Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

सहिदहरूको बलिदान अपूरो नै छ

दत्तसंह कार्की नेपाली कांग्रेसका बौद्धिक र शालीन नेता हुनुहुन्छ । नेपाली कांग्रेसले सञ्चालन गरेको २०३१ सालको ओखलढुंगा सशस्त्र क्रान्तिमा उहाँको पनि संलग्नता थियो । यही सेरोफेरो र नेपाली कांग्रेस पार्टीको वर्तमान अवस्थामा केन्द्रित रहेर विनोद वत्सले उहाँसँग गरेको कुराकानीका केही सम्पादित अंश प्रस्तुत गरिएको छ ।

सहिदहरूको बलिदान अपूरो नै छ

 २०३१ सालको क्रान्तिमा तपाइँको संलग्नता कस्तो रहृयो ?

२०३१ सालको ओखलढुंगा सशस्त्र क्रान्ति सोलुखुम्बुको टिम्बुरबोटेको ओढारसम्म आएर भिडन्तपछि निस्तेज भएको थियो । पुस १ गते बिहानीपख यो भिडन्त भएको थियो । त्यसको पाँच महिना पहिले साउन महिनामा म भारत गएर गिरिजाबाबुसँग भेट गरेको थिएँ ।

उहाँले अब सशस्त्र क्रान्ति नगरी नेपालमा प्रजातन्त्र नआउने भएका कारण क्रान्ति गर्ने र त्यसका लागि स्थनीयस्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेबमोजिम मैले उक्त क्रान्तिका लागि आवश्यक जनशक्ति नेपालमै बसेर तयार पार्ने काम गरेको थिएँ । २०२५ सालमा सगरमाथा छात्र परिषद्को साधारण सदस्यता लिई म नेपाली कांग्रेस प्रवेश गरेको थिएँ । म आफ्नो सामथ्र्यले भ्याएसम्म सक्रिय भएर लागेँ । भूतपूर्व तथा बहालवाला सैनिक जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामीलाई सहयोग पु¥याउन सक्थे उनीहरूलाई सकारात्मक बनाउने जिम्मा मैले पाएको थिएँ सोही जिम्मेवारीअनुसार केही साथीहरूलाई मैले यो क्रान्तिलाई सहयोग गर्न पठाएको थिएँ ।

तपाइँ त्यसबेला कहाँ हुनुहुन्थ्यो ? नेपालमा कि भारतमा ? 

त्यसबेला म भारतमा नगई नेपालमै बसेर संगठन सुदृढ बनाउन लागिपरेको थिएँ । खास गरी नेपाल भारत सीमानजिक बसी संगठन गर्ने काम गरेँ, पूर्णरूपमा भारतमै बसी निर्वासन भोगिनँ ।

हातहतियार लिएर आएका साथीहरूसँग तपाइँको भेट भयो ? 

सशस्त्र फौजको नेतृत्व क्याप्टेन यज्ञबहादुर थापाले लिनु भएको थियो । हतियार चलाउन जानेका र भारतमा बसी तालिम लिएकाहरू उताबाट हातहतियार लिएर आएका थिएँ । हामी यता रहेकाहरूले भने संगठनको काम मात्र ग¥यौं । उनीहरूसँग हाम्रो भेट पनि भएन । जब यो अभियानको सूचना चुहियो । तब यज्ञबहादुर थापाले भूमिगत भएर काम गर्नू भनेर खबर पठाउनुभयो तब म पूर्णरूपमा भूमिगत भएर उक्त फौजलाई अप्रत्यक्ष सहयोग गर्न थालेँ ।

हतियार चलाउने तालिम लिनुभयो कि भएन ?

विशेषगरी पूर्वसैनिक तथा सैनिकहरूलाई हाम्रो पार्टीमा संलग्न गरी संगठन गर्ने जिम्मा पाएकाले मैले आपूmले तालिम लिइनँ ।

तपाइँ कहाँबाट कसरी पक्राउ पर्नुभयो ? 

