Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

सूक्ष्मदृष्टिको दोषी

सूक्ष्मदृष्टि । शब्दमै अर्थ सरलै । कुनैपनि विषय तथा घटनालाई सूक्ष्म रुपमा अध्ययन । ति घटनाहरु जहाँ सूक्ष्मदृष्टि पश्चात दोषी तथा योजनाकार सरलै÷सहजै घोषित हुन्छन् । दृष्टिको चोर औला एक व्यक्ति तथा समूहमा आएर रोकिन्छ । अर्को अर्थमा त्यही चोर औला आएर रोकिने केन्द्रविन्दु नै सूक्ष्मदृष्टिको कठघरा हो ।


बिकासोन्मुख नेपालका विभिन्न घटनाहरुलाई केलाउदा सूक्ष्मदृष्टिको चोर औला कहाँ रोकिन्छ ? कहाँ हो त्यो केन्द्रविन्दु, जसले नेपालका विभिन्न परिवर्तनका विषयमा योजनाकारको भुमिका निर्वाह गरिरहेको छ ? देशमा घटेका घटनाहरुका योजनाकार घोषित भईरहेको छ । सकारात्मक होस् या नकारात्मक, ति घटनाहरुको मुख्य शुरुवाती विन्दु कहाँ ? को रहन्छ त्यो सुरुवाती विन्दुमा ? पक्कैपनि सूक्ष्मदृष्टि त्यही विन्दुको कठघरामा चोर औला तेर्साउन कुनै संकोच मान्दैन ।

काठमाण्डौ लगायत केही शहरहरुमा सवारी जामको समस्या निकै रहेको पाउँछौ । म हरेक पल्ट सडकमा आत्तिएका छु, निसास्सिएको छु । बाध्यात्मक परिस्थितिको खाल्डोमा मेरा ओठहरु सिधै सरकारलाई औला ठड्याउन पुगेका छन्, सवारी व्यवस्थालाई औला ठड्याउन पुगेका छन् । सडक विभागलाई औला ठड्याउन पुगेका छन् । तर सूक्ष्मदृष्टिको दोषी ति सबै पक्षहरु नभई व्यक्ति स्वयः आफै रहेछ । हो, सरकारलाई औला ठड्याउने म पनि सवारी जामको दोषी हुँ । हो, सवारी व्यवस्था तथा सडक विभागलाई सवारी जामको मध्यबाट सिधै सराप्ने म नै दोषी हुँ । मैले सडक पेटी मिचेरै बनाएका संरचनाले आज सवारी जाममा भूमिका खेलेका छन् । जहाँ पायो त्यही पार्किङ्ग गरिएका मेरा सवारीले नै आज सवारी जाम बनाईरहेका छन् । मैले चलाएको सवारीले बाटो जाम गरेको छ । लेन अनुशासन तथा सडक नियम मैले नै मिचेकाले आज सवारी जाम छ ।

कति सजिलै सूक्ष्मले त्यही विन्दूमा ल्याएरै चोर औला ठड्यायो । म भने मेरा दुई औलाले नाक थुनिरहेको पनि छु । फेरी केही पक्षलाई सराप्दैछु । फेरी दोषी करार दिँदै छु । फेरी म दिक्दारी भएको छु । जहाँ त्यही फ्याकिएको फोहोरको दुर्गन्ध मेरो नाकैमा आएर ठोकिन्छ । सिनोको भन्दा पनि माथी, सिनो भन्दा पनि कुहिएको दुर्गन्ध । तरपनि सूक्ष्मदृष्टि मलाई नै दोषी करार गर्दैछ । मैले फ्याकेको फोहोरको दुर्गन्धले मेरो नाक बुझिनुको पछाडी त्यही विन्दुमा सूक्ष्मदृष्टि मैलाई ल्याएर छाडेको छ ।

आखिर सबै पक्षमा सूक्ष्मदृष्टिको नजरले पक्कै म नै दोषी भएको छु । कहिले काँही त लाग्छ, मेरा सारा अधिकार सूक्ष्मदृष्टिको चोर औलाले खोसिदिएको छ । लाग्छ मेरा सारा सपनाहरु सूक्ष्मदृष्टिले आफै देखाएको हो । समस्या अगावैको व्यवस्थापनमा मेरै कमजोरीका कारण पनि म आज सूक्ष्मदृष्टिको दोषी भएको छु । हरेक नकारात्मक पक्षहरुको उद्गमस्थल म नै भएको छु । म नै ति सामाजिक समस्याहरुको जड भएको छु । कर्तव्य पालनाको कमजोरीलाई प्रमाण बनाएर सूक्ष्मदृष्टिले मलाई सबैको सामु पर्दाफास गरेको छ ।

मैले छली गरेको करले आज मेरा पुस्तालाई म ऋणको भारी बोकाउँदै आफुलाई धनी भनिरहेको छु । हुन पनि हो, मेरा सन्तान जन्मदै, अस्पतालको फारममा उनीहरुको तौल लिदैदेखि देशको ऋण बोकेर आएका छन् । पेट बाहिर पहिलो श्वासको सर्कोसँगै म लगायत मेरा पुस्ता ऋणी भएका छन् । तर पनि म आफुलाई धनी बनाउन खोज्दैछु । त्यो भन्दा पहिले देशको ऋणको कुरा थियो ।

