वर्षातले हिउँदे बाली नष्ट : चना, मसुरो र गहुँको कन्तविजोग
लक्ष्मी खनाल
सुर्खेत ।

प्रायःजसो असोजसँगसँगै सकिने वर्षे वर्षात यस वर्ष हिउँदमा पनि सकिएन । पश्चिम बंगालको खाडिबाट आउने वायुका कारण हुने वर्षात सकिएपनि दक्षिणी वायुको प्रभावका कारण यस वर्ष हिउँदमा मात्र होइन चैत्रको मध्यसम्म पनि वर्षात रोकिएको छैन । हिउँदको समयमा फाटफुट वर्षा हुने र हिमाली भेकमा हिमपात हुने भएका पनि यस वर्ष हिउँदमा पनि लगातार वर्षे झरी झैँ वर्षात हुँदा हिउँदे बालीलाई नराम्रो असर गरेको छ । हिउँदे वर्षाले हिउँदे बालीलाई असर गरेपछि किसानहरु चिन्तित भएका छन् । हिमाली तथा उच्च पहाडि भेकमा भारी हिमपातका कारण हिँउदे बालीलाई असर पुगेको छ भने तराई तथा भित्रि मधेशहरुका समथल भूभागमा वर्षातका कारण हिउँदे बालीमा असर परेको छ ।

विशेषगरि दलहन तथा अन्य बालीमा हिउँदे वर्षाले असर पारेको छ । चना, मसुरो जस्ता दलहन बाली पूर्ण रुपमा नोक्सान भएका छन् भन गहुँ, जौ जस्ता अन्न बालीहरुमा पनि नोक्सान पु¥याएको छ । अलिकति गहिरो परेको ठाउँमा पानी जमेर चना, मसुरो तथा गहुँ, जौ समेत कुहिएका छन् । पानी नजम्ने ठाउँमा पनि चना तथा मसुरोका पातहरु खुइलिएका छन् । जसले गर्दा त्यसमा फल नै नलागेपछि किसानहरु चिन्तित हुनु स्वभाविक हो ।
वर्षेनी दश कट्ठा जग्गामा गहुँ अधियाँ लगाएर पाँच जनाको परिवारलाई रोटी खान पुग्ने गरि गहुँ उत्पादन गर्ने किसान हरिबहादुर खड्का भन्छन्, अर्काको जग्गा भएपनि खुबै मिहिनेत गर्थे । दश कट्ठाको अधियाँले पाँच जनाको परिवारलाई बेला मौकामा रोटी खान पुग्ने गहुँ आउथ्यो तर यस वर्ष पानी जमेर सबै नष्ट गरिदियो । गहुँको विउ किन्नका लागि सापटी गरेको पैसा श्रीमतीले डोकोमा तरकारी बेचेर तिर्नु परेको पीडा सुनाउँदै उनले भने, प्रकृतिले पनि किसानहरुलाई ठग्न थाल्यो ।
करिब पन्ध्र कट्ठा खेतमा गहुँ लगाएकोमा विउ बराबर पनि उत्पादन नहुने देखेपछि निराश छन् अर्का किसान धनबहादुर बिसी । पन्ध्र कट्ठा खेतमा लगाएको गहुँको उत्पादन आफ्ना पाँच जनाको परिवारलाई वर्षदिन रोटी खान पुग्थ्यो त्यहीबाट बचेको बेचेर धान बालीका लागि मल बिउ समेत खरिद गरिन्थ्यो तर यस वर्ष बिउ जत्ति पनि फिर्ता नआउने उनको भनाई छ ।
