Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

ज्योतिष ज्ञानः जातक आयू अल्पायू ज्ञान

आधुनिक विश्वमा विज्ञानको प्रभाव छ । हामी विज्ञानलाई मान्दछौ र मान्नुपनि पर्छ । किनकी विज्ञानले आफ्नो जुन चमत्कार देखायो त्यो अरु सबैका लागि एक अदभूत शक्ति प्रमाणित भएको छ । आज आकाशमा उडिरहेको जहाज पानीमा तैरिरहेको पानीजहाज तथा चन्द्रमा पुग्ने रकेटहरु पनि विज्ञानले निर्माण गरेको हो । विभिन्न घातक रोगहरुको औषधी पत्ता लगाएर विज्ञानले मान्छेलाई बचाइरहेको छ । त्यति मात्र होइन मानिसका अंगहरु प्रत्यारोपण पनि विज्ञानले नै सम्भव भएको हो । विज्ञान विना अबको युग अन्धकार मात्र होइन शुन्य जस्तै हुन्छ । हामीले यात्रा गर्ने सवारी साधन पनि विज्ञानका आविश्कार हुन् भने चलाउने कम्प्यूटर पनि विज्ञानका आविश्कार हुन् । आँखाले देख्न नसकिने हावामा के छ के छैन भन्ने कुरालाई पनि विज्ञानले पत्ता लगाइदिएको छ ।


यस्तो अवस्थामा पनि हामी आध्यात्मका कुरा गर्छौ अर्थात् आध्यात्मलाई अनुशरण गर्छौ भन्दा कतिपयलाई अनौठो पनि लाग्न सक्छ । तर आध्यात्मक र विज्ञानका बीचमा पारस्परिक सम्बन्धका बारेमा जान्न आवश्यक छ । आध्यात्मकको रुपमा अर्थात् धर्मको नाममा समाजमा गरिने विभेदहरु निन्दनीय छन् । जुन मानव विरोधी छन् । किनकी शिक्षा सबैको हो र सबैका लागि हुनुपर्दछ । यो पृथ्वी सबैको हो र सबैका लागि हुनुपर्दछ । यति भन्दै गर्दा विज्ञान र विचारका बीचमा विश्लेषण गर्न पनि त्यत्तिकै आवश्यक छ । जसरी विज्ञानले आविश्कार गरेको गाडी सबैका लागि भयो भने बेद किन सबैका लागि नहुने ? विज्ञानले आविश्कार गरेको कम्प्यूटर सबैका लागि भयो भने मन्दिर किन सबैका लागि नहुने ? आजको एक्काइसौ शताब्दीमा पनि हामीले जातीयताका नाममा अथवा लिंगका नाममा विभेद गरिरहेका छौ जुन हाम्रो कानूनले समेत दण्डनीय भनिसकेको छ ।

विज्ञानको बारेमा यति कुरा गरिरहँदा विज्ञानको उत्पतीको बारेमा पनि केही न केही भन्नैपर्छ । विज्ञान कहाँबाट आयो अथवा कसरी विज्ञानको सुरुवात गरियो अझ भन्ने हो भने विज्ञानको सूरुवात गर्नका लागि प्रेरणाको स्रोत के हो ? यो मुख्य कुरा हो । यी प्रश्नहरुको उत्तर खोज्नका लागि एकपटक धर्मलाई पनि समात्नै पर्ने हुन्छ । विश्वको सबैभन्दा पूरानो धर्म हिन्दु । सबैभन्दा पूराना ग्रन्थहरु पनि हिन्दु धर्मकै धर्मग्रन्थ । हिन्दुधर्मको संविधान भनेकै बेद । बेदबाट नै विज्ञानको सूरुवात भएको कुरा कसैले चाहेर पनि नकार्न मिल्दैन । बेदमा उल्लेख गरिएका विभिन्न श्लोकहरु आजको युगमा आएर विज्ञान सम्मत प्रमाणित भएका छन् । अझ भन्ने हो भने बेदमा उल्लेख गरिएको पुष्पक विमानको कुराले हवाइजहाजको निर्माण भएको होस् या बेदमा उल्लेख भएको ग्रहमण्डलको व्याख्या अनुसार आज मान्छेले चन्द्रमामा पुग्न सफल परिक्षण गरिरहेको कुरा होस् । धर्मप्रति नास्तिक हौ भन्नेहरुले विरोधका लागि विरोधस्वरुप जे भनेपनि यथार्थ भनेको कहिल्यै पनि लुक्दैन । त्यसैले बेद नै विज्ञानको सुत्रपात हो ।

