जनआन्दोलन अपरिहार्य भो
कुनैपनि दिन एउटा युगमा एक पटक मात्र आउने गर्दछ । त्यसैले मान्छेको जीवनमा प्रत्येक दिनको त्यत्तिकै महत्व हुनुपर्दछ । हाम्रो धार्मिक दर्शनले भनेको कुरालाई लिने हो भने भौतिक शरिर मरेर जान्छ तर आत्मा मर्दैन । तर विज्ञानले समेत यो कुरालाई मानिसकेको अवस्थामा हाम्रो पुर्नजन्म हुन्छ वा हुँदैन त्यो विज्ञानले भन्न सकेको छैन । अझ भन्ने हो भने विज्ञानले मृत्युलाई जित्न सकेको छैन । त्यसैले हामी भन्ने गर्दछौ यो एक पटकको जुनि हो ।

यही एक पटकको जुनिमा सुखको सास फेर्न नपाउने हो भने हामीले गरेका कार्यहरु के का लागि र कसका लागि ? यही जुनिमा हामीले समृद्धिका लागि केही गर्न सकेनौ भने अर्को जुनिमा गरौला भनेर थाँती राख्यौ भने हामीलाई हाम्रो सन्नतीले क्षमा दिने छैनन । त्यसैले जे गर्नुछ यही जुनिमा गर्नुपर्छ । भनिन्छ भोलिको काम आज गरौ र आजको काम अहिले गरौं । अबसम्म हामीले भोलीको काम आज र आजको काम अहिले नै गर्न सक्दैनौ तब हामीले भोलीका लागि भनेर सोचेको सोच कहिल्यै पूरा हुने छैन । किनकी त्यो भोली भोलीको पनि भोली र भोलीको पनि भोली कहिल्यै आउने छैन । जसबाट हामी पछुताउने समय पनि पाउने छैन ।
हिजो बाउ बाजेले गरिदिएको कामले आज छोरा नातीले केवल स्रहना मात्र गर्ने हो । तर मेरा बाजेले घिउ खाएका थिए मेरो हातबाट पनि घिउकै बासना आउँछ भन्ने दिन छैनन भन्ने कुरालाई हामीले राम्रोसँग बुझेका छौ । तर पनि किन त्यो बुझलाई पचाइरहेका छौ ?
यहाँ जोड्न खोजिएको प्रसंग कहाँ हो भने नेपालको राजनीति, राजनीतिक दल र तिनका नेताहरु अनि हामी तीन करोड नेपालीहरुको चेतनाको स्तर कत्तिको छ भन्ने हो । हामी भन्छौ हामी सचेत प्राणी हौं । हाम्रो चेतनाको स्तरमा बृद्धि र विकास जति हुनु पर्ने थियो त्यति भइसकेको छ । तर खै त्यो चेतनालाई व्यवहारमा लागु गरेको ? जबसम्म आफूमा भएको ज्ञान र विवेकलाई व्यवहारमा लागु गर्न सकिदैन तबसम्म त्यो ज्ञान निरर्थक हुन्छ । त्यो विवेक अविवेकमा परिणत हुन्छ । त्यसैले राजनीति गर्नेहरु पनि सचेत हौं भन्दै गर्दा हामी तिनीहरुलाई मतदान गर्ने र आफूले आफै माथि शासन गर्न पठाउने जनता कत्तिको सचेत छौ ? हामीले कति विवेकी कार्य गरिरहेका छौ ? हामीले आफ्नो ज्ञानलाई कत्तिको व्यवहारमा उतारिरहेका छौ भन्ने कुराको ख्याल गर्ने कि नगर्ने ?
