Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

आज नाग पञ्चमी, आजै रक्षाबन्धन

सुर्खेत ।
विक्रमादित्यले चलाएको पात्रो अर्थात विक्रम सम्मत् अनुसार सरसर्ति आज नाग पञ्चमी हो । तर यसपालि रक्षा बन्धन अर्थात जनै पूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) अर्धरात्री पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकोले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्रावण १३ गते (आज) श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) कै दिन गर्नु शास्त्र तथा परम्परा अनुसार उचित भएको समुचित भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Image may contain: 1 person, text
वि.सं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि श्रावण शुक्ल पूर्णिमा तिथिमा ग्रहण परेकोले श्रावण शुक्ल पूर्णिमा (नाग पञ्चमी) कै दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । श्रावण पूर्णिका दिन गरिने जात्रा, उत्सव, श्राद्धर अरु परम्परागत कृत्यहरु भने पूर्णिमाकै दिन गर्नु शास्त्र सम्मत् हुन्छ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ – समितिले स्वीकृत नगरेका पञ्चाङ्गहरु एवम् भ्रामक लेख रचनाहरु प्रकाशित भएकोले अन्य भ्रममा नपरी २०७४ श्रावण १३ गते श्रावण शुक्ल पञ्चमीकै दिन उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन गर्न यो समिति सर्वसाधारण सबैमा जानकारी
गराउँदछ ।

के हो नाग पञ्चमी ?

अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसँग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भनेँ हाम्रो सँस्कारलाई नागपन्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन । आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो । श्रावण शुक्लपक्षको पन्चमीमा पर्ने यो दिन धार्मिक परम्परा अनुसार नागदेवताका लागी छुट्याइएको दिन हो ।

यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ । बैद्धिक दर्शनमा १२ वटा नागहरुको उपस्थिति पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पध्म, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यि सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

आजको दिनमा घरमा दैलोमा गाइको गोबर, दुबो र डोरो लिएर नागको पूजा गरी टाँस्ने चलन छ । यसरी दैलो या मूल खाबोंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । महाभारतको कथा अनुसार परिक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे । उक्त यज्ञको हवन कुण्डमा यति शतिmशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन, यो देखेर सबै छक्क पर्दछन् । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजय समक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । यस दिन नागदेवताको पूजा अर्चनाकालागी दुध, मिठाई, फूल अनि धान भूटेर तयार भएको लाभा (अर्थात भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नागदेवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पुजा गरिएको विभिन्न ग्रन्थहरुमा उल्लेख छ ।
हिन्दु धार्मिक मान्यतानुसार सर्प भगवान शिवको गहना हो भने बिष्णुको शैया । भगवान कृष्णले कालिया नाग दमन गरेको पनि कथा छ । नागपूजा गरे घरमा आगलागी र चट्त्यांगको भय नहुने पौराणिक मान्यता छ ।

वैज्ञानिक आधारमा नागको पूजा किन ?

सर्प प्रायः बैशाख देखि मंसिर महिनासम्म जमिनमा देखिने गर्छन । अरुबेला यिनीहरु जमिनमुनि नै बस्छन् । नेपालमा धेरैजसो सर्प मधेस वा गर्मि ठाउँमा हुन्छन् । हाम्रो मुलुकमा पाइने करिब ९० प्रजातिका सर्प मध्ये २० प्रजातिका मात्रै बिषालु हुन् । बिषालु मध्ये किङ्ग कोब्रा सबै भन्दा लामो सर्प हो । यसको बिषको करिब ७ मिलिलिटर मात्राले एउटा हात्ती वा २० जना मान्छे मर्न सक्छन् । सर्पको आँखा र नाकको प्वालको तल तापक्रम अनुभव गर्न सक्ने प्वाल हुन्छ । सर्पले ०.००३ डिग्री सेन्टिग्रेड तापक्रमको परिवर्तन समेत अनुभव गर्न सक्छन् । ‘सर्प हाम्रो पर्यावरण (इकोसिस्टम) को अभिन्न अंग हो । जीवशास्त्रीहरु भन्छन् त्यसैैले प्राकृतिक सन्तुलनको संदेश दिनका निम्ति सर्पको पुजा गर्ने परम्परा बसालिएको हुनुपर्छ ।’ नाग पुजाको अर्को मुख्य कारण सर्पदंशबाट बच्न समाजलाई सचेत गराउनु पनि हुन सक्ने औल्याउदै
जीवशास्त्रीहरु भन्छन् ‘त्यसैले त नाग पञ्चमी त्यहि समयमा पर्छ जतिबेला पहाडदेखि तराईसम्मै सर्पको डसाई धेरै हुने गर्छ ।’

विश्व स्वास्थ्य संगठनको अनुमानुसार विश्वभर बर्षेनी ५० लाख व्यक्तिलाई सर्पले डस्छ । त्यस मध्ये २४ लाख बिषालु सर्पको डसाई हुन्छ । डसेपछि उपयुक्त एन्टीवेनुमसंगै तत्काल चिकित्सा सेवा चाहिन्छ । केहि सर्पले डसे पनि शरीरमा रासायनिक प्रभाव उत्पन्न हुने मात्रामा बिष छोड्न सक्दैनन् । त्यस्तो अवस्थामा सर्पको डसाईले भन्दा पनि आत्तिएर व्यक्तिको मृत्यु हुने गरेको घटना छन् । सर्पले लखेट्यो भने सिधा दौड्नुको सत्ता बांगोटिंगो गरेर दौडिनु पर्छ । किनभने सर्प सिधा दिशामा धेरै छिटो दौडिनछ । सर्पले डसेको ठाउँमा स–साना धेरै दाँतको चिनो देखियो भने सर्प बिषहिन रहेको ठान्नुपर्छ । तर सुन्निनुका साथै दुइटा ठुला दाँतको चिनो मात्र देखियो भने त्यो बिषालु सर्पले टोकेको संकेत हो । यस्तो अवस्थामा तुरुन्तै औषधी उपचार गर्नु पर्छ नत्र ज्यानै जाने खतरा हुन्छ ।

अझैँ पनि कतिपय स्थानहरुमा धामी, झाँक्री र वैद्यको सहायता लिने र झारफुकमै विश्वास गरी सर्पले टोकेमा झारफुक गर्ने भएकोले पनि सर्पदंशबाट धेरैको ज्यान गएको छ ।

रक्षा बन्धन अर्थात जनै पूर्णिमाको महत्व

हरेक चाडवाडको आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो (डोरा) मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।“

अर्थातः ‘जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।’

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरिदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यस दिन दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी बाँधिदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।

आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षेत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नाडिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाँटी“ हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

क्वाँटी पकाउने आ–आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी“ भनिन्छ ।