Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

नरेश भण्डारीको ‘चाँदीको घेरा’ लाई चुम्दा

म कुनैपनि पुस्तकको समालोचना गर्ने हैसियत राख्दिन । तरपनि एउटा मन्दगतिको पाठक भने हुँ । त्यसैले मैले अध्ययन गरेका पुस्तकहरु मध्य जसले मेरो मन मस्तिष्कलाई छुन सफल हुन्छ त्यसको बारेमा मेरो मनमा उर्लेका भावहरुलाई लेखे भने मात्र मन शान्त हुने गर्दछ । भनिन्छ, एउटा फोटोले हजारौं शब्दहरु बोलिरहेको हुन्छ । तर त्यो फोटोको बारेमा व्याख्या र विश्लेषण गर्ने क्षमता राख्नेहरुले मात्र ति हजारौं शब्दलाई पढ्न सक्छन् । अन्यथा त्यो केवल एउटा आकृति बोकेको फोटोमा मात्र सिमित देखिन्छ ।


साहित्य र राजनीति फरक पाटा हुन् । राजनीतिमा होमिएका सबै साहित्यकार बन्न सक्दैनन् भने साहित्यमा लागेकाहरु पनि सबै राजनीतिज्ञ बन्न सक्दैनन् । तर विश्व राजनीतिको इतिहासलाई पल्टाउने हो भने असल र सफल राजनीतिज्ञहरु साहित्यमा पनि त्यत्तिकै पोख्त छन् । साहित्यकै कारणले उनीहरुको राजनीतिक जीवन, लक्ष्य र उद्देश्यलाई सफलताको शिखरमा पुग्न सहायता गरेको देखिन्छ ।

लामो समयदेखि एउटा पुस्तक पढ्ने हुटहुटि जागेको थियो मेरो मनमा । नेपाली साहित्यका वरिष्ठ कथाकार महेशविक्रम शाहले पनि उक्त पुस्तक पढ्नका लागि सुझाउनु भएको थियो । तर मैले पढ्न चाहेको किताब मेरो हातमा परेको थिएन, ‘चाँदीको घेरा ।’ नेपाली राजनीतिका एक प्रेरक व्यक्ति । नेपाली राजनीतिक इतिहासमा भएको माओवादी आन्दोलनका एक योद्धा । नेपाली भाषाको उद्गमस्थल जुम्लामा जन्मेका नरेश भण्डारी । यिनै नरेश भण्डारीकृत ‘चाँदीको घेरा’ प्राप्त गर्ने ठूलो लक्ष्यका साथ म कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पुगे । उनी आफ्नै कार्यकक्षमा व्यस्त थिए । आधा घण्टा भन्दा बढिको पखाईमा उनलाई भेट्न सफल भएको थिएँ, म । त्यो मेरो पखाई युद्धकालमा नरेश भण्डारीले सफलता पर्खे जत्तिकै लामो लागेको थियो, आफैलाई । विभिन्न कार्यक्रमहरुमा पटक पटक भेटेपनि उनले मलाई चिने चिनेनन् भन्ने सम्झेर मैले आफ्नो परिचय ते¥स्र्याए उनका सामु । नम्र, भद्र र शालिन व्यवहारका भण्डारी वर्तमान कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री हुन् । एक छिनको भलाकुसारी पछि ‘चाँदीको घेरा’ आफ्नो माग भएको कुरा बताए । आफूसँग अहिले नभएको तर उपलब्ध गराउने आश्वासन पाएपछि रित्तो हात फर्केको थिएँ म, खिन्न मन लिएर ।