भूमिगत रही जिम्मेवारी पूरा गर्ने क्रममा म ओखलढुंगा जिल्लाको सेर्नामा रहेको थिएँ । दिनभरि सालघारीमा गएर सुत्ने र राति राति संगठनको काम गर्ने गर्थें । यसै बखत २०३१ साल पुस ८ गते म पक्राउ परेँ । जुनबेला टिम्बुरबोटेको घटना भइसकेको थियो ।

२०३१ सालको क्रान्तिको लक्ष के थियो ? यो क्रान्ति असफल हुनुको कारण के हो जस्तो लाग्छ ? 

नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले २०१७ सालमा अपहरणमा परेको नेपाली जनताको स्वतन्त्रतालाई फिर्ता गर्ने र यसको माध्यम सशस्त्र क्रान्तिलाई बनाउने मुख्य लक्ष तय गर्नुभएको थियो । सोहीमुताबिक हामीले पार्टीबाट पाएको जिम्मेवारी पूरा गर्दै गइरहेका थियौं । तैपनि क्रान्ति सफल हुन सकेन । यसको मूल कारण हाम्रो फौजलाई आवश्यक हातहतियार र तालिमको अभाव रहृयो । केही साथीहरूबाट भएको अविश्वाश, सूचनाको चुवहावट र जनसम्पर्कको अभाव नै क्रान्तिको असफलताका कारण बन्न पुगे ।

यो क्रान्ति नेपाली कांग्रेसको लहड, दुस्साहस वा कमजोरी हो ? 

त्यस बेलाको शासन व्यवस्थाले हतियारका बलमा राज्य सञ्चालन गरी सामान्य मानव अधिकारसमेत नागरिकलाई नदिएर एकलौटी गरेको अवस्थामा केही गर्नु आवश्यक थियो । त्यसैले नेपाली कांग्रेसले उक्त क्रान्ति गरेको हो । यसमा केही कमीकमजोरी भएकाले क्रान्ति सफल बन्न नसकेको हो । यसकै आधारमा मात्र यस क्रान्तिलाई नेपाली कांग्रेसको दुष्साहस वा असफल क्रान्ति भन्नु जायज हो जस्तो मलाई लाग्दैन । किनभने एउटा असफलताबाटै पाठ सिकेर अरू आन्दोलनहरूका लागि जग बसाउने र सफलता प्राप्त गर्ने हो । त्यसैले कांग्रेसले गरेको यसपछिका क्रान्तिका लागि यो क्रान्ति जग हो भन्ने मलाई लाग्छ ।

सूचना चुहेर पनि अगाडि बढ्नु कमजोरी हो कि ? 

त्यसबेलाको परिस्थिति अहिलेको जस्तो थिएन । त्यस क्रान्तिका केही कमजोरी निश्चिय भएका थिए । तिनलाई क्रान्तिको सफलता र असफलताको वा कमजोरीको माध्यम हो भन्नु उचित हुँदैन । यसलाई कमजोरीका रूपमा चित्रण गर्नुभन्दा तत्कालीन परिस्थितिका आधारमा मूल्यांकन गर्नुपर्ने हुन्छ । त्यस अवस्थामा सञ्चारसाधनका रूपमा हाते चिठीमात्र थियो ।

साथीहरूसँग महिनौंसम्म पनि भेटघाट र सम्पर्क हुन सक्दैनथ्यो । पारिबाट हात हतियार लिएर आएका साथीहरूबाट केही कमजोरी भएका रहेछन् । हामीले त्यो कुरा निकै ढिलो थाहा पायौं । छिट्टै थाहा पाएका भए पनि सञ्चार सम्पर्ककै अभावका कारण रोक्नसक्ने अवस्थामा हामी थिएनौं ।

पक्राउ परेपछि तपाइँलाई कस्तो महसुस भयो ? 

पक्राउ परेपछि पनि मैले यसलाई सामान्य रूपमै लिएँ किनभने क्रान्तिमा लागि सकेपछि गिरफ्तारी स्वाभाविक हो । यस्तो मनस्थिति मैले बनाइसकेको थिएँ । त्यसैले मलाई गिरफ्तारीले खासै प्रभाव पारेन ।

बाँचिन्छ जस्तो लागेको थियो ? 

