Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

बीपीका विचार वर्तमान सन्दर्भमा

आज नेपाली कांग्रेसका संस्थापक नेता आदरणीय विश्वेश्वरप्रसाद कोइरालाको १०३औं जन्म जयन्तीको दिन हो । यस अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नु हाम्रो कर्तव्य हुन आउँछ । नेपालको सन्दर्भ सबैभन्दा पहिलो स्वतत्रता, प्रजातन्त्र, राष्ट्र र राष्ट्रियता, समानता, सामाजिक न्याय र मौलिक हकको आवाज उठाउने व्यक्तिका रूपमा बीपी कोइरालाको नाम आउँछ । उहाँ आफ्नो सक्रिय जीवनको चार दशकसम्म अनवरत यसैमा समर्पित रहनुभयो । राष्ट्रियता, प्रजातन्त्र, र समाजवादको परिभाषा र यसलाई नेपाली राजनीतिमा स्थापित गर्नुपर्छ भन्ने पहिलो व्यक्ति उहाँ नै हो ।

बीपीका विचार वर्तमान सन्दर्भमा

कोइराला २००७ सालको प्रथम जनक्रान्तिबाट नेपाली राजनीतिमा सक्रिय देखिनु भएको हो । २०१५ सालको प्रथम आम निर्वाचनबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनु भएका बीपी भारत र चीनबीचमा रहेको सानो देश नेपालका ठूला नेता हुनुभयो ।

२०२५ सालपछि सशस्त्र आन्दोलनको घोषणा गर्दै २०३०÷०३१ मा सञ्चालित आन्दोलनमा उहाँको निर्देशन प्राप्त भएको थियो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो हलचल ल्याएको थियो । नेपालको भूअवस्थिति र विद्यमान राजनीतिक अवस्थाको सूक्ष्म विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप नीति प्रतिपादन गर्नुभयो । त्यसपछिको नेपाली राजनीति बीपी कोइरालाकै सेरोफेरोमा रहेको थियो । बीपी कोइरालाले पटक–पटक काराबास र निर्वासन भोग्नुपरेको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन जहानिया राणा शासनविरुद्ध संघर्ष गर्नु भएको थियो ।

बीपीले बहुदलीय प्रजातान्त्रिक अभियानको यात्रामा एउटा अत्यन्तै मार्मिक कथन प्रस्तुत गर्नु भएको थियो, ‘राष्ट्रका बारेमा कुनै निर्णय गर्नुपर्दा देशको एक मुठी माटो लिएर सोध्नु त्यसले जे उत्तर दिन्छ त्यही गर्नु ।’ बीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्या गर्दै आमनागरिकसामु आफ्नो प्रभावशाली व्यक्तित्व विस्तार गर्नु भएको थियो ।

बीपी कोइरालाका केही राजनीतिक प्रसंगहरू प्रत्यक्ष रूपमा तराई मधेससँग जोडिएका छन् । नेपाली कांग्रेसको पाँचौं महाधिवेशन २००९ को जेठमा जनकपुरमा सम्पन्न भएको थियो । देशमा प्रजातन्त्र स्थापित भएपछि नेपाली कांग्रेसको यही पाँचौं महाधिवेशन देशभित्र भएको पहिलो महाधिवेशन थियो । त्यसैले यो महाधिवेशनसँग नेपाली कांग्रेसको एक महŒवपूर्ण अध्याय जोडिको थियो । नेपाली कांग्रेसलाई आफ्नो नीति, कार्यक्रम र उद्देश्यलाई सँगै लिएर जान नदिने, यसको राष्ट्रवादी र प्रजातान्त्रिक, समाजवादी धारलाई कम्जोर पार्न बीपी कोइरालालाई आफ्नो सिद्धान्त र आदर्शमा सुदृढ पारेर राख्ने शक्तिबीचको संघर्षमा यो महाधिवेशन भएको थियो ।

