काँग्रेसका विभाग र विभागीयको दिमाग
देशमा राणा शासनले आफ्नो प्रभूत्व जमाइ राखेको समयमा राणाहरुको जहानियाँ शासनबाट जनतालाई मुक्ति दिलाउनु पर्छ भनेर आन्दोलनको श्रीगणेश गर्ने नेपाली काँग्रेस नै हो । नेपाली काँग्रेसले तय गरेको आन्दोलनलाई तत्कालिन राजा त्रिभुवनले समेत आफ्नो राजगद्दीको मोहलाई त्यागेर साथ दिएका थिए । उनले काँग्रेसको आन्दोलनलाई साथ नदिएको भए सायद राणा शासनको अन्त्य गर्न अझँ धेरै समय लाग्ने थियो होला ।

राणाको विरुद्धमा भएको आन्दोलनबाट प्राप्त भएको प्रजातन्त्रलाई व्यवस्थित रुपमा संचालन गर्न काँग्रेस नेताहरु नै चुके । विपीले जुन नीति लिएका थिए त्यो नीतिमा अरु नेताहरु हिड्न सकेनन् । किनकी विपीले लिएको नीतिले जनतादेखि राजासम्मलाई एक ठाउँमा राखेर देशको शासन सत्तालाई सवल बनाउँदै जनताका पक्षमा काम गर्नुपर्छ भन्ने थियो । समाजवादको नीतिमा अडिग भएका विपीलाई कसरी परास्त गर्न सकिन्छ भन्ने खेलले नै तत्कालिन समयमा काँग्रेसको सरकार असफल भएको थियो । जसको फलस्वरुप राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरेर दलहरुलाई प्रतिबन्ध लगाए ।
दलहरुलाई प्रतिबन्ध लगाइसकेपछि राजा महेन्द्रले संचालन गरेको पञ्चायती व्यवस्थाले देशको आर्थिक, भौतिक तथा शैक्षिक विकासमा सोचे अनुरुपको काम गर्न नसकेकै हो । जसले गर्दा पटक – पटक उनको शासन विरुद्धमा आन्दोलनहरु भए । राजा महेन्द्र दुरदर्शी भएका कारण उनले शासन चलाउने समयमा खासै आन्दोलनको चलखेल हुन सकेन । तर उनको अवसानपछि राजा बनेका वीरेन्द्र आफैमा लोकप्रिय र शान्तिप्रिय थिए । जसले गर्दा पञ्चायती शासन व्यवस्थाका विरुद्धमा आन्दोलनका योजनाहरु बुनिए । चाहे २०३६ सालको जनमत संग्रह होस् चाहे २०४६ सालको जनआन्दोलन । २०४६ सालमा भएको जनआन्दोलनबाट नेपाली जनताले प्रजातन्त्रको पुनस्र्थापना त गरे तर त्यसले पनि जनताको मनलाई रिझाउन सकेन । २०४८ सालमा भउको आमनिर्वाचनमा काँग्रेसले बहुमतको सरकार निर्माण ग¥यो ।
बहुमतको सरकार संचालन गरिरहेको नेपाली काँग्रेस आन्तरिक कलहमा फसेपछि पाँच वर्षको लागि जनमत पाएको सरकारले मध्यावधि निर्वाचन गर्नु जनताको मतको घोर अपमान थियो । जसले गर्दा २०५१ मा भएको मध्यावधि निर्वाचनमा अल्पमतकै भएपनि कम्यूनिष्टहरुले सरकार गठन गर्ने मौका पाए ।
अल्पमतको सरकार गठन गर्ने मौकासँगै तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले जनताको मन जित्नका लागि यस्तो पासा फ्याँके कि जसको प्रभाव अहिलेसम्म पनि परिरहेकै छ । कम्यूनिष्टले त काम गर्न नसक्ने बुढाबढीलाई मारिदिन्छ र भए भरको सम्पत्ति लुटिदिन्छ भनेर फैलाइएको हावालाई रोक्नका लागि एकातिर बृद्धभत्ता र अर्कोतिर आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम ल्याएर मनमोहनले नेपाली जनताको मन जित्न सफल भए । यो कार्यक्रम अहिलेपनि त्यत्तिकै प्रभावकारी छ जति २०५१ मा थियो । त्यसपछि कम्यूनिष्टको पक्षमा जनलहर नै उर्लिन थाल्यो । फलस्वरुप २०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेले प्राप्त गरेको मत कम शक्तिशाली भएन । तर उनीहरुले पनि त्यो जनमतको कदर गर्न सकेनन् र पार्टी भित्रै पद र प्रतिष्ठाको लागि कलह सुरु गरे ।
