Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

पर्यटनको प्रचुर सम्भावना बोकेको कर्णाली

आर्थिक दृष्टिले पिछडिएको भएपनि प्राकृतिक दृष्टिले सम्पन्न छ, कर्णाली प्रदेश । त्यो सम्पन्नतालाई सूक्ष्म नजरले हेर्न सक्नु पर्छ । ५२ प्रतिशत गरिबी मात्र देख्ने आँखाले कर्णालीको जल, जमिन, जंगललाई नियाल्नु पर्छ । कर्णाली विभिन्न बहुमूल्य जडिबुटीहरूको खानी हो । जडिबुटी विज्ञहरू मार्फत त्यसको पहिचान गरेर संरक्षण, सम्बद्र्धनसँगै सही उपयोग गर्न सक्नु पर्छ । यसले कर्णालीलाई आर्थिक समृद्धिको बाटोमा हिड्न मद्दत गर्छ । यहाँका विभिन्न खोलानालाहरूलाई, नदी र ताल तलैयाहरूलाई सदपुयोग गर्न सकेको खण्डमा उर्जाको क्षेत्रमा सम्पन्न हुन सक्छ, कर्णाली । कर्णालीका युवाहरूलाई रोजगारीको लागि खाडी जानबाट रोक्नु पर्छ र उनीहरूलाई आफ्नै प्रदेशमा भएका बाँझा जमिनहरूलाई हराभरा बनाउने कार्यमा लगाउनु पर्छ । एकातिर उनीहरूका दैनिक आवश्यकताहरू परिपूर्ति गर्न सकेको खण्डमा उनीहरू विदेशीनबाट रोकिन्छन् भने अर्कोतिर प्राविधिक शिक्षामा जोड दिन आवश्यक छ ।


रोग, भोक, गरिबी, अशिक्षा, पछौटेपन, भौगोलिक विकटता, भौतिक संरचनाको अभाव, प्राविधिक ज्ञानको कमी जस्ता उपमा पाएको कर्णाली पर्यटकीय क्षेत्रका हिसावले भरिपूर्ण छ । चाहे त्यो धार्मिक रूपमा होस्, चाहे सांस्कृतिक रूपमा होस्, चाहे भौगोलिक रूपमा वा ऐतिहासिक रूपमा नै किन नहोस् । कर्णालीको राजधानी वीरेन्द्रनगरको मध्यभागमा लमतन्न सुतिरहेको काँक्राको बिजुला जस्तो काँक्रेविहार अनि त्यही काँक्रेविहारलाई आफ्ना परेलीहरू झिम्क्याउँदै जिस्क्याइरहेको बुलबुले ताल । यस भूमिको रक्षार्थ ठिङ्ग उभिएकी देउती बज्यै र गर्मी शिलता जाडोमा न्यानोपना पठाइदिने सिद्धपाइला र गुराँसे लेक । अलि परको बराहताल त्यो भन्दा पनि परको जाजुरादह । चमेरे गुफाले सल्यानको कुपिण्डे दहसँग लगाउन खोजेको मितेरी र रूकुमको स्यार्पुतालले गाँसेको इष्टेलो सिम्ताको कोटकोटको थुम्कोले हेरिरहेको छ । दैलेखको पादुका, धुलेश्वर, कोटिला, श्रीस्थान र नाभिस्थानले दुल्लुको दरवारको रक्षा गरिरहेका छन् भने क–कसले जिम्मेवारी पूरा गरे वा गरेनन् शीर्षस्थानमा बसेर महाबैले नियालीरहेको छ । कोतगढीको रक्षा गर्न भूर्तिमा भएका पञ्चदेवलहरू चौबिसै घण्टा खडा भएका छन् भने बेलासपुरले भक्तजनको मनोकांक्षा पूरा गरेका छन् ।

धर्तीकी अप्सराको रूपमा चिनिएकी मुगुकी रारा विश्वकै सुन्दरी हुन् । जीवनमा केही एक पटक स्वर्गको अनुभूति गर्न चाहन्छ भने रारा पुगे हुन्छ । जुम्लाको चन्दननाथको चरणस्पर्श गर्दै हिन्दुहरूको पृथ्वीलोकको स्वर्गको रूपमा रहेको मानसरोवरको यात्रा कर्णाली प्रदेशबाटै हुन्छ । डोल्पाको चित्रुरेसुन्दरी माइले भक्तजनलाई रिझाएको से–फोक्सुण्डोले नियाली रहेको छ ।

कालिकोटको पचाल झरनाबाट झरेको कलकल पानीले जलजला हिमालसँग गाँसेको प्रेम त्यो युगका राधा र कृष्णको भन्दा कम निकतस्ट छैन । तिला नदीको त्रिवेणीलाई विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालले पठाएको मुस्कान देखेर कर्णाली नदीले भेरी नदीसँग कुरा लगाइदिएपछि रोकिएको सुसाहट अहिलेसम्म फुक्न सकेको छैन ।

सांस्कृतिक रूपमा पनि कर्णाली त्यत्तिकै धनी छ । दैलेख जिल्लाको दुल्लूमा रहेको सबै भन्दा पूरानो नेपाली भाषाको शिलालेखले नेपालको ऐतिहासिक पर्यटनको पुष्टि गर्दछ । कर्णाली प्रदेशका गहनाको रूपमा रहेका हुड्के नाच, झ्याउरे नाच, वर्षे जात्राहरू, सिंगारू नाच, लोकगीत तथा देउडा गीत, लहरे पैसेरी, भोसी (भास्य), टप्पा, रत्यौली, ह्यूफा अमूल्य सांस्कृतिक सम्पत्तिको रूपमा रहेका छन् । नेपाली भाषाको उद्गमस्थल जुम्ला जिल्लाको सिंजा कम महत्वको स्थान छैन । यस क्षेत्रमा बजाइने दमाहा पञ्चेबाजाहरूले पनि यहाँको सांस्कृतिक विकासका लागि ठूलो योगदान पु¥याएका छन् । यिनीहरूको संरक्षण र सम्बद्र्धन गरेर यहाँको पर्यटनको विकासमा टेवा पु¥याउन सकिन्छ ।

पर्यटनको विकास गर्नका लागि सम्पदाहरू भएर मात्र पुग्दैन । त्यसको संरक्षण र सम्बद्र्धनसँगै प्रचार प्रसार गर्न पनि त्यत्तिकै जरूरी छ । जसका लागि संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारले महत्वका साथ हेर्न सक्नु पर्छ । पर्यटनको मात्र विकास गर्न सक्ने हो भने यस प्रदेशले समृद्धिको गन्तव्यमा पुग्नका लागि एउटा पाइला अवश्य उचाल्न सक्नेछ ।

यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा चौथो वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको छ ।