यी यावत प्रश्नहरु जति जन्मायो त्यति नै जन्मिने गर्दछन् । तर मुख्य कुरा के भने हिजोका दिनमा राणाहरुले नेपाली जनतालाई रैतिको रुपमा हेरे र आफ्ना दास सम्झे । हामीले त्यो पनि सहन ग¥यौ । तत्कालिन राजा त्रिभुवनको समेत संलग्नतामा राणाहरुको विरुद्धमा आन्दोलन भयो । जुन आन्दोलनले यस्तो सार्थकता प्राप्त ग¥यो कि फेरी कसैले पनि त्यस्तो खालको शासनको परिकल्पना पनि गर्न सकेन । त्यसपछि आएको शासन व्यवस्थामा राजासहितको प्रजातन्त्र भनियो । जसको कारण विभिन्न आन्दोलनहरुको सामना गर्दै हजारौ नेपाली जनताका छोराछोरीले फेरी पनि ज्यान गुमाउनु प¥यो । आन्दोलनका विभिन्न तहहरु पार गर्दै जाने क्रममा आज हामी आफैले पठाएका प्रतिनिधिहरुले निर्माण गरेको संविधान र लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौ ।
लोकत्रान्त्रिक गणतन्त्र प्राप्त गरेपछि अब समृद्धिको द्वार खुल्नु पर्ने होइन र ? स्थिर सरकारको निर्माण हुनु पर्ने होइन र ? भौतिक विकासका संरचनाको निर्माण कार्यले तिब्रता पाउनु पर्ने होइन र ? नेपाली जनता माथि गरिने शासन स्वच्छ, पारदर्शी र समतामूलक रुपमा गरिनु पर्ने होइन र ? भ्रष्टाचारको अन्त्य र दण्डहिनताको अन्त्य हुनु पर्ने होइन र ? नेताहरु दल प्रति र दल सरकार प्रति अनि सरकार जनताप्रति उत्तरदायी बन्नु पर्ने होइन र ? के गरिब, के पिछडिएका, के दलित, के आदीवासी, के जनजाती, के खस सबै समान हुनुपर्ने होइन र ? यी सबै कुरा हुन नदिने भनेका नेताहरु हुन् । त्यसैले अब फेरी अर्को आन्दोलनको ज्वारभाटा निस्कन आवश्यक छ । जुन नेताहरुका विरुद्धमा हुनुपर्छ । आज पनि देशमा नागरिक समाज भनेर कुर्लिनेहरु छन् । तर ती नागरिक समाजका अगुवाहरु पनि कुनै न कुनै राजनीतिक दलका झोले बनेर बसेका छन् ।
राजनीतिक दलका झोले नागरिक समाजका अगुवाहरु कोही काँग्रेस जिताउको अभियानमा लाग्छन् भने कोही कम्यूनिष्ट । अनि ती नागरिक समाजका सच्चा र इमान्दार सिपाही हुन सक्छन् ? यो कदापी सम्भव छैन । अबको आन्दोलन यस्तो हुनुपर्छ जो साँच्चिकै जनताका लागि हुनुपर्छ । जनताले कुनैपनि दलको झोला र झण्डा बोकेर होइन राष्ट्रिय झण्डामुनी गोलवद्ध भएर नेपाली राजनीतिको निर्णायक र अन्तिम आन्दोलन गर्न आवश्यक छ ।
नेपाली जनतालाई २०१७ सालदेखि काँग्रेसलाई भोट दिँदै आए । त्यसको बदलामा के पाए ? पटक पटकका आन्दोलनहरु । २०४८ सालमा फेरी पनि काँग्रेसलाई विश्वास गरे त्यसको बदलामा के पाए ? २०५१ को मध्यावधि निर्वाचन । २०५६ मा पनि काँग्रेसलाई मत दिन बाध्य भएका नेपाली जनताले के पाए ? प्रजातन्त्र माथि नै शाही शासकबाट कु । २०६२÷०६३ को आन्दोलन गरे त्यसको बदलामा के पाए ? दुई दुई पटक गरिएको संविधानको निर्वाचनबाट थाप्लोमाथि थोपरिएको ऋण । संविधान सभाको निर्वाचनमा माओवादीलाई मत दिए । त्यसको बदलामा नेपाली जनताले के पाए ? बालकृष्ण ढुंगेलजस्ता कुख्यात अपराधीको रिहाइ । अनि नन्दप्रसाद अधिकारीको आमरण अनशनबाट मृत्यु । २०७४ मा भएको निर्वाचनमा एमालेलाई भोट दिए त्यसको बदलामा नेपाली जनताले के पाए ? दुई दुई प्रतिनिधि सभाको विघटन र केपी शर्मा ओलीको तानाशाही हुकुमी शासन । बाध्यात्मक परिस्थितिमा परमादेशबाट प्रधानमन्त्री भएका देउवाले अब नेपाली जनतालाई एमसिसि जस्तो विषालु सम्झौता पास गरेर दिन बाँकी छ ।