जब म पक्राउ परेँ प्रहरीद्वारा एकरातको बास बस्न मेरो घर सोलुखुम्बुको साविक तिङ्ला गाउँपञ्चायतको हुवुमा पु¥याइयो तब त्यहाँ म मेरा शुभचिन्तकहरूबाट घेरिएँ । त्यस अवस्थामा मैले केही असहज महसुस त गरेँ । म मर्छु र स्वतन्त्रताको यो लडाइँ समाप्त हुन्छ जस्तो लागेन ।

कसको सदासयताले बाँचियो जस्तो लाग्छ ? 

मलाई सहयोग र सद्भाव सबैको थियो । त्यसमा पनि मलाई पक्रने प्रहरी जवानहरू, कस्टडी बस्ताका जेल इन्चार्ज सई गणेश लामा, काठमाडौंसम्म सकुशल ल्याइपु¥याउने ललितप्रसाद पोखरेल र अदालती प्रक्रियामा सहयोग गर्ने दमननाथ ढुंगानाको सहयोग अविस्मरणीय छ ।

कुन–कुन जेलमा कति वर्ष जति बस्नुभयो ? 

यस क्रान्तिका क्रममा म ओखलढुंगा र सोलुखुम्बुका जेलमा निरन्तर एक वर्ष बसेँ । चरिकोट र केन्द्रीय कारगारमा पटक–पटक गरी म दुई वर्ष जेल बसेको छु ।

तपाइँहरूले चाहेको त प्रजातन्त्र हो, त्यो आयो । तपाइँहरूको लक्ष पूरा भयो ? 

खासमा हाम्रो लक्ष भनेको प्रजातन्त्र, लोकतन्त्रभन्दा पनि स्वतन्त्रता र समानता हो । राज्यको नजरमा सबै नागरिक समान हुनुपर्छ र समान अवसरको सिर्जना हुनुपर्छ भन्ने थियो । त्यसैले म सबै कुरा त्यागेर क्रान्तिमा होमिएको थिएँ । त्यसमा हामी सफल भएको मान्दछु । पछि हामी राज्यसञ्चालनमा, विकासका एजेण्डामा खरो उत्रिन सकेनौं । तैपनि स्वतन्त्रताको लडाइँमा हाम्रो योगदान सफल भएको म मान्दछु ।

हालको प्रजातन्त्रको गति देख्दा तपाइँहरूको त्याग र समर्पण खेर गएको जस्तो लाग्दैन ? 

हाम्रो दृढ संकल्प भनेको स्वतन्त्रता थियो, समानतामा आधारित समाज थियो जुन समाजमा बस्ने मानिस नागरिक र अनागरिक अझ भनौं अन्तर्राष्ट्रिय तत्व जस्तो विशेषणमा विभाजित नहोस् भन्ने थियो । भोलि राज्य सञ्चालनमा सहभागी हुने कल्पना गौण विषय थियो । लोकतन्त्रका आधारभूत सिद्धान्तको जनताले उपभोग गरिरहेको कारणले आज नभए पनि कुनै दिन यो अवस्थाले गति लिन्छ । त्यसका लागि समाज तयार हुँदै गइरहेका कारणले मेरो त्याग र समर्पण खेर जाने अवस्था आएको छैन ।

क्रान्तिमा आफ्नो संलग्नताप्रति गौरव लाग्छ कि पश्चाताप ?

मैले जुन निष्ठा र आस्थाको आधारमा क्रान्तिमा संलग्नता जनाएको थिएँ तिनै निष्ठा र आदेशको जीवन बिताउन प्रयास गरिरहेको छु । त्यसैले म मेरो काम, त्याग र समर्पपणमा पूर्णरूपमा गौरवान्वित छु । पश्चाताप लाग्ने कुरै छैन ।

प्रतातन्त्र आएपछि पनि तपाइँलाई त सधैं पाखा लगाइयो नि किन होला ? 

