कविता – नागरिकता अध्यादेश, हाम्रो सम्भाव्य परिवेश !!
बलात्कारी छिमेकिले,वंशज नाता गाँसिसक्यो !
रोटि वेटी देखाएर , किर्ते हाँसो हाँसिसक्यो !!
आमा रुँदै रुँदै भन्छिन,बचाउ ! मेरा लाला बाला !
घरको मालिक बन्नलाई, लगाउँदैछ ठूलै ताला !!
पुरानो त्यो गिद्धेदृष्टी, बदल्दैन कहिले पनि !
मौका हेरी हात बढाउँछ, अंध्यारोमा जहिले पनि !!
तिम्रालागि म छु भन्छ,मनमा पाप राखि राखी !
झोक्राउँछन् हाम्रा ठालु, उस्कै नुन चाखि चाखी !!
पैले पैले ङ्यार–ङुर गर्थ्यो,सोझा हाम्लाई तर्साउन !
घरमुलि लाई लखटेट, आउँछ पापा वर्षाउन !!
आजभोली भन्ने गर्छ, तिम्रो वारि जोति दिन्छु !
तिम्री आमा थलापरीन्, तिम्रो आँगन पोती दिन्छु !!
हाम्रा बाउले बनाएका,जाँतो ,ढिकी, चर्खा थिए !
उदाश हाम्रा घरकै भाइले, उसै लाई बुझाई दिए !!
टारी खेतको गड्कुलो त , फर्काएर लग्छु भन्छ !
राम्रै मुखले देउ नत्र ,थर्काई थर्काई सक्छु भन्छ !!
बंशज नाता जोडि जोडी,घरको मालिक बन्न खोज्यो!
प्रबाजेले जोडेको खेत, आफ्नो भनी खन्न खोज्यो !!
कोहि बोल्दैनन् हाम्रा ठालु,यस्तो नगर ! हैन भनी !
यो पुर्खाले आर्जेको मा, तेरो दावी छैन भनी !!
आफ्ना घरका धूर्त जती, हाम्रो घरमा हुलिसक्यो !
बेघर पार्न हामी लाई, खेत बारी डुलि सक्यो !!
बाजे बस्ने चकटिमा ,चचुमाणी कस्छु भन्छ !
बंशज नाता लगाएर, घर भित्रै बस्छु भन्छ !!
के गरौं?हामी कता जाउँ ?,पराईले पेलिसक्यो !
हाम्रै मान्छे लगाएर , हामी लाईनै ठेलीसक्यो !!
अब पनि एकजुट भई, भिड्ने हिम्मत नगर्ने त ?!
प्रबाजेको खुंडा झिकी, दुष्ट संग नलड्ने त ?!!
आज सह्यो भोली सह्यो , यत्तिकैमा दिन जाला !
यो पुर्खाको नासो हाम्रो , छिमेकिले सबै खाला !!
हातमा हात काँधमा काँध, मिलाएर बढौं अब !
हाम्रो हिम्मत देखेपछि ,कुलेलम ठोक्छ तब !!!