महाधिवेशन उद्घाटन भइसकेर बन्दसत्रमा प्रवेश गरिसकेपछि पनि त्यही शक्तिको प्रतिनिधित्व गर्दै एउटा समूहले महाधिवेशन रोक्ने प्रयत्न ग¥यो । तर, त्यो समूह असफल भयो र भद्रकाली मिश्रसमेत केही व्यक्तिहरू नेपाली कांग्रेसबाट अलग भए । अर्को एउटा समूहका केही व्यक्तिहरू पनि त्यसरी नै केदारमान व्यथितसँगै पार्टीबाट अलग भए । त्यसबेला महेन्द्रनारायण निधि नेपाली कांग्रेस महोत्तरी (धनुषा, महोत्तरी र सर्लाही)को सभापति हुनुहुन्थ्यो । निधिजी अध्यक्ष र सरोज कोइराला सेक्रेटरी रहेको ५१ सदस्यीय पाँचौं महाधिवेशन तयारी समिति गठन भएको थियो ।

यो महाधिवेशनको स्थान जनकपुर नतोकिएको र निधिजी जस्ता पार्टीको सिद्धान्तप्रति समर्पित व्यक्ति महाधिवेशन तयारी समितिको अध्यक्ष नरहेको भए उक्त महाधिवेशन रोकिन सक्थ्यो किनभने बीपी कोइराला सभापति नहून् भन्ने चाहना तात्कालीन प्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालाको पनि थियो । साथै दरबारलगायत अन्य शक्तिकेन्द्रहरू पनि त्यही चाहन्थे । विभिन्न व्यावधानलाई परास्त गर्दै पाँचौं महाधिवेशन सम्पन्न भयो । बीपी कोइराला अत्यधिक बहुमतले सभापतिमा निर्वाचित हुनुभयो । बीपीले २००९ को असार ६ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय समिति गठन भएको थियो । संसदीय समितिको सेक्रेटरीमा निधिजीलाई राखिएको थियो ।

यस्तै अर्को ऐतिहासिक घटनाक्रम थियो २०३४ सालको पटना सम्मेलन । २०३४ सालको जेठमा गिरिजाप्रसाद कोइरालाले पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो । तराईको नेपाली कांग्रेसको राजनीतिक घटनाक्रम निधिजीको सेरोफेरोमा घुमी नै रहेको अवस्था थियो । त्यही क्रममा निधिजी पार्टीको एक वरिष्ठ व्यक्तिको रूपमा त्यो सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो । बीपी र गणेशमानजीको निष्काशनलाई कडा विरोध गर्दै, त्यो सम्मेलनले प्रस्ताव पारित गर्न लागेको थियो । निधिजीले भन्नुभयो यस बारेमा एकपटक सुवर्णजीसँग सोध्नुपर्छ त्यसपछि मात्र निर्णय गर्न उचित होला । निधिजी कलकत्ता जानुभयो र सुवर्णजीलाई भेटेर बैठकको बारेमा जानकारी गराउनुभयो ।

सुवर्णजी अस्वस्थ हुनुहुन्थ्यो र पार्टीबाट बीपी एवं गणेशमानजी जस्ता व्यक्तिहरूको निष्काशित गरेको सुन्दा स्तब्ध हुनुभयो । सुवर्णजी त्यतिबेला निधिजीसँग बीपी र गणेशमानजीलाई निष्काशित गरियो भने के नेपाली कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न सक्छ भन्नुभयो ? बीपी कोइराला त्यसबेला अमेरिकामा उपचार गराइरहनु भएको थियो । सुवर्णजीले बीपीलाई अमेरिकाबाट फर्केर आपूmलाई भेटेरमात्र नेपाल फर्कन आग्रह गर्दै खबर पठाउनुभयो । साथै गिरिजाबाबुलाई आफ्नो सम्पर्कमा रहन आग्रह गर्नुभयो । बीपी कोइराला अमेरिकाबाट फर्केर दिल्ली हुँदै कलकत्ता सुवर्णजीलाई भेट्न पुग्नुभयो । त्यसबेलासम्म सुवर्णजीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइसकेको रहेछ । उहाँले बीपीलाई पार्टीको जिम्मेवारी सुम्पनुभयो ।