क्रान्ति, आन्दोलन र राज्य सञ्चालन भनेको फरक कुरा रहेछन् । व्यवस्था परिवर्तनपछि एजेण्डामा फरक पर्ने रहेछ । जब राज्य सञ्चालनमा नेता तथा कार्यकर्ता पुग्छन् तब खास राजनीति त्यहाँबाट सुरु हुँदो रहेछ । हाम्रोमा राजनीतिमा परिवर्तनपछि आउने सुकिलामुकिला मानिसहरूले प्रश्रय पाउनु नै हाम्रो प्रजातन्त्र वा लोकतन्त्रको विडम्बना सावित भयो र विकास र आर्थिक उन्नतिले खासै उडान लिन सकेन । प्रजातन्त्रको उदयपछि जुन रूपमा स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतिमा फड्को मार्ने अपेक्षा थियो त्यो सफल भएन ।

मलाई र मजस्ता आदर्श निष्ठाको राजनीति गर्ने साथीहरूलाई पाखा लगाउनु र समाजमा जुन धमिलो अनुहार भएका अनि आर्थिक, मानसिक र सामाजिक रूपमा कुरूप र नैतिक पतनको बाटोमा हिँडेका साथीहरूको पार्टीमा र समग्र प्रजातन्त्रमा बोलवाला बढ्नु चाहिँ यस व्यवस्थाको विडम्बना जस्तो महसुस हुन्छ । यही नै लोकतन्त्रको अधोगति गराउने मुख्य हतियार त हुने छैन ? भन्ने चिन्ता लाग्छ ।

हाल पार्टीको कुनै भूमिकामा हुनुहुन्छ ? 

मैले मेरो समयमा जे जति दिन सकेँ दिएँ, मैले जाने जति र बुझे जति सम्पूर्ण समय निष्ठा, आस्था भएको इमानदार समाज र पार्टी निर्माणमा योगदान दिएँ । अहिले म पार्टीको कुनै जिम्मेवारीमा रहनुभन्दा पनि हाम्रो पार्टीले र हामीजस्ता व्यक्तिले योग्य युवाहरूको छनौट गरी तिनीहरूको नेतृत्वकला विकासमा भूमिका लिनुपर्छ । तसर्थ म कुनै जिम्मेवारी लिए पनि नलिए पनि प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पार्टीको संगठन सुधारको जिम्मेवारी लिएर बसेको छु ।

कुनै गुट उपगुटको पछि लाग्न नसक्नाले पछि पर्नु भएको हो ?

त्यस्तो गुट उपगुटको अघिपछि लाग्नुभन्दा म मेरो निष्ठा र आदर्शमै बस्न चाहन्छु । खासमा पार्टीभित्र र समग्र देशमा नै झांगिएर गएको नैतिक र आर्थिक पतनको चरित्रप्रति भने चिन्तित छु । सिद्धान्त, पार्टी, देश र जनताको अगाडि व्यक्ति र उसको प्रतिष्ठा भनेको गौण कुरा हो । म पछि पर्नु र अघि जानुभन्दा पनि यो देश समाज र जनताको सुखदुःखलाई सम्बोधन गर्नसक्ने व्यक्तिलाई पार्टीले छान्न सक्ने वातावरण तयार हुनुपर्छ ।

टिम्बुरबोटेलाई पार्क बनाउने योजना पनि थियो नि किन त्यहाँको विकास गर्न नसकिएको हो ? 

टिम्बुरबोटेमा पार्क बनाउने सम्बन्धमा मेरो गिरिजाबाबुसँग कुरा भएर उहाँकै संरक्षकत्वमा र सोलुखुम्बुका तत्कालीन माननीयको अध्यक्षतामा निर्माण समिति गठन भएको थियो । केही कामहरू भएका थिए । हाल टिम्बुरबोटे काण्डमा प्रत्यक्ष रूपमा संलग्न हुनुभएका नेपाली कांग्रेस सोलुखुम्बुका नेता केशरबहादुर थुलुङको अध्यक्षतामा पार्क निर्माणतर्फ कार्य सुरु भएको छ ।

त्यही ठाउँको मानिस, तपाइँको अझै अरू केही भूमिका हुन सक्थ्यो कि ? 

मेरो व्यक्तिगत रूपमा र पार्टीगत रूपमा टिम्बुरबोटेसँग विशेष लगाव रहेको छ । अवश्यै त्यही ठाउँको हुनाका कारण पनि टिम्बुरबोटेसँग मेरो विशेष सम्बन्ध छ । यस घटनाबाट सिर्जित देशको परिवर्तनको आन्दोलन जुन ऐतिहासिक महŒवको रहेको छ त्यसको तुलनामा मेरो व्यक्तिगत तर्फबाट योगदान दिन कमी भएको मैले महसुस गरेको छु ।

तिङ्ला जुन तपाइँको गाउँ हो, त्यहाँबाट सातजना मानिस यस क्रान्तिका क्रममा मारिएका छन् तर अन्तका जति ती सहिद र सहिद परिवारको चर्चा, हित र उन्नति हुन सकेको छैन नि ! यसको कारण ? 

