Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कर्णालीलाई पोल्ने होइन, सेक्ने आगो चाहिएको छ

भनिन्छ, जुन आगोले पोल्छ त्यही आगोले सेक्छ । पोल्ने र सेक्ने आगो एउटै हुन्छ । त्यसले धारण गर्ने रुपमा मात्र फरक हुन्छ । कर्णाली प्रदेश नामाकरणमा मात्र पहिलो प्रदेश हो । जन्मिदा पनि ४ जना सपुतहरुको रगतमा आहाल बसेर जन्मिएको अन्य प्रदेशहरु भन्दा कान्छो प्रदेश, कर्णाली प्रदेश ।

खगेन्द्र अधिकारी “अमृत”

कर्णालीको नाम सुन्दा पनि यो गरिबीले आक्रान्त भएको प्रदेशको रुपमा चिन्नेहरुको कमी छैन । तथ्याँकले पनि त्यस्तै रुप धारण गरिदिन्छ कर्णालीका लागि । रोगले पिल्सिएको प्रदेश कर्णाली प्रदेश । भौगोलिक विकटताबाट पनि हेपिएको छ यो प्रदेश । भौगोलिक विकटताले गर्दा सहज यातायातको पहुँच नभएकै कारण सुत्केरी महिलालाई समयमा अस्पताल लैजान सकिदैन र अन्नतः अन्त्य हुन्छ उनको जीवन । यस्तै यस्तो दुःख र पीडाहरुको खात बोकेर समृद्धिको पखाईमा बसेको कर्णालीलाई सेक्नु पर्ने आगोले बारम्बार पोल्ने गरेको छ ।

गत वर्षको पौष ७ गते राती कर्णालीको राजधानी सुर्खेतको सबै भन्दा व्यस्त चोक मंगलगढी नजिकै सेक्नु पर्ने आगोले पाल्यो । करिब ३ करोड बराबरको सम्पत्तिको विनाश भयो । कसरी भयो त्यो आगलागी अहिलेसम्म पनि स्पष्ट खोजी हुन सकेको छैन । प्रहरी विभिन्न घटनाका प्रतिवेदनहरु सार्वजनिक गर्ने गर्दछ । त्यो आगलागीको प्रतिवेदन पनि सार्वजनिक भयो । विद्युत सट भएर आगलागी भएको हास्यास्पद प्रतिवेदनले एक पटक सबैको अनुहारमा लज्जाबोध गरायो । कारण के थियो भने त्यही समयमा सुर्खेतमा विद्युत आपूर्ति बन्द भएको थियो । विद्युत आपूर्ति बन्द भएको समयमा समेत विद्युतलाई दोष दिएर उम्कन कति सहज भयो प्रशासनलाई ।

त्यसपछि वीरेन्द्रचोक नजिकै रहेको एउटा जुत्ता पसलमा आगलागी भयो । नगरपालिकाको दमकल समयमा उपस्थित हुन सकेका कारण भयानक क्षति हुन नपाए पनि एउटा पसल जलेर पूर्ण रुपमा नष्ट भयो । त्यसको केही समया पछि खजुरामा आगलागी भयो । यी प्रतिनिधि घटनाहरु मात्र हुन । त्यो पनि वीरेन्द्रनगर भित्रका । तर दैलेख, कालिकोट, जुम्ला, हुम्ला र जाजरकोट लगायतका जिल्लाहरुमा समेत निकै डर लाग्दा आगलागीका घटनाहरु घट्ने गरेका छन् । यो पुसको महिना । बाहिर चिसोले नराम्रोसँग कठ्यांग्रीएको बेलामा अलिकति न्यानो दिन नसक्ने कालिकोटको न्यौपाने गाउँको आगोले एकै क्षणमा बस्ती स्वाहा बनाइ दियो । जलाइ दियो सयौ घर । खुला आकाशबाट आएको शील छेल्ने ठाउँ रहेन उनीहरुका लागि । यो दृष्यले फेरि रोयो एक पटक कर्णालीको मन ।

कुनै समयको निकै शक्तिशाली राज्य सिंजा । त्यही सिंजाको छेउमा बग्ने बग्ने कर्णाली । त्यही कर्णालीको नामबाट अहिलेको प्रदेशको नाम कर्णाली । शक्तिशाली राज्य आज दुर्बल किन बनेको छ । भौतिक, सामाजिक र चेतनाको विकासक्रममा सबै जस्तै अगाडि किन बढ्न सकेन कर्णाली । आज फेरि दयाभावको रुप धारण गर्नु पर्ने बाधयतामा किन छ कर्णाली । राज्यका शासकहरु त परको कुरा प्रकृतिबाट पनि हेपिन्छ कर्णाली ।

प्राकृतिक सम्पदाले भरिपूर्ण कर्णालीको व्याख्या गरेर नथाक्नेहरु छन् यहाँ । यहाँको जल, जमिन र जंगलको बारेमा वर्णन गर्ने हो भने हजारौ पुस्तकहरु तयार हुन्छन् । हिमाली, पहाडि र भित्रि मधेशले रजाइँ गरेको कर्णाली सम्भावनाका दृष्टिले नेपालका अरु प्रदेशहरु भन्दा सम्पन्न पनि छ । तर उहिलेदेखि हेपिदै आएको आएको कर्णाली अहिले पनि चेपिन छोडेको छैन । बाढिपहिराले कर्णालीलाई नै हेप्नु पर्ने, झाडापाखालाले कर्णालीलाई नै लखेट्नु पर्ने अनि सेक्नु पर्ने आगोले पनि कर्णालीलाई नै जलाउनु पर्ने, किन ?

