मयारामले शहादत प्राप्त गरेको दिन ‘माघ २२ गते’
मानव जीवन शक्ति र स्वार्थको आडमा अगाडि बढिरहेको हुन्छ । ता कि निस्वार्थ भावनामा जीवनलाई सामान्य ढंगबाट बुझ्ने व्यक्ति संसारमा कमै जन्मने गर्दछन् । त्यस्ता व्यक्तिको जन्म देश र जनताका लागि सदा समर्पणमा बित्ने गर्दछ । त्यस्ता त्यागी बलिदान दिन तयार रहने व्यक्तिलाई शासकको सामु नझुक्नु नै महानता हुने गर्दछ ।

त्यस्ता व्यक्तित्वहरु मध्ये दैलेखी भूमीमा जन्म लिएका दैलेखकै पहिलो शहिद नेपाल आमाका सपुत शहिद मयाराम रेग्मी हुनुहुन्छ । पश्चिम नेपाल दैलेख जिल्लाको तत्कालिन कट्टिदराको मेहेलतोली गाउँ पञ्चायत (हाल भगवतीमाई गाउँपालिका वडा नं. ३) मा बुबा लालमणी रेग्मी र आमा झुपा रेग्मीको कोखबाट जेष्ठ सुपुत्रको रुपमा विसं. १९८५ साल फागुन ३ गते जन्मनुभएको थियो । दुई दाजुभाइ र तीन दिदीबहिनीहरुमा जेठा मयाराम रेग्मी र कान्छा लिलाराम रेग्मी हुनुहुन्छ । उहाँकी दिदीबहिनीहरुमा जैसरा जैसी, तुलसा जैसी र मोतिसरा अधिकारी हुनुहुन्छ ।

मयाराम रेग्मीको जन्म तत्कालिन मुखिया परिवारमा भएकाले बाल्यकाल सुखमय नै वितेको थियो भने घरमै शिक्षक बोलाएर गुरुकूल शिक्षा मार्फत शैक्षिक योग्यता हासिल गर्नुभएको थियो । उहाँको वैवाहिक सम्बन्ध २०१० सालमा दैलेख जिल्ला चौराठा गाविस निवासी रुपा अधिकारीसँग भएको थियो । राजनैतिक जटिलताले पारिवारिक सम्बन्ध राम्रो भएन । रेग्मी बाल्य अवस्था देखि नै पारिवारिक रुपमा चञ्चल र साहसिक स्वभावको हुनुहुन्थ्यो ।
विसं. २००४ ÷२००५ सालदेखि नै तत्कालिन राणा शासनको विरुद्धमा गाउँमा जिम्वाल प्रथासँग संघर्ष गर्दै आएका रेग्मीलाई जिम्वाल मुखियाहरु दुःख दिने गर्दथे । जिम्वाल मुखियासँगको अन्तरद्वन्द्व छिचोल्दै रेग्मी२००८ सालदेखि नै नेपाल कम्यूनिष्ट पार्टीमा आवद्ध भई संगठनको काममा लाग्नु भएको थियो । नेपाल कम्यूनिष्ट पार्टीको जनवर्गिय संगठन अखिल नेपाल किसान संघ कर्णाली प्रान्तिय समितिमा रहेर कम्यूनिष्ट राजनीतिमा समर्पित हुनु भएको थियो । दैलेखबाट कर्णाली क्षेत्रका विभिन्न जिल्लामा गई संगठन गर्ने गर्नुहुन्थ्यो । भूमिगत रुपमा राजनैतिक काम गर्दै आउनु भएको थियो । राजनैतिक यात्राका विभिन्न घटनाक्रमहरु स्मरण योग्य छन् ।
उहाँ पहिलो पटक कम्यूनिष्ट पार्टीमा जोडिने अवसरको रुपमा विसं. २००८ सालमा तत्कालिन अवस्थामा नेपाल भनेर चिनिने हालको काठमाडौंबाट कम्यूनिष्ट पार्टीका नेतारु प्रेम नरसिंह राणा दैलेख चौराठा भवानीप्रसाद शर्माको घरमा पार्टीको कामको सिलसिलामा आउँदा त्यसै समयमा दैलेखमा जग्गाको तिरो उठाउने काम चलिरहेको थियो । तिरो उठाउने क्रममा रु १ को दरले उठाउनु