Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

ओलीको राजनीतिक रथयात्रा कुन दिशामा ?

वर्गीय राज्यसत्ताले जनउत्तरदायी राजनेता उत्पादनभन्दा शासक उत्पादनमा बढी जोड दिएको छ । देशमा परिवर्तनको दबाबलाई अनिच्छापूर्वक स्वीकार गरी समाजवाद र साम्यवादी दर्शनको अभ्यास वर्गीय स्वार्थ हितमा बडो नाटकीय ढंगले गरेको यो सूक्ष्म षड्यन्त्रको जनतालाई किञ्चित अनुभव हुन दिएको छैन । यो र त्यो बहानामा नेपाली कांग्रेस र कम्युनिष्टले राजनीतिलाई महँगो बनाएर जनताको पहुँचभन्दा टाढा लगेर आफ्नो पूर्ण वर्चस्व कायम गरेको छ ।

उपेन्द्र झा

परिवर्तनको स्वाद चखाएर सम्पूर्ण हिस्सामाथि यी दुई पार्टीका तथाकथित नेताहरुको एकाधिकार कायम छ । यति खर्चिलो चुनाव आमजनताले लड्नै सक्दैन । नीति निर्माणको तहसम्म आमजनताको पहुँच नभएसम्म समाजवाद वा अन्य जनहितवादको जनताले अनुभव गर्न सक्दैन । भ्रष्टाचारबाट अकूत धनराशी जम्मा गरेर राजनीतिमा एकल वर्चस्व कायम गरेका शासकवर्गले मात्र चुनाव जित्ने सौभाग्य प्राप्त गर्दछ । चुनावमा जनता उपभोगको वस्तु मात्र बन्दछ ।

आफ्नो हक अधिकार सुनिश्चित गर्न ल्याइएको संविधानसभालाई शासकवर्गले मनोनुकूल प्रयोग गरे । आम जनताको विरोधको बाबजुद पनि आफ्नो स्वार्थ अनुसारको संविधानलाई बलपूर्वक लागू गरे । आज त्यहीं संविधानको औचित्यमाथि प्रश्न खडा गरेको छ । तीन वर्ष नपुग्दै संविधानको औचित्यमाथि शासकवर्गले नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

नेपालमा राणाकालीन समयमा ‘मुखे कानून’ को प्रचलन रहेको बुढापाकाहरुको मुखबाट सुनिन्थ्यो । त्यसको छाया अहिलेको उदार शासन प्रणालीमा खुबै देख्न पाइन्छ । पहिले निरंकुश सामन्तको रुपमा राणाहरु शासक थिए भने अहिले जनप्रतिनिधिको रुपमा उदार सामन्तहरु शासकको रुपमा विद्यमान छन् । राणाहरुको मुखे कानून अहिले उदारवादी शासकहरुमा अहिले प्रष्ट रुपमा देखिएको छ ।

अनैतिक बाटोबाट पद प्राप्त गरी आर्थिक अनियमितताको माध्यमबाट धनलाभ गरी पुनः चुनावबाट नीति निर्माणको तहमा आउने पार्टीका चाटुकारहरुलाई आमजनता र जनप्रतिनिधि भनिएको छ । चुनावमा करोडौंको रकम खर्च गरेको निर्वाचन आयोगले देख्दैन, देखेपनि शासकीय वर्चस्वको अगाडि निरीहता प्रदर्शन बाहेक कुनै कारबाही गर्न सक्दैन । कारबाही गर्नै प¥यो भने शोख मेटाउन आइपुगेका नयाँ उम्मेदवारहरु बलीका बोका बन्छन् ।

मधेश आन्दोलनदेखि सजग भएका यी शासकहरु वर्गीय राजनीतिक दुर्गलाई मजबुत बनाउन अनेक सूक्ष्म साजिशलाई जन्म दिएको छ ः (१) चुनावलाई महँगो बनाएर जनताको पहुँचभन्दा बाहिर राख्ने, (२) पार्टीका कार्यकर्ता घेरालाई मजबुत बनाउन चुनावमा जिताएर ल्याउने, (३) नीति निर्माणको तहमा शासक वर्गको उपस्थिति देखाउने तथा (४) जनविश्वास हासिल गर्न लोकतन्त्र र सर्वहाराको मुकुण्डो लगाई राख्ने । शासकवर्गका यी मिहिन रणनीतिक कार्ययोजना हुन् जसका माध्यमबाट यिनी अजेय बनेका छन् ।