ओखलढुंगा आक्रमणको जुन योजना गिरिजाबाबुले मलाई वयान गर्नु भयो र त्यसमा मैले संगठन तयार गरी जनशक्ति परिचालनको जुन जिम्मेवारी लिएको थिएँ त्यसबाट पनि ती सहिद र सहिद परिवारको यथोचित हेरचाहमा मेरो नैतिक जिम्मेवारी हो र छ । तर, प्रजातन्त्रको उदयपछि सोलुखुम्बु कांग्रेसको नेतृत्व जुन साथीहरूको जिम्मामा पुग्यो त्यसपछि मेरो व्यक्तिगत प्रयास ओझेलमा प¥यो । निष्ठा, आदर्श र सिद्धान्तभन्दा पनि डन परिचालन, आर्थिक प्रलोभन, र अपारदर्शिता जस्ता प्रवृत्तिले सोलुखुम्बु र सम्पूर्ण कांग्रेस पार्टीको राजनीतिलाई जित्तै लग्यो ।

यस्तो अवस्थामा कांग्रेसको इतिहास, क्रान्ति, सहिद र सहिद परिवार सबै गौण विषय बन्दै गए । सोही मुताबिक टिम्बुरबोटे र त्यस क्रान्तिमा सहिद भएका हाम्रा साथीहरूले गरेको जीवन आहुतिको बलिदानलाई सही पहिचान गरी यथोचित हित गर्न सकिएन मेरो व्यक्तिगत प्रयासले मात्र पूर्णरूप लिन सकेन ।

तपाइँ कोबाट प्रेरित भएर कांग्रेस बन्नु भएको हो ? 

म जुन समयमा क्रान्तिमा संलग्न भएँ त्यस समयमा नेपाली कांग्रेसमा बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबु जस्ता नेताहरूको नेतृत्व थियो । म उहाँहरूबाटै प्रभावित भएको हुँ । विशेषगरी नेपाली कांग्रग्रेसको सिद्धान्त र बीपी कोइरालाबाट प्रभावित भएर नेपाली कांग्रेसमा संलग्न भएँ । त्यस समयमा समाजमा गरिबी, अशिक्षा, असमानता व्यप्त थियो । त्यस समयमा मलगायत केही साथीहरू मिलेर अभियान नै सुरु गरेका थियौं । त्यसबाट तिङ्ला तथा समग्र सोलुखुम्बुका नेपाली कांग्रेसका साथीहरू हाम्रै प्रेरणाबाट नेपाली कांग्रेसको क्रान्तिमा होमिएका हुन् । तिङ्लाबाट जति सहिद भएका छन् तिनीहरू मेरो प्रेरणाबाट सशस्त्र क्रान्तिमा होमिएका हुन् ।

हाल नेपाली कांग्रेसको अवस्था के हो जस्तो लाग्छ ? 

यस विषयमा धेरै बहस तथा छलफल गर्न सकिन्छ । कारण ठ्याक्कै यही हो भनेर गणितीय सूत्र दिने विषय पनि यो होइन । तर मुख्य रूपमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले भनेजस्तै परिवर्तनपछि पार्टीमा सुकिलामुकिला र स्वर्थी नेता कार्यकर्ताले घेरे । सिद्धान्त, संगठन र जनता यी तीन कुरामा पार्टी जुन रूपमा अटल र अडिग हुनुपथ्र्यो त्यसको ठीकविपरीत हामी नेता कार्यकर्ता रहृयौं ।

जब जुनसुकै मानिस सिद्धान्तलाई बोली र व्यवहारमा फरक गर्छ त्यो ढोंगी बन्दो रहेछ । त्यसको पतन अवश्यम्भावी हुँदोरहेछ । ठ्याक्कै यही कुरा नेपाली कांग्रेसको हकमा लागू भएको मैले पाएको छु । पार्टीको सिद्धान्त एकातिर पार्टी नेता तथा कार्यकर्ताको व्यवहार अर्कातिर । यसले पार्टीलाई पतनको बाटोतर्फ हिँडाइरहेको छ । यसको जिम्मा नेतृत्वले लिनुपर्छ ।

त्यसो भए यसको कारण नेतृत्वको असक्षमता हो ? 

