महानन्दको ‘सिमाना’ मोह
मुक्तक भन्ने वित्तिकै साहित्यको छोटो मीठो तथा रसिलो, कसिलो र चोटिलो विधाका रुपमा चिनिन्छ । पछिल्लो समयमा नेपाली साहित्यको क्षेत्रमा गजल विधाले आफ्नो प्रभुत्व नै जमाएको बेलामा मुक्तकले पनि आफ्नो अस्तित्वलाई त्यतिकै बलियो बनाउँदै लगिरहेको छ । छोटो समयमा लेखिने चतुस्पदिय शैलीको यो विधामा चार लाइनमा नै भन्नु पर्ने सबै कुरा भन्न सकिने भएकोले पनि मुक्तक लोकप्रिय बन्दै गइरहेको छ ।

सम्मत् २०७७ मा नेपाली साहित्याकाशमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकाल सिमाना नामक मुक्तक संग्रह बजारमा आयो । झट्ट सुन्दा सदाबहार रुपमा बजार आउने मुक्तक संग्रहहरु जस्तै यो संग्रह थोरै मायाप्रितिका कथा, थोरै लेखकको भोगाई अनि थोरै देशप्रेम र थोरै राजनीतिक खुराकहरु बोकेर आएको होला भन्ने लागेको थियो । तर जब सिमानालाई अध्ययन गर्ने मौका मिल्यो त्यसले निकै फरकधार बोकेर आएको रहेछ । फरक धार र फरक भावमा यी मुक्तकको रसस्वाद गराउने मुक्तककार महानन्द ढकाललाई साधुवाद ।
सिमाना मुक्तक संग्रहभित्र ८७ वटा मुक्तकहरु संग्रहित छन् । यस संग्रहमा मुक्तककारले भने झैँ यी मुक्तकहरु न त लहडमा लेखिएका हुन न त रहरमा नै । हो, यस्ता मुक्तकहरु लहडमा वा रहरमा लेख्न सम्भव छैन । यस्ता मुक्तकहरु लेख्नका लागि मुक्तकिलो मन हुनुपर्दछ । देशको सिमा प्रति मोह हुनुपर्दछ । लेखनमा खारिएको हुनुपर्दछ भने साहित्यको विधागत ज्ञानको पूर्णता हुनुपर्दछ । एउटा फोटोले एक हजार शब्द बोलिरहेको हुन्छ भने झैँ यस मुक्तक संग्रहमा संग्रहित प्रत्येक मुक्तकको व्याख्या गर्ने गरी विक्रम शिशिरले स्केच गरेको चित्रहरुले मुक्तकको पूर्ण व्याख्या गरेका छन् । जसले गर्दा पनि संग्रहको महत्वलाई अझैँ बढाएको छ ।
कुनैपनि रचना सिर्जना गर्नका लागि कलम लिएर कापीको साहारा लिदैमा शब्दहरुको माला उन्न सजिलो हुँदैन । शब्दहरुको माला उनेर शब्दलाई वाक्यमा र वाक्यलाई सिर्जनामा ढाल्नका लागि जीवन भोगाईमा डुब्न सक्नुपर्छ । त्यसैले त भनिन्छ कल्पना गरेर लेखिएको भन्दा भोगेर वा देखेर लेखिएको साहित्यिक रचना अझ अब्बल हुने गर्दछ । जब कुनै दृष्य झ्वाट्ट नजरमा पर्दछ । जब कुनै घटना आफ्नै आँखाले देखिन्छ वा जब कुनै बाटो आफै हिडिन्छ अनि त्यसबाट उत्पादन भएको साहित्य परिणाममुखी हुने गर्दछ । हो, महानन्दका यी मुक्तकहरु त्यसै त्यसै अवस्थामा सिर्जना भएका हुन भन्ने कुरा यी मुक्तकहरु हरफहरु पढ्दै जाँदा पाठकले सजिलै नजर अन्दाज गर्न सक्छन् ।