वामदेव गौतमले प्रस्तुत गरेका एमालेका ५२ बुँदे अपराध जस्ता कुराले निकै चर्चा पायो भने यसले कम्यूनिष्ट आन्दोलनलाई फेरि ठूलो धक्का लाग्यो । जसले गर्दा उतातिर सशस्त्र जनयुद्धमा होमिएको माओवादी आन्दोलनले फैलिने अवसर प्राप्त ग¥यो । भूमिगत रुपमा आन्दोलन गरिरहेको माओवादी र सत्ताका लागि लडिरहेका काँग्रेस तथा एमालेले जनतालाई यमनचयन दिने कुरै भएन । जसले गर्दा जनतामा यस्तो त्रासको वातावरण फैलियो कि अब को कहाँ कतिबेला मर्छ वा मारिन्छ भन्ने टुङ्गो नै भएन । सरकारी पक्ष र विद्रोही पक्ष बीच भएको कटरावले जनतालाई मात्र सास्ती दिएन । देशको भौतिक र आर्थिक विकासमा पनि ठूलो बाधा पुग्यो ।
जनताले कुन शासन व्यवस्था चाहन्छन् त्यही व्यवस्था लागु गर्नुपर्छ भन्ने सिद्धान्त बोकेका तत्कालिन राजा वीरेन्द्रको वंश विनाशसँगै देशमा राजनीतिक मोड नै परिवर्तन भयो । एकातिर राजा वीरेन्द्रको वंश नाश हुनु र अर्कोतिर उनको हत्यारा पत्ता नलाग्नुले अझ राजनीतिक आन्दोलनमा बलेको आगोमा घ्यू थपे झँै भयो । देशमा राणा शासनको अन्त्यका लागि भएको आन्दोलनका समयमा नावालक अवस्थामा राजा बनेका ज्ञानेन्द्र पुनः दोस्रो पटक राजा बने । एकातिर गलत सल्लाहकार र अर्कोतिर बुबा महेन्द्रको शासनबाट प्रभावित भएका ज्ञानेन्द्रले शासन सत्ता नै आफ्नो हातमा लिने जुन दुष्प्रयास गरे देशमा गणतन्त्रको सुत्रपात त्यसैबाट भयो ।
राजदरबार र काँग्रेसको सम्बन्ध जुन समयसम्म राम्रो थियो त्यत्ति बेलासम्म कम्यूनिष्टहरुलाई टिक्न धौ–धौ भएको थियो । तर ज्ञानेन्द्र र गिरिजाका कारण उनीहरुको सम्बन्धमा खलल पुगेपछि राजनीतिक स्वार्थमा लुप्त हुन जानेका गिरिजाले तत्कालिन माओवादीदेखि अन्य राजनीतिक पार्टीसँगको समिकरणमा राजतन्त्रलाई नै पाखा लगाउने गरि खतरनाक खेल खेले । आफू देशको राष्ट्रनायक हुने सपनाका साथ अघि बढेका उनले राष्ट्रपति बन्ने अवसर त प्राप्त गरेनन् तर अरु पार्टी र नेताहरुलाई आफ्नो वसमा भने राखी राखे । त्यसैले गिरिजा चतुर राजनीतिज्ञ थिए ।
गणतन्त्रका लागि भएको आन्दोलन पश्चात देशमा प्रथम संविधान सभाको निर्वाचन भयो र अन्ततः २ सय ४० वर्षको इतिहासलाई विट मार्दै शाही परिवार पाखा लाग्न बाध्य भयो । त्यसपछि राजनीतिक दलहरुकै हालीमुहाली चल्यो । तर सत्ता र शक्तिका लागि अनेक हर्कत गर्न पछि नपर्ने दलहरु र ती दलका नेताहरुदेखि नेपाली जनता वाक्कदिक्क भए । २०७२ साल वैशाख १२ मा आएको भू–कम्पले नेपाली भूमि मात्र हल्लाएन । नेताहरुको दिमागलाई समेत नराम्रोसँग मथ्यो । जसको फलस्वरुप देशले असोज ३ गते नयाँ संविधान पायो ।
