आमै ! म सञ्चैछु – संस्मरण
जन्मदाता मेरो भगवान, मेरी आमै
हजुरका किर्तिशेष चरणकमलमा साष्टाङ्ग दण्डवत प्रणाम ।
आमा, हामी सञ्चै छौ यहाँ ।
तपाईका छोराछोरी, नाती नातिनी र आफन्तहरु सबै सञ्चै छौ ।
मैले कामना गरेको छु, मेरी आमालाई पनि बैकुण्ठलोकमा सञ्चै होला । यस धरामा रहुञ्जेल पछिल्लो चरणमा तपाईलाई निकै दुःख दिने क्यान्सरले पनि अब त दुःख दिन छोडेको होला । पल पल दुख्ने तपाईको पेटको दुखाई पनि हराएको होला । तपाईले गरेका असल कार्यहरुले आज कुनै पनि नरकमा पर्नु परेको छैन होला । हामीले पनि आफ्नो बुद्धि र बर्कतले भ्याएसम्म हाम्रो धार्मिक परम्परा अनुसार गर्नुपर्ने कर्तव्य असल ढंगबाट पूरा गर्ने कोसिस र तपाईका निम्ति अर्पण गरेका हरेक चीजवस्तुहरु तपाईले प्राप्त गर्नुभयो होला । मलाई विश्वास गर्छु, तपाईलाई बैकुण्ठलोकमा कुनैपनि अभाव छैन होला । तपाईका हरेक दुःखसुखमा साथ दिने एक छोरा र एक छोरी साथमै छन् होला । जो तपाईका प्रिय रहेछन् । उनीहरुलाई अगाडि पठाएर आफू पछिपछि जानु भएको हो । हामीलाई साथमा हुनेबेला सम्मको मात्र माया रहेछ भन्ने विस्तारै बुझ्दैछु ।
आमा, आजभन्दा नौ वर्ष अगाडि आजका दिनसम्म हामी सँगसँगै थियौ है । झण्डै तीन महिना लामो क्यान्सरसँगको संघर्षका बेलामा पनि तपाईले हामीलाई कुनै कुराको अभाव हुन दिनुभएन । तर सक्नु भएन लड्न क्यान्सरसँग । सक्नु भएन जित्न कालसँग । शरिर मात्र होइन मन समेत कमजोर भइसकेपछि केही नलाग्दो रहेछ । आफ्ना मुटुका टुक्रा यस विशाल संसारमा साराहा विहिन बनाउँदै तपाई ब्रह्मालिन हुनुभयो । त्यो आजकै दिन अर्थात् कार्तिक २० गतेको दिन थियो ।
तपाईलाई त्यसरी एक्लै जान दिन मनै थिएन । त्यही भएर तपाईलाई बचाउनका लागि कति दुःख गरियो । भए भरका ओखतीको जोहो गरियो । तर जन्मेपछि मर्नै पर्ने शास्वत सत्यका अगाडि हाम्रो केही लागेन न त तपाईको नै । तपाईलाई जान नदिनका लागि निकै रोएँ, कराएँ । मलाई पर्ने स–साना दुःखको बेलामा पनि असन्तोष गर्ने तपाईले मैले एकातिर भाइ र अर्कोतिर बहिनीलाई च्यापेर रुँदा पनि शान्त भएर सुनिदिनु भयो । मेरो रुवाईले पनि तपाईलाई छुन सकेन । मेरो चिच्याहटमा पनि तपाईले आँखा खोलिदिनु भएन । अनि मलाई लाग्यो जिउँदी आमा पो माया गर्ने रहिछन् । सदाको लागि आफ्नो बाटो लागेकी आमालाई अब छोराछोरीको के माया ? रुने रुँदै गर्छन् कराउने कराउँदै गर्छन आफूले आफ्ना गन्तव्य तय गरिसकेपछि कुनै कसैको माया नलाग्नु स्वभाविकै हुन्छ होला ।
