मानवजीवनमा आउने ताप र निराकरणका उपाय
चौरासी लाख योनि अर्थात् जुनी, चोला वा जन्म विश्व ब्रहृमाण्डमा चुनौतीपूर्ण चक्रीय घुमाइ हो । त्यसमा पनि मानव जीवन त चरम संघर्षकै अर्को नाम भएको हुँदा दुःख, विषाद, सुख, हर्ष, घृणा, प्रेम आदि भोगिरहनुपर्दछ । हरेक पल मान्छे तापबाट तप्त छ । जसलाई हिजोआज सबै मान्छे मलाई टेन्सन भयो भन्छन् । सामान्यतया ताप भन्नाले पोल्ने तताउने वा संघर्षबाट पाइने शक्ति, तातोपन, गर्मी, ऊष्णता, राप, आँच, दुःख भन्ने विभिन्न आसय हो ।

त्यसै भएर पुरानु भइकन पनि अति नवीन ठानिने हाम्रो श्रीमद्भागवत् समस्त मानवलाई जागरण दिँदै यसरी गर्जिएको छ ‘सच्चिदानन्द रूपाय, विश्वोत्पत्यादि हेतवे । तापत्रयविनाशायश्रीकृष्णाय वयं नुमः ।। अर्थात् सत् भनेको सत्य, तथ्य वा सनातन हो । अनि चित् भन्नाले ज्ञान, बुद्धि, ब्रहृम वा चैतन्य हो । आनन्दको आसय ईश्वर, शिव वा हर्ष खुशी आदि तात्विक रूप तथा विश्वको उत्पत्ति बुझ्न र मानव जीवनमा आइपर्ने तीन किसिमका तापहरू नष्ट भ्रष्ट गर्न हामी श्रीकृष्णलाई नमस्कार गरौं । संसाररूपी भवसागरबाट पार लगाउने तागत उनै देवकीसुतसित मात्रै छ ।
त्यसैले त भनिएको छ, ‘एकं शास्त्रं देवकीपुत्रगीतम् । एको देवः देवकीपुत्रमेव । एको मन्त्रः तस्यनामानियानि । कर्माप्येकं तस्य देवस्य सेवा’ ।। हो, एउटै त्यस्तो शास्त्र अर्थात् आज्ञा र उपदेशको ग्रन्थ देवकीसुतले गाएका गीत नै हुन् अनि वसुधैव कुटुम्बकंको विश्वभ्रातृत्वको चाहनालाई मूर्त आकार दिन सत्चित् र आनन्दका प्रतिमूर्ति श्रीकृष्ण नै साझा देवता, मन्त्र हुन् भने उनै परमपूज्य लीलापुरुषको सेवा हामी तमाम मानवको काम हो ।
तीन तापहरूमा पहिलो ताप हो ‘आधिभौतिक ताप’ जसलाई विष्णुपुराणले यसरी परिभाषित गरेको छ, ‘मृगपक्षीमनुष्याद्यैः, पिचाशोरगराक्षसैः । सरीसृपादैश्च नृणां, जायते चाधिभौतिकः ।।’ अर्थात् मृग (सिंह, बाघ, भालु, चितुवा आदि) पक्षी, मान्छे (चोर, डाँका,) पिशाच, सर्प, राक्षस, बिच्छी आदि सांसारिक प्राणी वा वस्तुबाट पाइने दुःखकष्ट यो तापमा पर्दछ । दोस्रो ताप हो ‘आदिदैविक’ ‘शीतवातोष्णवर्षाम्बू, विद्युतादि समुद्भवः। तापोद्विजवरश्रेष्ठैः, कथ्यते चाधिदैविकः ।। अर्थात् चिसो, हावा, तातो, वर्षा, जल, विद्युत्, आदिबाट पाइने दुःख यो वर्गमा पर्दछ । त्यस्तै देवता, ग्रह आदिबाट हुने दुःख, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, भुइँचालो, मेघपात, सुनामी, घामपानी, शीतलहर, लु, फ्यु आदिजस्ता दैविक विपत्तिबाट उब्जने दुःख वा ताप आदिदैविक कोटिका हुन् ।
तेस्रो ताप ‘आध्यात्मिक’ हो । यो दुई प्रकारको हुन्छ । क, शारीरिक ताप । ख, मानसिक ताप । शरीरबाट उत्पन्न हुने तापमा मूलतः शिरको रोग, पिनास, रुघा, खोकी, ज्वरो, शूल, गानुगोला, अलकाई, स्वाँस्वाँ, छारेरोग, आँखा, दाँत दुख्नु, अतिसार हुनु, कुष्टरोगले आक्रमण गर्नु जस्ता शारीरिक कष्ट पर्दछन् । मानसिक तापमा काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, भय, द्वेष, ईष्र्या, विपद्, शोक, अपमान, असूया अर्थात् निन्दा, रिस आदिबाट उत्पन्न विकारहरू पर्दछन् । प्रियको वियोग र अप्रियको संयोगबाट उत्पन्न हुने ताप पनि यही वर्गमा पर्दछ । आधि भन्ने शब्दले मानसिक रोगलाई जनाउँछ भने व्याधि शब्दले शारीरिक रोग भनेर बुझाउँछ ।
त्यसै भएर श्रीमद्भागत् ग्रन्थको पहिलो स्तवनश्लोक यसरी बोल्छ, ‘सच्चिदानन्दरूपायविश्वोत्पत्यादि हेतवे ।
तापत्रयविनाशायश्रीकृष्णाय वयं नुमः ।।’