धर्ममा म आस्तिक मान्छे । भगवानले तँ आँट म पु¥याउला भन्छन् भन्ने कुरालाई मज्जाले विश्वास गर्ने म । त्यसैले पनि मैले उक्त पुस्तक पढेरै छाड्ने योजना बलियो बनाएर राखेको थिएँ । मेरो प्रिय मान्छे पत्रकार यज्ञ खत्रीले खै कताबाट ल्याएका रहेछन् । एक दिन विशेष कामले उनको कार्यकक्षमा पुग्दा उक्त पुस्तकमा पुगे मेरा नजर । मागौ भने नदिने हो कि भन्ने लाग्यो । पहिले किताब हातमा लिएँ त्यसपछि मात्र उनलाई जानकारी गराएँ । त्यसपछि निरन्तरको अध्ययनमा २ दिनपनि लागेन मलाई उक्त किताब खर्लप्प पार्न ।

मैले पहिले नै लेखे । म कुनै समालोचना गर्ने हैसियत त राख्दिन भनेर । तर ‘चाँदीको घेरा’ का लेखक नरेश भण्डारीले लेखेका केही विषयवस्तुहरुलाई यही लेख मार्फत लेखकको अनुमतिले कोट्याउने जमर्को गर्दैछु ।

पल्टाए ‘चाँदीको घेरा’ । लागेको थियो उज्यालो होला । चन्द्रमा जस्तै । यसमा संग्रहित पहिलो लेख ‘आमाको यादमा’ पढे । जनयुद्धताका माओवादीहरु कठोर हुन्छन् भन्ने जानेको थिएँ । माओवादीहरुलाई नदेख्दासम्म उनीहरु कस्ता हुन्छन् होला भन्ने लागेको थियो । तर देखेपछि थाह भयो माओवादीहरु पनि हाम्रै दाजुभाइ रहेछन् भन्ने । ‘चाँदीको घेरा’ भित्रको ‘आमाको यादमा’ पढिरहँदा मैले आफ्नी आमालाई सम्झे । किनकी म पनि आमा बिनाको टुहुरो हुँ । सबैकी आमा महान हुन्छिन् तर सबैका छोरा महान हुँदैनन् । यदि सबैका छोरा महान हुने भएको भए वृद्धाश्रमको आवश्यकतै पर्ने थिएन होला ।

नरेश भण्डारी काठमाडौं पढ्न जाने बेलामा टिकाको थाली लिएर विदाई गर्न आँगनमा उभिएकी भण्डारीकी आमा जस्तै मेरी आमाले पनि मलाई साउदी अरब पठाउने बेलामा टिका समातेर उभिएकी थिइन् । पढ्न जान थालेको छोराका चिउडो र गाला मुसारेर भण्डारीलाई ‘राम्मो गरी बढेस् भाउअ’ भने जस्तै मलाई पनि मेरी आमाले अँगालो मार्दै आफ्नो ख्याल गरेस् है भनेका शब्दहरुले मलाई धुरुक्क रुवाए ।

त्यसपछि जुन अवस्थामा भण्डारीले आमा गुमाएछन् त्यो अवस्थालाई पढ्दै जाँदा एउटा कुराको फरकता पाएँ । भण्डारीकी आमा परलोक हुँदा उनका बुबा साथमै रहेछन् भण्डारी साथमा नभएपनि । तर मेरी आमा परलोक हुँदा म आमाकै साथमा थिएँ र मेरा बुबा मेरी आमाको साथमा थिएनन् । भण्डारी काठमाडौंमा भएकोले एक्लै सिरकमा गुटमुटिएर रोएछन् तर मेरा लागि त्यो अवसर पनि मिलेन । किनकी म आमाको परलोक यात्राको सुधारको निम्ति गर्नु पर्ने धार्मिक कार्यमा जिम्मेवारीका साथ लाग्नु परेको थियो । आमा गुमाउँदाको पीडालाई मैले ‘सन्तापका आँसु’ नामक गजल सङ्ग्रह मार्फत पोखेको छु । त्यसमा संग्रहित भएका गजलमा रोएको छु । तिनै अक्षर र शब्दहरुलाई सिरक बनाएको छु । फरक यत्ति हो । साँच्चिकै हो लेखकले भने झँै ‘प्रायः लाग्नेले श्रीमती त पाउँछ तर छोराछोरीले आमा पाउँदैनन् । त्यस्तै स्वास्नीले लोग्ने त पाउँछे, प्रायः सन्तानले बुबा पाउँदैनन् ।’