वीरेन्दनगर १० का भोजु थारुको पीडा पनि उस्तै छ । उनले आधा आफ्नो र आधा साहुको जग्गा गरेर करिब एक विगाह जग्गामा चना र मसुरो खेती गर्छन । उक्त खेतीबाट उत्पादन भएको चना मसुरोका बिक्रीबाट वर्ष दिनको लागी नून, तेल किन्न पुग्ने पैसा कमाउथे । तर यस वर्षको वर्षातका कारण चना, मसुरोमा फूल समेत नफुलेपछि खेती लगाउँदाको मिहिनत मात्र होइन बिउ समेत खेर गएको उनको भनाई छ । उनले चना मसुरो लगाउने गरेको उक्त खेतमा धानबाली त्यत्ति राम्रो नहुने भएपनि हिउँदको समयमा दलहन बाली राम्रो हुने भएकोले उनी साहुको त्यो जग्गा जोत्न बाध्य थिए । तर यसपाली जस्तो वर्षात कहिल्यै नभएको र यसरी चना मसुरोको नाश कहिल्यै नभएको उनको भनाई छ ।
अन्नबाली मात्र होइन तरकारी बालीमा समेत हिउँदे वर्षाले असर पारेको छ । केही समय पहिले निकै चर्चामा आएको प्याजको मूल्य नेपालमै प्याज उत्पादन हुने सिजन आएपछि केही शान्त भएको थियो । हिउँदे वर्षातले प्याज, लसुनलगायतलाई पनि असर गरेको छ । बीस किलो आलुको बिउ लगाएर झण्डै तीन क्विन्टल बढि आलु फलाउने वीरेन्द्रनगर १० का पार्वती थापाले यस वर्ष क्विन्टल त के किलोमा पनि राम्रोसँग बिक्री गर्न पाइनन् । उनको आलु बारीमै कुहिएको छ ।
हिउँदको समयमा तरकारी खेती गर्नेहरु पनि यस वर्षको हिउँदे वर्षाको कारण नराम्रो मारमा परेका छन् । बन्दा, काउली, खुर्सानी, टमाटर, भान्टा जस्ता तरकारी खेती पनि वर्षातका कारणले उत्पादन हुन नसक्दा एकातिर किसानहरुलाई आर्थिक मार परेको छ भने अर्कोतिर उपभोक्ताहरुका लागि मूल्य बढ्ने निश्चित छ ।
चैत्रको सुरुदेखि नै काँक्रा र फर्सी बेच्ने भएकोले गत वर्षहरुको झैँ याद गरेर बारीमै खरिद गर्नेहरु आउँछन् तर के गर्नु सबै वर्षातले नाश गरिदियो भन्छन् वीरेन्द्रनगर ११ का ललित बहादुर खड्का । वर्षेनी बेमौसमी तरकारीबाट २ लाख भन्दा बढि आम्दानी गर्ने खड्काले यस वर्ष मुस्किलले ५० हजारको तरकारी पनि बेच्न सकेनन् । कृषि सहकारीको केही अनुदान सहयोगमा निर्माण गरेका प्लाष्टिक टनेलमा लगाइएको तरकारी अलि अलि जोगिएको र त्यसबाट बिउ खरिदमा खर्च भएको पैसासम्म उठाउन सकेको बताउँछन् खड्का ।
हिउँदको समयमा धरियो धनियाँ, मूला र साग बेचेर पनि घरखर्च चल्ने गर्दथ्यो । यसपाली आफ्नो बारीमा त भएन अरुहरुको बारीमा पनि नभएकोले व्यापार गर्न नपाएकोले घरखर्च चलाउन र दुई वटा बच्चाहरुको पढाइ खर्च धान्न धौ–धौ भएको बताउँछिन् वीरेन्द्रनगर ९ कि रुपा चौधरी । पाँच वर्ष अघि भएको सडक दुर्घटनामा श्रीमान् गुमाएकी चौधरीले डोकोमा तरकारी बेचेरै एक छोरी र एक छोराको पढाई खर्चदेखि घरखर्च समेत चलाइरहेकी छिन् । उनी भन्छिन्, अरु सीप केही छैन । आफ्नो दुई कट्ठा जग्गा छ त्यसैमा तरकारी खेती गर्छु र बेच्छु । त्यसमा उत्पादन भएको तरकारी बेचिसकेपछि अरुहरुका बारीमा फलेको तरकारी समेत खरिद गरेर बेच्ने गर्छु । तर यसपाली हिउँदे वर्षाको कारण न आफ्नो बारीमा तरकारी भयो न अर्काको । त्यसैले मण्डिबाटै खरिद गरेर भएपनि प्रत्येकको दैलोमा तरकारी पु¥याउँछु । यति गरिएन भने खर्च चलाउनै सकिदैन ।