पर्नेमा कर्मचारीले रु ५ का दरले १८०० उठाएका थिए । त्यसको विरुद्धमा प्रेम नरसिंह राणा, भवानी प्रसाद शर्मा र मयाराम रेग्मी मिली संयुक्र रुपमा प्रतिकार गरेकोले तत्कालिन बडाहाकिमले आदेश जारी गरि गिरफ्तार गर्न लगाई चार दिनसम्म गौडा घरमा थुनि यातना दिएको थियो । सोही घटनाले कम्यूनिष्ट नेताको जेलको संगतले मयाराम रेग्मी कम्यूनिष्ट बन्नु भएको थियो ।
मयाराम रेग्मीलाई छुटाउनका लागि कट्टिदराबाट १६०० मान्छेको जुलुस आइ गौडा घर घेरी विरोध गर्दा चार दिनपछि जेल मुक्त हुनु भएको थियो । जेल मुक्त भएपछि कम्यूनिष्ट पार्टीको क्रियाशील सदस्य रहेर रेग्मीको राजनीतिक यात्रा सुरुभएको थियो । विसं. २०१० सालमा मन्घर जंगे दमाईको घरमा भैसीले २ वटा पाडा पायो भनेर कट्टिका जिम्वाल मुखियाले सजाय स्वरुप १००० जरिवानासहित भैसी जफत गर्ने सजाय सुनाएका थिए । त्यस घटनाको प्रतिवाद गर्दै मयाराम रेग्मीले विसं. २०१० को मुलुकी ऐनमा व्यवस्था के छ भनि प्रश्न गर्दा जिम्वाल मुखियाले प्रतिवाद गर्न नसकि सजाय मिनाह भएको थियो ।
विसं. २०११ सालमा पगनाथ पञ्चायतको सिडाल वन मुद्दा मिलाई दिने भनि वनका कर्मचारीहरु पुगि ७०० घुस लिएका थिए । त्यसको विरोधमा रेग्मीको नेतृत्वमा ३०० मान्छेको जुलुस आइ घुस लिएको रकम फिर्ता भएको थियो । २०१३ सालमा घर कर उठाउन मालपोतका कर्मचारी पगनाथ पञ्चायतको रुम भन्ने ठाउँमा कर उठाउँदै गरेको समयमा रेग्मीले आधिकारिक प्रमाण देखाउन भनेपछि प्रमाणरहित कर्मचारीले प्रमाण देखाउन नसकेपछि कर उठाउन बन्द गरेर उठाएको कर समेत फिर्ता गर्न लगाई कर्मचारी लखेटिएका थिए । २०१५ सालमा भैसी पाल्ने गोठालाबाट गाउँका मुखियाले वनमा भैसी पाले वापत मुखियालाई बुझाउनु पर्ने करको अन्त्य भएको थियो । त्यो घटनाले रेग्मीका भाइहरु सँग सम्बन्ध विग्रेको थियो । उहाँको ठूलो बुबा कविराम रेग्मी मुखिया हुनुहुन्थ्यो । विसं. २०१५ सालको आम निर्वाचनमा दैलेखको निर्वाचन क्षेत्र नं. ७७ मा कम्यूनिष्ट पार्टीका उम्मेदवार निर्मल लामा थिए ।
निर्मल लामाको प्रचार प्रसारका सामग्रीहरु बोकी रेग्मी कम्यूनिष्ट पार्टीप्रति लगनशील र इमान्दारी कार्यकर्ताको रुपमा चिनिनु भएको थियो । त्यसपछिका कम्यूनिष्ट आन्दोलनहरुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विषयमा अनुभव बटुल्नु भएको थियो । त्यसैसमयमा २०१५ सालमै चीनमा भएको कम्यूनिष्ट व्यवस्था बारे बुझ्न दैलेखदेखि हुम्ला हुँदै चीनसम्म जाने अवसर प्राप्त गर्नुभएको थियो भने चिनियाँ व्यवस्था बारे बुझ्ने अवसरका उहाँका लागि लाभदायक भएको थियो ।