‘चाँदीको घेरा’ पढ्दै जाने क्रममा एक पटक जुम्लालाई पनि राम्रोसँग अध्ययन गर्ने मौका पाएँ । लेखकले जुम्लाको बारेमा स्पष्ट व्याख्या मात्र होइन त्यहाँको लाखौ शब्दरुपी तस्वीर जस्तै छर्लङ्ग हुने गरि गरिएका शब्द संयोजनले साँच्चिकै पगाल्यो मेरो मन । मलाई पनि जुम्ला घुम्न मन लागेको छ । एउटा लेखकले कुन भावको लेखेको हुन्छ भन्ने कुरालाई पाठकले पनि त्यही भावमा बुझ्छ वा बुझ्न सक्नुपर्छ भन्ने छैन । तर ‘चाँदीको घेरा’ लेखकले जुन भावमा लेखेका छन् पाठकले त्यही भावमा बुभ्mने अवस्था छ किनकी ‘चाँदीको घेरा’ यथार्थ, सरल र सरस रुपमा रहेको प्रस्तुतीकरण हो ।

एउटा लेख लेखेकै भरमा लेखक बन्न खोज्ने, दुई चारवटा गजल लेखेर अर्काले तयार गरेको मञ्चमा वाहवाही पाएकै भरमा आफूलाई गजलकार भन्ने र एक दुई वटा कविताहरु प्रकाशित भएकै भरमा आफूलाई कविको रुपमा प्रस्तुत गर्नेहरुले एकपटक ‘चाँदीको घेरा’ गहिरो अध्ययन गर्न जरुरी छ । किनकी ‘चाँदीको घेरा’ मा भण्डारीले विश्व राजनीतिमा लागेका व्यक्तिहरुदेखि विभिन्न लेखक, दार्शनिक र वैज्ञानिकहरुले भनेका र भोगेका प्रसंगलाई पनि त्यत्तिकै सहज ढंगले जुन व्याख्या र विश्लेषण गरेका छन् त्यसले उनको अध्ययनबारे सहजै अनुमान लगाउन सकिन्छ । लेखक बन्नका लागि लेखेर मात्र हुँदैन अध्ययनको पनि त्यत्तिकै खाँचो छ भन्ने कुरालाई ‘चाँदीको घेरा’ ले पुष्टि गरेको छ ।

‘चाँदीको घेरा’ का लेखक नरेश भण्डारी एउटा राजनीतिकर्मी हुन् । उनको घरको वातावरणले पनि उनलाई राजनीतिमा लाग्ने प्रेरणा दिएको रहेछ । उनको उमेर र शिक्षासँगै देशमा भएको सशस्त्र युद्धको राजनीतिमा होमिएका कारण उनले भोग्नु परेको दुःख र उनले अपनाएको होसियारीले हिजोको इतिहासलाई सांक्षी राखेर भविष्यमा गोरेटोको गन्तव्यको सपना देख्ने जो कोहीलाई पनि सहज बनाएको छ । युद्धको समयमा उनले खेलेको भूमिकाका बारेमा होस् कि कर्णालीका बारेमा होस् । अथवा कर्णालीवासीका बारेमा होस् तथा देशको यथार्थको बारेमा होस् । लेखकले पाठकलाई सन्तुष्टि पार्न सक्नु नै यस पुस्तकको सफलता भएको मैले ठानेको छु ।

उच्च शिक्षा अध्ययनको समयदेखि विद्यार्थी राजनीतिमा समाहित भएको एउटा योद्धा सम्मिलित, तत्कालिन संविधान सभाले निर्माण गरेको वर्तमान संविधान हाम्रो मूल कानूनको रुपमा रहेको छ । त्यही योद्धा आज कर्णाली प्रदेशको मन्त्री पदमा आसिन भइरहँदा हिजोका दिनको अवस्थाको विश्लेषण गरेर कर्णाली र कर्णालीवासीका पोल्टा भारी हुने गरि काम गर्नुपर्ने जिम्मेवारी र कर्तव्य यतिबेला भण्डारीको काँधमा छ ।