नेपालमा भएका विभिन्न राजनीतिक दलहरुलाई र तिनका नेताहरुलाई नेपाली जनताले विश्वास गरिसकेका छन् । त्यो विश्वासलाई उनीहरुले नै जोगाउन सकेनन् । त्यसैले नेपाललाई साँच्चिकै समृद्धि बनाउने हो भने र नेपाली जनता आत्मनिर्भर बन्ने हो भने अब अन्तिम लडाइ लड्नै पर्छ । त्यसको नेतृत्व कुनै पनि दलको आसेपासे, गासे र झोलेहरुले होइन स्वयम् नेपाली जनताले गर्नुपर्नेछ । आज देशमा कोही पूर्व भिआइपिको नाममा लुटिरहेका छन् । कोही वर्तमान भिआइपीका नाममा लुटिरहेका छन् । अझ बढि त दलका र नेताका नजिक भएकाहरुले लुटिरहेका छन् । जबसम्म नेपाली जनताले तिनीहरुलाई परास्त गर्न सक्दैनन् । तबसम्म हामीले समृद्ध नेपाल र सुखी नेपालीको सपना नदेखेपनि हुन्छ ।
नेपालमा के छैन ? जंगल, जडिबुटि, जल, जमिन, जोस, जाँगर । त्यसको उपयोग गर्नुको साटो सांसद नै अपहरण गर्ने र सांसद नै अपहरणमा पर्ने खेल खेल्नेहरुबाट शान्ति, सुव्यवस्था र अमनचयनको आश गर्ने जनताहरु नै यसको दोषि हुन् । प्रचण्डले एउटा भिडियोमा बोलेका छन् जनताहरु नै काम चोर र अल्छी भएपनि नेताहरु पनि केही गर्न सक्दैनन् । अर्को भिडियोमा उनैका भनेका छन् सत्य बोल्ने हो भने प्रजातान्त्रिक पद्धतीमा जनताले भोट दिँदैनन् त्यसैले निर्वाचनमा विजयी प्राप्त गर्नका लागि भएपनि झ्ट्ठा नबोली नहुने हुन्छ ।
आफूले गरेको मात्र ठीक देख्ने प्रवृत्तिको अन्त्य यिनीहरुबाट सम्भव छैन । राम्रो कामलाई राम्रो देख्ने यिनीहरुसँग अन्तरदृष्टिको अभाव छ । यिनीका हनुमानहरुले विभिन्न प्रपोगाण्डाहरु रचेर नेपाली जनतालाई भूमरीमा पारिरहेका छन् । त्यसका विरुद्धमा नेपाली जनता जाग्न अब ढिला गर्नुहुँदैन ।
यदि हामी नेपालीहरुमा अलिकति भएपनि वीरताको चिन्ह बाँकी छ भने, देश र जनतालाई बचाउने हो भने वर्तमानमा वडासमितिदेखि संघीय कमिटीमा भएकाहरुको विरुद्ध एक्यवद्धता भएको जनआन्दोलन अपरिहार्य छ । जसरी हिजो बलभद्र, भक्ति थापा, कालु पाण्डेले देश जोगाए त्यसरी नै आज फेरी मुलुकमा भएको राजनीतिक संकटबाट देश जोगाउने हिक्मत भएको नेपाल आमाको सच्चा सपुतको खाँचो प¥यो ।
कुनै एक दलको विरुद्धमा होइन । कुनै एक नेताको विरुद्धमा होइन । बहुदलको विरुद्धमा पनि होइन । लोकतन्त्रको विरुद्धमा पनि होइन । संविधानको विरुद्धमा पनि होइन । अबको आन्दोलन पहिलो र दोस्रो पुस्ताका नेताहरुको विरुद्धमा हुनु आवश्यक छ । ता कि यिनीहरुबाट नेपाल विकासशील शक्ति राष्ट्र बन्न सक्दैन । नेपाली जनताले बेलैमा बुझ्ने कि ।






