Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

दाङमा आइसियु सेवा र औषधिको अभाव

दाङ ।

दाङमा कोरोना संक्रमित बढेको बढ्यै गर्दा यहाँको हव अस्पताल भनिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेको आइसियु सेवा चल्न सकेको छैन ।

त्यसैगरी प्रदेश सरकारले कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी लगानी गरेर बेलझुण्डी विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा चलाएको कोरोना विशेष अस्पतालमा पनि आइसियु सेवा चल्न सकेको छैन । प्रतिष्ठान आफैले मेसिन खरिद गरेर सञ्चालनको तयारीमा रहेको आइसियु सेवा र बेलझुण्डी कोरोना विशेष अस्पतालले प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका आइसियु मोनिटर र भेन्टिलेटर त्यहाँ ल्याएर जडान गरेर उच्चस्तरीय सेवाको विगुल फुके पनि गम्भीर प्रकृतिका कुनै पनि विरामीलाई यहाँ आइसियु सेवा उपलव्ध छैन । उपकरण जडान भएको अवस्थामा पनि आफूहरुले आइसियु सेवा सञ्चालन गर्न नसक्नुमा माथिल्लो निकायको सहयोग नभएको दुवै निकायले दावी गर्दै आएका छन् । यस्तै अवस्थामा आइसियु तथा भेन्टिलेटर सेवा नपाएर केही विरामीको अन्य अस्पतालमा उपचारका लागि पुग्न नपाउँदै ज्यानसमेत गएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा दाङमा आइसियु सेवा र औषधिको अभाव

तर यो विषयमा सरकारी निकाय भने बेखवर छ । यी सुविधा मोफसललाई होइन, यो त सुविधासम्पन्न राजधानीलगायत विशेष राजनीति केन्द्रित मुख्य शहरहरुलाई मात्रै हो । आइसियु सेवा त परिकल्पना मात्रै हो, कुनै पनि संक्रमितको अवस्था गम्भीर भएको अवस्थामा नेपाल सरकारले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त औषधिहरु पनि चलाउन लागेको छ । जुन औषधिले धेरै हदसम्म गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटरबाट जोगाउन सक्छ । बजार मूल्य महंगो भए पनि सरकारी अस्पतालमा सो औषधि निःशुल्क उपलव्ध गराउने भनिए पनि यहाँका कुनै पनि सरकारी अस्पतालमा यो औषधि समेत उपलव्ध हुन सकेको छैन । सम्बन्धित चिकित्सकले यो औषधि यहाँ उपलव्ध नभएको बताएका छन् ।

कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा आइसियु र ५ वटा भेन्टिलेटर बेड छन् । गम्भीर प्रकृतिका बिरामीहरुको उपचार गर्ने उद्देश्यले अस्पतालमा भेन्टिलेर र आइसियु बेड स्थापना गरिएको छ । त्यसका लागि आवश्यक उपकरणसमेत रहेका छन् तर जनशक्ति नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । २४ सै घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने र कृत्रिम श्वासप्रश्वास दिनुपरे बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने भए पनि त्यसका लागि आवश्यक जनशक्ति नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले वताउनु भयो । जनशक्ति नहँुदा तीनजना गम्भीर प्रकृतिका बिरामीलाई बुटवल पठाउनुपरेको समेत बताए । ‘अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई राखेर उपचार गर्नका लागि आइसियु र भेन्टिलेटरसहितका १० बेडहरु रहेका छन’, डा. शर्माले भन्नु भयोे– ‘बेड र उपकरण भए पनि जनशक्तिको अभावले गर्दा सेवा दिन सकेका छैनौ ।’ आइसियुका लागि जनशक्ति नहुँदा गम्भीर प्रकृतिका बिरामीहरुलाई बुटवल रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँले वताउनु भयो । सरकारले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति उपलव्ध गराउन सके जटिल प्रकृतिका बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वताउनु भयो । आइसियु सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गरिएको अस्पतालले जनाएको छ ।

जनशक्ति अभावका कारण घोराहीमा रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानमा स्थापना गरिएको १० बेडसहितको आइसियु कक्ष पनि सञ्चालन हुन सकेको छैन । गत बैशाख ३१ मा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले तामझामसहित उक्त आइसियु सेवाको उद्घाटन गरे पनि सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. बसन्त लामिछानेले जानकारी दिनु भयो ।

