बीपी विचारको प्रभाव
विश्वेश्वरप्रसाद कोइरालाका केही विचारहरूलाई आज गलत उद्धरणको रूपमा उल्लेख गर्ने गरिन्छ । राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी फरक किसिमबाट उल्लेख गर्ने गरिएको देखिन्छ । हिजोका मण्डलेहरू र सदैव प्रजातन्त्र हत्याका समर्थक कम्युनिष्टहरूले पनि यता बात बातमा कांग्रेसीहरूलाई उपदेश दिने गरेका हुन्छन् । यस्ता उपदेश प्रायसः तिनीहरूले राजतन्त्र, राष्ट्रियता, भारतको विरोध तथा मेलमिलापका सन्दर्भमा फलाकिरहेका हुन्छन् । उदाहरणका लागि तिनीहरूले बीपीका समयका चुनावी घोषणा पत्रका युक्तिहीन अंशहरू, राजाको घाँटी र मेरो घाँटी सँगै जोडिएको छ भन्ने प्रसंग अनि मेल मिलाप कार्यनीतिका केही मनगढन्त व्याख्यालाई प्रयोग गरिरहेका हुन्छन् ।

वास्तवमा बीपीको विचार सम्पूर्ण रूपमा कहिल्यै कुनै घोषणा पत्रमा समाविष्ट छैन । न त २००७ सालको क्रान्ति कालमा, न त २०१५ सालको आम निर्वाचनमा । पार्टीको विधानलाई पनि यसै रूपमा बुझ्नुपर्दछ । पार्टीका यी दस्तावेजहरू जहिले पनि विभिन्न नेताहरू वा सोचहरूका समिश्रित रूपमा पारित गरिएका हुन्छन् । जबकि, बीपी गहन सवालहरूमा दार्शनिक दृष्टिकोण राख्नुहुन्थ्यो ।
व्यक्तिगत सोचमा बीपी सदैव, शायद जीवनपर्यन्त पनि राजतन्त्र, धार्मिक राज्य र संशोधित प्रजातन्त्र वा मोडेल डेमोक्रेसी जस्ता विषयको पक्षपाती रहनु भएन । राजतन्त्र र धर्मबारे राज्य र प्रजातन्त्रका बारे उहाँका साहित्यको अध्ययन गर्दा स्पष्ट हुनजान्छ । धेरैले बीपीको ‘राजतन्त्र’ शीर्षकको लेख नै नपढेको हुनसक्छ । जहाँ बीपीले नेपाली समाजमा राजतन्त्रको आधार उपर नै प्रश्न उठाउनु भएको छ । सन् १९६८ मा बीपीले वाराणसीको एक सम्मेलनमा ‘एशियन च्यालेन्ज एण्ड गान्धीजम’ विषयमा बोलेकोबाट राजतन्त्रका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।
शिवरात्रीको दिन एकजना जर्मन पत्रकारलाई पशुपतिको अपार श्रद्धालु देखाउँदै बीपीले भनेको ‘म निजी रूपमा धर्म मान्दिन तर पूर्वपश्चिम पूरै नेपालबाट कैयौं दिन पैदल हिँडेर यहाँ मूर्तिको पूजा गर्न आएकाहरूको आस्था पनि म बदल्न सक्दिन ।’ शायद धेरैले छापिएको यस तथ्यको पनि स्मरण गर्दैनन् आजभोलि । नेपालको सन्दर्भमा धर्मनिरपेक्षता ठीक नहुन सक्छ तर धर्मनिरपेक्षता बीपीको निजी सोच थियो ।
राष्ट्रिय एकता तथा मेलमिलापको कुरा गरेर बीपीको स्वदेश आगमनलाई धेरैले तत्कालीन भारतमा इन्दिरा गान्धीको नेपाल खाने योजनालाई बीपीले लत्याएको भनी अथ्र्याएको देखिन्छ । मर्नु परे पनि नेपालमै मर्ने तर इन्दिरा गान्धीको योजनामा सरिक नहुने भनेर बीपीलाई आजको संकुचित तथा बजारीकरण गरिएको राष्ट्रवादसँग जोड्न खोजेको देखिन्छ । मेलमिलापको नीति वा कार्यनीति वस्तुतः बीपीको यौटा ‘लाउड थिंकिङ’ थियो जसलाई सन् ७० को दशकको अन्त्यतिरको शीतकालीन विश्व राजनीतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ । यसको सारको रूपमा, अमेरिकाले सबैतिर प्रजातान्त्रिक आन्दोलनहरूको रक्षा गर्न नसकेको, कम्युनिष्टहरूको मुकाबिला गर्न तानाशाहहरूलाई संरक्षण गरिरहेको एक विशेष स्थिति रहेको बुझ्नुपर्दछ ।
अर्कोतिर सोभियत संघ, खासगरी प्रजातान्त्रिक मुलुकहरूमा कम्युनिष्टहरूको सहयोगमा सत्ता हत्याउन चाहेको र मध्य तथा दक्षिण एशियाली मुलुकहरूको स्वतन्त्रता अफगानिस्तानमा सोभियत कब्जाले गर्दा खतरामा परेको बुझाइ हो । यस सन्दर्भमा, इन्दिरा गान्धीको बारेमा बीपी स्पष्ट हुनुहुन्थ्यो कि उनी सोभियत संघका पिछलग्गू थिइन् । तिनताक नेपालका राजा वीरेन्द्र कम्युनिष्टहरूको जालमा परेको र प्रजातन्त्रवादीहरूलाई समाप्त पारेर कम्युनिष्ट नियन्त्रणको पञ्चायती व्यवस्थालाई दह्रो बनाउने सोभियत डिजायनले अन्ततः नेपालको स्वतन्त्रतालाई नै समाप्त पार्ने बीपीको बुझाइ रहेको थियो । यस तथ्यसँग राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रीकरणको दिशामा लिएर जानु बीपीको नीति भनौं वा दृष्टिकोण थियो ।
आज, हवाइजहाजमा सवार कांग्रेसी, आकाशमा उडिरहेको जहाजमा कुनै प्राविधिक गडबडी भएमा बीपीको मेलमिलापकै नीति पल्टाएमा पाइलटले त्यसको मर्मत गर्नसक्ने, समाधान गर्नसक्ने गरी जसरी अर्थ लगाइरहेको देखिन्छ यसको त्यस्तो सर्वकालिक व्यापकता शायद बीपीले सोच्नु भएन होला । रोजगारी, जनताको आयवृद्धि, सर्वशुलभ स्तरीय शिक्षा, जनताप्रति लक्षित जनस्वाथ्य नीति, समावेशीकरण जस्ता आधारभूत विषयहरू जुन जनताका आधारभूत खोजी र चाहना हुन, यसको समाधान पनि बीपीको त्यस सोचबाट खिच्ने प्रयत्न त वास्तवमा दिशाहीनता हो न कि बीपीप्रतिको आस्था ।
स्रोत : हिमालय टाइम्स