तपाई भित्रको माया र ममता तपाईको प्राण पखेरुसँगै सकिएपछिको सबै कुरा त म लेख्नै सक्दिन होला । लेखेर पनि के नै हुन्छ र आमा । यहाँ त अहिले प्रविधिको विकासले हुलाकको अस्तित्व समेत संकटमा पर्न थालेको छ । मेरा यी शब्दहरु तपाई समक्ष पु¥याउने हुलाक पनि छैन यहाँ । तपाईसँग विछोडिँदाको पलको भक्कानोलाई शान्त पार्नका लागि यी शब्दहरु लेख्नु र आफ्नो मन बुझाउनु बाहेक अरु उपाय पनि त छैन नि मसँग । त्यसैले मनको बह पोखेर मनलाई नै हलुको पार्नका लागि यी शब्दहरुको साहारा लिएको छु । बैकुण्ठलोकमा बसेर अन्यथा नसोचिदिनु है आमा ।
अँ ! आमा, यहाँको सबै हालखबर सुनाउन सक्ने सामाथ्र्य पनि छैन मसँग । तपाईले हामीलाई छोडेपछिका नौ वर्षको समयमा धेरै परिवर्तन भएको छ यहाँ । तपाईका छोराछोरी सबै ठीक छौ । तपाईकी प्रिय बहिनीहरु, साथीसँगीहरु सबै ठीक छन् अहिलेसम्म । तपाईले औधी माया गर्ने तपाईको नातीले त जागिर खान सुरु गरिसकेको छ । यसले कहिले जागिर खाला र म मेरो नाती जागिरे छ भन्न पाउँला भन्ने तपाईका शब्दहरु अहिले पनि मेरा कानमा गुञ्जिने गर्दछन् । त्यो खुसीको खबर मैले तपाईलाई प्रत्यक्ष सुनाउन त सकिन । तपाईको आकृतिरुपी तस्वीरलाई सांक्षी राखेर सुनाए त्यो पनि एक्लै भएको बेलामा । आँखामा आँसुको भेल र मनमा मायाको गाँठो पारेर ।
मैले जतिबेला क ख चिनेकै थिएन । त्यतिबेला तपाईले पोलेको मकै दिँदै एकानन चतुरानन वृषवाहन कण्ठस्थ गराएका श्लोकहरु अहिले पनि भूलेको छैन मैले । तपाईले नै हो मलाई परेवा नवमी पूर्व दुज दशमी उत्तर भनेर योगिनीको श्लोक कण्ठस्थ गराएको । अनि तपाईले नै हो अश्विनी भरणी कृतिकाको पाउ मेष भनेर राशि छुट्याउने श्लोक घोकाएको । अहिले तिनै तपाईले घोकाएका अधिकांश श्लोकहरु पढ्दै म ज्योतिष भएको छु । ज्योतिष भएमा के के जान्न सकिन्छ । सबैको भविष्यवाणी गर्न सकिन्छ । अरुहरुको भाग्यलाई चिनामा लेखिदिन सकिन्छ भनेर ज्योतिष विद्या प्रतिको मोह जगाउँदै मलाई ज्योतिष बनाउने तपाईको सपना त पूरा भएको छ । तर त्यसको फल पाक्न नपाउँदै तपाईले जिन्दगीको दौडबाट विश्राम लिइदिनु भयो त्यसैमा दुःखी छ म । तपाईको त्यही प्रेरणालाई आत्मसाथ गरेर मेरा परमपूज्य गुरुदेव श्रीराधे गोविन्दको परम अनुकम्पाले आज म पञ्चाङ्गकार ज्योतिष भएको छु । मैले आफ्नै हातले लेखेको पात्रो तपाईलाई उपहार दिन पाएको भए म कति खुसी हुँदो हुँ । अनि तपाईलाई कति खुसी लाग्दो हो । तर के गर्नु आमै ती सबै खुसीहरु तपाईसँग बाँड्नै मलाई लेखेको रहेनछ ।