शिक्षण पेशा गरेपनि साहित्यभित्र मज्जाले डुबुल्की मार्न सक्ने भएकाले महानन्दलाई पनि यस्ता मुक्तकहरुको सिर्जना गर्न सफलता मिलेको होला । अर्को यथार्थता के पनि हो भने उहाँको दम्पत्ति नै साहित्य क्षेत्रमा भएकाले पनि सामाजिक विकृति, विसंगति र सीमाको पीडाले मुक्तककारलाई पटक पटक घोच्न सकेको हो । आफ्नो देशको सीमामा भएका अतिक्रमणहरुले नघोच्ने त कसलाई हुन्छ र । तरपनि कसैले व्यक्त गर्न सक्छन् । कसैले प्रतिकार गर्न सक्छन् भने कसैले चुपचुप सहन गर्न सक्छन् । यही फरक छ एउटा साहित्यको विद्यार्थी, एउटा सीमा हेर्ने नागरिक र एउटा सर्वसाधारणमा ।

अब लागौ यस संग्रहभित्र संग्रहित मुक्तक तर्फ । अर्थात सिमानाको गुदी तर्फ । सरसर्ती अध्ययन गर्ने क्रममा यस संग्रहमा भएका मुक्तकहरु यो बलियो वा त्यो कमजोर भन्ने ठाउँ नै छैन । यो असल वा त्यो कमसल भनेर दाँज्नै सकिदैन । सिद्धान्त र संरचनाको हिसाबले यो सुन्दर वा त्यो कुरुप भन्ने आधार नै छैन । जुन बोराको चिनी निकालेपनि गुलियो नै हुन्छ भने झैँ एक नाशको बेगमा बगेका छन् मुक्तकहरु । कृतिको शीर्षकसँग मिल्ने विषयवस्तु चयनदेखि मुक्तकमा आएको भाव र विचार, लेखन कला र सम्प्रेषणको शैली अनि धाराप्रवाहको सन्देशले पाठकको मनलाई आगो अगाडिको नौनी बनाईं पगाल्न सकेको छ ।
सगरमाथा झुकेको कसरी हेर्न सकिएला ?
मेची–काली दुखेको कसरी हेर्न सकिएला ?
हिमाल, पहाड, तराई आफ्नै लाग्छ मलाई
समीकरण टुटेको कसरी हेर्न सकिएला ?
सिमाना मुक्तक संग्रह भित्रको पहिलो मुक्तक हो यो । हामी वीर गोर्खालीका सन्तानहरु हौ भनेर त्यसै भनिएको होइन । सीमा रक्षा गर्नकै लागि हाम्रा पूर्खाहरुले आर्जन गरेको इतिहासले यो सिद्ध गरेको हो । त्यसैले त नेपालीको शीर र सगरमाथालाई बिम्बित गरेर धेरै साहित्यको सिर्जना भएको छ । जसरी सगरमाथा झुक्न सक्दैन त्यसैगरी नेपालीहरुको शीर पनि झुक्न जान्दैन भन्ने उपमालाई प्रयोग गरेर मुक्तककारले मेची र महाकालीका बीचमा जुन भातृत्वको सम्बन्ध छ त्यसलाई उजागर गर्नुभएको छ । आज संघीयताको नाममा प्रदेशको स्थापना भएपनि देश टुक्रिएको पनि होइन । हामी बीचको सम्बन्धमा पनि दरार आएको होइन भने हाम्रो माया पनि कमी भएको छैन । अनि कोही आफ्नो र कोही पराई भएकै छैनौ । त्यसैले त मुक्तककारलाई पनि हिमाल, पहाड र तराई आफ्नै लागेका छन् । तर यहाँ मुक्तककारले चिन्ता व्यक्त गर्नुभएको छ कतै भोलीका दिनमा यो समीकरणमा कतै खलल पुग्ने हो कि ।