अर्थात् सत्य ब्रहृम वा परमात्मा शाश्वत अर्थात् सनातन, चिद् ज्ञान, अनि आनन्द हर्षपूर्ण वा आनन्दले भरिएको परब्रहृम परमात्मा जो विश्वको उत्पत्तिको कारण बनेका छन् । तिनै तीन तत्वको समष्टि रूप श्रीकृष्णलाई यिनै आदि दैविक, आधिभौतिक र आध्यात्मिक ताप नाश गर्न हामी सबै नतमस्तक भएर ढोग्दछौँ भनी उल्लेख गरिएको छ ।
यी तापहरूको निराकरण गरेर जीवनलाई अर्थपूर्ण बनाउनु नै सफल मानव चोला हो । यसको लागि हाम्रा छवटा शत्रुहरूलाई जित्नु पर्छ । कामवासना, क्रोध, लोभ, मोह, मद, मात्सर्य । भानुभक्तले पनि भनेका छन् आद्य शंकराचार्यको पदचाप पछ्याउँदै बोले, ‘कस्लाई हो शत्रु भनेर जान्नू । आफ्ना दसै इन्द्रिय शत्रु ठान्नु ।’ वास्तवमा पञ्चमहाभूत अर्थात् जमिन, जल, आगो, हावा, आकाश अर्थात् खाली ठाउँले बनेको यो शरीरलाई मलदोष, विक्षेपदोष अर्थात् चित्तस्थिर नहुने स्थिति र आवरणदोषबाट मुक्त गर्नु पर्दछ ।
यसका लागि आत्मअनुशासन तथा आत्मशोधन हुन जरुरी छ । मन तथा शरीरलाई निर्मलीकरण गरेर सकारात्मक सोचमा जिन्दगी हिँडाउन सकिए सबै किसिमका तापबाट मुक्ति पाइन्छ । अतः शारीरिक व्यायाम, अष्टांगयोग, ध्यान, प्राणयाम, पाठ, स्तवन गर्नु शरीर र मनलाई स्वस्थ एवं सन्तुलित राख्नु हो । यसरी तालिकाबद्ध भएर गतिशील बनेको जिन्दगी नै सफल मानव जीवन हो । तापबाट तापित बन्दा हामी चिन्तारूपी व्याधिले ग्रस्त हुन्छौं ।
वास्तवमा भक्तिबाटै शक्ति प्राप्त गरिने हुँदा हामीले नवधा भक्तिमध्ये कुनै एक मार्गलाई अंगीकार गरेर यो कलिकालमा हातमा काम र हृदयमा राम अर्थात् हरि, कृष्ण, शिव, विष्णु अर्थात सच्चिदानन्द भगवान् परम प्रभुमा लीन हुनु तापहरूबाट मुक्त रहनु हो । त्यसैले त शुकदेव स्वामीले भन्नुभयो, अक्षरं हि परं ब्रहृम, गोविन्देत्यक्षरं त्रयम् । तस्मादुच्चरितं येन, ब्हृमभूयायकल्पते ।। वास्तवमा अक्षर भनेकै कहिल्यै ननाशिने परब्रहृम स्वरूपको छ त्यो स्वरूप ‘गोविन्द’ भन्ने तीन अक्षरमा भएको हुँदा यस्तो शब्दको उच्चारण मानिसले गर्नु अपरिहार्य छ । हामी सामान्य मानव ‘अज्ञ’ हौं, ठूला महापुरुषहरू ‘ज्ञ’ हुन् भने ईश्वर सर्वज्ञ हुन् ।
त्यसै भएर त युनानी महापण्डित सुकरातले घोषणा गरे–मैले अहिलेसम्म गरेको अध्ययनबाट के निष्कर्षमा पुगेँ भने म केही पनि जान्दिन । कति गम्भीर र सटिक छ सोक्रेटसको यो भनाइ । आजभोलि तनाव वा तापलाई व्यवस्थापन गर्न नसक्दा कयौं अकल्पनीय घटनाहरू घटिरहेका छन् । डरलाग्दा रोगहरूले शरीर र मन दुवैमा डेरा जमाइरहेको परिवेश छ । व्यस्त दैनिकी, अहंहरूको अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक, सामाजिक अस्थिरता र झमेला, विज्ञान र प्रविधिहरूको गलत प्रयोग मानव जीवनलाई तप्त बनाउने सप्त सूर्यजस्तै भएका छन् ।
बुझक्कडहरू भन्छन् मानिसलाई पतन बनाउने दुई दोष हुन्छन् १, अन्नदोष २, संगदोष । पहिलोले असत् आचरण अपनाउँछ भने दोस्रोले भगवत् भजनमा विमुखता पैदा गर्दछ । त्यसैले हामीले यी कुरालाई हेक्का राखी तलको श्लोकको मर्म बुझौं, ‘शास्त्राणि यत्र गच्छन्ति, तत्र गच्छन्ति मानवाः । मनांसि यत्र गच्छन्ति, तत्र गच्छन्ति वानराः’ ।। हामीले बाँदरहरूलाई पनि नर बनाउनुपर्ने जिम्मा शास्त्रले दिएको बुझ्दाबुझ्दै पनि मानव नबनी वानर बन्ने कोसिसमा हिँडेपछि कसरी तापित नहुनु ।
त्यसैले सत्य, ज्ञान र आनन्द प्राप्त गरेर विश्वब्रहृमाण्डको उत्पत्तिको कारण बुझ्ने तथा तीनै किसिमका तापलाई हरण गर्न क्षमता राख्ने कामवाद अर्थात् पौरख र रामवाद हरिनामवादको अनुशरण गर्ने श्रीकृष्णको गतिलोसित नमन गरौं र सायुज्य मुक्ति प्राप्त गरी गोलोक धामको यात्रा तय गरौं । त्यसपछि सांसारिक ताप स्वतः सखाप हुन्छन् । अस्तु । हिमालयटाइम्स