ज्यो. खगेन्द्र अधिकारी

त्यही बेदको साहारामा बनेको ज्योतिष विधाको बारेमा यहाँ केही विषय तर सुन्दा पत्यार नलाग्ने खालका विषयहरुलाई यो पंक्तिकारले उठान गर्न खोजिरहेको छ । आधुनिक विज्ञानले एक अंशको रुपमा स्वीकार गरेको होस् ज्योतिष विधा । जसलाई ज्योतिष विज्ञानको रुपमा परिभाषित गरिएको छ । पछिल्लो चरणमा ज्योतिष विधालाई गहन रुपमा अध्ययन गर्नेहरुको कमी छ । यसको प्रमुख कारण भनेको ज्योतिष विधालाई धार्मिक रुपमा जोडेर केही धर्म विरोधी र समाज विरोधीहरुले जुन रुपमा प्रचार गरेको छन् त्यसको प्रभाव हुनुपर्दछ । त्यो नकारात्मक प्रभावलाई चिर्न सकिएन भने भोली ज्योतिष विधा केवल इतिहासमा मात्र सिमित हुने त होइन भन्ने प्रश्न पनि छ । अर्को कुरा ज्योतिष विधा वैज्ञानिक छ भन्नेहरु पनि यसलाई सही ढंगले विश्लेषण गर्नुभन्दा यसलाई आफ्नो पेशा बनाई कमाई खाने भाँडोको रुपमा प्रयोग गर्नेका कारण पनि यसको प्रभावमा केही कमी आएको कुरालाई स्वीकार्नै पर्छ ।

त्यही ज्योतिष विधा अर्थात् ज्यातिषशास्त्र अनुसार केही योगहरुको बारेमा जानकारी गराउने उद्देश्यले केही चर्चा गर्ने जमर्को गरेको छु । एउटा विरालोले बाटो काटेको बेलामा गाडि रोक्ने, बाटो मोड्नेहरु ज्योतिष विधाको खिल्ली किन उडाउँछन् होला । कहिले काँही निकै आश्चर्य लाग्छ । छोडौ यी सबै कुराहरु र अब लागौ यथार्थ र सत्यता तर्फ । किनकी कुरा सबैका सुन्नुपर्छ भन्ने र निर्णय आफ्नो गर्नुपर्छ भन्ने कुराको राम्रो जानकारी छ हामीमा ।

शुभ र अशुभ योग । हरेक कुरामा क्रिया र प्रतिक्रिया हुने गरे झैँ ज्योतिष विज्ञानले पनि शुभ र अशुभ दुई योगहरु अर्थात अवस्थाहरु अनुशरण गरेको छ । यहाँ योग भन्नाले अवस्था भन्न खोजिएको हो । सबै प्रकारका अवस्थामा शुभ र अशुभ हुने भएपनि यहाँ विशेष गरी यसपटक जातक अर्थात बालकको जन्मको आधारमा उसको लग्नलाई हेरेर गरिने विश्लेषाणत्मक विचारलाई लिइएको छ । भनिएको छः

मूर्तौ शुक्रबुधौ यस्य केन्द्रे चैब बृहस्पतिः
दशमेऽङ्गारको यस्य स ज्ञेयः कुलदीपकः ।
अर्थात् जसका जन्मलग्नमा शुक्र, बुध केन्द्रमा अर्थात प्रथम, चतुर्थ, सप्तम, दशम स्थानमा बृहस्पति होस् अरु दशम दशम स्थानमा मंगल होस् त्यो बालक साँच्चिकै कूलदीपक हुन्छ । राम्रो अथवा उच्च कूलघरानामा जन्मेका मान्छेहरु पनि कोही निकै घटिया हुन्छन् भने कोही कमजोर कूलघरानामा जन्मेका मान्छेहरु पनि निकै उच्च कोटीमा पुग्छन् । राजाको कूलमा जन्मिदैमा सबै कुरा सर्वोपरी हुन्छ भन्ने हुँदैन । आज हामीले भगवानको रुपमा मानिरहेका गौतम बुद्ध पनि राजाका छोरा हुन् । रामचन्द्र पनि राजाका छोरा हुन् । यिनीहरु दुबैले वनबास भोगेका थिए । कारण फरक फरक होलान् । यसैगरीः

नैव शुक्रो बुधो नैव नास्ती केन्द्रे बृहस्पतिः
दशमेऽङ्गारको नैव स जातः किं करियति ।
अर्थात् जुन बालकका जन्मलग्नमा शुक्र, बुध अथवा केन्द्रमा बृहस्पति अथवा दशम स्थानमा मंगल छैन भने त्यसको जन्म व्यर्थ हुन्छ भनिएको छ ।