नयाँ संविधान लागु भएसँगै देशमा पहिलो पटक संघीयताको अभ्यास भयो । यही संविधान बमोजिम भएको निर्वाचनमा वर्तमानको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी सरकार र स्थायी शान्तिको नारा लगाएर जनता सामु गयो । २०४८ सालदेखि नै स्थायी सरकार नबनेका कारण बारम्बार अशान्तिको ज्वालाको रापबाट पिरोलिएका नेपाली जनताले इतिहासमै पहिलो पटक कम्यूनिष्टहरुलाई विश्वास गरे र झण्डै दुईतिहाइ मतदान गरे ।
कम्यूनिष्टहरुलाई दुई तिहाइको नजिक पुग्ने गरि जनमत प्राप्त हुनुमा काँग्रेसको पनि कमजोरी छ । काँग्रेसले आफूलाई कहिल्यै कमजोरी महसुस नगर्ने अनि जनताको पक्षमा भन्दा नेताको पक्षमा र सत्ताका लागि वकालत गर्ने भएकाले नै नेपाली काँग्रेसलाई जनताले धुलो चटाएका हुन् ।
जहिले पनि सत्ताको वरिपरि लुटपुटिएको काँग्रेस सत्ता बाहिर बसिरहनु पर्दा आत्तिनु स्वभाविक हो । तर त्यो अवस्था कसले श्रृजना ग¥यो भन्ने बारेमा भन्दा पनि पार्टी भित्र गुट र उपगुटमा गर्न थालिएको राजनीतिले काँग्रेसको यो हविगत भएको हो भन्ने कुरा अझैँ पनि काँग्रेसीहरुले बुझ्न सकेका छैनन् । गुट त कम्यूनिष्टमा छन् । एमालेले बरदान स्वरुप दिएको एक मात्र सिट भएको राप्रपा भित्र पनि गुट छन् । तराइ मधेशमा भएका पार्टीहरुमा पनि छन् । गुटको राजनीति सबै दलहरु भित्र छ । गुटमा पनि कसरी राजनीतिक गर्ने भन्ने एउटा लक्ष्य र उद्देश्य होला । त्यस्तो लक्ष्य र उद्देश्य विहिन अवस्थामा काँग्रेस देखा परेको छ ।
कुनै समयको देशको ठूलो पार्टी र वर्तमानको प्रतिपक्ष पनि हो काँग्रेस । सत्ता पक्षले जनताका विपक्षमा काम गरेमा खबरदारी गर्ने जिम्मेवारी काँधमा बोकेको छ काँग्रेसले । त्यो जिम्मेवारीलाई पूरा गर्नको साटो फागुनमा तोकिएको महाधिवेशनलाई मध्यनजर गरेर पार्टी सभापति देउवा र उनको गुटले जुन विभागहरु गठन गरेको छ । त्यसले आधा काँग्रेसीहरुको दिमागमा ठूलो हलचल ल्याएको छ । देउवा फेरि आफै पार्टी सभापति हुनका लागि अनेक हर्कत गरिरहेका छन् । जसले गर्दा एकातिर सक्षम राजनीतिज्ञहरु ओझेलमा पर्ने सम्भावना छ भने हिजोका दिनमा भएका कमीकमजोरीहरुलाई आत्मा आलोचना गर्न नसक्ने देउवाले काँग्रेस सिध्याउने खेल खेलिरहेको उनकै पार्टीका नेता कार्यकर्ताहरुले आरोप लगाइरहेका छन् । जसले भविष्यमा आउने आम निर्वाचनहरुमा पार्टीलाई कहाँ पु¥याउला भनेर सोच्न सम्म सकेका छैनन् किन ?
देउवाले काँग्रेसको बागडोर सम्हालेको पाँच वर्ष भइसकेको छ । यो पाँच वर्षसम्ममा गठन नभएका विभागहरु नितान्त स्वार्थमा गठन भएका छन् । पार्टी भित्रको जनमतलाई आफ्नो पक्षमा पार्नका लागि गठन भएका छन् । पार्टी सभापति देउवादेखि गाउँ–गाउँमा राजनीति गर्ने भुरे नेताहरुले केवल पार्टी भित्रकै राजनीति गर्ने हुन् वा फेरि पनि जनता समक्ष गएर जनमतका आधारमा देश र जनताप्रति उत्तरदायीत्वको राजनीति गर्ने हुन् ? विभिन्न विभागमा परेर बधाई खानेहरुले भविष्यमा पार्टी कहाँ पुग्छ र आजको बधाई कत्तिको महंगो सावित हुन्छ भन्ने बारेमा किन सोच्न नसकेका होलान् ?
सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित लेख ।