चीन जाँदा भवानी प्रसाद शर्मा, मयाराम रेग्मी लगायतका अन्य साथीहरु गएका थिए । चीनबाट फर्केपछि चीनको कम्यूनिष्ट व्यवस्था बारे गाउँ–गाउँमा संगठनीक कामको सिलसिलामा नेपालका विभिन्न जिल्लाहरुमा जाने गनुृहुन्थ्यो । विशेष गरि कर्णाली प्रान्तको पार्टीले दिएको जिम्मेवारीलाई महत्वपूर्णताका साथ निर्वाह गर्ने रेग्मी कर्णाली क्षेत्रका विभिन्न जिल्लामा संगठन बनाउनुहुन्थ्यो । तत्कालिन किसान संघ केन्द्र हुँदै कर्णाली प्रान्तिय समितिले चलाएको अभियान साहुको सम्पत्ति गरिबलाई वितरण गरेर गरिब किसानलाई कम्यूनिष्ट पार्टी प्रति प्रभावित बनाउनु पर्छ भन्ने पार्टीको नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा वि.सं. २०१६ सालमा हुम्ला पुग्नु भएको थियो ।
हुम्लामा संगठनीयक अभियान र घरदैलो गरेको खबर जासुसलाई थाह भएपछि रेग्मी लगायत चार जना कार्यकर्ताहरुलाई हुम्लाबाट पक्राउ गरि हुम्लामा जेल नभएका कारण जुम्ला जेलमा राखियो । २०१६ सालमा जेल परेका रेग्मी १८ महिनापछि २०१७ साल कार्तिकमा जेलमुक्त हुनु भएको थियो । जुम्ला जेलमा हुँदा घरपरिवारबाट रेग्मीको बुबा लालमणी, आमा झुपा र दाई चन्द्रलाल रेग्मी चार दिनको हिडाईपछि जुम्ला पुगि भेट गर्नुभएको थियो । जुम्लामा १८ महिनाको जेल सजायले पनि मयारामलाई कमजोर बनाएन ।
त्यो उहाँका लागि क्रान्तिकारी पाठशाला नै बन्यो । क्रान्तिकारी राजनीतिमा जुम्ला जेल भुक्त भई घर आएका मयाराम दैलेखमा संगठनीक गतिविधि खोजी सम्पर्कमा जोडिन लगातार लागिरहनु भयो । सोही समयमा २०१७ साल पुस १ गते राजा महेन्द्रको पञ्चायती कदम पछि दलमाथि ्रतिबन्ध लगाइयो । विसं. २०१७ साल पुस १ गते राजाको कु विरुद्ध देशमा आन्दोलन भयो ।
यही समयमा सुर्खेत जिल्लाको गोठीकाँडामा रहेको प्रहरी पोष्टमा नेपाली काँग्रेसको नेतृत्वमा हमला गरियो । हमलाको क्रममा ड्यूटीमा रहेका प्रहरी जवान चन्द्रबहादुर शाहीको हत्या गरियो । कुनैपनि राजनतिक पार्टीका मान्छेहरु बसेका छन् भन्ने सुनेमा प्रहरीले छापा मार्न थाल्यो । पार्टीका नेता तथा कार्यकर्ताहरुको हत्या र गिरफ्तारी सुरु भयो । जसले नेता कार्यकर्ताहरुको सम्बन्ध छुट्न थाल्यो । त्यस्तो अवस्थामा पनि रेग्मीले भूमिगत रुपमा राजनीतिक कामलाई अगाडि बढाइरहनु भयो ।
विसं. २०१७ साल पुस १ गतेदेखि संगठनको सम्पर्क सुधार्न एक वर्ष नै लागेको थियो । त्यतिबेला मयाराम रेग्मी कलकत्ता पुगि कलकत्ताबाट संगठन विस्तारका लागि सुर्खेतको बडाखोला काफलपाटा भन्ने ठाउँमा पुग्दा २०१८ पुस ४ गते आफन्तहरु कामको सिलसिलामा नेपालगञ्ज जाने क्रममा रेग्मीका राइला बुबा कवलाखर रेग्मी, भाइ मुक्तीप्रसाद रेग्मी, जयप्रसाद रेग्मी, लिलाराम रेग्मी, कृपाराम रेग्मी लगायत सँग रेग्मीको भेट भयो । सोही समयमा एक वर्ष अगाडिदेखि भेट नभएका कम्यूनिष्ट नेता भवानी प्रसाद शर्मा जंगलको बाटोबाट त्यही आइ पुग्दा भेट भएको थियो ।
