छोरी भएर जन्मेपछि
नया वर्षको शुरुवात स“गै चिच्याएर रोएकी थिएँ म । प्रशव पिडालाई बिर्सिएर मुसुक्क मुस्कुराउनु भएको थियो, मेरी आमा । म अलि अलि जान्ने भई सकेपछि मेरा बा ले सुनाएका यी पङक्तिहरु मलाई कथा जस्तै लाग्छ । आमाको ममता र बाबाको कर्तव्य स“गै हुर्किएको थियो मेरो बालापन । अहिले यो मस्त जवानीमा पनि आफ्नो बालापनलाई सम्झिएर आनन्द लाग्छ ।

अ“ागन छेउमा चि“ मुसी चि“ खेलिरहेका नानीहरु देखेपछि भोक र शोकको कुनै चिन्ता नभएको त्यो बाल मस्तिष्क कति पवित्र छ । जस्तो देख्यो त्यस्तै भनिदिन्छन् विना छलकपट ।
म पनि त्यहि बालापनबाट हुर्किदैं बढदैं गएँ । मेरो जिउ“मा लतपट्टिएको कपडाको त्यान्द्रो बिस्तारै हटाईदैं सिलाएका भोटोहरु आमाले लगाई दिन थाल्नु भयो । छिमेकी वरपरका सबैले मलाई खुब खेलाउन रुचाउने गर्थे । सानैबाट मोटो ज्यान सबैले डल्ले भनि बोलाउने गर्थे । समय गतिशिल रहेछ । समयले बिस्तारै कोल्टे फेर्न लागेछ क्यारे ।
यो अब आमाको काखबाट म ओर्लिने बेला पनि भएछ । ति माया लाग्दा मेरा साना खुट्टा धर्तिमा टेक्न खोज्दै थिए । बाबा आमाको अनि दिदीको हात समाउ“दै ताते–ताते गरेको खै सपना कि विपना जस्तै लाग्छ ।
पारी सानीमाका छोराछोरीहरु खेलेको देखेर आफ्नो बाल्यकालको कल्पनामा दुबेको पत्तै ह“ुदैन मलाई । यसरी आज भोली गर्दा गर्दै बा बा भन्दा भन्दै बोल्न, हिड्न र दौडिन पनि सक्ने भइसके म । तोते बोली कुनैकुनै बेला अचम्म लाग्दो चकचक गर्ने बानी देखेर बाबाआमा पनि दङ्ग पर्थे होलान् अहिले सम्झन्छु आफैलाई कता कता लाज लागेको महसुस हुन्छ ।
घर नजिकै एउटा शिशुस्याहार थियो । आमाले मेरो लागि सिलाइदिनु भएको चिट्टिक्क परेको फ्रक । स्कुल जा“दा दिदीलाई दुःख दिन्छे भन्दै आमाले खाजामा भुटेको भात अनि बोत्तलमा पानी बोकाएर मलाई पनि शिशुस्याहारमा लानु हुन्थ्यो ।
त्यो दिन म कसरी बिर्सन सकुला म जस्तै उमेर समूहका साथीहरु थुप्रै फरक फरक गाउ“का ती अन्जान साथीहरुको माझ म पनि ज्ञानी भएर बस्न बाध्य थिएँ । दिनभर क ,ख, ग,……. पढ्न सिकाउनु हुन्थ्यो शिक्षिकाले दिउ“सोको खाजामा हलुवा खान पाइने । कति बेला खाजा खान पाइने होला भनेर मुख मिठ्याउँदै बस्नुको पीडा पनि गहिरो नै थियो । आमाले घरबाट पठाएको भुटेको भात खाएर हलुवा घर लगेर जाने भनि राख्थे । छुट्टि हुन साथ आमा मलाई लिन आई पुग्नु भएको हुन्थ्यो अनि म आमालाई देखेर खुब खसि हुन्थ्ये । आमालाई दौडेर भेटाउछु भन्दा आमा भएको ठाउ“सम्म पुग्दा पनि म धेरै पटक लड्थे तर आमासम्म गई पुग्थे । आमाले हालेको गम्ल्याङ्ग अँगालो अनि मेरो गालामा खाएको च्वाप्प म्वाँई । त्यही हो स्वर्गीय आनन्द सम्झन्छु बालापन सारै मीठो लाग्छ । बाटोमा आमा स“गै हि“डदै दिन भर बिताएका नया“ साथी अनि नया“ शब्द क, ख,ग, पढेको कुरा सुनाउ“दै घर आइपुग्थे ।