प्रकृतिले पनि कर्णाली माथि प्रहार गरिरहेको छ । अरबबाट छोराले पठाइदिएको पैसाले किनेको चामलको भात सुखले खान दिएको छैन कर्णालीवासीलाई यो प्रकृतिले पनि । सुर्खेतका विभिन्न स्थानहरुमा त्रिपालमुनी बसेकाहरुलाई हेर्दै गर्दा उनीहरुको व्यवस्थापन गर्न नसकेको अवस्थामै फेरि कर्णालीमा त्रिपालको जोहो गर्नु पर्ने अवस्थाको सिर्जना भयो । यो भन्दा दुःखद अरु के हुन सक्छ ।

आदिम कालदेखि बगिरहेको कर्णालीको पानी अब कर्णालीलाई नै बगाउनका लागि नबगोस् । कर्णाली झिलिमिली बनाउने विद्युत उत्पादनका लागि बग्न सकोस् । जुम्ला, हुम्ला र मुगु जस्ता जिल्लाहरुमा उमे्रका विष (जडिबुटी) का बोटहरु मान्छे मार्नका लागि होइन मान्छे बचाउनका लागि उम्रिनु पर्दछ । दैलेखको पञ्चकोशीमा आदिम कालदेखि बलिरहेको ज्वाला अब केवल पूजा गर्नका लागि मात्र बल्नु हुँदैन । कर्णालीवासीका चुला चुलासम्म पुगेर खाना पकाउने गरी बल्नु पर्छ । मान्छे डुवाएर मार्नका लागि, छेउछाउमा भएका जग्गाहरु बगाउनका लागि बग्नु हुँदैन भेरीले । सुख्खा जग्गाहरुलाई सिंचित गरी हराभरा बनाउँदै कर्णालीलाई भोकमरीबाट जोगाउन बग्नु पर्छ भेरीले ।

देशले संघीयताको कार्यान्वयन सुरु गरेको छ । कुन समयमा केन्द्रिकृत शासन प्रणालीको कारण कर्णाली पछि परेको हो भन्नेहरु अब आफै संघीय शासन प्रणाली संचालन गर्ने स्थानमा छन् । प्रादेशिक सरकारको बागडोर उनीहरुकै हातमा छ । राज्यको ढुकुटीको डाडु पन्यू उनीहरुले नै समातेका छन् । अधिकार सम्पन्न स्थानीय सरकारहरु छन् । हातमा डाडु पन्यू भएको बेलामा आफैले चाट्न थाल्ने अनि हिजोका शासकहरुलाई दोष दिँदै बस्ने हो भने बन्दैन कर्णाली । हेप्छ यहाँको आगोले । पीडा माथि पीडा थप्छ यहाँको पानीले । बगिदिन सक्छ सुख्खा पहिरो ।

पोलिदिन सक्छ सेक्नु पर्ने आगोले कालिकोटको न्यौपाने गाउँलाई पोले जस्तै । यस्तो अवस्थामा नबनेको कर्णाली बन्छ कहिले ? प्रकृतिलाई जित्न त कसैले सकेको छैन । तर प्रकृतिसँग पौडेजोरी खेल्न सक्ने विज्ञान र प्रविधिको अधिकतम् प्रयोग हुने हो भने बनाउन सकिन्छ कर्णालीलाई समृद्धि । बन्नु पर्छ बाटाहरु । हिड्नका लागि असुविधा नहोस् । खोल्नु पर्छ विद्यालयहरु पढ्नका लागि असुविधा नहोस् । ढडिनु पर्छ पर्छ जाजरकोटको थलह बजारमा जस्तै अस्पताल । औषधी उपचारबाट बञ्चिन हुन नपरोस् । मान्छेका दैनिक आवश्यक आवश्यकताहरु पूरा हुने वातावरणको सिर्जना भयो भने र युवा जनशक्तिलाई स्वरोजगारमा लगाई आफ्नै गाउँमा बस्ने अवस्था बनाइयो भने कर्णालीको समृद्धि त्यत्ति धेरै टाढा छैन । जसका लागि शिक्षा र चेतना, मन र कर्म दुबै हुन आवश्यक छ ता कि सेक्नु पर्ने आगोले नजलाओस् ।