पहाडि भूभागमा हिउँदको समयमा सिंचाई अभाव हुने भएकोले हिउँदे बाली खासै राम्रो नहुने र वर्षेबाली भैmँ उत्पादन नहुने भएपनि दैलेखको भैरवी गाउँपालिकामा सियाँलो परेका ठाउँहरुमा गहुँ उत्पादन राम्रै हुन्थ्यो । यस वर्ष हिउँदमा लगातार वर्षा भएकोले गहुँले पूर्ण रुपमा सिचाई पाएर निक्कै सप्रिएको थियो । तर चैत्रको आधा महिना जानेबेलासम्म पनि वर्षात बन्द नभएका कारण उक्त गहुँ पानीकै कारण पहेलिँदै जान थालेको छ । गहुँमा फूल फुलिरहेको बेला पनि पानीले फूल नै पखालिदिएपछि दाना नै लागेको छैन भन्छन् भैरवी १ का अक्कल बहादुर शाही ।
यता भगवतीमाई गाउँपालिका ५ मलुकाका लाल बहादुर सुनारको व्यथा पनि पीडादायक नै छ । मसुरो खेती त उठाउन जानु पर्ने नै थिएन । तर गहुँमा अलि अलि आशा थियो । चैत्रको सुरुमै परेको असिनाका कारण गहुँ खेतीमा नोक्सानी पु¥याएपछि त्यो आशा पनि निराशामा परिणत भएको छ । ६१ वर्षिय सुनारले अहिलेसम्म हिउँदको समयमा यस्तो वर्षात नभएको त यसरी हिउँदे बालीमा असर पु¥याएको आफूलाई थाह नभएको सूक्ष्मदृष्टिलाई बताए ।
दुल्लु नगरपालिकाको नेपा पश्चिम फर्केको भूगोल हो । हिउँदको समयमा राम्रो उत्पादन हुने भएकोले उक्त ठाउँमा गहुँ खेती राम्रो हुने गर्दथ्यो । तर यस वर्ष हिउँदमा नसोचेको वर्षात भएकोले गहुँ उत्पादनमा निकै हानी पुग्ने नेपाका परिमल विकको भनाई छ । वर्षे बाली धान चार महिना र हिउँदे बाली गहुँ तीन महिना गरेर करिब सात महिना जति खान पुग्ने अन्न उत्पादन गर्ने परिमल यसपाली हिउँदे बालीको उत्पादनमा असर परेपछि परिवार पाल्नकै लागि कसरी अन्नको जोहो गर्ने भन्नेमा चिन्तित छन् । उनले भने ज्याला मजदुरी गरेर भए पनि परिवार पाल्नु पर्ने अवस्थाको सिर्जना भयो । समय (मौसम) ले पनि हामी गरिबहरुलाई ठग्यो । यी त प्रतिनिधि पात्र मात्र हुन् । हिउँदे वर्षातको कारण यस वर्ष दलहन, तरकारी तथा अन्नबालीमा समेत नराम्रो असर पारेको छ ।
असोजको मध्यतिरबाट कम हुने वर्षा यसपाली चैत्रको मध्य भइसक्दा पनि कम भएको छैन । हिउँदको समयमा बढिमा दुई तीन दिन पानी पर्ने र हिमाली भेकमा हिउँ पर्ने अनि सफा हुने मौसममा यसरी परिवर्तन आउनु जलवायु परिवर्तनको असर भएको जलवायु विज्ञहरुको भनाई छ ।






