Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

अर्को मेवा पाकेछ फेरि

प्रिय सेविका
आराम छौ तिमी ? म त आराम छु भन्नु मात्रै हो । तिमीसँगको विछोड पछि मलाई कहिल्यै आराम मिलेको छैन । तर पनि शारिरीक रुपमा भने ठीकै छु । धेरै भयो भेट नभएको त्यसैले पनि आज यो पत्र साहित्यको सहारामा तिमीसम्म पुग्ने जमर्को गरेको छु ।

खै कहाँबाट शुरु गरौ यी ओजहिन शब्दहरु । जसरी आज भन्दा करिब ७ वर्ष अघिसम्म प्रत्येक भेटमा म तिम्रो शारिरीक बनावटको बर्णन गर्ने गर्थे आज पनि त्यही वर्णनलाई निरन्तरता दिँदैछु । अँ सेविका, थाह छ नि तिमीलाई । तिमी पूर्ण रुपमा निको भइसकेकी छ्यौ । तिम्रा आँखाका नानी निकै काला छन् । तिनै काला आँखाका नानीसँग लोभिएको थिएँ म कुनै दिन । विहानको करिब ११ बजेको हुँदो हो । तिमी एकाएक म भएको स्थानमा पुगेको मलाई अहिले झँै लाग्छ । आकाशमा कतै बादलका धर्साहरु थिएनन् । कुनै छाँटकाँट नै थिएन पानी पर्ने । तर जब तिमी मेरो समिपमा पुग्यौ अचम्म भयो । एकाएक पानीका बाछिटाहरु मेरो शरिरमा पर्न थाले । ती पानीका बाछिटाहरुले मेरो मन र मुटु भिजाउने बेलासम्म तिमी निर्थुक्क भएर भिजिसकेकी थियौ । आफ्नै आँखाका ढिकाहरुले । म आश्चर्य चकित भएँ । बिना बादल त पानी पनि पर्दैन भन्ने सुनेको थिएँ । तर त्यो पनि सम्भव भयो आज । आखिर कलियुगमा प्रकृति पनि बौलाउन थाल्यो कि क्या हो । मैले प्रकृतिलाई दोष दिएँ । जब तिम्रा आँखाका काला नानीहरु एक पटक हेर्ने र आफूलाई नजानिदो ढंगले तिम्रो आँखाको नानीमै लुकाउने कोसिस गरे अनि मेरो निन्द्रा झँै पानी परेपछिको आकाश खुले झँैँ भएँ म ।

कारण प्रकृतिको आफ्नै नीति नियम छ । आफ्नै संविधान छ । हाम्रो देशको जस्तो मन लागेको बेलामा संशोधन हुने संविधान कहाँ हो र प्रकृतिको । हामीले मिचे जस्तै गरी मिच्न मिल्ने नीति नियम कहाँ बनाएको छ र प्रकृतिले । अनायासै त्यसरी एउटा कोठा भित्र मात्र बिना बादल पानी पार्नु । आखिर ती पानीका बाछिटाको रुपमा आएका तिम्रा आँखाका ढिकाहरु रहेछन् । तिनै आँसुका ढिकाहरुले तिमी र मलाई यो अवस्थासम्म पु¥याएका हुन् । सम्झिरहेको छु आज पनि ।

नुन खाएपछि गुन लगाउनु पर्छ भन्छन् । तर गुन लगाउनका लागि नुन नै खानु पर्छ भन्ने पनि त रहेनछ । तिमीले आँखाबाट बगाएको आँसुको भेललाई तिम्रा ती कोमल गालाहरुमा बग्न नदिनु मैले मेरो धर्म र कर्तव्य दुबै ठाने । म आफ्नो जिम्मेवारी पूरा गर्न सक्छु सक्दिन मलाई त्यतिबेला पनि थाह थिएन र अहिलेपनि छैन । किनकी मसँग भगवान रामचन्द्रको झैँ समुन्द्र नै सुकाइदिन सक्ने अग्निबाण थिएन छैन र हुनेपनि छैन । तिम्रो आँखाबाट आएका आँसुहरुलाई मैले रुमालको सहायतामा पुछेर मात्र रोक्न सकिन । तिम्रो लक्ष्य तिम्रो आँसु भुँइमा झर्न नपओस् भन्ने मात्र थियो । किनकी तिम्रो आँसु झरेको हेर्न सक्ने सामाथ्र्य थिएन मसँग । त्यसैले तिम्रो गालामा बगेका आँसुका निलाम्य नदीलाई मैल चप्प पिइदिएको थियो । ती नूनिला थिए । त्यही नुनको कारण मैले तिम्रो गुन तिर्न खोजेको होइन । तिमीले कहिल्यै त्यसो नठान्नु ।