बीपीले २०३४ को कात्तिकमा पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाएर किसुनजीलाई कार्यवाहक सभापति तथा परशुनारायण चौधरी र गिरिजाबाबुलाई महामन्त्री बनाउनुभयो । यसरी निधिजीले सुवर्णजीलाई भेटेर पार्टीमा हुन लागेको गलत कार्य रोक्नु भएको थियो । त्यसैले बीपी कोइराला उहाँलाई सधैं सम्मान गर्नुहुन्थ्यो । २०३६ साल नेवि संघको जनकपुर अधिवेशन पनि ऐतिहासिक रूपमा सम्पन्न भएको थियो । आन्तरिक प्रजातान्त्रिक संरचनाहरू मजबुत बनाउँदै जानुपर्ने बीपी कोइरालाको धारणा थियो । बीपी कोइरालाको तराई मधेसप्रतिको भावना र तराईलाई सम्मान गर्नुपर्छ भन्ने विचारका आधारमा विमलेन्द्र निधिलाई अध्यक्ष घोषणा गर्नु भएको थियो ।

उहाँ २०१५ सालको आम निर्वाचनपश्चात पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको मन्त्रीमण्डल पूर्णसमावेशीताको सिद्धान्तअनुसार निर्माण बनेको थियो । सुदूरपश्चिमबाट द्वारिकादेवी ठकुरानीलाई मन्त्रीमण्डलमा सहभागी गराई नेपालको पहिलो महिला मन्त्रीको रूपमा समावेश गर्नुभएको थियो । त्यसैगरी तराईबाट तुलसी गिरीलाई मन्त्री बनाउनुभएको थियो । त्यस्तै मधेसी समुदायका रामनारायण मिश्र पनि उहाँको मन्त्रिमण्डलमा सहभागी हुनुहुन्थ्यो । नेपाली कांग्रेसका अर्का धरोहर मधेसी समुदायबाट प्रतिनिधि गर्नुहुने महेन्द्रनारायण निधिलाई प्रतिनिधि सभाको उपसभामुखमा मनोनित गर्नुभएको थियो ।

राजा वीरेन्द्रका पालामा एउटा महŒवपूर्ण ‘संविधान सुझाव आयोग’ गठन भएको थियो जसमा बीपीसँग पनि सुझाव मागिएको थियो । ‘संविधान सुझाव आयोग’ गठन गर्ने सुझावको दुईवटा बुँदा समावेश गर्नुभएको थियो (१) जनसंख्याको आधारमा मधेसको प्रतिनिधित्व राज्य प्रशासनमा हुनुपर्छ र (२) तराई मधेसको समान अधिकारको सुनिस्चितता हुनुपर्छ । यसबाट बीपीको मधेसप्रतिको चिन्ता स्पष्ट रूपमा देखिन्छ । बीपी कोइरालाको समाजवाद शब्दको अर्थ नै समावेशीता हो । बीपी विश्व परिवेश र माटोको स्पन्दन बुझ्ने राजनेता हुनुहुन्थ्यो । बीपी बुझ्नु भनेको प्रजातन्त्र, लोकतन्त्र र स्वतन्त्रता बुझ्नु हो, समानता र समावेशीता बुझ्नु हो, विश्वबन्धुत्व बुझ्नु हो ।

बीपी कोइराला राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन चाहनुहुनथ्यो । बीपी कोइरालाले आफ्नो कार्य समितिमा वर्ग, धर्म, भूगोल तथा समावेशीताको आधारमा निर्माण गरी सञ्चालन गर्नु भएको थियो । तर २०४६ सालपछिको नेतृत्वले यसविपरीत पार्टी सञ्चालन गरेको कारण मधेसमा पनि अर्को राजनीतिक धारको उत्पति भएलगत्तै पार्टीमा अनेकौं गुटउपगुटहरूको सिर्जना भयो अनि पार्टीको सैद्धान्तिक विचार नै धरापमा पर्दै गयो ।

बीपीको जन्मजयन्ती मनाउँदै गर्दा उहाँको सैद्धान्तिक विचार र समावेशीताको सिद्धान्तलाई नेपाली कांग्रेस समर्थकलगायत नेता कार्यकर्ता सबैले अवलम्बन गर्नुपर्छ । विधि विधानअनुसार पार्टी हाक्ने नेतृत्वको चयन गर्ने प्रतिज्ञा गर्नु नै आदरणीय बीपी कोइरालाप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुनेछ । असल मान्छे बनौं र असल समाजको निर्माणमा आफ्नो भूमिका निर्वाह गरौं ।

हिमालय टाइम्स