भवानी प्रसादसँगको भेट पछि भवानीप्रसादले भने सबैतिर खाजि हुँदैछ, यस्तो अवस्थामा नआउनु पथ्र्यो भन्दै उनी जंगलको बाटो लागे । त्यो नै रेग्मीका लागि संगठनीक रुपमा छुटेको पीडादायी भेट थियो । पुस २४ गते विहान उहाँकी फुपु (भवानीप्रसाद शर्मा) को घर सिआइडी प्रहरीले घेरा हाली समातेर दैलेख तिर लगे भनेर खबर घरमा पुग्यो । भवानीप्रसाद शर्मा भागेर भारत पुगेर बाँचेका थिए ।
त्यो समयमा गिरफ्तारीमा पर्नेहरुमा मेहेलतोलीबाट चन्द्रलाल रेग्मी, विन्दूलाल रेग्मी, रुप बहादुर खड्का, मानसिं कामी, तुर्सुबाट पदम बहादुर खत्री, मोतिलाल अधिकारी, इन्द्रलाल अधिकारी, दिपबहादुर बुढा, बीरबहादुर खत्री, नरे कामी, खड्कबहादुर सिंह ठकुरी, बिर्खसिंह ठकुरी, नैनानन्द खत्री, भीमबहादुर सिंह ठकुरी, जयबहादुर खत्री, कमारे खत्री, कट्टिबाट बखतबहादुर खड्का, लक्ष थापा, शेरबहादुर, भवानीप्रसाद जैसी, माने कामी, सालखर्क लालसिंह कामी, नयाँगाउँबाट कृष्णबहादुर बुढा, सालखर्कबाट रत्नबहादुर बिक भने तालुकदारी बर्खास्तमा परेका थिए ।
तुर्सुबाट मुखिया पदमबहादुर खत्री, वीरबहादुर खत्री, भीमबहादुर खत्री, चौराठाबाट दीपबहादुर चन्द, मयाराम रेग्मीलाई गिरफ्तार गरि बाटोमा चरम मानसिक तथा शारिरीक यातना दिँदै दैलेख नयाँगाउँ पु¥याउँदा पुलिसले हामीलाई ८ तोला सुन दिने भए छाडिदिन्छौ नत्र तिमीहरुको ज्यान जान्छ भनेका थिए । मैले मानिन भनेर जेलमा भेटन जाँदा मयारामले आफन्तलाई सुनाउनु भएको थियो । पक्राउ परेका व्यक्तिहरुलाई हामी त्यो पार्टीमा लाग्दैनौ पञ्चायतकै पक्षमा हुन्छौ भन्ने कागज गराइ जेलबाट मुक्त गराउने गरेको थियो । कठोर मन र दृढ विचारका धनी मयाराम रेग्मी त्यो शब्दमा चुकेनन् निरंकुश पञ्चायत सामु १ इन्च पनि झुकेनन् ।
राज्यलाई नै आफ्नो बलिदानी दिन तयार रहेको बताए । उहाँलाई यातना दिँदा दिँदा पुलिस नै थाकेको कुरा मयारामका ज्वाइ रामपप्रसाद घट्टराइ र बहिनी तुलसा भट्टराईलाई उनीसँग भेट गर्न गौडा दरबार आउँदा रेग्मीले सुनाउनु भएको थियो । गौडाघरको जेलमा पटक पटक प्रशासनले भन्ने गर्दथ्यो, तेरो मृत्युको दिन आइसक्यो घरमा केही खबर पठाउनु छ भने हामी पठाइदिन्छौं भन ।
मयारामले एउटै मात्र जवाफ दिनुहुन्थ्यो, मेरो खबर नेपाली जनताले पठाउँछन् तपाई जस्तो प्रशासकले पठाउनु पर्दैन । रेग्मीको कठोर जवाफबाट प्रशासक तर्सिने गर्दथे । यसरी तर्सेको प्रशासनले यातना बढाउँदै गयो । यातनाको अन्तिम चरण्मा विसं. २०१८ साल माघ २१ गते राती दैलेखको तत्कालिन बडाहाकिमको छलफलपछि रेग्मीको हत्या गर्ने योजना बनाएर अर्धचेत अवस्थामा अन्तिम कुरा सोध्ने बडाहाकिमको प्रश्न थियो ।