Image result for मेवा

समय कति छिटै बदलिँदै जान्छ है । मैले आँसुको भेललाई पिएर तिमीलाई तिमीलाई तृप्त पारेको धेरै भएकै थिएन । नुनिला आँसु बगाउने तिम्रो आँखामा बेसार कसरी मिसिन पुग्यो ? कालो भागमा म बसिदिएकोले होला सायद पहेलो बेसारले आक्रमण गर्न नसकेको । अरु सेतो भाग त मैले तिम्रै लागि छाडिदिएको थिएँ । जसमा बेसारे रंग लत्पत्तै भएछ । त्यही कारणले रहेछ तिमीलाई टाउको दुखाई शुरु भएको ।

हुन त कुनै बैद्य पनि होइन र डाक्टर पनि । तर हजुरबा को संगतले केही कुरा जान्दछु । जानेको कुरालाई जान्दछु भन्न पछि नपर्ने भएकै कारणले तिमीले दिएका शुभकामनाहरु पूरा भएका छन् मेरो जीवनमा । तिम्रो आँखाको सेतो भाग जम्मै पहेलो देखेपछि एक्कासी निस्केको शब्द, कतै तिमीलाई कमलपित्त त भएन ? यो शब्दसँगै आश्चर्यमा परेकी थियौ तिमी । त्यसपछि मैले एउटा सानो कागजको टुक्रामा केही लेखिएको तान्त्रिक (बुटी) बाँधिएको थिएँ तिम्रो दाहिने पाखुरामा । अनि आध्यात्मिक मात्र होइन वैज्ञानिक तवरले पनि सोच्नु पर्छ भन्दै मेवा खान सल्लाह दिएको थिएँ । सेवा गरे मेवा पाइन्छ भन्ने उखान छ तर तिमीलाई मेवा पाएर सेवा गर्ने अवसर प्राप्त गर्ने भाग्यमानी सम्झन्छु म आफूलाई । हरेक ठाउँमा मेवा पाकेको देख्यो कि तिम्रो लागि बोकिहाल्ने बानी थियो मेरो । अनि कति मीठो मानेर खाने गर्दथ्यौ तिमी । हो त्यही मेवासँगै मिसिएको अलिकति माया अनि …… मेडिकलबाट किनेको थोरै ओखतीले तिम्रा आँखाको पहेलो विस्तारै हट्दै गएको थियो । अनि पो आँखाको कालो भागमा म अझै सुरक्षित भएर बस्न सकेको छु ।

समय आफ्नो गन्तव्यको यात्रामा चलिरहेको हुन्छ । तर मान्छेका यात्राहरु भने बारम्बार मोडिने गर्दछन् गन्तव्य खोेजेर । भनिन्छ मान्छेको अन्तिम गन्तव्य भनेको मृत्यु हो । तर बाँच्ने बेलासम्मका लागि अनेक दुःख कष्टको भोग अनि सुखको विलाश गर्ने हेतुले मान्छे समयको भन्दा छिटो दौडिन खोजिरहेको हुन्छ । त्यही दौडाईमा उसले आफ्नो जीवनको हरेक हार र जीतमा सम्झौता गरिरहेको हुन्छ । त्यही सम्झौतादेखि तिमी र म पनि टाढा हुन सकेका छैनौ । आज ७ वटा वर्र्षायाम अनि ७ वटै हिउँदहरु व्यतित भइसकेका छन् । तिमी र मैले आफ्नो गन्तव्य खोज्ने क्रममा दोबाटोबाट छुट्टिएको । तर हामीलाई मिलाउन सक्ने दोबाटोको संगम अहिलेसम्म भेटिएको छैन । न तिमी न म । बाटो छोडेर कुबाटोमा लाग्न पनि सकेका छैनौ । कारण समानान्तर रेखा जस्तै बाटोमा हिडिरहेको कारणले हाम्रो भेट हुन नसकेको होला ।