‘दाङमा आइसियुको अत्यन्त आवश्यक छ, झन अहिलेको कोरोना जोखिमको समयमा झन आवश्यकता छ’, डिन लामिछानेले भन्नु भयोे– ‘तर प्रतिष्ठानमा आइसियु सेवाका लागि जनशक्ति छैन ।’ आइसियु सेवा सञ्चालनका लागि नर्स तथा एनेस्थेसियाका दक्ष प्राविधिकसहितको जनशक्ति आवश्यक रहे पनि प्रतिष्ठानमा यो जनशक्ति नरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानसँग अहिले उपलब्ध जनशक्ति पनि कोरोना परीक्षणमा बढी परिचालित हुनु परेकाले प्रतिष्ठानले आफूसँग उपलब्ध जनशक्तिलाई परिचालन गर्न समेत समस्या रहेको छ । संघीय सरकार तथा प्रदेश सरकारले यसको व्यवस्थापनका लागि सहयोग गरे आइसियु सञ्चालन गर्न सकिने समेत वताउनु भयो । आइसियू सेवाको उद्घाटन गरेपछि प्रतिष्ठानको अस्पतालमा आउने गम्भीर प्रकृतिका बिरामीहरुको उपचारका लागि धेरै सहज हुने अपेक्षा गरिएको थियो तर जनशक्ति नहुँदा आइसियु सेवाको उद्घाटन मात्रै भयो सेवा सञ्चालन भएन । प्रतिष्ठानमा आउने गम्भीर प्रकृतिका विरामीलाई सेवा दिने उद्देश्यले अमिरिकन नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा १० बेडको आइसियु स्थापना गरिएको थियो ।

औषधि पनि छैन

यसैबीच कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा जिल्लाको एकमात्र कोभिड विशेष अस्पतालमा सोमवार पनि ९ जना बिरामी रहेका छन् । १९ जना बिरामीलाई सोमवारै डिस्चार्ज गरियो । तर त्यहाँ उपचार भनेको अधिकतम् अक्सिजन मात्रै हो । त्यसबाहेक साँझ–बिहान दालभात तरकारी । यदि संक्रमितको अवस्था गम्भीर भएर आइसियु वा भेन्टिलेटरमा राख्नुपर्यो भने कुनै उपाय छैन । प्रादेशिक अस्पताल बेलझुण्डीले त्यस्ता बिरामीलाई यही उपचार गर्ने हैसियत राख्दैन ।

किनकि यहाँ नत आइसियु र भेन्टिलेटरको सुविधा छ, संक्रमित विरामी गम्भीर बन्दै जाँदा भेन्टिलेटरसम्म पु¥याउनु नपर्ने अवस्थाका लागि चलाउने औषधि पनि उपलव्ध छैन । कन्सल्टेन्ट फिजिसियन डा. मिनचन्द्र अधिकारीका अनुसार कोभिड–१९ का संक्रमितहरुलाई कडा लक्षण देखिएमा सपोटिङ उपचार मात्रै भएको वताउनु हुन्छ । त्यसकालागी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका औषधिहरु प्रयोग गर्न आवश्यक छ । त्यसका लागि पहिलो चरणमा गरिने उपचार अक्सिजनको उपलब्धता हो । त्यसपछि पनि संक्रमणलाई कम गर्न अन्य औषधिहरु पनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ ।

नेपाल सरकारले पनि सरकारी अस्पतालमा ती औषधि निःशुल्क पाइने बताउँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी औषधिलाई सरकारी अस्पतालमा निःशुल्क उपलव्ध हुने बताएको छ । तर ती औषधि कहाँ–कहाँका कोरोना विशेष अस्पतालमा छन् ? यो जानकारी न त अस्पतालका मुख्य व्यक्तिलाई थाहा छ, न त औषधिको उपलव्धताका विषयमा नै । कोरोना भाइरस यसअघि पनि थियो, त्यो सार्स, मर्सजस्ता रुपमा थियो । तर त्यो बेला प्रयोग भएका औषधिहरुको पनि सहज उपलब्धता छैन । त्यसैका आधारमा फेरि पनि केही प्राक्टिस भएको हो । यस क्रममा भारतीय मेडिकल काउन्सिलले यसअघि मलेरियाको प्रकोपका बेला संक्रमितलाई क्लोरोक्वीनको सफल प्रयोग भएको थियो ।

