Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ?

काठमाडौं |

आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ ।

जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ । यसअनुसार आश्विन कृष्ण पक्ष पितृ पक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरूलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटा मात्र पितृका लागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औँशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ । सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन, उनीहरूले औँशी तिथिमा श्राद्ध गर्ने मान्यता रहेको छ ।

सोह्र श्राद्धको अवधिभर घरमा तामसी भोजन, माछा–मासु वा कुनै मादक पदार्थको सेवन गर्न र मांगलिक तथा शुभकार्य गर्नसमेत बर्जित गरिएको छ । श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटेर एक छाक मात्र सात्विक भोजन गर्ने गरिन्छ । यस दिनलाई बोलीचालीमा ‘एक छाकी’ पनि भन्ने गरिन्छ ।

श्राद्धका दिन तथा सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन (माछा–मासु, मदिरा, लसुन, प्याज) आदिको सेवन र संसर्ग गर्नुहुँदैन । त्यस्तै, मसुरोको दाल, लौका, चिचिन्डो, बैगुन, कोदो, तीते फापरलगायतका खाद्यवस्तुहरुको प्रयोगसमेत बर्जित छ ।  हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि श्राद्धका दिनमा निषेध गरिएको छ ।

श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू भने प्रयोग गर्न सकिन्छ । तर, केत्तकी, करबीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू भने प्रयोग गर्नुहुँदैन ।

दिनको तेस्रो पहरमा पितृ पक्षमा गरिने श्राद्ध गर्नुपर्छ । कृष्ण यजुर्वेदअन्तर्गतको तैत्तिरीय संहिताअनुसार दक्षिण दिशा पितृहरूको दिशाको रूपमा व्याख्या गरिएको छ । साथै, संहिताले पितृहरूको श्राद्ध गर्दा जनैलाई अपसव्य अर्थात् दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्केर गर्न निर्देशन गरेको छ ।

शास्त्रमा तथा पुराणहरूले श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, कुश, तिल आदिको महत्त्वलाई विशेष रूपमा व्याख्या गरेको पाइन्छ । तुलसीको मञ्जरीबाट पितृगण प्रशन्न रहने बताइएको छ । यसै कारण पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने प्रचलन पनि रहेको छ । तुलसीको मञ्जरी उपयोग गरेमा पितृगण गरुडमा सवार भई सिधै विष्णुलोक पुग्छन् भन्ने विश्वास छ ।

कुर्म पुराणअनुसार सोह्र श्राद्धको औँशीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यस दिनको साँझसम्म आफ्ना कुलका वंशजहरूले श्राद्ध गरे÷नगरेको हेर्ने गर्छन् । यदि श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमै फर्कने पुराण्मा उल्लेख छ ।

पद्म पुराणले श्राद्धलाई गुप्त रूपमा गर्नुपर्ने कर्मको रूपमा व्याख्या गरेको छ । श्राद्धको प्रसाद दिने वा खुवाउने नाममा मित्रता कायम गर्नाले पनि दोष लाग्नेछ भनिएको छ ।

श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानिन्छ । यदि घरमा श्राद्ध तर्पणादि कार्य संभव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्ध कर्म सकेपछि मात्र पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ । पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन भनिन्छ ।

सोह्र श्राद्धमा विशेषगरी मुस्ताङको कागवेनीमा भीड लाग्ने गर्छ । साथै, काठमाडौं उपत्यकाका गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटलगायतका स्थानमा समेत श्राद्ध गर्नेको भीड लाग्छ ।