तपाईले दिएको आर्शिवादलाई शिरोपर गर्दै तपाईले दिएका उपदेशहरु मनको भकारीमा संचित गर्दै तपाईले देखाएको बाटोमा तलमाथि नगरी हिडिरहेको छु । जसले गर्दा पापी पेट भर्नका लागि कसैसँग हात थाप्नु परेको छैन । खान पुगेकै छ । जिउ ढाक्नका लागि कसैसँग कपडाको टुक्रो माग्नु परेको छैन । पुगेकै छ । बस्नका लागि तपाईले बनाइदिनु भएको घाम पानी छेक्ने झुपडी मेरा लागि महल बनेको छ । अहिले पनि तपाईले नै बनाइ दिनु भएको मठमा तुलसी रोपेर पूजा गर्ने गरिरहेको छु ।
आमा, तपाईको अभावमा हेपाई र चेपाई त कति खाएँ र कति सहेँ त्यो त म तपाईलाई भन्दै भन्दिन । पराईले भन्दा पनि आफ्नैले हेपे । आफन्त भनाउँदाहरु नै टुहुराको गास र बास खोस्नका लागि तम्सिदा रहेछन् । तर तपाईले भन्नुभएको थियो असत्यको बाटोमा हिड्यो भने जिन्दगी अन्धकारमा पर्छ । गन्तव्यहिन अवस्थामा गुमराहमा पुगेर दुःखको सामना गर्नुपर्छ । सत्यको बाटोमा हिडेमा भगवानले पनि केही बिगार्न सक्दैनन् । त्यही भएर सत्यलाई छोड्ने हिम्मत गरिन र गर्ने पनि छैन ।
दशैं आउँछ, तिहार आउँछ, चाडपर्वहरु आउँछन् अनि मात्र मलाई सम्झना गर्छस् भन्नुहोला । त्यसो होइन आमा, घरमा मिठो मसिनो पोकेको बेलामा मात्र होइन प्रत्येक दिन साँझ विहानको खान खाने बेलामा पनि तपाईलाई सम्झन्छु । प्रत्येक गास म सानो हुँदा तपाईले जबरजस्ती खुवाईदिएको दृष्य आँखा अगाडि आउँछ । बेस्तडा स्कूलमा पढ्दै गर्दा घरबाट पठाइदिएको पोलेको मकै र कुराउनीको याद आउँछ अनि आँसुको घुट्कोसँग बाँच्नका लागि निल्छु प्रत्येक गासहरु । जन्मदिने आमा मर्दा पनि नसकिँदो रहेछ मर्न ।
आफ्ना आमाबुबाको महाप्रस्थानमा खुब बिलौना गर्ने तपाई । बैकुण्ठलोकमा आफ्ना आमाबुबासँग पनि भेट्नु भयो होला । साथै रमाइरहनु भएको होला । त्यो ब्रह्मालोकमा पनि हाम्रो याद त आउँछ होला नि है आमा । आमासँगको जिन्दगी कति निर्धक्किलो हुन्छ अनि कति रमाइलो हुन्छ है आमै ।
तपाईका साथीसँगहरु भेटे भने तपाईलाई नै भेटे जस्तै लाग्छ । उनीहरुले थाहै नपाउने गरी धित मरुञ्जेल हेर्छु र मनमनै रुन्छु । सक्दिन आँसु झार्न । यो समाजले छोरा मान्छेलाई धित मरुञ्जेल आँसु बगाएर रुन नै कहाँ दिन्छ र ? कसैले सेतो रुमाल बाँधेको देखे भने तपाई नै हुनुहुन्छ कि झै लाग्छ । आमाको अभाव पूरा गरिदिने तपाईका दुई बहिनीहरु छन् । न्यास्रो लागेको बेलामा अनेक बहाना बनाउँदै पुग्छु सानिमाहरुसँग ।
अनि नि आमै ! भौतिक रुपमा मात्र हो तपाई यहाँ नहुनु भएको । मैले जुन संघर्ष र कर्म गरेको छु त्यसले तपाईको किर्तिशेष आत्मलाई अमरत्व बनाउने कोसिस गरिरहेको छु । त्यसैले कतै नाम बदनाम हुन्छ कि भनेर चिन्ता गर्नुपर्दैन नि हजुरले । हाम्रो धर्म, संस्कृति, कूलपरम्परादेखि आफ्ना कर्तव्यहरुको पालनामा कुनै कमी हुन दिएको छैन र दिनेपनि छैन । आजका दिनसम्म आइपुग्दा कुनै कुराको कमी छैन सँग । चाहे त्यो समाजसेवाको कार्य होस् । चाहे त्यो सनातन परम्परादेखि चलि आएको कर्म होस् । अभाव छ भने केवल कवि कृष्णप्रसाद भट्टराईले यी कविताका हरफहरुमा भने झैँ आमाको मात्र अभाव छ:
