Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णालीको माटो र नेपाली गजल

पछिल्लो समय निकै चर्चामा रहेको नेपाली साहित्यको विधा गजल हो । अरबी, उर्दु, हिन्दी हुँदै नेपाली भाषामा आइपुगेको गजल विधाले पछिल्लो समयमा आफ्नो साम्राज्य जमाइरहेको छ । बनारसमा अध्ययनको सिलसिलामा गएको समयमा गजलबाट प्रभावित भएर मोतीराम भट्टले गजल लेखेका थिए । त्यसैले अहिले नेपाली गजलको पिताको रूपमा उनलाई सम्मान गरिन्छ । मोतीराम भट्टले जम्मा ३० वर्षको उमेर मात्र यो पृथ्वीमा बिताए । उनलाई त्यो भन्दा बढि भौतिक रूपमा यस लोकमा रहन लेखेको रहेनछ । तर पनि गजलमा मात्र होइन धेरै विधाहरूमा प्रथमको उपाधि संगाल्न सफल भए । नेपाली गजलको बारेमा बोलिरहँदा वा लेखिरहँदा मोतीरामको बारेमा नबोल्ने हो भने वा नलेख्ने हो भने त्यो बोली वा त्यो लेखकीय अधुरो हुन्छ ।

जसरी मोतीरामले भारतबाट नेपाली गजललाई भित्र्याए र उनी नेपाली गजलको पिताको रूपमा दर्ज भए त्यसरी नै कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकोले पनि यसको महत्वको वर्णन गर्ने शब्द छैन । नेपाली भाषाको पहिलो शीलालेख पनि कर्णालीकै दैलेखमा छ । नेपाली भाषाको उद्गमस्थल भएकोले होला नेपाली साहित्यको शुरूवात कर्णालीबाट भएको थियो भन्दा त्यत्ति धेरै फरक पर्दैन होला । भाषा र साहित्यको विकासक्रमलाई हेर्ने हो भने संस्कृत भाषाको शुरूवातसँगै साहित्यको विकास भएको पाइन्छ । विश्वको पुरानो धर्म हिन्दु भए झैँ विश्वको पुरानो भाषाको रूपमा पनि संस्कृतलाई मानिन्छ । संस्कृत भाषाको विकासक्रमसँगै साहित्यको विकास भएको भएपनि नेपाली भाषामा लेखिने साहित्य भने नेपाली भाषाको विकास भएपछि मात्र भएको सत्यता कसै सामु लुकाएर लुक्ने कुरा होइन ।

मोतीराम भट्टको देहवासन भएपछि नेपाली गजलको विकासक्रम रोकियो । केही समय सुषुप्त अवस्थामा रहेको नेपाली गजल ज्ञानुवाकर पौडेल, ललिजन रावल, बुँद राना, डा. घनश्याम परिश्रमी जस्ता गजलप्रेमीहरूका कारण पुनर्जागरित भयो । जतिबेला गजल सुषुप्त अवस्थामा थियो त्यतिबेला नेपाली कविताले साहित्यको बजार खुबै तातिएको थियो । यसको अर्थ गजल बजारमा आइसकेपछि कविता सेलायो भन्न खोजिएको पक्कै होइन । नेपाली साहित्यको मधुको रूपमा चिनिने कविताको महत्व अहिले पनि त्यत्तिकै छ ।

एकातिर नेपाली कवितामा छन्दोबद्ध कविता लेखनमा कमी आउनु र अर्कोतर्फ नेपाली गजलले पुनर्जागरण कालको अवस्थामा साहित्यको बजार तताउनुले पनि नेपाली गजल लोकप्रिय बनेको हो । पछिल्लो समयमा कविता लेख्ने कवि, आख्यान लेख्ने उपन्यासकार, विज्ञान पढाउने प्राध्यापक, औषधोपचार गर्ने चिकित्सकसम्मले गजल विधामा कलम चलाउनुले पनि यसको महत्व बढ्दै गएको हो ।