हामी बसेको पृथ्वी एउटै छ । हामीले श्वास फेर्ने हावा पनि एउटै छ । अनि एउटै सूर्यले उज्यालो र ताप दिइरहेको छ हामीलाई । एउटै चन्द्रमाले शितलता प्रदान गरेको छ । हामी मरेपनि एउटै विषले मर्ने हो अनि बाँचे पनि एउटै ओखतीले बाँच्ने हो । यति हुँदाहुँदै पनि हाम्रो संगमस्थल एउटै हुन नसक्ने कारणको बारेमा जान्ने जति कोसिस गरेपनि अहिलेसम्म म सफल हुन सकेको छैन । मलाई लाग्दैन कि म यस कार्यमा सफल हुन्छु तर पनि आफ्ना पाइलाहरुलाई अगाडि बढाउन भने कदापी खोज्दिन । हार मान्ने बानी छैन मेरो । असफलताले सफलताको पाठ पढाउँछ भन्ने जान्दा जान्दै म किन हार मानुँ ।

मलाई विश्वास छ । तिमी पनि मलाई खोज्ने क्रममा निकै भौतारिएको हुनुपर्छ । तर के गर्नु कुन जंघारमा फसेर हो तिमीलाई निस्कन धौ भएको होला । मलाई हरेक कुरामा आँट र हिम्मत दिने तिमीले पनि हारेकी छौ जस्तो मलाई लाग्दैन । मान्छेले आफ्नो सर्वप्रिय बस्तु प्राप्ति गर्नका लागि जे पनि गर्न सक्छ भन्छन् । प्राप्ति गर्न मात्रै ठूलो कुरा ठान्ने हो भने हिटलरलाई ठूलो ठान्ने कि सानो ? रावणको वंश विनाश गरेर सीतालाई फर्काउने अनि पछि जंगलमा लगेर छोडिदिने रामलाई ठूलो मान्ने कि सानो ? १४ वर्षसम्म तपस्विको रुपमा अयोध्याको राज्य गर्ने भरतलाई ठूलो मान्ने कि सानो ? एक थोपा पनि आँसु झार्न नपाउने शर्त राखेर दाजु भाउजुका साथमा जंगल जाने लक्ष्मणलाई ठूलो मान्ने कि सानो ? त्यसैले यी व्याख्यात्मक टिप्पणीहरु तर्फ म जान सक्दिन । तर मेरा लागि एउटा पाकेको मेवा निकै ठूलो भएको छ आज । कुनै दिन तिम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र मलाई सन्तुष्टि दिन सक्ने त्यो मेवा अरुहरुका लागि सानो होला, तिम्रा लागि सानो होला मेरा लागि ठूलो भएको छ ।

म कामना गरिरहेको छु । तिमीले बारम्बार मेवा खाएर आफ्नो स्वास्थ्य उपचार गर्नु नपरोस् तर मेरा खान पनि नछुटोस् । किनकी ती मेवाका हरेक दानासँग तिम्रो र मेरो सम्बन्ध जोडिएको छ । ती मेवा हरेक रेसाहरु जस्तै तिम्रा र मेरा नशा जोडिएका छन् । अनि जोडिदिएको छ त्यो मेवाले तिम्रो र मेरो मनलाई । भौतिक रुपमा प्राप्ति गर्नु मात्रै जीत होइन । त्यसैले मैले हार मानेको छैन । फेरि आज कतै मेवा पाकेको देख्यो भने तिम्रो याद आउँछ । आँखाले तिमीलाई हेर्न चाहन्छन् । मनले तिमीसँग कुरा गर्न चाहन्छ । अनि हातले तिमीलाई स्पर्श गर्न चाहन्छन् । त्यति बेला फतक्क गल्छ शरिर एकपटक फेरि तिम्रो अभावमा । अनि रक्तचापमा गिरावट आउँछ र बस्छु थचक्क । बस यहाँ भन्दा धेरै लेख्ने सामथ्र्य भएन मसँग यस पटक । बाँकी अर्को पटक अवश्य लेख्ने नै छु । अनि पत्र पाएको खबर गर्न नबिर्सिनु है ।
यही तिमीलाई अकुत माया गर्ने
तिम्रो मुटुको एक धड्कन ।