एउटा पार्टीमा मूल खम्बाहरू भनेका तीन कुरा हुन्छन् । सिद्धान्त, नेतृत्व र संगठन । यी तीनै कुरामा पार्टी र पार्टी नेतृत्व उदाशीन हुँदै गएको देखिन्छ । तसर्थ पार्टीको अहिलेको अवस्थाको पछि नेतृत्वको ठूलो भूमिका रहेको छ । यसको जिम्मा नेतृत्वमा बस्नेहरूले लिनुपर्छ र कमजोरी महसुस गरी पार्टीको संगठन सुदृढीकरणमा लाग्नुपर्छ ।

अझै पनि टिम्बुबोटेका लागि केही गर्न, अभिलेख राख्न, इतिहास लेख्न, पार्क बनाउन सकिँदैन ? 

सकिन्छ । मज्जाले सकिन्छ । त्यसका लागि तपाइँहरू जत्तिको बौद्धिक वर्गले पनि सहयोग गर्नुपर्छ । तपाइँहरूको सहयोग पाएमा पार्क बनाउन, इतिहास लेख्न र अभिलेख तयार गर्न नेतृत्वदायी भूमिका दिन म तयार छु ।

यसका लागि केही योजना अघि सार्नु भएको छैन ? नेतृत्वलाई सुझाव दिनु भएको छैन ? 

मैले मेरो जीवन पूरै स्वतन्त्रता र नेपाली कांग्रेसको सिद्धान्तलाई सुम्पिदिएँ भने म आफैं प्रत्यक्ष रूपमा संलग्न यस क्रान्तिका बारेमा र यसलाई इतिहासमा स्वर्णीम अक्षरले लेख्ने कार्यमा मेरो व्यक्तिगत प्रयास नहुने कुरै रहेन । तर, विविध कारणले भन्नुप¥यो यो कार्यलाई पूर्णता दिन सकिएको छैन । तपाइँहरूले फुर्सद निकाल्नु प¥यो र मलाई मौका दिनुभयो भने मेरो योजना तपाइँहरूमार्फत सविस्तार बाहिर ल्याउन म तयार छु ।

नेपाली कांग्रेसको भविष्य कस्तो देख्नु भएको छ ? 

म जहिले पनि आशावादी मान्छे हुँ । निरास हुने कारण नै छैन । आजैदेखि मैले माथि उल्लेख गरेका तीन कुरा नेतृत्व, संगठन र सिद्धान्तलाई सर्वोपरी ठानी निष्ठा र आदर्शका साथ अगाडि बढेमा नेपाली कांग्रेस नेपालको एकमात्र लोकतन्त्र र स्वतन्त्रताको हिमायती पार्टीको भविष्य नराम्रो हुने कुरै छैन । पार्टी नेतृत्वले मनन गरी कमी कमजोरी हटाई अघि बढ्ने साहस गर्न सक्नुप¥यो । संसार बदल्नु छ भने परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ । त्यो नैतिक साहस भएको नेतृत्व विकास भएको खण्डमा नेपाली कांग्रेसको भविष्य सुनिश्चित गर्न सकिन्छ ।

अन्त्यमा तपाइँलाई केही भन्नु छ ? 

संगठन जस्तो भए पनि कार्यकर्ता जति भए पनि सिद्धान्त स्पष्ट नभएका खण्डमा संसारका धेरै नेताहरू पानीको फोका जसरी हराएको इतिहास छ । जुन स्पष्ट सिद्धान्तको प्रतिपादन गर्न तपाइँहरूको समूहको नेपाली कांग्रेस र समग्र देशलाई खाँचो छ । हिमालय टाइम्सले मलाई आफ्नो विचार राख्ने मौका दिएकोमा म धेरै आभारी छु । पार्टी र नेपालीहरूको प्रगतिको कामना गर्दछु । धन्यवाद, जय नेपाल । हिमालय टाइम्सबाट साभार