कर्णाली आफैमा साहित्यको उर्वर भूमी हो । कर्णालीको रारामा पुग्ने एउटा पर्यटकले कविता कविता वा गजल वा एउटा कथाको निर्माण गर्दछ । उसले त्यसलाई अक्षरांङ्क गरोस् वा नगरोस् । तर उसको मनमा साहित्यको उत्पति त हुन्छ नै । दैलेखको दुल्लुमा पुग्ने एउटा पर्यटकले नेपाली भाषाको शीलालेखलाई नियाल्छ नै । अनि उसको मनमा साहित्यको कुनै पनि विधाको एउटा शीर्षकको जन्म हुन्छ । सुर्खेतको काँक्रेविहार, बुलबुले वा बराहताल अथवा सिम्ताको कोटको थुम्कोमा पुग्ने हो भने सरसर्ती फुर्ने गर्दछन् गजलका शेरहरू । दैलेखका पाका गजलकार डा. मधुसुदन गिरी हुन् वा आख्यान लेखनमा अब्बलता राख्ने ओम रिजाल । यिनीहरूले नेपाली गजलमा चलाएको कलमले एउटा इतिहासको निर्माण कार्यमा सहयोग गरेको छ । लोक साहित्यमा आफ्नो कलमलाई निखारीसकेका नारायण तिमिल्सेना हुन् वा कवितामा ख्याती कमाएका श्यामल । नाटक तथा अभिनयको क्षेत्रमा कर्णालीको मियो बनेका गणेशभक्त गौतम हुन वा समालोचनाको क्षेत्रमा दिनरात कलम चलाउने डा. दीपक गौतम हुन् । नेपाली साहित्यको विकासका लागि यिनीहरूले गरेको योगदान अतुलनीय छ ।

जवानीमा मात्र गजलको रस पोखिन्छ र उमेरावस्थासँगै त्यो रस सुक्दै जान्छ भन्नेहरूका लागि ज्ञानुवाकर पौडेल हुन वा प्रकट पंगेनी शिव, ललिजन रावल हुन वा बुँद राना कहिल्यै नढल्ने खम्बाका रूपमा उभिएका छन् । त्यो भन्दा पछिल्लो पुस्तामा आइपुग्ने हो भने पुष्प अधिकारी अञ्जली, खगेन्द्र गिरी कोपिला, टीकाराम उदासी जस्ता धेरै हस्तीहरूले एउटा इतिहासको निर्माण गरिसकेका छन् । त्यही बाटोलाई अंगिकार गर्दै खगेन्द्र अधिकारी ‘अमृत’, युवराज संगम, महानन्द ढकाल, देवकी निरौला, कपिल अञ्जान, हुकुम धड्कन, ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, पुष्प आचार्य पीडित, अर्जुन भण्डारी कुण्ठित, धिरेन अनुपमको योगदानले पनि कर्णालीको गजललाई मलजल गर्न गरेको इतिहास अब कसैले चाहेर पनि मेटाउन सक्नेवाला छैन ।

वर्तमान कर्णालीको गजलको विकासक्रमलाई हेर्ने हो भने पछिल्लो पुस्ताले कर्णालीको माटोलाई गजलरसले सिंचित गरिदिएको छ । सायद त्यसैले ज्ञानुवाकर पौडेलले भनेका होलान् मध्यपश्चिमको एक मुठी माटो उठाएर सुघ्नु त्यसमा गजलको बासना आउँछ । वर्तमान समयमा संस्थागत रूपमा होस् वा व्यक्तिगत लेखन शैलीमा होस् कर्णालीले गजलको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । कर्णालीका गजल अहिले पूर्वको मेची र पश्चिमको महाकालीसम्ममा गुञ्जिरहेका छन् । खगेन्द्र अटल, कृष्ण बिरही, पहल असिम, भरत प्रमोद, झलक वली, सन्देश कठायत त उदाहरणीय पात्र मात्र हुन् । यिनीहरूसँगैका सहयात्रीहरूले कर्णालीको गजललाई देशका कुना कुनामा पु¥याएका छन् । मध्यपश्चिमाञ्चल गजल मञ्च र प्रतिष्ठानलगायत लेखक संघ, प्रलेश जस्ता संस्घ संस्थाहरूले कर्णालीमा गजलको उन्नयनका लागि लेखेको भूमिका इतिहासका पानामा सुरक्षित भइसकेको छ ।

यो लेख सूक्ष्मदृष्टि साप्ताहिकमा चौथो वार्षिकोत्सवको अवसरमा प्रकाशित भएको छ ।