मदिराको नशापछि भोलिपल्ट म नसोच्ने पनि हैन । तरपनि म हरेक दिन त्यही दोहोराईरहेको छु । हरेक दिन मदिरासँग बाच्न जानेको छु । बनाउछु, खान्छु र बेच्छु पनि । मदिरासँगको मेरो सम्वन्ध कति नजिक छ है ? जसले मलाई मेरो जीवन आफ्नो भएको भान गराउँछ । त्यो भन्दा पहिले मेरो सामाजिक शान्तिसँगको प्रगाढ सम्वन्धको कुरा रहन्थ्यो ।

सानैदेखि गाई चराएँ । गोरु चराएँ । बाख्रा चराएँ । खेतको आलीमा बसेरै कालो छाता मुन्तिर म गाईवस्तु चराएँ । एक्लै त हम्मेहम्मे हुन्थ्यो त्यो बेला । साथिभाइहरु चार कुनामा बस्नुपर्ने वाध्यता थियो, बाली जोगाउन । हामीले जोगायौ पनि । तर अहिले अब कसैले त्यसरी बाली जोगाउदै गाईवस्तु चराउनुपर्ने वाध्यता छैन । समय को सँग छ र ? मलेशियाको रिंगेटसँग भारतको चामल साट्नमै सुख महशुस गरिरहेको छु । त्यो भन्दा पहिले मेरो कर्तव्य ति बाँझो खेतमा ‘हाम्रो’ अन्न उब्जाउनु थियो ।

आफुलाई सधै मिहेनती सम्झन्छु र छु पनि । परिश्रमको पैसा, एक रुपैयाँ पनि छोड्दैन । मैले बचत गर्न जानेको छु, मैले खर्च गर्न जानेको छु । मेरा ईच्छाहरु मेरो कमाईद्वारा नै पु¥याउनु मेरो जिवन हो । र, मेरो लक्ष्य पनि यही नै । १० बजे पछि कार्यालय पुग्दा पनि मलाई वास्ता लाग्दैन । दिनभर कुर्चीमा आउने ‘हाई’ ले पनि मलाई मिहेनती बनाएकै छ । तीन बज्नासाथ मेरो मनको छटपटिले मलाई धेरै काम गरेको बनाउँछ । समाजले पनि त्यही जागिरको आधारमा सामाजिक सम्मान दिएकै छ । अझैपनि म केही मेरा सम्वन्धमा अरुलाई सराप्छु । मेरा अधिकारका लागि अरुलाई सराप्छु । बढ्दो महंगीका लागि अरुलाई सराप्छु । त्यो भन्दा पहिले मेरो कर्तव्य म भित्रको क्षमता राज्यलाई प्रयोग गर्न दिनु थियो ।

‘अपराधीलाई फाँसी’ भन्न मलाई एक पल पनि सोच्न पर्दैन । सडकमा मेरा हातहरु सलाई कोरिरहेका छन् । कोरिरहन्छन् पनि । परिवर्तनका नारा लेखिएका ठुलो ठुलो ब्यानरको पछाडी म फोटोमा देखिईरहेको छु ।

बलात्कारीका विरुद्ध फेसबुकका भित्ताहरु शब्दै शब्दले भरेको छु । आक्रोशहरु शब्दमा आएका छन् । दिक्दार भएको छु । भविष्य देख्दैन । आत्तिन्छु, निसासिन्छु । आक्रामक हुँदै उत्रन्छु पनि । तर त्यो भन्दा पहिले सडककी युवतीसँग सन्कन चाहने मेरा नयनहरुलाई म आफैले रोक्नु थियो ।

धेरै रटेको छु, पढेको छु । पढाईको अर्थ बुझेको छु, ‘कमाएर जिवन चलाउने ।’ कम्पनीका अफरहरुका भरमा म औषधीको नाम लेख्दिन्छु । आफ्नै नामको प्रभाव पार्न म बढी क्षमताका क्याप्सुल पठाउछु । परम्परालाई नै बिधि माने, बिधि भन्दा वाहिरको सबै गलत ठहराए । त्यसैले त कराउँछु, सम्मान नपाएको भन्छु । मेरो जिवन खोज्छु । प्रश्नको उत्तर हैन औषधीमुलो आफ्नो काम बताउँछु । तर त्यो भन्दा पहिले स्वास्थ्य प्रणालीको सुधार पनि मेरो कर्तव्य रहेछ । त्यसैले त सूक्ष्मदृष्टिले समाजका हरेक पक्षहरुमा मलाई दोषीको संज्ञा दिएको छ । अन्तिमको विन्दुमा उभ्याएरै आफ्नै अदालतको कठघरामा आफैले सजाय दिँदै, आफै भोग्न बाध्य बनाउछ सूक्ष्मदृष्टि । महल–गल्ली भौतारिरहेका मेरा दृष्टिहरु मै माथी प्रश्न गर्न थालिसकेका छन् ।