प्रश्न : रक्षकहरूले नै संविधान नमानेपछि जनताले किन मान्ने ?
जेठ १ गते बिहानै नवलपरासीबाट सरस्वती तिमल्सिना बहिनीको फोन आयो । उहाँले सोध्नुभयो, ‘दाजु यो संविधानलाई राष्ट्रपति वा प्रधानमन्त्रीसमेतले अस्वीकार गरेपछि हामी नागरिकले किन पालना गर्ने ? कुनै कानुन उल्लंघन गरेमा नागरिकले किन सजाय पाउने ? के आमनागरिक र शासक नागरिकका बीच ग्रीककालीन विभेद नेपालमा हुनुपर्छ र ? त्यस्तो छ त ? तत्कालीन ग्रिसमा करिब पच्चीस सय वर्ष पहिले किसानहरू दास जस्ता थिए र उनीहरूलाई कुनै पनि शासकीय अधिकार थिएन । शासकहरू कानुनभन्दा माथि थिए । लोकतन्त्रको जननी बेलायतमा समेत १ सय वर्षअघिसम्म महिलालाई मताधिकार थिएन । अर्थात् शासकहरूले मात्रै कानुन बनाउने र उनीहरूको इच्छा वा अनिच्छामा प्रयोग हुने थियो । के आजको नेपाल पनि पच्चीस सय वर्ष पुरानो अवस्थाकै मान्नुपर्ने हो ?’
१ संविधानको रक्षक र पालक नै असहाय जस्तो किन ?
यतिविधि प्रश्नहरू एकै पटक थियो सरस्वतीको । उहाँ चेतनशील, पढालिखा र राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँका यी प्रश्नहरू त्यसै आएका थिएनन् । प्रसंग थियो जेठ ३१ गते प्रधानमन्त्री केपी ओलीको तेस्रो पटकको शपथ ग्रहण समारोहको । शपथका लागि शपथपत्रमा तयार पारेका अक्षर र शब्दहरू शपथ गराउने व्यक्तिले वाचन गरेपछि शपथ लिनेले नविराइकन पुनर्वाचन गर्नुपर्दछ, गर्ने नियम छ संसारभरि । अन्यथा त्यो कानुनविपरित हुन्छ । राष्ट्रपतिले दुई पटकसम्म ‘जनता र देशका नाममा इमानदारीपूर्वक काम गर्न भनी प्रतिज्ञा’ शब्द उच्चारण गर्न आग्रह गर्नुभयो तर ओलीले देश र जनताका नाममा काम गर्न कुनै प्रतिज्ञा गर्नु भएन । प्रतिज्ञा शब्दलाई नै अस्वीकार गर्नुभयो र ‘यो पर्दैन यो पर्दैन’ भनिरहनुभयो ।
अत्यन्त अशोभनीय क्षण थियो त्यो । राष्ट्रपतिजीले पनि त्यस विषयलाई कुनै गम्भीरताका साथ लिनु भएन । उहाँ त ‘संविधानको पालक र रक्षक’ नै हो । प्रधानमन्त्रीले संविधानअनुसार शपथ लिन अस्वीकार गरेपछि ‘न भन्ने त’ भनेर उपहास गर्ने, सबैले सुन्नेगरी हाँस्ने र असहाय जस्तो देखिने, संविधानलाई नै निरर्थक खोष्टो जस्तो देखाउने काम भएको देखियो । संविधानको रक्षकबाट नै यसरी संविधानको उल्लंघनलाई आफ्नै आँखाअगाडि प्रेरित गरेपछि सरस्वती जस्ता सचेत नागरिकको प्रश्न अन्यथा हुनसक्दैन ।
शपथ पत्रमा ‘ईश्वर’ भन्ने शब्द छ । ईश्वर शब्दलाई पहिले कुनै समयमा पुष्पकमल दाहालले पनि अस्वीकार गर्नुभएको थियो शपथ ग्रहण गर्दा तर उहाँ पछि चतरामा पुगेर ‘यमराजको वाहन मानिने भैंसी पूजा गर्न’ पुग्नु भयो । नेपालमा २०५१ मा पहिलोपटक अत्यन्त आक्रामक शैलीमा सरकारमा पुगेको एमालेका मन्त्री राधाकृष्ण मैनालीले ‘श्रीमद्भागवत् महापुराण र महायज्ञको’ उद्घाटन गर्नुभएको थियो । ईश्वरका नाममा शपथ नखाने तर ‘पशुपतिमा पुगेर क्षमा पूजा गर्ने’ काम वर्तमान प्रधानमन्त्री केपी ओलीले समेत गर्नुभएको जगजाहेर छ ।
मठमन्दिर धाउने, अनेक परम्परागत धार्मिक सांस्कृतिक समारोहमा सहभागी हुने, रातो टीका र फूल अक्षता सबै चढाउने, प्रसाद ग्रहण गर्ने, बिहेबारी परम्परागत रूपमा गर्ने, आशोच कर्म गर्न कपाल खौरने र निर्धारित दिनसम्म शुद्ध बस्ने, विजया दशमीको र भाइ टीकामा माला अबीर गर्ने तर ईश्वर शब्द उच्चारण गर्न भने अस्वीकार गर्ने यो ढोंग केका लागि र कसका लागि ?