बाहुला सुर्केर छाती देखाएर तर्साउन नखोज
चक्कु–छुरी समाई माथि देखाएर तर्साउन नखोज
न सगरमाथा झुक्ला, न शिर झुक्ला कहिल्यै
चुल्ठे–मुन्द्रे साथी देखाएर तर्साउन नखोज ।
पहिलो मुक्तकले बोकेको कुरालाई यो माथिको पाँचौ मुक्तकले एक छिनमै पुष्टि गरिदिएको छ । यो मुक्तकले बोलेको छ, न सगरमाथा झुक्ला, न शिर झुक्ला कहिल्यै । विशेष गरी नेपाललाई तीन तिरबाट घेरेर बसेको भारत र एकातिर मात्र सीमा जोडिएको चीन जत्तिको नजिकको हाम्रो छिमेकी अरु कोही छैन । दुःखमा पनि चाहिने यिनीहरु हुन सुखमा पनि रमाउने यिनीहरु हुन् । तर भनिन्छ नि, टाढाको भाइ इष्ट बराबर नजिकको इष्ट भाइ बराबर । त्यसै भएको छ हामीलाई । चीनसँगको उत्तरी सीमाको कारण र त्यहाँ हिमालय पर्वतमालाको कारण चीनले सहजै हाम्रो सीमा मिच्न सक्ने अवस्था छैन भने तीनतिर रहेको भारत त्यो पनि खुला सीमा भएका कारण जहिले पनि कान्छो भाइको रुपमा नेपाली सीमा माथि धाबा बोलिरहने गर्दछ । इष्ट इण्डिया कम्पनीले निर्माण गरिदिएको विकासलाई आधार बनाएर भारत बाँचिरहेको सबैका अगाडि स्पष्ट छ । तर मेरो हजुरबाले घिउ खाएका थिए मेरो हातबाट पनि बासना आउँछ भने झँै हिजोका दिनमा ब्रिटिसको दास बनेकाहरुले आज नेपाली सीमा माथि लोभ गरिरहेका छन् । चाहे त्यो कालापानीको कुरा होस् चाहे त्यो लिम्पियाधुरा, लिपुलेकको प्रसंग होस् । कसैले बाहुला सुर्कदैमा नेपाली कोहीसँग डराइ हाल्दैनन् चक्कु–छुरी देखाउँदैमा तर्सिहाल्दैनन् अनि चुल्ठे–मुन्द्रे हुँदैन कोही बलियो बन्न हुँदैनन् भन्ने कुरालाई मुक्तकले स्पष्ट पारिदिएको छ । कसैका धाक र धक्कुसँग हामी डराउनेवाला छैनौ र डराएको पनि होइनो भन्ने सीमाको रक्षा गर्नका लागि हाम्रा पूर्खाहरुले जसरी हिजो केवल भाला र खुकुरीको भरमा लडेका थिए भने आज त हामीले पनि धेरै थोरै शक्ति आर्जन गरिसकेका छौ ।
देश प्रेमले ओतप्रोत हुँदै गर्दा मुक्तककारको मन कहाँबाट कहाँ पुगिदिन्छ । जसले गर्दा पाठकको मनलाई पनि त्यसरी नै दौडिन बाध्य बनाएको छ ।
हुरी चल्यो, पानी प¥यो, खरानी सकियो
थोरै थियो बचेखुचेको निशानी सकियो
नसकिने भनेको त बिर्सन मात्र रहेछ
उमेर सकियो, उमेरसँगै जवानी सकियो ।