त्यसै आधारमा कोभिड–१९ का संक्रमितहरुलाई पनि हाइड्रोक्सिल क्लोरोक्वीन औषधि धेरै प्रयोग भयो । तर यो भन्दा पनि प्रभावकारी भनेर विश्व स्वास्थ्य संगठनकै सिफारिसमा नेपाल सरकारले पनि केही औषधिहरु प्रयोगमा ल्याएको छ । तर ती औषधिहरु दूरदराजमा निःशुल्क उपलव्ध छैनन्, राजधानी केन्द्रित छन्, ती औषधिहरु ।

नेपालमा भेन्टिलेटरको अवस्था न्यून रहेको अवस्थासँगै भेन्टिलेटरमा पठाउनुअघि संक्रमित विरामीहरुलाई रेमडिसिभिर औषधि काठमाडौलगायतका शहरहरु तथा निजी क्लिनिकहरुमा चलाइरहेको चिकित्सकहरुले बताएका छन् । भारतीय औषधि दलालमार्फत मात्र निजी संस्थाले ल्याएको यो औषधिको मूल्य अत्यधिक महंगो छ । एक डोजकै कम्तीमा ६ हजारभन्दा बढी छ । नेपाल सरकारका अस्पतालमा पनि यही औषधि प्रयोग भइरहेको छ, तर निःशुल्क । अर्को औषधि भनेको डेक्सामिथासुन हो, त्यो सहज त हो । केही प्रभावकारी पनि छ, विश्व स्वास्थ्य संगठनले पनि त्यसलाई मान्यता दिएको छ । तर यो औषधि पनि सरकारी अस्पतालमा पर्याप्तता हुन सकेको छैन । किनकि संक्रमित बिरामीमा अक्सिजनको लेभल मापन गर्ने संयन्त्र नै छैन ।

अर्को विकल्प भनेको प्लाज्माथेरापी हो । एकजना स्वस्थ बिरामीबाट लिएको रगतमा भएको प्लाज्मालाई त्यसमा भएको एन्टिबडीको मात्राका आधारमा संक्रमित ३ जना बिरामीलाई समेत दिन सकिन्छ, तर यो पनि यहाँ उपलव्ध छैन । यो अवस्थामा यहाँका संक्रमितलाई कोरोना विशेष अस्पतालले के उपचार गरिरहेको छ त ? आम नागरिकहरुको यही जिज्ञासा छ ।

यहाँ त्यस्तो औषधि छैन : बेलझुण्डी अस्पताल

यसैबीच बेलझुण्डी कोरोना विशेष अस्पतालमा नेपाल सरकारले सिफारिस गरेका औषधि पनि निःशुल्क उपलव्ध छैनन् । भेन्टिलेटरको सुविधा नभएको अवस्थामा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको सबैभन्दा बढी प्रभावकारी रेमडिसिभिर औषधिसमेत कोरोना विशेष अस्पतालमा छैन । ‘हामीकहाँ हुने भनेको अक्सिजन र ठेक्सोमेथासुन, हाइड्रोक्सिल क्लोरोक्वीन मात्रै हो, त्यसबाहेक सपोटिङ एन्टिवायोटिक्ससमेत प्रयोग भइरहेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले भन्नु भयोे । ‘हामीकहाँ उपलव्ध औषधि यीनै मात्र हुन्, गम्भीर लक्षण देखिए अन्यत्र रिफर गरिने छ’, सदस्य सचिव शर्माले भन्नु भयो ।

विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति नहुँदा प्रादेशिक अस्पतालबाट लागिएका आइसियुका मोनिटर र भेन्टिलेटरसमेत विगत ५ महिनादेखि प्रयोगविहीन छन् । कोरोना विशेष अस्पताल भनिए पनि त्यहाँ कुनै पनि गम्भीर संक्रमितलाई उपचार सम्भव छैन । आम नागरिकहरुले यो अस्पताललाई आइसोलेसन वार्डका रुपमा मात्रै लिएका छन् ।

हिमालय टाइम्स