Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

२० जना महिला स्वरोजगार बन्दै

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको महिला स्वरोजगार कार्यक्रम अन्तर्गत २० जना महिलाहरु स्वरोगार बन्दैछन् । उनीहरुले लेकाली मोटर ड्राइभिङ्ग टे«निङ्ग सेन्टरबाट अटो चलाउने तालिम प्राप्त गरेपछि उनीहरु स्वरोजगार बन्न लागेका हुन् । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र समन्वयमा लेकाली मोटर ड्राइभिङ्ग टे«निङ्ग सेन्टरबाट एक महिने अटो चालकको तालिम पाएपछि अब आफू ड्राइभर बन्न सकेकोमा खुसी लागेको बताउँछिन् दैलेख भगवतीमाई ५ घर भइ हाल वीरेन्द्रनगर ७ मा बस्दै आएकी मीना शाही ।


घरमा सानो खर्चका लागि पनि श्रीमान्कै मुख ताक्नु पर्ने भएकोले आफै कतै रोजगार पाएको भए हुन्थ्यो भन्ने लागिरहेको बेलामा उनका आफन्तबाट वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजागर कार्यक्रमको लागि अटो चालक तालिम दिन थालेको कुरा थाह पाएकी मीना अब आत्मनिर्भर बन्नेमा ढुक्क छन् । साइकलसम्म चलाउन नजान्ने मीना अहिले मज्जाले अटो चलाउन सक्ने भएपछि उनको खुसीको सीमा छैन । नगरपालिकाको महिला स्वरोजगार तालिम अन्र्तगत मीना जस्ता २० जनालाई अटो ड्राइभिङ्गको तालिम दिएको छ ।

हातमा सिप भएपछि बाँच्न सकिन्छ भन्ने लाग्नु स्वभाविकै हो । हिजोका दिनमा अटो चलाउनु भनेको निकै ठूलो जस्तो लाग्थ्यो तर वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा लेकाली मोटर ड्राइभिङ्गले मलाई पनि ड्राइभर बनायो । अब सडकमा अटो चलाउन सक्ने भएकी छु आफ्नो परिवारको दैनिक खर्च टार्न सक्छु भन्ने हिक्मत आएको छ भन्छिन् वीरेन्द्रनगर २ जयपुरकी लिला शर्मा । ‘हामी बेरोजगार महिलाहरुलाई चुलोचौकोबाट बाहिर ल्याउने काम नगरपालिकाले गरिदिएको छ । सीप त सिकाइदियो अब अटोको व्यवस्थापन छिटो गरिदिएको भए स्वरोजगार बनेर बाँच्न सहज हुने थियो’ उनको भनाई थियो ।

ट्रेनिङ्ग सेन्टरले दिएको शिक्षा र आफूले गरेको मिहिनतले अरुको अटोमा चढ्दा पनि डर लाग्ने मान्छे आज आफैले अटो चलाउन सक्ने भएपछि खुसी लागेको बताउँछिन् वीरेन्द्रनगर १२ की ममता रोकाय ।

लेकाली मोटर ड्राइभिङ्ग सेन्टरले हामीलाई केवल ड्राइभर मात्र बनाए अटो बिग्रेमा समेत सामान्य मर्मत गर्न सक्ने बनाएको बताउँछिन् वीरेन्द्रनगर ९ लाटीकोइलीकी धनकुमारी सिजापति मगर । नगरपालिकाले महिला स्वरोजगारका लागि विभिन्न तालिमहरु संचालन गर्दै आइरहेको छ ।

अटो चलाउनमा उनीहरु सक्षम भएको र उनीहरुले निकै मिहिनेत गरेको लेकालीका प्रो. खड्कबहादुर बोहोराले बताए । पैसा भन्दा पनि उनीहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने कार्यमा सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको बोहोराको भनाई छ ।