Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान सुरु

मङ्सिर १०

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।

केही मतदानस्थलमा मतदान सुरु भएको छ भने केही मतदानस्थलमा प्राविधिक कारणले ढिलाई भएको छ । नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, गोरखा, जाजरकोट लगायतका जिल्लामा मतदान सुरु भइसकेको छ ।

निर्वाचन आयोगले ढुक्कका साथ मतदानमा भाग लिन सर्वसाधारण र मतदातासँग अनुरोध गरेको छ ।

‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलाको रूपमा स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भइसकेको छ ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा आज ३२ जिल्लामा हुँदैछ । प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ निर्वाचन क्षेत्रमा अहिले बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।

“मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ,” प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले भने, “मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको छ ।”

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।

पहिलो चरणमा जम्मा ७०२ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।