कविता – ‘युगीन प्रतिध्वनि ‘
अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै
भस्मासुर र भाइरसका पटकपटकका विश्वयुद्धहरू
र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका
युगीन त्रासदीहरूमा
छातीमा अड्याएर जीवन
पिइदिऊँ घामका लप्काहरू
छाइदिऊँ शीतलता
सँगालेर जूनका टुक्राहरू
लाइदिऊँ माला
उनेर गुराँसका थुँगाहरू।
विशाल हृदयहरूको खानी
विश्वभूगोलको एक टुक्रा मेरो देश
धावा दिएर गाउँछ गीत वीरताको
र उचालेर चन्द्रसूर्य
म लगाउँछु सिँदुर
भुइँको एक चिम्टी माटो उठाई
गाउँछु गीत सगरमाथा उचाइको।
छोडेर विध्वंसका अस्त्रहरू
आत्मज्ञान विस्फोट गराई कोहिनुर उज्यालामा
गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
विश्वब्रह्माण्डभर गुन्जाएर बुद्धका मन्त्रध्वनिहरू
उडाइदिऊँ सेता परेवाका जोडीहरू
रोग भोक शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिऊँ मानवताका सम्यक् बीजहरू
आऊ श्रमका पुजारीहरू!
पौरखी जिजीविषा फुलाएर
फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि
समृद्धिका आशातीत रङ्गहरू इन्द्रेणीमा
पोतिदिऊँ धर्तीमा झिकाएर
चिहानबाटै जुरमुराएर
बिहानबाटै बिउँझिएर
रोपिदिऊँ समानताका सुन्दर बोटहरू।
जीवनका अप्ठ्यारा आँधीहुरीहरूमा
मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।
उठ ए झुपडीका ताता मान्छेहरू!
सल्काइदिऊँ चिराक मूर्च्छना जगाएर
जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!
बुलन्द गराइदिऊँ दबाइएका आवाज
पुरिदिऊँ गहिरा खाडलहरू।
नेपाल प्रज्ञाप्रतिष्ठान राष्ट्रिय कविता महोत्सव २०७८ तृतीय कविता