घर अगाडि एउटा पिपलको ठूलो रुख थियो । स“ाझपख शितल हावाको स्पर्श अनि थरी–थरी चराहरु । रुखको डाली–डालीमा बसेर चिरबिर – चिरबिर गीत गाउ“थे । त्यहि पिपलको फेदमा गुन्द्री ओछ्याएर मेरी दिदी पढिरहेकी । आजभोली ज्ञान भयो दिदीले गृहकार्य गर्नु भएको रहेछ । आफ्नो नजिकै बसालेर मलाई पनि क, ख भन्न लगाउने अनि आफू भने लेखनमा व्यस्त । दिदीको नजिकै टुसुक्क बसेर हेर्थे ठूल्ठूलो स्वरमा म पनि क… ख…. । अनि दिदीले सोध्नु हुन्थ्यो आज के पढ्यो बहिनीले ? दिदीले प्रश्न सोध्दा उत्तर दिन आत्तुर हुँदै भनिदिन्थे क, ख, ग…. पढे । दिदीले पुरै भन भन्दा जानी नजानी ठुलो स्वरमा क,ख सुनाउ“थे । ज्ञ सम्म नजान्ने म अनि मिलेन भन्दै दिदी खुब हा“स्नु हु“न्थ्यो । गृहकार्य सकेपछि दिदीले मलाई ‘क’ लेख्न सिकाउ“नु हुन्थ्यो । मेरा ती स–साना हातले अक्षर लेख्न खोज्थे अनि जानी नजानी “गोलो गोलो अण्डा पुलिसको डण्डा सोर्ग जाने बाटो हनुमानको पुच्छ्र” भन्दै “क” लेख्थे ।
चौधरी गाउ“ । मेरो सबै साथीहरु चौधरी । सबै स“ग मिलेर नया“–नया“ खेल खेल्ने गथ्र्यौ । समय बितेको पत्त्तै भएन । म अब पा“च वर्षको भएछु । सरकारी विद्यालयमा पा“च वर्ष पुरा भएपछि मात्र कक्षा एकमा पढ्न पाइन्थ्यो । आमाले मेरो नाम घुस्रामा रहेको श्री जनसेवा माध्यमिक विद्यालयमा कक्षा एकमा लेखाइदिनु भयो । सेतो कुर्ता निलो सलुवार, का“धका सानो चिट्टिक्क परेको सल, झोलामा किताब राखी म विद्यालय जाने गरे । घरमा नसिकेको कुरा विद्यालय र विद्यालयमा नसिकेको कुरा दिदीले घरमै सिकाइदिने क्या आनन्द ।
धेरै नबोल्ने तर भनेको मान्ने स्वाभावको थिएँ म । हजुरबा आमा छुट्टै बस्नु हुन्थ्यो स्कुल छुट्टि हुन साथ घर आएर हजुरबाको लागि इनारबाट पानी बोकी दिन्थे । मेरो मिहिनत देखेर हजुरबाले मलाई दुई रुपैया दिनु हुन्थ्यो अनि स्यावास भन्नु हुन्थ्यो । घर नजिकै पिपल छेउमा एउटा धारा थियो । पानी खेल्न मन पर्ने मलाई एकदिन विहानै पानी भर्दै गर्दा त्यो ठुलो पिपलको रुख म तिर ढल्कदै थियो । मेलै थाहा पाइसकेको थिएँ रुख ढल्दै छ । म छिटो त्यहा“बाट भागे अनि एक छिनमै ठूलो स्वरमा सुनियो रुख ढलेको भित्रबाट आमा आत्तिदै नानु खोई, नानु खोई भन्न लाग्नु भो म भने उता चिन्तित थिए । अब दिदी र म कुन रुखमुनि बसेर पढ्ने । रुख ढलेपछि उजाड देखियो अनि मेरो मन पनि उजाड नै भयो । घरमा खरायो, हा“स, बाख्रा पाल्नु भएको थियो । छुट्टिको समयमा गोठालो काक्रेविहारमा जाने गथ्यौ । गाई बाख्रा चरणमा लागेपछि हामी साथीहरु स“गै मिलेर गोट्टा अनि धुलो खेल्थ्यौ । स“ाझ परेपछि गाई वस्तु घर ल्याउने गथ्र्यौ यसरी बितिरहयौ दिनचर्या कहिले खेल्दै कहिले रमाउ“दै ।
चार जनाको परिवार । हाम्रो सुखमै वितिरहेको थियो । मेरो मिहिनत अनि लगनशीलले म हरेक कक्षा पास गर्दै गएँ । कति चाँडै समय बितेछ । म पनि राष्ट्रिय बोर्डको परीक्षा दिन पाउने भएछु कक्षा १० को परीक्षा दिएर बसेको फुर्सदको समयमा घर सजाउने थरी–थरी बुनेर बस्ने । दिदी पनि कक्षा १२ को परीक्षा दिएर बस्नु भएको थियो दिदीस“ग मिलेर नया“–नया“ कुराहरु सिक्ने गथ्र्यौ ।
