आज पुत्रदा एकादशी / खिर खाने दिन/ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

पौष शुक्ल पक्का अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ । सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।
धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एकदिन राजा सुकेतुमान घोडा चढि जंगल डुल्दै जाने क्रममा घना जंगलभित्र पुगे । जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जंगलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेदपाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।
राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको ब्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको ब्रत अनिवार्य भएको बताईदिए । राजाले पनि सवै विधि पुरा गरी पुत्रदा एकादशीको ब्रत बसे । फलस्वरुप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी ब्रतको महात्मे महत्वपूर्ण मानिन्छ ।
यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ । यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर ब्रत र पूजा समापन गरिन्छ । आजको दिनको शुभकामना ।
खिर खाने दिन

दूध/भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।
नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे(वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी ९छेस्का०हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।
मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ुक्षिरमाुबाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ुपायसु तथा कतैकतै यसलाई ुतस्मैु पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।
भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।
हामी संस्कृती र संस्कारमा साँच्चीकै धनी छौं, खिर खानलाई कुनै कार्जे या उपलक्ष्यनै कुर्नपर्छ भन्नेपनि छैन्, श्रावणको १५ लाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरकोलागि प्रचलित छ ।
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलार्इ लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
अनि दूध ल्याउनुभयो त खिर बनाउन रु आज त दुधको ब्यापक बिक्रि हुन्छ नेपालमा । बिहानैदेखि दुध पसलहरुमा भिडभाड हुनेगर्दछ, आफ्नोलागि खिरको जोहो गर्न नभुलौ है । ल है शहरतिर हो भने त डेरीमा अरूदिन ३/४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला।।। ढिलो हुँदा नपाइएला नि !
लगभग रोपाई सकिसकेको अवस्थामा छ यसपाली, बालीनाली सप्रियोस, मानो खाएर मुरी उब्जाउन सकियोस, अषाढ र श्रावणको दुखः मंसिरमा सुख र आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मिठो विचार हामीमा बनिरहोस्, खिरसंगै शुभकामना !
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो।
संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार निक्कै गम्भीर समस्याको रुपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। हरेक वर्षझै आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि जनमानसहरुमा सचेतना फैलाउन “अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस” मनाउदैछ ।
गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
कहिले सयौं नेपाली बालबालिकाको शरीरबाट विक्री हुने अंगहरु झिकेर विक्री गरिएको खवरहरु भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरुको खबर, हामी विकास र प्रगतिको प्रयास त गर्दैछौ तर यी र यी जस्ता थुप्रो सुन्न नसकिने घटनाहरु निर्मुल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ। मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ । (हाम्राेपात्राे)