नेपाली कांग्रेस बुर्जुवा पार्टी हुन् । यिनले पुँजीपति वर्गको हित सोच्छ भनेर दिनरात आमजनतालाई पाठ घोकाउने नेकपा आफ्नो दुई तिहाइको शक्तिशाली सरकार बनेको तीन वर्षमै आर्थिक अनियमिततामा चुर्लुम्म डुब्दा नेपाली जनतामा रहेको कम्युनिष्टप्रतिको मोह टुटेको छ । भ्रमको बादल हटेको छ । जनतामा ओली सरकार अलोकप्रिय हुँदै जाँदा विभिन्न बहानामा प्रतिनिधिसभा भंग गरी पुनश्चः नयाँ छवि बनाउने नाटक मञ्चन गरिएको त्यसै अनुमान गर्न सकिन्छ ।

निरंकुश सामन्ती शासन कठोर जहर थियो भने उदारवादी सामन्ती प्रणाली मन्द जहर हो यसले जनतालाई मर्न दिँदैन बाँच्न पनि दिँदैन । उदारवादी शासन प्रणालीमा तुलनात्मक रुपमा देश र जनता बढी पीडित भएको आम बुझाइ छ ।

आर्थिक रुपान्तर, समान अधिार, समन्यायको माध्यमबाट नेपाललाई विकासशील र समृद्ध बनाउने समाजवादको वैज्ञानिक अवधारणालाई मूर्तरुप दिने नेकपाको दीक्षामन्त्र आफ्नो शक्तिशाली सरकारमा टाँय–टायँ फिस्स भएपछि कम्युनिष्टको आवरणमा शासकको तानाशाही स्वरुप प्रष्टिएको छ । लोकतान्त्रिक सरकारमा हुनुपर्ने गुणहरुको सट्टामा स्वेच्छाचारिता, छलकपट, जाल, फरेब, धोका, चरम भ्रष्टाचार, प्रधानमन्त्रीले नै भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप आदिको जगमा यो सरकार आलोच्य बन्नु स्वाभाविक हो ।

आफ्नो अकर्मण्यता, भ्रष्ट आचरण आदिलाई लुकाउन र चर्चामा रहन चालिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सही सावित गर्न सर्वोच्च अदालतलाई अग्निपरीक्षा दिन बाध्य गरेको, निर्वाचन आयोगलाई निरुत्तर गरेको, ओली पक्षको अनावश्यक जनप्रदर्शन र विपक्षको जनप्रदर्शनको कुनै तुक छैन । मधेश विरोधी संविधान घोषणा गराउने शासक वृत्तका एकजना भूपू प्रधानमन्त्रीलाई मधेशलाई उचालेर आन्दोलन गर्न पठाइएको छ । एउटा शासकलाई अपदस्थ गराई अर्को शासकलाई पद स्थापना गराउन गरिने मधेश आन्दोलन कति उचित हुन सक्ला ?

नेपाली राजनीतिक दल नेकपा र नेपाली कांग्रेसको कठोर पञ्जामा कैद छ । नेपाली राजनीति जबसम्म शासकवर्गको गुलाम बनि रहन्छ, न यो देशमा प्रगति हुन्छ न जनता सुखी हुन्छन् । भ्रष्ट आचरणका यी पार्टीहरुको भ्रष्टाचार गर्ने एक मात्र एजेन्डा रहेका छन् र त्यो प्राप्त गर्न रक्तपातपूर्ण आन्दोलन गर्न पनि तयार रहन्छन् ।

अहिले ओलीको राजनीतिक रथयात्रा कुन दिशामा जाने, कसैले जानेका छैनन् तर नवीन अकल्पनीय घटना घटाउने कुरामा सबै सशंकित छन् । जनधरातल सचेत नभई नेपालको राजनीतिक स्थिर सम्भव छैन । जनता जागरुक हुन जरुरी छ । (मधेश दर्पण फिचर सेवा)