Loading... आजः २ कार्तिक २०७८, मंगलवार । Tuesday 19th October 2021

लक्षितवर्गका लागि होस् ‘सुपथ मूल्य पसल’

आजदेखि असोज महिना सुरु भएको छ । असोज भन्ने वित्तिकै नेपाली हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण महिनाको रुपमा हेरिन्छ । किनकी असोजमा बडादशैं र कार्तिकमा तिहार जस्तो महान पर्व पर्ने गर्दछन् । हिन्दु धर्म परम्परा अनुसार दशैं सुरु हुनुभन्दा अगाडिका १६ दिनलाई सोह्र श्राद्धको रुपमा लिइन्छ । दशैं जस्तो महान पर्व मनाउनु पूर्व आफ्ना दिवंगत मातापिता तथा आफन्तहरुको आत्मशान्तिका लागि पिण्डदान श्राद्ध तर्पण गर्ने विधि छ । त्यसैले पनि पितृपूजा, दशैंमा भगवती पूजा अनि तिहारमा लक्ष्मी पूजा हुने भएकोले असोज महिना महत्वपूर्ण हुने नै भयो । दशैं तथा तिहारलाई मध्यनजर गरेर सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसलहरु संचालन गर्ने गर्दछ ।

यसरी सरकारले संचालन गरेका सुपथ मूल्य पसलहरुमा न्यून आय भएका सामान्य परिवारका मान्छेहरु भन्दा पहुँचवालाहरुको दबदबा हुने गरेको तथ्य कसैका सामु छिपेको छैन । सुपथ मूल्य पसल के का लागि र कसका लागि भन्ने कुराले समेत अर्थ राख्ने भएकाले नितान्त लक्षित वर्गले त्यसको उपयोग गर्न पाउनु पर्छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा घर बहालमा दिनेहरुदेखि ट्रकका ट्रक चामल विक्री गर्ने व्यापारीहरु समेत सुपथ मूल्य पसलको लाइनमा बसिरहेका देखिन्छन् । कतिपय व्यापारीहरुले सुपथ मूलय पसलवालाहरुसँगको मिलेमतोमा रातारात चामल, चिनी तथा नूनका बोराहरु समेत गायव बनाउने गरेका छन् भने दिउँसो त्यही सामान ग्राहकहरुलाई बेचिरहेको समेत देखिन्छ । विगतका कमीकमजोरीहरुलाई दोहो¥याउन नदिनका लागि प्रशासन चनाखो बन्नु नितान्त आवश्यक छ ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले संचालन गर्ने सुपथ मूल्य पसलमा यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णालीको सिमीमा १०% छुट दिने तयारी गरेको छ । कोरोना संक्रमणका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका वा नसकेका र दशैं, तिहार जस्ता पर्वहरुमा ऋणै गरेर भएपनि मीठो मसिनो खानुपर्छ भन्नेहरुलाई ऋणको भारी बोक्नु नपरोस् र केही सहुलियत होस् भन्ने हेतुले संचालन हुने जस्ता पसलहरुमा पहुँचवालाहरुले अनियमितता गर्न सक्ने ठूलो सम्भावना भएकोले पनि त्यसको निरन्तर अनुगमनको खाँचो छ । यदि यसलाई व्यवस्थित ढंगबाट संचालन गरिएन भने बजार अनुगमन भन्ने र दशैं तिहार जस्ता पर्वहरुको समयमा निकै तातिने तर अरु बेलामा शितनिद्रामा सुते झैँ गर्ने हो सुपथ मूल्य पसल लक्षित वर्गमा भन्दापनि पहुँचवालाहरुको हातमा पर्ने निश्चित छ । आजको सूक्ष्मदृष्टिमा प्रकाशित सम्पादकीय