हरेक वर्ष झैं दशैं तिहार आयो । मनमा हर्ष अनि उमङ्ग छाईरहेको थियो । दशैंमा आमा बाबा अनि ठूलाका हातबाट टिका थाप्दै दशैं सकियो । तिहार आयो जतातत्तै झिलीमिली बत्त्ती देउसी भैलोको रन्को । सबैको घरमा थरी –थरी रोटी पाक्न लागेको हामी पनि सबै साथी मिलेर खुब रमाइलो गथ्र्यौ । नाच गान गर्दै तिहार पनि सकियो ।
तिहारमा उठेको पैसाले वनभोज खाने तयारीमा सबै जना घर नजिकै रहेको काँक्रेविहारमा वनभोजको लागि गयौ । वनभोजमा पनि मेरो प्यारी दिदी अनि साथी भाइहरुस“ग खुब नाचियौ खुब रमाईलो गरियौ । सा“झ पर्न लागेको थियो । घर जाने तयारीमा थियौ सबैजना । बाटोभर नाच्दैं रमाईलो गर्दै दिदी र म पनि घर आईपुगिम । त्यो दिन घरमा पनि आमाले मिठो मसिनो पकाउनु भएको थियो । दुबै जना हातमुख धोएर आऊ आमाले भन्नु भयो । हात मुख धुने भनेर दुबैजना इनारमा गयौ । वनभोजको बारे कुरा गर्र्दै हातमुख धोएर सकियो । पानी ल्याउने भनेर आमाले भन्नु भएको थियो । म पानी भर्न थाले । दिदी भने हतारमा तिमी पानी ल्याएर आउ“ भन्नु भयो । पानी भरि म घर आइपुगे । आमाले दिदी खोई भनि प्रश्न गर्नु भयो मैले प्रति उत्तरमा भने दिदी म भन्दा अघि आउनु भको ठुलो स्वरमा दिदी दिदी बोलाए तर दिदी बोल्नु भएन ।
एकै छिनमा एक जना घर नजिकको हजुरमाले भन्नुभयो तिम्रो दिदी गै सक्यो मैले हतारमा भने कह“ा ? अनि उहा“ले भन्नुभयो आफ्नो कर्म घर । त्यो सुनेर आमा एकदमै निरास हुनु भो । आमाको त्यो मलिन अनुहार म हेर्न सकिन एकै छिनमा बाबाको आगमन भयो । कान्छो भनि बोलाउने मलाई म मात्र बोलेको सुन्दा दिदी खाई भन्ने प्रश्न आयो आमा केहि बोल्न सक्नु भएन अनि मैले भने दिदी त गयौ रे बाबाले आमाको अनुहारमा हेर्नु भयो दुबै जना दुःखी ।
एक अर्कालाई हेरेर टोलाई बस्नु हुन्थ्यो घर सुनसान लाग्थ्यो । सधैं दिदी सं“गै कुरा साट्ने म अब एक्लो भएँ । अ“ासु थाम्न सक्थिन अनि रुन्थे चार जनाको परिवार अब झन सानो भयो । आमा बाबाले कहिले का“ही कुरा गर्नु हुन्थ्यो अब कान्छी छोरी पनि छाडी गए हामी मात्रै हुनेहोला । आमा बाबाको त्यो शब्दले कट्क्क मन छोयो अनि सोच्थे म किन छोरा भई जन्मिएन ।
भागेर होस या मागेर मलाई नि एकदिन यो घरबाट जान पर्ने होला अनि त्यति बेला झन बा आमालाई असहय पिडा होला त्यसपछि मैले त्यति बेला नै सोचे म कहिले भागेर उहा“हरुलाई दुखी गराई जाने छैन । सा“च्चै नै त्यो मेरो बालापन नै रमाईलो थियो । म किन ठुलो भए होला ठुलो भएपछि पराईघर जान पर्ने कुराले म साह्रै दुःखी भए कसैले सहि भनेको रहेछ “आमा बा को मन छोरा छोरी माथी छोरा छोरीको मन ढुङगा माथी” तर सबै छोरा छोरी उस्तै हु“दैन मुटु माथी ढुङ्गा राखि पराई घर जानु पर्ने । यस्तै छ पितृसतात्मक संस्कार ।