तँ हाम्रो हातबाट मर्छस् तेरो खबरमा पठाउने खबर के छ ? यो अवस्थामा पनि रेग्मीको एउटै जवाफ थियो मेरो खबर सम्पूर्ण न्यायप्रेमी नेपाली सर्वहारा, गरिब र उत्पीडित वर्गले गर्नेछन् । तपाई जस्तो निरंकुश प्रशासकले गर्नु पर्दैन । यही शब्दको अन्तिम बोलीसँगै बोराको मुख बाँधिएको अवस्थामा राखिएका मयारामलाई तत्कालिन गौडा दरबार हाहलको जिल्ला प्रशासन कार्यालयको दोस्रो तलाको पश्शिचमको नं. २ झ्यालबाट भुँईमा फालेर २३ वर्षको कलिलो उमेरमा विसं. २०१८ साल माघ २२ गते श्रमजीवि वर्गका निडर व्यक्तिको अन्त्य भएको थियो ।
नेपाली भूमिमा कहालिएका रेग्मीको रगतले मुछिएको नेपाली नै दुखित र भावविह्लव भएको थियो । शासकहरु रेग्मीको मृत्यु कालगतिले भएको भन्दै बबनाउनलाई विभिन्न अडान छोड्न लगाउँदै सहीछाप गर्न लगाई गौडा दरबार ल्याई मेरो भाइ कालगतिले मरेको हो भन्ने मुचुल्कामा सहीछाप गर्न लगाई शव बुझ्न लगाएका थिए । चन्द्रलाल रेग्मी, बहिनी तुलसा र ज्वाई रामप्रसाद भट्टराईसहित उहाँको पार्थिव शरिरलाई श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । यसरी एउटा न्यायप्रेमी, देशप्रेमी महान योद्धाको अल्पायूमै जीवनको अन्त्य गराउने निरंकुश शासन प्रति आक्रोशित जनताले उनको मृत्यु भएकै दिन भनेका थिए, एक दिन निरंकुश शासनको पनि अन्त्य हुनेछ ।
उहाँको बलिदानी पश्चात नेपाली धर्तीमा निरंकुश पञ्चायतको विरुद्धमा २०३६ सालको जनमत संग्रहमा जान शासकलाई नेपाली जनताले बाध्य पारेका थिए । जनमत संग्रहमा पञ्चेहरुको साम, दाम, दण्डभेद प्रयोगका कारण बहुदल र निर्दल भन्नेमा निर्दलको पक्षमा परिणाम लगे ।
त्यो विजय दीर्घकालिन नभई क्षणिक सावित भयो । पञ्चायत विरुद्धको आन्दोलनको सुरुवात गर्न प्रतिबन्धित अवस्थामा रहेका राजनीतिक दलहरुले आन्दोलनलाई निरन्तरता दिन थालेको कारण नेपाली काँग्रेसले मेलमिलापको नीति प्रयोग गरेर २०४२ मा सत्याग्रहको बाटो लिई आन्दोलनको सुरुवात गरेको थियो ।
जसले पञ्चायत शासनलाई कमजोर बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । विसं. २०४६ साल चैत्र २४ गते पुनः दलहरुले पञ्चायत विरुद्ध आन्दोलनलाई निरन्तरता दिने अठोट गरि नेपाली काँग्रेसका नेता गणेशमान सिंहको नेतृत्वमा नेपाली काँग्रेस र संयुक्त वाममोर्चा मिली संयुक्त जनआन्दोलन समिति र केही वाम घटक मिली संयुक्त आन्दोलन संघर्ष समिति बनाई आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाई पञ्चायतलाई घँुडा टेक्न बाध्य पारी आन्दोलन सफल गरेका थिए ।