आज पुसको १५ गतेको दिनमा म यि शब्दहरु कोरिरहेको छु । आज पनि कर्णालीको अवस्था फेरिन नसकेकोमा दुःख लाग्छ । हुन त अहिलेसम्म जुम्लामा पाइला टेकेको छैन मैले । तर पनि हिउँसँग भने पटक पटक साक्षात्कार गरेको छु । ‘हिउँ आयो माघ– बुढाबुढी भाग, हिउँ आयो पुस– बुढाबुढी रुस, हिउँ आयो वान्न– बुढाबुढी तान्न ।’ यी शब्दहरुले रोगी, वृद्धवृद्धाहरुलाई त्यतिबेला के भन्थे भन्ने मात्र होइन आजको अवस्था कत्तिको परिवर्तन भएको छ भन्ने कुरालाई अनुगमन गर्न आवश्यक छ ।

आज नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र संघीयतामा छन् । २०७२ सालको संविधान त्यसै निर्माण भएको होइन । संघीयता त्यसै आएको होइन । शाहवंशीय शासन पद्धति त्यसै पाखा लागेको होइन । युद्धको समयमा नरेश भण्डारी जस्ता हजारौं योद्धाहरुले भेडासँग साँझ विताएका छन् । भेडीगोठमा आएको गन्धलाई सुगन्ध मान्नु पर्ने बाध्यताको सामना गरेका छन् । हिउँको सिरक ओढेका छन् । मान्छे त मान्छे, रक्की जस्ता जनावरहरुले समेत प्राणदण्ड भोगेका छन् । कति मृत्युको मुखमा पसेका छन् भने कति मृत्युसँग जम्काभेट गरेर फर्किएका छन् । अहिलेको संविधान त्यत्ति सहजै प्राप्त भएको होइन । संविधान सभा भंग भएसँगै लोगो खल्तीमा हालेर अमिलो मन लिएर जिल्ला फर्केका तिता अनुभवहरु पनि छन् भण्डारीहरुसँग । तरपनि देशमा संविधान बन्यो र त्यसै बमोजिम अहिलेको शासन व्यवस्था संचालन भइरहेको छ । सायद त्यसैले लेखकले भनेका होलान्, ‘दुःखकष्टका गर्भबाट सुख–समृद्धि जन्मिछ ।’

पानी घट्टमा भाषण कला सिक्ने दीक्षितलाई सुन्दरमणी दीक्षितले दीक्षित बनाए जस्तै कर्णालीलाई साँच्चिकै समृद्ध कर्णाली बनाउने जिम्मेवारी पनि ‘चाँदीको घेरा’का लेखक नरेश भण्डारीहरुकै काँधमा छ । कर्णालीलाई कर्णाली बनाउन सकेको खण्डमा हिजोका दिनमा मारिएका हजारौं योद्धाहरुको सपना पूरा हुनेछ । रक्की र रक्कीहरुको आत्मले पनि शान्ति प्राप्त गर्नेछ ।

विहानी भालेको डाकोसँगै आँखा मिच्दै काममा जोतिनु पर्ने महिलाको दैनिकीमा परिवर्तन आउन सकोस् । शरिरले न्यानो र नफाटेको एकसरो कपडा लगाउन पाओस् । सिंचाइको अभावमा कर्णालीको धर्ती चिराचिरा नपरोस् । बस्ती कहिल्यै अँध्यारो नहोस् । जनसत्ताले काम थालेपछि हटेको चोरी र गुण्डागर्दीले आफ्नो रुप फेरेर फेरि समाजमा छोटे दादाहरुको विगविगी नहोस् । कोही पनि हेलोहोचो भएर बस्न नपरोस् । किनकी अहिले देशमा गणतन्त्र छ । लोकतन्त्र छ । हिजो मुक्ति या मृत्यु भनेर टाउकोमा कफन बाँधेर लडेकाहरु शासन सत्तामा छन् । त्यसैले साँच्चिकै गणतन्त्रको अनुभव गर्न पाइयोस् । यो नेपाली जनताको चाहना हो ।

