बाहुनहरुको विनाश निश्चित छ
‘विनाशकाले विपरित बुद्धि’ त्यसै भनिएको होइन । कमिलाको प्वाँख पलायो भने मर्छ अनि बाँस फूल्यो भने सकिन्छ । भाइ फुटे भने सकिन्छन् । यी प्रमाणित भएका तथ्यहरु हुन् । कुनै समयमा आर्यहरु आफ्नो धर्मको रक्षार्थ नेपाल पसेका थिए । यो सबैलाई जगजाहेर भएकै कुरा हो । कोही कसैले हामी आदिवासी हौ भनेर फूर्ति नलगाएपनि हुन्छ । आर्यहरुका पूर्खाहरु भारतबाट नै नेपाल आएका हुन् । त्यसबेला आजको जस्तो सिंगो नेपाल थिएन । अधिकांश आर्यहरु भारतको घाँघरा (नेपालको कर्णाली) नदीको तिरैतिर नेपाल पसेकाले उनीहरुको आश्रयस्थल तत्कालिन शिजा राज्य हुनु स्वभाविकै हो । फरक यत्ति हो कोही छिटो आए कोही ढिला आए ।

नेपालको सामान्य इतिहासलाई हेर्ने हो भने पनि गोपाल वंशहरुको विनाश भाइ फुटेकै कारण भएको थियो । अनि महिषपालदेखि राणाहरुको अन्त्य पनि भाइमा आएको विवादका कारण भएको थियो । मल्ल राजाहरुको पतनको कारण पनि राजनीति थियो भने त्यसको फाइदा पृथ्वीनारायण शाहले आजको नेपाल एकिकरणमा भएको थियो ।
पृथ्वी नारायण शाहले आर्जेको भूगोललाई बचाउन नसक्नेहरुले अहिले देशको शासन सत्ताको बागडोर सम्हालिरहेका छन् । पूर्खाको उपलब्धीलाई बचाउन नसक्नेहरुले वर्तमान बचाउछन् भनेर विश्वास गर्नै सकिँदैन ।
देशको राजनीतिक परिवर्तनको संवाहकको रुपमा बाहुनहरुले जुन भूमिका खेले त्यो आफैमा एउटा उदाहरणीय पाटो छ । तर पनि त्यसलाई जुन उद्देश्यका साथ अनुशरण गर्नुपर्ने थियो त्यो गर्न सकेनन् । जुन बाहुनहरुको विनाशको कारण बन्ने भयो । २००७ सालमा प्रजातन्त्रको स्थापना गर्नका लागि राजा र काँग्रेस मिलेर राणाहरुको विरुद्धमा गरेको आन्दोलनले राणा शासनको अन्त्य त भयो तर आएको प्रजातन्त्र टिक्न सकेन । त्यसको प्रमुख कारण भनेको पद नै थियो । पदका लागि कोही दरबार नजिक भए भने कोही दरबारको विरुद्धमा जसले गर्दा दरबारले चलखेल गर्ने मौका पायो अनि प्रजातन्त्रको हत्या गरिदियो । त्यसपछि ३० वर्षसम्म पञ्चायत व्यहोरेका नेपाली जनता आजको जस्तो वाक स्वतन्त्रता नभएपनि आफ्नो कर्म र धर्ममा विश्वस्त थिए जसले गर्दा आज फेरी भन्न थालिएको छ ‘देश त पुरानै ठिक थियो ।’
२०४६ सालको जनआन्दोलनबाट प्राप्त भएको प्रजातन्त्रको पुनस्र्थापनालाई नेताहरुले सही सदुपयोग गर्न सकेनन् । जसको कारण २०५२ सालमा माओवादीले युद्धको सुरुवात ग¥यो नयाँ नेपाल निर्माणका लागि । त्यो युद्धबाट के के उपलब्धीहरु भए भन्ने कुराको विश्लेषण गर्न पनि जरुरी छ । केवल १७ हजार मान्छे मरेको र हजारौ वेपत्ता भएको बाहेक अन्य उपलब्धीहरु पनि खोज्नु आवश्यक छ । देशमा संघीयताको विउ त्यही आन्दोलनको जगमा बसेर रोपिएको हो । जसले गर्दा आज घर घरमा सिंहदरबार बनेका छन् । गाउँ–गाउँमा स्वतन्त्रता सम्बन्धि चलेको अभियानले राजनीतिक चेतनाको विकास गरायो जसले गर्दा आज वडास्तरमै दलित र महिलाहरुको सिट सुरक्षित भयो । राणाकालमा एउटा मुखियाले गाउँमा कचहरी सफल पारेवापत खसी खाने जुन प्रथा थियो त्यसको अन्त्य त भयो तर नेताको वरिपरि घुम्नेहरुले मात्र पदमा पुग्ने संस्कृतिको विकास पनि भयो । त्यत्ति मात्र होइन निरंकुशी शासकहरुको नाममा नेपाल एकिकरण गर्ने महान कार्यको थालनी गर्ने पृथ्वीनारायण शाहका शालिकहरु ढले । तर क–कसका शालिकहरु बने यो पंक्तिकारले कोट्याइरहनु पर्दैन होला ।