नदीको छाल र खोलीको बहाब त फरक फरक हुन्छन् भने मान्छेको उमेर र त्यो उमेरसँगै निरन्तर बग्दै जाने जवानीको के कुरा । उमेरसँगै आउँछ जवानी र जान्छ जवानी । तर त्यो उमेर अनुसार कसले के गर्न सक्यो र जवानीसँगै कसले कस्ता क्षणहरु व्यतित ग¥यो भन्ने कुरा मुख्य हो । घाउ सञ्चो भएपनि त्यसको निशानी स्वरुप खाटा बस्ने गर्छ । त्यो खाटा मेटिन धौ–धौ हुन्छ । त्यसैले गरी निशानी पनि मेटिन धौ–धौ हुन्छ । जसलाई जिवित राखिदिन्छन् यादहरुले । घुमाउरो पारामा क्या लेख्नहुन्छ महानन्द जी ।
भाइ नफुटेसम्म गवाँर लुट्न सक्दैनन् । आफ्नो घरभित्रको भेद कसैले नखोलेसम्म छिमेकीले हेप्न र चेप्न पाउँदैनन् भन्ने कुरालाई सबैले मनन् गर्न जरुरी छ । जसरीले एउटाले नेतृत्व गरिरहेको घरमा सबैले उसको सम्मान गर्न सक्छन् र उसले सबैलाई बराबरी माया दिन सकेको हुन्छ भने त्यो घरको अनुशासन, अस्तित्व र इज्जत नै फरक हुने गर्दछ । त्यो घरमा न छिमेकीले नै आँखा लगाउन सक्छन् त दुष्टले बाधा नै पु¥याउन । तर हाम्रो देशका नेताहरु भाषणमा आदर्श छाँट्ने अनि आफ्नो स्वार्थ र सत्ताका लागि पराईको पाउँ मोल्न पुग्ने प्रवृत्तिका कारण आज पराईले सीमा माथि आँखा लगाएको छ । सिंहदरबारमा बस्नेहरुको शक्ति तानातानको कारण उनीहरुले मच्चाउने विध्वंसको कारण पनि पराइले हाम्रो आत्मियता र भातृत्वको बारेमा भेउ पाउन सकेको हो ।
मुक्तककारलाई केवल सीमाको बारेमा अर्थात् अझ स्पष्ट भन्नु पर्दा भारतसँगको सिमानाको बारेमा मात्र चिन्ता छैन । चिन्ता आफ्नै घरभित्रको पनि छ । सदिऔदेखि बलियाले निर्बलिया माथि गरेको र गर्दै आइरहेको चिथोमिचो, अनि धनीले गरिबलाई गर्ने व्यवहार, छुतले अछुतलाई गर्ने व्यवहारका बारेमा त्यत्तिकै पनि चिन्ता छ । यस धरातलमा जन्म लिनको लागि आमाको गर्भमै बसेको अवस्थादेखि नै कसैको नोकर बन्नु पर्ने, कसैको दास बन्नु पर्ने अझ भन्ने हो देशी र विदेशी ऋणको भारले थिचिनु पर्ने अवस्थाबाट नेपालीहरुले मुक्ति पाउन सकेका छैनन् । हामी लोकतन्त्रको कुरा गर्छाै । गणतन्त्रात्मक शासन प्रणालीमा रमाइरहेका छौ भन्छौ । स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न पनि हौ । हामीलाई संविधानले पनि विभिन्न हक र अधिकारको व्यवस्था गरेको छ तर महानन्दको मुक्तकले सत्य यसरी ओकलेको छ,
जोताहाले आफ्नै जमिन खन्ने दिन कहिले आउँछ ?
श्रमिकहरु पनि मालिक बन्ने दिन कहिले आउँछ ?
वाद–प्रतिवादको कुरा होइन यो, स्वभाविक हो
हाम्रो समान अधिकार भन्ने दिन कहिले आउँछ ।
यो मुक्तकले अहिले पनि जोताहाले जमिन्दारकै जमिन खनिरहेका श्रमिकहरुले मालिकै भारी बोकिरहेका अनि सबैले संविधान बमोजिम समान अधिकार उपयोग गर्न नपाएका भन्ने स्पष्ट बोल्दैन र ?