कुनै समयमा लेखक भण्डारीले ‘चाँदीको घेरा’ लेखिरहँदा र मैले त्यसैको अध्ययन पश्चात आज यी शब्दहरु कोरिरहँदा देशमा फेरि ‘चाँदीको घेरा’ लाई नै ढपक्क छोप्ने गरि कालो बादल मडारिएको छ । नेपाली जनताले विश्वास गरेर दिएको झण्डै दुईतिहाइको मतलाई अपमान गरिएको छ । प्रतिनिधिसभा विघटन गरिएको छ । फेरि जनताका बीचमा जानका लागि कोही तम्सिरहेका छन् भने कोही कसैले गरेको गल्तीको विरुद्धमा फेरि सडकमा आएका छन् ।

सर्वहारा वर्गको नेतृत्व गर्नका लागि सत्तामा पुगेकाहरु निरंकुशी र तानाशाह प्रवृत्तिमा होमिएका छन् । यसले फेरि अर्को युद्धको तयारी थाल्नु पर्ने अवस्थाको सिर्जना नहोस् । भण्डारी र भण्डारी जस्ता हजारौं युवाहरुले फेरि पनि हिउँसँग मुक्कामुक्की खेल्नु नपरोस् । चिण्डे जहाजका जमाना धेरै पर पुगिसके । कर्णाली राजमार्ग निर्माण भइसक्यो । तुइनलाई विस्तापित गर्न अब धेरै समय लगाउनु हुँदैन । आज देशले फेरि अर्को चरणको सामना गर्नुपर्ने अवस्था छ । भोलि फेरि देश जोगाउनका लागि, गणतन्त्र जोगाउनका लागि, संघीयता जोगाउनका लागि परान बहादुर धराला (टेक) जस्ता योद्धाहरु ढल्नुपर्ने स्थितिको सिर्जना नगरियोस् । हाम्रा हजुरबाहरुले जुन सास्ती भागे भोगे । हाम्रा बाउहरुले, हामीहरुले जुन संघर्ष ग¥यौं ग¥यौ अब फेरि हाम्रा छोरा नातीहरुले राजनीतिक युद्ध लड्नु नपरोस् । त्यसका लागि हामीले राजनीतिक संस्कारको विकास गर्न जरुरी छ । हामीले आर्थिक क्रान्तिको विउ रोपिदिनुछ । हामीले भौतिक विकासको विउ रोपिदिनुछ । हामीले संस्कृतिक र साहित्यिक संरक्षणको विउ रोपिदिनुछ । कल–कारखाना, उद्योगको विउ रोपिदिनुछ । जसलाई मल जल गर्नका लागि हाम्रा सन्ततीलाई सहजता होस् । ‘चाँदीको घेरा’मा भण्डारीले उल्लेख गरे झैँ अब गाउँमा कासन र शहरमा भाषण होइन गाउँमा कृषि क्रान्ति र शहरमा औद्योगिक क्रान्तिको विजारोपण हुन आवश्यक छ ।

हाम्री रारासँग कसैले पनि अनैतिक सम्बन्ध राख्ने आँट नगरोस् । हाम्रा हिमालहरु लज्जाले झुक्नु नपरोस् । सुन्दर रारालाई सिंगार्नुछ हामीले । काँक्रेविहारबाट हाँसोको फोहोरा फुटाउनु छ । बुलबुलेमा पैसेरी, सिंगारु र मारुनी नाच नाच्नुछ । मोहन भाइ जस्ता ह्वील चियरको सहायतामा हिड्न विवशहरुको अनुहारमा खुसी ल्याउनु छ ।