त्यही युद्धको जगबाट देशमा लोकतान्त्रिक गणतन्त्र आयो । जसले गर्दा आज कोही पनि रैति रहेनन् । विडम्बना सबै राजा बन्ने दाउमा लागे । जसले गर्दा गाउँ, समाज र देश नै रानी हराएको मौरी जस्तो बन्यो । एकले अर्काको मान सम्मान भन्दा पनि कसरी अपमान गर्न सकिन्छ र क्षणिक रुपमै भएपनि आफ्नो स्वार्थ सिद्ध गर्न सकिन्छ भन्ने दाउमा लागे । यो पनि सशस्त्र युद्धको परिणाम हो । उपलब्धी हो । त्यति मात्र होइन नेताका नेतादारहरु पदभन्दा बाहिर हुनु हुँदैन भन्ने सिकाइको अभ्यास भइरहेको पछिल्लो अवस्था पनि त्यही युद्धको उपलब्धी हो । त्यसलाई पनि बिर्सनु हुँदैन । यो सब काम बाहुनहरुकै नेतृत्वमा भएको हो ।
अहिले पनि देश बाहुनहरुकै नेतृत्वमा छ । चाहे एमालेको केपी शर्मा ओली हुन् चाहे एकिकृत समाजवादीको माधव नेपाल हुन् चाहे माओवादीको प्रचण्ड हुन् वा काँग्रेसको देउवा नै किन नहुन् । एमालेले खेल्नुपर्ने भूमिका नखेलेर पानी माथिको ओभानो बनेपनि नागरिकता विधेयक पास गर्नमा सबैको बराबर भूमिका छ । सबैभन्दा ठूलो दुःखको विषय भनेको देशमा नागरिक विधेयक पास भयो । यसले आजै असर गर्दैन । हिजो जसरी भारतमा हिन्दु र मुस्लिमका बीचमा धार्मिक अस्तित्वको लडाई भएको थियो भोली त्यस्तै लडाई नेपालमा जनसंख्याका आधारमा हुने निश्चित भयो । जसले गर्दा देश सहजै सिक्किमिकरण हुने भयो । भोली संसदमा बहुमत ल्याएर देशलाई भारतमा विलय गर्ने निर्णय नहोला भन्नै सकिदैन । त्यत्ति बेला अहिलेका नेताहरु त नर्कमा गइसकेका हुनेछन् । सन्नतीहरुले यिनीहरुलाई सराप्नु बाहेक केही हात लाग्ने छैन ।
जातीय भेदको अन्त्य गर्ने नाममा दलितलाई सधैभरीका लागि दलित बनाउनका लागि संविधानमै दलित शब्दको व्याख्या गरेर एक आपसमा समाज भाँड्ने जुन कार्य भइरहेको छ त्यसले भोली जातीय द्वन्द्व फैलाउने छ भने सत्ता जोगाउनका लागि होस् कि पदमा पुग्नका लागि होस् होलीवाइन पिएर डान्सहरुका कारण देशमा धार्मिक द्वन्द्व फैलिने छ । आज ९० प्रतिशत ओमकार परिवारको जनसंख्या हुँदाहुँदै धर्म निरपेक्षताका नाममा संविधानको खिल्ली उड्ने गरी जुन तरिकाले धर्म परिवर्तनका कार्यहरु भैरहेका छन् त्यसले बाहुनहरुको विनाश गर्ने निश्चितप्रायः जस्तै छ ।