कुनै समयमा विभिन्न रोगहरुका कारण अझ भन्ने हो कुपोषणका कारण पनि कतिपय आमा तथा बच्चाको मृत्यु हुने गर्दथ्यो भने आज आमा र बच्चाको स्वास्थ्यका लागि अनि मातृमुत्यूदर र बालमृत्यू दरलाई कम गर्नका लागि सरकारी क्षेत्रबाट विभिन्न योजनाहरु संचालित भइरहेका छन् । तर पनि मातृमृत्यूदर र बालमृत्युदरलाई शुन्यमा पु¥याउन सकिएको अवस्था छैन । जुन सम्भव पनि छैन । अस्पताल छन्, औषधी छ, डाक्टर छन् तर कस्तो विडम्बना कहिले आमालाई बचाउन सक्दैनन् कहिले बच्चालाई । डाक्टरहरुले दिने आफ्नो तर्क होला तर ज्योतिषले दिने तर्कपनि त छ । आज घाँस दाउरा काट्नका रुखमा भीर जानु पर्दैन तर विभिन्न दुर्घटनाहरु हुने गर्दछन् । करेन्ट लाग्ने गर्दछ । सडकका छेउमा खनिएका खाल्डामा परेर मान्छे मरिरहेका छन् । घरमा छोरा जन्मिएको खुसीयाली सकिन नपाउँदै बाबुलाई हृदयघात भएको दर्दनाक घटनाहरु सुन्दा मन विक्षिप्त हुन्छ । आत्महत्या गरेर मान्छे मरिरहेका छन् । सुन्दै मर्महत बनाउने छ सात वर्षका बच्चाले विषसेवन गरेका घटनाहरु छन् । ती पनि उसले जन्मसाथै ल्याएका ग्रहका भोग्य हुन् ।

षष्ठे च द्वादशे स्थाने यदा पापग्रहो भवेत्
तदा मातृभयं विद्याञ्चतुर्थे दशमे पितुः ।
अर्थात् जसको छैठौ किंवा बाह्रौं स्थानमा पापग्रह बसेको हुन्छ उसले आमालाई अशुभ गर्दछ भने चौथो वा दशौं स्थानमा पापग्रह बसेको भएमा पितालाई अशुभ गर्दछ ।

लग्नस्थाने यदा सौरिः षष्ठे भवति चन्द्रमाः
कुजस्तु सप्तमस्थाने पिता तस्य न जीवति ।
अर्थात् जसका जन्मलग्नमा शनि छैठौ स्थानमा चन्द्रमा र सातौ स्थानमा मगल छ भने त्यस बालकको पिता न जओस् भनिएको छ ।
यसैगरी जसका जन्मलग्नमा मंगल र आठौ स्थानमा बृहस्पति छ त्यस्तो बालकको आयू जम्मा १२ वर्षको मात्र हुन्छ । शनिसँगै सूर्य भएमा सूर्यका घरमा शनि भएमा पनि त्यस्तो बालकलाई स्वयम् शंकर भगवानले रक्षा गरेको भएपनि १२ वर्षभन्दा बढी आयू हुँदैन । जन्मलग्न, छैठौ र आठौ स्थानमा बुध बसेको भएमा त्यस्तो बालकको आयु चार वर्ष मात्र हुन्छ भने मंगलका घरमा बृहस्पति छैठौ आठौ चन्द्रमा छ भने त्यस्तो बालकको आयू आठ वर्ष मात्र हुन्छ तर जन्मलग्नदेखि दशौं राहु अथवा जन्मलग्नमा राहु भएमा त्यस्ते बालकको आयू १६ वर्ष हुने गर्दछ ।

चतुर्थे च यदा राहुः वषष्ठे चन्द्रोऽष्टमेऽपिच
सद्य एव भवेन्मृत्युः शंकरो यदि रक्षति ।
जसका चौथा स्थानमा राहु र छैठौ अथवा आठौ स्थानमा चन्द्रमा छ भने त्यस्ता बालकलाई भगवान शंकरले पनि रक्षा गर्न सक्दैनन् त्यस्ता ग्रह लिएर आएको बालकको छिटै मृत्यु हुन्छ । यसैगरी क्षीण चन्द्रमा बाह्रौ स्थानमा अथवा पापग्रहका साथमा अथवा सातौ वा आठौ स्थानमा छ र अरु शुभग्रह केन्द्रस्थानमा भएनन् भने त्यस्तो बालक पनि जन्मने वित्तिकै मृत्यू हुन्छ । साथै सातौ स्थानमा मंगल आठौ स्थानमा शुक्र र नवौं स्थानमा सूर्य भएमा पनि त्यस्तो बालक पनि अल्पायू हुन्छ । तरः

पञ्चमे च निशानाथस्त्रिकोणे यदि वाक्पतिः
दशमे च महीसुनुः परमायुः स जीवति ।
अर्थात् जुन बालकको जन्मलग्नदेखि पाँचौ स्थानमा चन्द्रमा र त्रिकोणमा बृहस्पति छन् फेरी दशौं स्थानमा मंगल छ भने त्यस्तो बालकको आयु एक शताब्दी हुन्छ । अर्थात् यस्ता ग्रहहरु लिएर जन्मेको बालक दिर्घायू हुन्छ ।
(सन्दर्भ सामग्री: ज्योतिःसार शिरोमणिः जातकप्रकरणम् रहेको छ । लेखक)