कुनै समयमा गिरिजाप्रसाद कोइरालामा चरम कुर्सीमोह भए झैँ पछिल्लो समयमा केपी शर्मा ओलीमा पनि त्यो रोग देखिएको छ । पद, सत्ता र शक्ति भन्दा बाहिर बस्न नसक्ने । अबका शासकहरु कोही पनि त्यस्ता पदलोभी नबनुन् ।

अब हाम्रो समाजले कसैलाई भ्रष्ट बन्न नउक्साओस् । यदि साँच्चिकै आउँदो वैशाखमा निर्वाचन भयो भने त्यो निष्पक्ष हुन् सकोस् । सबैको अपनत्व हुन सकोस् । कसैले मतपेटिका तिला, भेरी र कर्णालीमा फाल्नु पर्ने स्थितिको सिर्जना नहोस् । वियरको बोतलबाट, जुवाको खालबाट, भ्रष्टाचारको आहालबाट र गुण्डाराजबाट भोट तान्ने घृणात्मक हर्कत गरेको कतै नसुनियोस् । आवोस् हँसिलो साँझ । डाँडामा बस्दैमा कोहीपनि बैरागी बनेको भान नहोस् ।

कर्णालीका सवालमा गणतन्त्रले यथोेचित न्याय दिन नसकेको कुरा ‘चाँदीको घेरा’ मा उल्लेख छ । अबका दिनमा कर्णालीले पनि यथोचित न्याय पाउन सकोस् । हुन त नरेश भण्डारी कुनै अपरिचित नाम होइन कर्णालीका लागि । इतिहास जित्नेहरुकै लेखिन्छ भने झैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर भण्डारीले जीवनको ठूलो युद्ध जितिसकेका छन् । यो सबै वर्ग, जाती, पेशा, समुदाय अझ भनौं आम नागरिकहरुका लागि भण्डारीले दिएको अमूल्य देन हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्दाका समयमा भोग्नु परेका सजिला अप्ठ्यारालाई लेखकले अण्डाको वर्णनात्मक ढंगले निकै सहज रुपमा गरेको प्रस्तुतीले यो पुस्तकमा प्राणप्रतिष्ठा भरिएको महसुस भएको छ । जसरी एउटा पण्डितले बेदका मन्त्रले एउटा मूर्तिमा प्राणप्रतिष्ठा भर्छन । कर्णाली आफैमा सम्भावनाको खानी हो भन्न थालेको पनि धेरै समय हुन थालिसक्यो । अब त्यो सम्भावनालाई उपयोग गरेर कर्णालीलाई समृद्धि तर्फ लैजान आवश्यक छ ।

अन्तमा, पुस्तक पढिसकेपछि लागेका तितामीठा अनुभवलाई उतार्ने यो जमर्कोमा आफैमा निकै कमीकमजोरी छन् । ‘चाँदीको घेरा’ लाई साँच्चिकै व्याख्या र विश्लेषण गर्ने हो भने यसको १० भाग ठूलो ग्रन्थ बन्न सक्छ । त्यसैले यो एउटा सामान्य लेखमा सबै समेटिने सवालै भएन । कर्णालीलाई कर्के नजरले हेर्नेहरु काठमाडौंमा बसेर अहिलेपनि गन्तव्यहीन सपनाको जहाज उडाइरहेका छन् । त्यसैले अब कर्णाली बन्नुपर्छ । हामी आफैले बनाउनु पर्छ । भण्डारीले ‘चाँदीको घेरा’मा भने जस्तै ‘हरेक मानिसको जीवन चाँदीको घेरा बन्नुपर्छ । जीवनका हरेक आयाम पनि । कल्पित नेपाल र कर्णाली पनि चाँदीको घेरा हो जो नेपाली आकाशमा मडारि रहेको कालो बादलमा दृष्टिगोचर भइरहेछ । कालो बादल हटेर आकाश खुल्नेछ । चाँदीको घेरा फैलने छ । बस, चुम्ने सङ्कल्प गरौं । सम्भव छ ।’ लेखक भण्डारी जस्तै म पनि भन्छु, ‘बस, चुम्ने सङ्कल्प गरौं । सम्भव छ ।’ इति ।