धर्तिमै छ सबै चीज खोजे मिल्छ घरीघरी
तर जन्मदिने आमा पाइँदैन कसैगरी ।
कति दुरदर्शी रहेछन् यी कवि ।
हो, आमै ! यी कविले भने झै तपाई बाहेक सबथोक पाएर पनि अधुरो र अपुरो छु म । रित्तो छु म । टुहुरो छु म । म मरेपछि टुहुरो हुने भनेको तँ मात्र होस् तपाईले भन्नु भएकै हो । आजपनि भाइबहिनीहरु टुहुरा छन् भन्ने लागेकै छैन । किनकी उनीहरुले सबै जाने पनि नजाने झै अभिभारा म माथि थोपरिदिन्छन् । जसरी म तपाई माथि थोपरिदिन्थे । मैले टेक्ने ओखट्टाहरुमा आड दिने भाइ छोराहरु छन् यसमा आपत्ति छैन तर शिरमा हात राखेर मैले समाउने हाँगोको आर्शिवाद रुपी सुरक्षा गरिदिने कोही छैन । त्यसैले पनि तपाईको किर्तिशेष आत्मालाई साँक्षी राखेर आफ्ना कर्मरेखाहरु कोर्नुको बिकल्प छैन मसँग ।
आमै, २०७१ सालको कार्तिक २० गतेको जस्तो कालो दिन जीवनमा कहिल्यै नआओस् । जसको गर्भमा बसेर मनुष्य रुप धारण गर्दै धर्तिमा आउन पाएँ । जसले आफूलाई जीवन र मरणको दोसाँधमा राखेर म चिच्याउँदै गर्दा प्रश्रव पीडा भुलेर खित्का छोड्नु भयो । जंगलमा घाँस काट्दै गर्दा मलाई जन्म दिएर रगताम्य भएको पेटिकोट आधा निचोर मलाई न्यानो दिनु भयो । आधा पेट खाइ नखाइ आफ्नो रगतलाई अमृतरुपी दूधमा परिणत गर्दै मेरो पेट भर्नु भयो । जो मेरो जिउँदो भगवानको रुपमा यो संसारमा हुनुहुन्थ्यो । त्यस्ती महान आमाको पार्थिव शरिरमा मेरा पापी हातहरुले आगो लगाए । बचेको अस्तु भेरीको किनारमा एउटा बडेमानको ढुङ्गामुनी राखेर आफू घर फर्किएँ । त्यस्तो कालो दिन कसैले भोग्न नपरोस् । यो कार्तिक २० गते सम्झना नगरौं भने आमा तपाईको अपमान हुन्छ कि भन्ने लाग्छ । सम्झना गरौं सारा तस्वीर आँखा अगाडि एउटा चलचित्रको रिल झै खुल्न थाल्छ अनि मुटुमा गाँठो पर्छ ।
धेरै के लेखौ । प्रकृतिको नियम र भगवानको विधानले तपाई अब प्रत्यक्ष रुपमा भेटिन सक्नु हुन्न । तर सपनीमै भएपनि आर्शिवाद दिन र मार्गदर्शन गर्न आउनु होला है, आमा । बैकुण्ठवासी आमासँग यत्ति माग्ने हक राखें मैले । तपाई जहाँ हुनुहुन्छ आनन्दले बस्नु होला । तपाईको आत्मालाई कुनै दुःखकष्ट भोग्न नपरोस् । तपाईलाई कुनै कुराको कमी नहोस् । तपाईका हरेक जन्म सार्थक बनुन् अनि मेरा हरेक जन्म तपाईकै कोखबाट होउन । आज यत्ति लेखेँ । कतै तपाईको मन दुःखाएको भए तपाईका कोमल पाउमा साष्टाङ्ग दण्डवत प्रणाम गर्दै माफी मागे । हार्दिक श्रद्धाञ्जली आमा ।