Loading... आजः १४ श्रावण २०८२, मंगलवार । Tuesday 29th July 2025
ताजा खबर
  

केतकी (दृकतुल्य) गणित प्रशिक्षण सम्पन्न

सुर्खेत ।
विश्व पञ्चाङ्ग निर्णय संघको आयोजनामा केतकी गणित प्रशिक्षण सम्पन्न भएको छ । अनलाइन मार्फत भएको प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाका महासचिव, महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता एवम् खगोलविद् तथा प्रमुख प्रशिक्षक श्रीराधे गोविन्दले जानकारी दिए ।

दृक गणितलाई विश्वले मान्दै आएको अवस्थामा हामीले नेपालमा पनि दृकतुल्य गणितको आवश्यकता महसुस गरी बैंकटेश्वर ग्रह केतकी सिद्धान्त र मराठी ग्रह गणित मालिकाद्वारा पञ्चाङ्ग गणितको प्रशिक्षण चलाएका थियौ जुन सफलतापूर्वक सम्पन्न भएको बताउँदै प्रमुख प्रशिक्षक श्रीराधे गोविन्दले नजानेकालाई सिकाउनु पर्छ र जानेकाबाट सिक्नु पर्छ भन्ने अभियानले सार्थकता पाएको बताए ।
ज्योतिष शास्त्र प्रत्यक्ष शास्त्र भएकाले पनि आकाशमा देखिने ग्रहको अवस्थालाई पञ्चाङ्गमा उल्लेख गर्न आवश्यक छ । सूर्य सिद्धान्त केही स्थुल भएको तर कामै नलाग्ने भएको भने होइन भन्ने विषयमा प्रमुख प्रशिक्षक श्रीराधे गोविन्दले स्पष्ट पार्दै थपे, परम्परागत रुपमा निर्माण हुँदै आएका पञ्चाङ्गहरुमा केही स्थुलता देखिएको छ त्यो कामै नलाग्ने भएको भने होइन ।
नजानेकालाई सिकाउनु पर्छ र जानेकाबाट सिक्नुपर्छ भन्ने अभियानका अभियान्ता समेत रहेका श्रीराधे गोविन्दले यस्ता प्रशिक्षणहरुले नेपाली ज्योतिषीहरुको संख्यात्मकतामा मात्र होइन गुणात्मकतामा समेत वृद्धि हुने बताए । उनले चलाएको अभियानलाई विश्व पञ्चाङ्ग निर्णय संघले पनि अनुशरण गरिरहेकाले ज्योतिष उत्पादनका क्षेत्रमा सहयोग पुगेको बताउँदै प्रमुख प्रशिक्षक श्रीराधे गोविन्दले भने, कुनै पनि विद्या लुकाएर राख्यो त्यसको नाश भएर जान्छ । त्यसलाई बढाउनका लागि त सिक्ने र सिकाउने कार्यमा जोड दिनुपर्दछ । हाम्रै केही विद्वानहरु कुनै विषयमा अरुलाई जानकारी नै दिन चाहदैनन् ।


यही ज्येष्ठ १ गतेदेखि सुरु भएको उक्त पञ्चाङ्ग गािण्त प्रशिक्षण डेढ महिनासम्म संचालन भएको थियो । अहिले २६ जना प्रशिक्षणार्थीहरुले प्रशिक्षण लिएका छन् ।
विश्व पञ्चाङ्ग निर्णय संघका अध्यक्ष तथा पञ्चाङ्गकार ज्यो. नारायणप्रसाद नेपालका अनुसार यो तेस्रो पटक आयोजना गरिएको पञ्चाङ्ग गणितको प्रशिक्षण कार्यक्रम हो । यसभन्दा अगाडि दुई पटक सूर्य सिद्धान्तमा आधारित रहेर पञ्चाङ्ग प्रशिक्षणहरु संचालन भइसकेका छन् ।
यसैगरी समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमको प्रमुख अतिथि तथा उपप्राध्यापक ज्यो. दिनानाथ पण्डितले नेपाल पञ्चाङ्ग निर्णायक समितिले समेत दृक सिद्धान्तमा जाने निर्णय गरिसकेको र भारतीय ज्योतिषहरुले पनि दृक सिद्धान्तमा जान आवश्यक भएको बताइसकेका बेला विश्व पञ्चाङ्ग निर्णय संघले जुन केतकी सिद्धान्तको प्रशिक्षण दिएर नेपाली ज्योतिषको क्षेत्रमा अतुलनीय गुण लगाएको बताए । उनले भने, यो निकै उपयोगी कार्य हो । अहिले नेपालमा पात्रो गणना गर्दा गोलमोटल भएको छ ।
विश्व पञ्चाङ्ग निर्णय संघले केतकी सिद्धान्तको प्रशिक्षण गर्दै गर्दा पञ्चाङ्गसँग सम्बन्धीतहरुको पनि आँखा खुलेको होला भन्दै अब केतकी सिद्धान्तमा आधारित रहेर पञ्चाङ्ग गणना गर्ने तर्फ ध्यान दिन नेपाली पञ्चाङ्गकारहरुलाई आग्रह गर्दछु सहप्राध्यापकसमेत रहेका पण्डितले भने ।


पछिल्लो समयमा गणितका प्रशिक्षणहरुमा कमी आइरहेका बेला यसरी गणितको प्रशिक्षण चलाउनु उदाहरणीय कार्य भएको बताउँदै प्रशिक्षार्थीहरु समेत उक्त अध्ययनबाट सुखी छन् । प्रशिक्षण कार्यक्रममा चितवनबाट सुकदेव भागवत पञ्चाङ्गका पञ्चाङ्गकार ज्यो. माधव सापकोटा, स्याङ्जाबाट मुक्तिनाथ पञ्चाङ्गका पञ्चाङ्गकार ज्यो. ज्ञानप्रसाद भण्डारी नवलपरासीबाट फलित ज्योतिषका प्रशिक्षक बालकृष्ण आचार्य समेतको संलग्नता रहेको छ भने भक्तपुरबाट अनिल सुवाल, रुपन्देहीबाट नविन सुवेदी, किर्तिपुरबाट उपेन्द्र प्रसाद नेपाल, बनारस भारतबाट चन्द्रप्रसाद आचार्य, पोखराबाट रेशम ढकाल, सुर्खेतबाट आनन्दशरण खनाल, धर्मदेव अधिकारी र कश्यप पञ्चाङ्गका पञ्चाङ्गकार खगेन्द्रप्रसाद अधिकारी, डोटीबाट दीपक ओझा, काठमाडौंबाट गौरव जोशी, कृष्ण श्रेष्ठ, प्रितमराज राजोपाध्याय, सन्तोष ढकाल, नुवाकोटबाट हरिबोल कँडेल, पनौती काभ्रेबाट रत्न बञ्जारा, कञ्चनपुरबाट श्यामानन्द भट्ट, पोखराबाट हिरामणी पौडेल, बाबुराम तिमिल्सेना, उपप्राध्यापक कल्याण पन्त तथा आयोजक संस्थाका पूर्वमहासचिव हरिश्चन्द्र भण्डारी रहेका थिए ।