्याउनु पर्छ । नेपाललाई राजसंस्था किन आवश्यक छ भनेर विभिन्न स्तरमा संवाद हुन जरुरी छ । ‘राजा आउ देश बचाउ’ मार्काका नाराले राजसंस्था फर्किंदैन । राजनीतिक दलबाट निर्वाचित राष्ट्रपतिले सबै नेपालीका लागि तटस्थ भूमिका निर्वाह गर्न सक्दैन रहेछन् भन्ने हामीले हेऱ्यौँ । कसले के गऱ्यो भन्दा पनि संरचनागत रूपमै राष्ट्रपतिलाई त्यस्तो ब्यवहार गर्नुपर्ने बनाइदिँदोरहेछ ।

गणतन्त्रवादीलाई हटाएर होइन उनीहरूलाई मनाएर राजसंस्था पुनःस्थापनाको परिकल्पना गर्नुपर्छ । यदि गणतन्त्रवादीहरूलाई अलग राखेर राजसंस्था ल्याउने परिकल्पना गरियो भने भोलि फेरि राजसंस्था फालेर गणतन्त्रको खेल सुरु हुन्छ । परिणमतः सिस्टम परिवर्तनको खेलमै पुस्तौँपुस्ता खेर जान सक्छ ।

हाम्रो जस्तो भौगोलिक र साँस्कृतिक विविधता भएको मुलुकमा सबैलाई एकताको सूत्रमा बाँध्ने संस्था आवश्यक छ । त्यस प्रकारको संस्थाको परिकल्पना गर्दा राजसंस्था बाहेक अर्को विकल्प देखिँदैन । राजसंस्थाको सन्दर्भमा ब्यक्ति को आउँछ त्यति ठूलो कुरा होइन, सिस्टमले काम गर्छ, गर्ने बनाउनु पर्छ । ब्यक्तिका ब्यवहारहरूले फरक नपार्ने होइन- पार्छ, तर ब्यक्तिले चलखेल गर्न नपाउने गरी सिस्टमले बाँध्न सक्नुपर्छ ।

गणतन्त्रवादीलाई हटाएर होइन उनीहरूलाई मनाएर राजसंस्था पुनःस्थापनाको परिकल्पना गर्नुपर्छ । यदि गणतन्त्रवादीहरूलाई अलग राखेर राजसंस्था ल्याउने परिकल्पना गरियो भने भोलि फेरि राजसंस्था फालेर गणतन्त्रको खेल सुरु हुन्छ । परिणमतः सिस्टम परिवर्तनको खेलमै पुस्तौँपुस्ता खेर जान सक्छ । अहिले जसरी जुलुसहरू निस्किएका छने ती आवाजहरूलाई कम आँक्ने या प्रतिगामी भन्दै बेवास्ता गर्नु सही हुने छैन, तर हिजो भएका राजा र राजसंस्थालाई जोगाउन नसक्नेहरूले मात्रै पहल गरेर राजसंस्था पुनःस्थापित गर्न सक्ने देखिँदैन । यसका लागि अन्तराष्ट्रिय समन्वय, उपयुक्त रणनीति, परिपक्क योजना र सबैथरी विचार राख्ने नेपालीको साथ आवश्यक पर्छ ।

घटना र बिचार