यहाँ जातीय रुपमा बाहुनहरुको चिन्ता भन्दा पनि उनीहरुले सस्तो लोकप्रियताका लागि जनमत प्राप्त गर्नका लागि इमान र कर्तव्यलाई टाँङमुनी हालेर जुन कार्य गरिरहेका छन् त्यसले देशको भलो नहुने भयो भन्ने हो । कुर्सी जोगाउनका लागि नागरिक विधेयक पास गरिदिनु र पद पाउनका लागि श्रीमति नै बेचिदिनु एउटै जस्तै होइन र ? कहाँ गयो हाम्रो स्वाभिमान ? कहाँ हरायो हाम्रो बीरता ? कहाँ चुक्यौ हामी कर्तव्यपालनामा ? कम्यूनिष्टताका नाममा संस्कृत भाषा माथि गरिएको प्रहार गर्नेहरुले नयाँ निर्माणका खातिर राणाहरुले बनाएका, राजाहरु बसेका दरबारहरु किन भत्काएनन् ? परिवर्तनका नाममा राजाका शालिक भत्काउनेहरुले आफ्नै छोराको शालिक अनावरण गर्नेहरुले देश जोगाउँछन् भनेर विश्वास गर्ने ठाउँ नै रहेन । ती पनि बाहुन हुन् जसले गर्दा बाहुनहरुको विनाश निश्चित जस्तै भएको छ । जातीयताका आधारमा ब्राह्मणको हत्या गर्नेहरुले संस्कृतिको रक्षा गर्छन भनेर सोच्नु मुर्खता हो । संस्कृतिको रक्षा नगर्नेहरुबाट पहिचान जोगिन्छ भन्नु झन मुर्खता हुन्छ । ‘संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए हामी हराउँछौ’ त्यसै भनिएको होइन ।
बाहुनहरुकै कारणले देशको संस्कृति सकिने भयो । रितिरिवाज, चालचलन र धर्म सकिने भयो । जसको कारण पूर्खाहरुले आर्जन गरेको स्वतन्त्रता सकिने भयो । अनि हामी आधुनिक युगका मान्छे हौ वैज्ञानिक प्रयोगमा रमाउने हो भन्दै गर्दा हाम्रा रमाउने स्थानहरु विनाश हुने भए । जसले गर्दा भोली हाम्रा सन्नतीहरुले हामीलाई श्राप दिनु बाहेक अरु केही हात नलाग्ने भयो । यस्तो गम्भीर कुरामा सोच्ने कसले ? यसको रक्षार्थ कदम चाल्ने कसले ? वर्तमानमा अर्काले कमाइदिएको खाएर रमाउन सजिलो होला तर भविष्यमा आफै मासिनु पर्दा पिडा पोख्ने स्थानसम्म रहने छैन ।
एउटा सानो उदाहरणको रुपमा लिन सकिने कुरा के हो भने हामी आज अर्गानिकमा रमाउन थालेका छौ किन ? जिब्रोका लागि निकै स्वादिष्ट लाग्ने चीज छोडेर हिजो गरिबहरुले खाने कोदो किन मिठो लाग्न थालेको छ हामीलाई ? मार्सीको महत्व किन बढ्दैछ देश विदेशमा ? फापर किन मिठो लाग्न थालेको छ हामीलाई ? किनकी यो अर्गानिक हुन्छ अनि स्वास्थ्यका लागि फाइदाजनक छ । सामान्य उत्तर यही होला सबैको सायद । हिजोका दिनमा कालोजणन, गुणे, तागमारो, नल्या, गोपाल, विन्दाश्वरी, थापाचिनी जस्ता धानका बीउहरु आज कता गए ? ती धानका बिउहरु जोगाउन तिर कोही लागेनन् । अनुदान पाउने नाममा भारतबाट धानको बीउ आयात गरेर किसानहरुलाई बाँड्नेहरुले कहिले सोचे कि सोचेनन् कुनै समयमा नूनका लागि नाकाबन्दी गर्ने भारतले भोली धानका बीउका लागि नाकाबन्दी ग¥यो भने किसानहरुले धानको बीउ पाउने छैनन् भनेर । आज कुन चीज हाइब्रेड छैन र ? हामीले हाम्रो धर्म र संस्कृति अनि सान र पहिचानलाई पनि हाइब्रेड बनाइसक्यौ । त्यसको प्रमुख जड भनेको बाहुन जाती नै हुन् । ब्रामह्णत्व प्राप्त गर्न नसकेका तर बाहुनको कुलमा जन्मेका कुलङ्घारहरुले क्षणिक स्वार्थमा डुवेर नेपाल र नेपालीलाई सिध्याउने भए । अझै पनि समय छ सोचौ भविष्यमा पछुताएर र माफी मागेर केही हुनेवाला छैन ।