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भने झँै साहित्यकारहरुको मन पनि कहाँ कहाँ पुगिदिन्छ । कहिले मिचिएको सीमामा गएर क्रान्ति गर्छ । कहिले किसानका खेतबारीमा मानो छरेर मुरी उब्जाउँछ कहिले प्रेमिल भएर कोइलीसँग हो मा हो मिसाइदिन्छ । आखिर जे गरेपनि संघर्षको मैदानमा नउत्री धरै छैन । समानताका कुरा पूरा होसु कि अधिकारलाई प्रयोग गर्न होस् मूल नीतिको रुपमा मानिएको राजनीति नै विरोधाष भइदिएपछि केही नलाग्दोरहेछ ।
नेपाली जनताले स्थायी शान्तिको कामना गर्दै र स्थायी सरकारको आश गर्दै गरेको मतदानलाई शक्ति र स्वार्थका लागि पद र प्रतिष्ठाका लागि कैचीको धारमा राखेर औला चलाउने काम भएपछि आज राजनैतिक रुपमा देखिएको धमिलोपन मेट्न कठिन छ । राजनीति माथि लागेको बादल फाट्न निकै बेर लाग्ने निश्चित जस्तै भएको छ । नारामा हिमाल, पहाड तराई कोही छैन पराइ भनेर के गर्नु हिमालको हिउँले तराईलाई शितला दिन सक्दैन भने पहाडको गुुँराससँग तराई रम्न सक्दैन भने र तराईको मयूरले पहाडतिर आफ्ना पंखहरु नै फिजाउन सक्दैन भने । शुद्ध मन पवित्र आत्माको खडेरीमा जतिसुकै एकताको सिंचाइँ गर्न खोजेपनि फसल फल्ला र ? फल्छ भने केवल राजनीतिक आडमा भ्रष्टाचार, घुसखोरी र कमिशन तन्त्रमा खेल खेल्नेहरुको लागि मात्र फल्छ । सोधा जनताले जहिले पनि पिल्सिनै पर्छ भन्ने कुरालाई मुक्तकका बान्कीहरुमा छर्लङ्ग पारिएको छ ।
जन्मभूमि प्रतिको माया सबैको मनमा हुन्छ । त्यसलाई करार गर्न सक्नुपर्छ । युद्धमा जित्नु हार्नु स्वभाविक हुन्छ । रणभूमिमा पुगेका केवल पाँच पाण्डवहरुले सय कौरवहरुलाई जितेको इतिहास नसुन्ने को होला र ? त्यसैले हेप्नेहरुले काट्न सक्छन र काटिन सक्छन भन्दै मुक्तककारले अर्काको सिमाना मिच्न खोज्नेहरु एउटा हातमा कलेजो र अर्कोमा हतियार लिएर आउन कासन गर्नुभएको छ ।
देशको वर्तमान राजनीतिक अवस्थासँग मिल्ने मुक्तक महानन्दले पहिल्यै रचना गरिदिनु भएको रहेछ । हिजो एउटा अगेनामा पाकेको खाना खानेहरु आज विभिन्न झुण्ड र समूहमा लागिरहेका छन् । जसले गर्दा पनि राजनीति धमिलिएको छ । ती झुण्ड र समूहरुलाई देखेर स्वयम् राजनीतिक कार्यकर्ताहरुलाई त अचम्म लाग्दो हो भने महानन्दलाई किन अचम्म नलाग्नु,
यी मान्छेहरुको झुण्ड देखेर अचम्म लाग्छ
विवेकहीनता र उदण्ड देखेर अचम्म लाग्छ
के सोचेका र के बुझेका छन् खै यो जिन्दगी?