सम्मानका खातिर वा भोट संरक्षण गर्न इदमा शुभकामना दिने, मस्जिदमा पुगेर प्रार्थना गर्दा आफ्नो टाउकोमा तकिया अर्थात् कुफी बाँध्ने, चर्चमा पुगेर प्रार्थनामा टोपी झिक्ने, गुम्बामा पुगेपछि चिवर भिर्ने वा शिरस्त्राण लगाउने, नेपालका जनजाति आदिवासीका घरदैलोमा पुग्दा, सभासमारोहमा पुग्दा उनीहरूकै जातीय परिधान लगाउने तर धर्म र संस्कृतिको मूल मानिने ईश्वर शब्दसँग समेत घृणा गर्ने यो कस्तो आचरण र व्यवहार हो ? बुझिनसक्नु छ । हामी सबैले देखेका थियौं : तीन वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने समय प्रधानमन्त्री केपी ओली ‘राजस्थानी भेषमा’ नै उभिनु भएको थियो । किन यो पाखण्ड ?
(२) न्यायाधीशले निष्पक्ष न्याय दिन्छु नभनेमा के हुन्छ ?
यदि न्यायाधीशले निष्पक्ष न्याय दिन प्रतिज्ञा गर्न अस्वीकार गरेमा, यदि कुनै आयोगमा नियुक्त वा नियोगहरूमा जाने राजदूतहरूले देश र जनताका लागि प्रतिज्ञा नगर्ने हो भने त्यो मान्य हुन्छ कि हुँदैन ? कि त संविधानबाट नै शपथ ग्रहणको प्रावधान हटाउनु प-यो, कि त एैच्छिक बनाउनु प¥यो । नत्र संविधानमा उल्लेख भएको शब्द र विषयलाई अस्वीकार गर्ने हो भने हामीले प्रधानमन्त्रीको नामलाई केके ओली, केपी गोली, कालो बादल जे भनेर उच्चारण गर्दा पनि भयो त ? के प्रधानमन्त्रीको नामको पहिलो खड्ग हटाएर प्रसाद ओली वा प्रसाद हटाएर खड्गमात्र औपचारिक रूपमा भन्दा मान्य हुन्छ त ? सञ्चारमाध्यमहरूले तपाईं नभनेकोमा आगो ओकल्ने र आफ्नो अपमान भएको ठान्ने प्रधानमन्त्री संविधानको मानमर्दन गर्न चाहिँ किन उत्सुक हुनुहुन्छ ? के उहाँले धर्म परिवर्तन गर्नुभयो ? खदालतमा पूर्वीय दर्शनको महत्वपूर्ण ग्रन्थ गीता, वेद, उपनिषद् छोएर सत्य बोल्न प्रतिज्ञा गराइन्छ । इसाइहरूले बाइबल, इस्लामहरूले कुरान, किरातहरूले मुन्धुम, बौद्धमार्गीहरूले धम्मपद आदि पवित्र ग्रन्थहरूलाई साक्षी राखेर सत्य, निष्ठाको शपथ गराउने प्रचलन छ ।
हामीलाई थाहा भएनुसार प्रधानमन्त्री ओलीले आफूलाई हिन्दू लेख्ने गर्नु भएको छ । त्यसो हो भने उहाँ किन ईश्वर शब्दलाई अस्वीकार गर्नु हुन्छ ? सबैले गर्नुपर्ने प्रश्न हो यो । कि उहाँले कुनै ईश्वर नमान्ने धर्म वरण गर्नु भएको छ कि ? जानकारी त दिनु प-यो नि ? होली वाइनको चर्चा त अहिलेसम्म चलिरहेकै छ ।
देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्छु नभन्ने व्यक्ति राष्ट्रको सर्वेसर्वा भयो भने के हुन्छ ? ओलीलाई प्रधानमन्त्रीमा आसीन गराउने नेपाल कम्युनिष्ट पार्टी एमाले र त्यसलाई सहयोग गर्ने माओवादी केन्द्रका सदस्यहरूले सार्वजनिक जवाफ दिनुपर्छ । अनि नेपाली जनता जसले देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिज्ञा गर्दैन त्यसलाई विजयी गराउन र त्यसको देवत्वकरण गराउन सदा व्यग्र देखिन्छ । के नेपालीहरू नेपालको र आफ्नै हितका पक्षमा छैनन् त ? यस्ता अनेक प्रश्नहरू हाम्रा सामु छन् ।
(३) भुलवस भएको त्रुटिमा क्षमा हुन्छ
शपथ ग्रहण गर्दा शब्द त्रुटि भएमा, उच्चारण गलत भएमा, क्षमा याचना गरिएका, भुल भएको भनी पश्चाताप गरिएका र दोहो-याउनुपरेका अनेक उदाहरणहरू संसारमा पाइन्छन् । नेपालमा २०६५ मा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा शपथ ग्रहण गरेको र औपचारिक समारोहमा कुर्ता सुरुवाल लगाएको भनेर विवाद भएपछि उहाँले दोहो-याएर नेपालीमा शपथ खानु भएनमात्रै त्यसपछि हरेक औपचारिक समारोहमा उहाँ दौरासुरुवालमा ठाँटिएर उपस्थित हुने गरेको देखिएको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले त पहिलो पटक शपथ ग्रहण गर्दा त्रुटि गरेको भनी प्रमुख न्यायाधीश जोन रेवर्टस्बाट दोस्रो पटक शपथ लिनुपरेको थियो । अमेरिकामा नै सन् १९०९ मा तत्कालीन न्यायाधीश र पछि राष्ट्रपति भएका विल हर्ड ट्राफ्टले आफूले शपथ लिँदा दुवै पटक भुल गरेको स्वीकार गर्दै पश्चाताप गरेका थिए । अन्य कतिपय समयमा भएका यस्ता गल्तीहरू अर्थात् भूलहरूका लागि क्षमा याचना भएका छन् ।
जापानमा शपथ ग्रहण गर्दा आफू ‘अत्यन्त सरल जीवन जिउने प्रतिज्ञा’ गर्नुपर्दछ । त्यहाँ शपथका पाँच सूत्रहरू बनाइएका छन् र ती सबै पुनर्वाचन हुने गर्दछन् । भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान वा संसारका जुनसुकै देशमा पनि शपथका शब्द र वाक्य तोकिएको हुन्छ त्यसलाई अक्षरशः पुनर्वाचन गर्नैपर्दछ । नेपालमा मात्रै यो किन अराजकता ? के कम्युनिष्ट प्रधानमन्त्री भएकोले मात्र हो त ?
तर, प्रधानमन्त्री ओली वा पुष्पकमल दाहालहरूले भूल गर्नुभएको होइन । जानी जानी संविधान मिच्ने दण्डनीय काम गर्नुभएको छ । के कम्युनिष्ट भएकै कारण हो त ईश्वर वा प्रतिज्ञाको अस्वीकृति ? ईश्वर शब्दलाई स्वीकार गर्दा कम्युनिष्ट हुइँदैन वा कम्युनिष्ट विचारबाट स्खलित भइन्छ भनेर हो त ? तथाकथित कम्युनिष्ट आदर्शप्रतिको निष्ठाकै कारण आफूसमेतले निर्माण गरेको संविधानलाई अस्वीकार गरिएको हो त ?
(४) सिद्धान्तच्युतहरूको पाखण्ड किन ?
