१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार
काठमाडौँ ।
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । कात्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरूमध्येबाट यो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरी रु। २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरिने छ ।
यस क्रममा प्राणीशास्त्री वैज्ञानिक एवं ज्येष्ठ नागरिक अधिकार केन्द्रित विभिन्न पुस्तकका सर्जक प्राडा मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, संस्कृतका प्रकाण्ड विद्वान प्राडा ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, नेपाल भाषाकी अग्रणी एवं अधिकारकर्मी प्राडा चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, युद्ध विरोध र शान्तिको पक्षमा कलम चलाउने विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिम्बु भाषाको प्रवर्द्धनमा योगदान गर्ने लीला हाङ्मा सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, साढे तीन दशक देखि अनवरत साहित्य साधनामा संलग्न बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र बान्तावा भाषाका सुपरिचित हस्ताक्षर पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी शान्ति समाजले प्रसिद्ध पुरातत्वविद एवं सामाजिक न्यायका सर्जक प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लोपोन्मुख एवं अल्पसङ्ख्यक समुदायको पक्षमा कलम चलाउने सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, नेपालीका अतिरिक्त अङ्ग्रेजी साहित्यमा समेत कलम चलाउने गोपी सापकोटालाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, भोजपुरी साहित्यमा योगदान गर्ने स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कृत हुनेहरूमा ७ जना महिला स्रष्टा छन् भने ७ वटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गरेका छन् भने अङ्ग्रेजी भाषामा समेत उनीहरूका कृति प्रकाशित छन् ।