दुर्योधनको जस्तो धमण्ड देखेर अचम्म लाग्छ ।
विश्व कोरोना माहामारीको दोस्रो लहरका कारण आक्रान्त बनेको छ यतिबेला । आफू बाँच्न र आफ्नालाई बचाउनका लागि सबै सचेत हुनु पर्ने अवस्था छ । त्यसैले सबैको जिउ धनको सुरक्षाका खातिर सबै एक हुनुको विकल्प पनि त छैन । त्यसका लागि मनको मैलो धुन सक्नुपर्छ । मनमा भएको एक अर्काप्रतिको रोषको नदीलाई सुकाउन आवश्यक छ । नदीका दुई किनारा जुट्नसक्ने कल्पनामा मुक्तककारले आफ्नै छायाँ आफ्नो नहुने र छुटन सक्ने कुरालाई मिठास शैलीमा मुक्तकका हरफमा तौलिदै मनमा भएको रिस रा राग त किन छुट्न सक्दैन भन्ने कुरालाई अलि अलि लुकाएर र अलि अलि देखाएर गरिएको प्रस्तुती कम दमदार छैन ।
हामी आशातित बन्न सक्नुपर्छ । सोच सकारात्मक भएमा काम सकारात्मक गरिन्छ काम सकारात्मक गरेमा परिणाम सकारात्मक आउँछ आउँछ । नकारात्मक सोच, भावना र मनका साथ गरिएको कामले सकारात्मक फल दिने आशा गर्नु मुर्खता हो । उद्देश्य के लिनु उडि छुनु चन्द्र एक भने झैँ मुक्तककारले पनि ठूलै रहर गर्नुभएको छ,
हिमाल उठाउने रहर छ मेरो
आकाश फुटाउने रहर छ मेरो
समुद्र सर्लक्कै पिएर सुकाई
किनारा जुटाउने रहर छ मेरो ।
यस्तो रहर एउटा साहित्यकारले गर्न सक्छ । एउटा कविमनले गर्न सक्छ । एउटा मुक्तककारले गर्न सक्छ । धानको बालामा चामल फलेको देख्न साहित्यकारको आँखा चाहिन्छ । जुनले शीतको थोपा छरेको विहानीमा सबैल देख्न सक्लान् तर जुनमा चाँदीको घेरा लागेको साहित्यले देख्न सक्छ । शीतका थोपामा मोतिका दानाहरु देख्न पाउनका लागि लेखकको कलम चल्नैपर्छ । यस्ता भयंकर रहरहरु गर्ने मुक्तककार रहरहरु पनि सजग भएको मुक्तकले नै बोलिरहेका छन् ।
मन नमिल्नेहरुले हात मिलाउनुको अर्थ छैन
चक्कु लुकाएर दिल सिलाउनुको अर्थ छैन
आफ्नै लक्ष्यमा हिड्न देऊ आफ्नै जीवन बाँच्न
लकाएर जहर अमृत पिलाउनुको अर्थ छैन ।
कुनैपनि देशको पहिचान त्यो देशमा लेखिने साहित्यबाट झल्किन्छ । कुनैपनि समाजको पहिचान त्यो समाजमा भएको सभ्यताबाट बुझिन्छ । पहिचान जोगाउनका लागि सभ्यता र संस्कृतिको जगेर्ना गर्नैपर्छ । अन्यथा पहिचानसँगै हराउन सक्छन् संस्कृति र सभ्यताहरु । मेटिन सक्छ अस्तित्व । त्यसका लागि हाम्रा रितिरिजाज, पहिचान, संस्कृति र परम्पराहरुलाई पनि जोगाउनु आवश्यक छ । सुख, सुविधा र सम्पन्नताका नाममा आज गाउँघरबाट ढिकी जाँतो लोप हुन थालेका छन् । तोरी पेल्नका लागि प्रयोग कोल एकादेशका कथा जस्ता भइसके । भोली हाम्रो हलो कुटो र कोदालो पनि नहराउला भन्न सकिदैन । वर्तमानमा संघर्ष गर्दै भविष्यको योजना बनाउँदै गर्दा विगतलाई पनि सम्झनै पर्छ । इतिहास भुल्नेहरुको के इतिहास लेखिएला र ? संस्कृति र सभ्यताका क्षेत्रमा मुक्तककार सचेत भएको देख्दा मलाई पनि औधि खुसी लागेको छ,
यो बाटो–घाटोलाई थाहा छ कि छैन ?
त्यो ढुङ्गो माटोलाई थाह छ कि छैन ?
हराउँदै छ संस्कृति हराउँदै छ सभ्यता
यो ढिकी जाँतोलाई थाह छ कि छैन ?