कम्युनिष्ट अनुयायीहरूका लागि वेद जस्तो मानिएको माक्र्सवादी दर्शनको सीमा खान, लाउन र बस्नमा मात्र छ । यो दर्शनले जीवनसँग आफूलाई जोड्दैन । उत्पादन गर्ने काममा आमजनसहभागिता, वितरण र उपभोगमा राज्य नियन्त्रणको सिद्धान्तलाई प्रतिपादन गरेको छ माक्र्सवादले । यसले भौतिकवादी द्वन्द्ववादबाट दर्शनको आरम्भ गर्दै अन्तिम निद्र्वन्द्ववादी समाज अर्थात् पहिले वर्गीय अधिनायकत्व र पछि समाजविहीन समाज, राज्यविहीन संसारको परिकल्पना गरेको छ ।
धर्म, संस्कृति, जात पहिचान सबैलाई सामन्ती चरित्र भनेर व्याख्या गर्दै व्यक्तिको स्वतन्त्रता, व्यक्तिको अतिरिक्त इच्छा, उसको छनोट, असहमति आदि कुनैलाई यस सिद्धान्तले छुट दिँदैन । राजनीतिक संगठनको कुरै छाडौं सामान्य असहमतिको सम्भावना पनि यसमा हुँदैन । यसैकारण माक्र्सवादी दर्शनबाट दीक्षित सत्ता, सरकार, पार्टी र व्यक्ति जहिले पनि अधिनायकवादी, निरंकुश हुनेगरेका छन् ।
आफ्नो पूर्णसत्ता भएन भने लेनिनको सूत्रअनुसार पहिले शक्ति आर्जन गर्ने, अर्को शक्ति वा संगठनमाथि कब्जा गर्ने र नसक्ने अवस्था रहेमा शक्तिशाली संगठनभित्र घुसपैठ गरी छिन्नभिन्न गराउने अनि सत्ताको बाटो सहज बनाउने कम्युनिष्टहरूको रणनीति हुन्छ । उनीहरू आफू शक्तिशाली नभएसम्म विपक्षका सिद्धान्त, संगठन आदिमा प्रवेश गरी तिनको उपयोग गरी माकुराको बच्चा र माउको कथा दोहो-याउन तम्तयार रहन्छन् ।
यदि ‘ईश्वर, इमानदारीपूर्वक वा प्रतिज्ञा’ जस्ता शब्द उच्चारण गर्दा कम्युनिष्ट सिद्धान्तबाट च्युत भएको लाग्छ भने लोकतन्त्र, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय, संघीयता, बहुलवाद, बहुदलीयतालाई स्वीकार गर्दा कुन माक्र्सवादको शिखरमा आसीन भइरहेको देखिन्छ ? नेपालका सबै कम्युनिष्ट नामधारीहरू राजनीतिक, वैचारिक, सांस्कृतिक, सामाजिक र आर्थिक सबै तहबाट स्खलित भएका छन् । सिद्धान्तबाट च्युतहरू यो पाखण्ड किन देखाइरहेका छन् ? खाली ‘ईश्वर, प्रतिज्ञा, इमानदारीता’ जस्ता शब्दसँग मात्र द्रोह किन ?
कुमारी पूजा, गाईजात्रा, भोटोजात्रा, मच्छिन्द्र यात्रा, रामनवमी, विवाह पञ्चमी, कृष्णजन्माष्टमी, इद, क्रिसमस, बुद्धपूर्णिमा, उधौली, उभौली, ल्होसार मान्न तम्तयारहरूले ‘ईश्वर’ शब्दसँग, जनता र देशप्रति इमानदार हुने प्रतिज्ञासँग भाग्नु र संविधानकै अपमान गर्नुले गैरजिम्मेदार पाखण्ड प्रमाणित गर्दछ । खुशी यो अर्थमा हुनुपर्छ कि केही उत्साही कानुन व्यवसायीहरूले शपथ ग्रहण सन्दर्भमा संविधानको अपमान भएको, संविधानको उल्लंघन भएको भन्दै अदालतमा निवेदन दिनुभएको छ ।
स्वतन्त्र न्यायालयले जे जस्तो निर्णय दिए पनि संविधानलाई अस्वीकार गर्ने प्रवृत्ति लोकतान्त्रिक प्रणाली अन्त्य गर्नेहरूका लागि थप ऊर्जा भइरहेको छ । यसैकारण आजको राजनीतिक प्रणालीलाई जोगाउने हो भने यो प्रवृत्तिलाई अंकुश लाउनु अनिवार्य छ । अन्यथा राष्ट्रपति, प्रधानमन्त्रीसमेतले नमान्ने संविधान र कानुनको आमनागरिकले पालना किन गरिरहनुपर्छ ? संविधान र कानुनविरुद्ध जनताको प्रश्न हो जुन प्रश्न सरस्वती र उनीहरू जस्ता आम नेपाली सबैको हो । हिमालयटाइम्सबाट साभार