फलस्वरुप नेपालमा नेपालको संविधान २०४७ निर्माण भएको थियो । संविधानमा समेत असहमति राख्दै राजतन्त्र अन्त्यका लागि २०५२ साल फागुन १ गतेदेखि सशस्त्र विद्रोहको सुरुवात भई नेकपा माओवादीको नेतृत्वमा सशस्त्र विद्रोह भएको थियो । देशमा चलेको सशस्त्र विद्रोह र २०६२/०६३ मा चलेको १९ दिने जनआन्दोलनका कारण २०६३ वैशाख १ गते राजाले शाही घोषणा मार्फत विघठित प्रतिनिधिसभाको पुनस्र्थापना गरि जनतालाई अधिकार दिन बाध्य भएका थिए । जुन आन्दोलन पश्चात २०६४ मा नेपालको इतिहासमा पहिलो पटक संविधान सभाको निर्वाचन भयो ।
संविधान सभाले आफ्नो कार्यकाल भित्र संविधान निर्मण गर्न नसकेपछि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारले २०६९ साल जेष्ठ १४ गते संविधान सभाको विघटन भएको जानकारी गराएसँगै संविधान सभाको अवसान हुन पुग्यो । दोस्रो संविधान सभा निर्वाचन २०७० मा सम्पन्न भयो । जसले २०७२ असोज ३ गते संविधान सभा मार्फत तयार गरिएको नेपालको संविधान २०७२ जारी गरेको थियो ।
यी सम्पूर्ण उपलब्धीहरु शहिदहरुकै बलिदानीबाट प्राप्त भएका हुन् । यसलाई संस्थागत रुपमा विकास गर्नका लागि नेपाली जनतले निरन्तर सजग र सचेत रहन जरुरी छ । यसरी दुःख र कष्टपूर्ण ढंगबाट जीवन अर्पण गरेका शहिद मयाराम रेग्मीको नाम सुनेका र बुझेका व्यक्तिहरुका लागि शहिद मयाराम रेग्मी छन् तर अनपढ, अशिक्षित र बुझ पचाउनेहरुका लागि मयाराम रेग्मी भनेर सम्झने सम्म नगर्नेहरुको राजनीतिक रुपमा चर्चा र परिचर्चाको विषय बन्नुको पछाडि नेताहरुको मानसिक दरिद्रता अनि शहिदहरुलाई राजनीतिक रुपमा घृणित र अपमानित गरेको छ । शहिद मयाराम लगायत सम्पूर्ण शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धीहरुमा खेलिरहेका राजनीतिक दलले रजाई गर्ने कार्य चलिरहेको छ । तिनीहरुलाई शहिदको रगत र पसिनाले धिकार्ने छ ।
त्यसैले शहिदहरुलाई राजनीतिक व्यक्तित्वको आधारमा चर्चामा ल्याउनु भन्दा उनीहरुले गरेको योगदान र राजनीतिक तथा सामाजिक गतिविधिले समाजमा स्थापित र निर्मित अस्तित्वको आधारमा ल्याउनु पर्ने अनिवार्यता छ । शहिद भनेका सम्पूर्ण सर्वहारा श्रमजिवी जनताका इतिहासका निर्माता हुन् ।
परिवर्तित नयाँ शासन व्यवस्थाका मार्गदर्शक हुन् । त्यसैले शहिदलाई योगदान र इतिहासको निर्माताको रुपमा लिइनु पर्दछ । शहिद मयाराम रेग्मीको अस्तित्व बचाई राख्न दैलेख जिल्लामा विसं. २०६३ सालमा शहिद मयाराम रेग्मी स्मृति प्रतिष्ठानको रुपमा दर्ता भई हाल दैलेख जिल्लाको राजनैतिक विकास गर्दै लैजाने प्रतिष्ठानको मुख्य उद्देश्य रहेको छ । लेखकः शहिद मयाराम रेग्मीका छोरा (भतिजा) हुन् ।)