जात, धर्म, समुदाय र लिङ्गका आधारमा गरिने विभेदहरु विभेद मात्र होइनन् अपराध पनि हुन् भन्ने कुराको सन्देशमूलक मुक्तक समेटिनुले यो संग्रह सन्देशमुलक पनि छ भन्ने प्रष्ट नै छ भने आफू मात्र बाँच्न खोज्नेहरु कायर हुन्् सपुतहरु त देश बचाउन मेचीकालीमा खडा हुनुपर्छ । देशमा रोजगार नभएकै कारण लाखौ युवाहरुले अर्काको देशमा समय गुजार्नु परेको नमीठो यथार्थ लुकाएर पनि लुक्दैन । त्यो पीडा युवालाई मात्र होइन उसको आमाबाबुलाई पनि छ । उसको बालबच्चालाई पनि छ । अझ धेरै त सिउँदोमा सिन्दुर भएपनि हातमा चुरा भएपनि मनका चाहाना अधुरा भएकी उसकी जीवनसंङ्गिनीलाई छ । सिन्दुर, चुरा पोतेले मात्र जीवनलाई पूर्णता दिन सक्दैन ह्दय विधवा जस्तै भएर सन्तान टुहुरा जस्तै देखिए भने केवल पैसाको के अर्थ धनको के अर्थ ? महानन्दका यस्ता मुक्तकहरुले म जस्तो सामान्य मान्छेको त के महामानवहरुको मन मुट र मस्तिष्कमा च्वास्स सिस्नोले पोले झैँ पोल्न सक्छ । काँडाले घोचे झैँ घोच्न सक्छ ।
महानन्द ढकालको पाँचौ कृति सिमाना पढिरहँदा कुनै जमानामा तरबार भन्दा कलम बलियो भन्न शीर्षकमा बादविवादमा भाग लिएको याद ताजा बनेर आयो मेरो मानसपटलमा । साहित्यकारले सिर्जनाको रचना गरेकै कारण खै कताका राष्ट्रप्रमुखले राजीनामा नै दिए रे भन्ने समाचार सुनेको याद ताजा बन्यो दिमागमा । पत्रकारले समाचार लेखेकै कारण हाम्रै देशका धेरै मन्त्रीहरुले पदबाट हात धुनुु परेका घटना धेरै पूराना भएकै छैनन् । त्यसैले सबैभन्दा बलियो कलमलाई बनाउनु पर्छ । तरबार बलियो भयो भने काट्न सक्ला तर कलम बलियो भने काटेकोलाई पनि तह लगाउन सक्छ । बुझक्कड मुक्तककार महानन्दका चतुशपद यस्ता छन्,
कलम बलियो भयो भने तरबार ढल्न सक्छ
झुपडीबाट हानेको ढुङ्गाले दरबार ढल्न सक्छ
सत्तामा पु¥याउने प्रजा कुल्चिन खोजियो भने
कुर्सी भाँचिन सक्छ, सरकार ढल्न सक्छ ।
बलियो कलमले राणाहरुको तरबार ढालेको कुरा, झुपडीबाट हानेको ढुङ्गाले दरबार ढालेको कुरा याद गर्दै बस्दा हुन्छ सरकार चलाउनेहरु । अन्यथा भोली कुर्सी पनि भाँचिने र सरकार ढल्ने प्रक्रिया पनि सँगसँगै नहोस् । विभिन्न रस, विभिन्न भाव र विभिन्न शैलीमा प्रस्तुत गरिएका यी मुक्तकहरु आफैमा कलम बनेर उभिएका छन् । यस्तै यस्तै मुक्तकहरु पढ्न मन पर्छ मलाई पनि । हतार हतारमा होइन फुर्सदमा एकान्तमा चरिको चिरबीर आवाजसँगै आवाज मिसाउन मन पर्छ मलाई पनि । महानन्दजीको साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै सिमानाको रक्षामा उठौ र जुटौ भन्ने अपिलका साथ अन्तमा,
चलोस् हावा मन्द मन्द खुब मनपर्छ
पाउजु र चुराको छन्द खुब मनपर्छ
बादलमा लुकामारी लेख्छ जब चन्द्रमा
मलाई तिम्रो सुगन्ध खुब मनपर्छ ।






