आज हरिसयनी एकादशी (तुलसी रोपण)
आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी’ एकादशी भन्ने गरिन्छ । ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ । ‘शयन’ को अर्थ सुत्नु हो । आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।
पुराणहरूमा उल्लेख भएअनुसार भगवान् श्रीहरि यस दिनदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ । आषाढको शुक्ल एकादशीमा शयन गरी भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा जाग्नुहुन्छ । यसर्थ पछिल्ला दुई एकादशीलाई क्रमशः हरिपरिवर्तिनी र हरिबोधिनी एकादशी भनिन्छ । समग्र मानवजातिलाई भगवानका यी क्षणहरू परम कल्याणदायी मानिन्छन् । यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यी क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ । स्कन्दपुराणमा आषाढ शुक्लपक्षको एकादशीमा भगवानको शयनोत्सव मनाउनुपर्छ भनिएको छ । ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनुपर्ने वचन पाइन्छ ।
आषाढ शुक्लपक्षको एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत प्रारम्भ गर्नुपर्छ । ब्रह्मवैवर्त पुराणमा एकादशीको माहात्म्य एवं व्रतीले पालना गर्ने विधिविधान उल्लेख गरिएको छ । व्रतीले विशेष रूपमा शरीर शुद्धिका साथै आहार–व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ । यस व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ । तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ । एकादशी व्रतमा अन्न भने खान हुँदैन । भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन् । व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ । यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक भोजनलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ ।
एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ । नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्य हो । गर्दा फल मिल्ने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भन्दछन् । यस्तै गर्दा फल मिल्ने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छ । एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने हुँदा यो नित्यकर्म नै हो । विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेकाले यो काम्य पनि हो ।
श्रीहरिको शयनदेखि जागरणसम्मका चार महिनालाई चतुर्मास भन्दछन् । चतुर्मासभरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ । निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन् । भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन् ।
सबै एकादशीमा भगवान विष्णुको पूजा–आराधना गरिन्छ । तर यस दिनदेखि भगवान शयनावस्थामा रहनुहुने भएकाले भगवानलाई विशेष विधिले पूजा गर्ने चलन छ । यस दिन भगवानको प्रतिमालाई पञ्चामृत तथा शंखजलले स्नान गराएर विशेष आसनमा आसीन गराइन्छ । त्यसपछि चन्दनादिको लेप लगाई षोडशोपचारले पूजा गरेर हातमा शंख, चक्र, गदा, पद्म एवं शरीरमा पीताम्बर तथा आभूषणले सुशोभित गरिन्छ । यसरी भगवानको महापूजा गरी जुहीको माला टक्र्याउँदै यस मन्त्रले प्रार्थना गर्नुपर्दछ–
‘सुप्ते त्वयि जगन्नाथे जगत्सुप्तं भवेदिदम् ।
विबुद्धे च विबुध्येत प्रसन्नो मे भवाच्युत । ।’
–हे जगन्नाथ, हजुरको शयन हुँदा संसार निद्रित हुन्छ र हजुरको जागरण हुँदा संसार जाग्दछ । हे अच्युत, ममाथि प्रसन्न हुनुहोस् ।)
चतुर्मास व्रत लिनेहरूले भगवानको प्रतिमासामु यस्तो प्रार्थना गर्नुपर्दछ–
चतुरो वार्षिकान् मासान् देवस्योत्थापनावधि ।
इमं करिष्ये नियमं निर्विघ्नं कुरु मेक्च्युत ।
इदं व्रतं मया देव गृहीतं पुरतस्तव ।
निर्विघ्नं सिद्धिमायातु प्रसादात्तव केशव । ।
–हे प्रभु, यो वर्षका चार महिना, हजुरको जागरण नभएसम्म म यो व्रत गर्नेछु । हजुरले यसलाई निर्विघ्न तुल्याउनुहोस् । मैले यो व्रत हजुरका सामु लिएको छु । यसर्थ निर्विघ्नपूर्वक व्रतको सिद्धिका लागि हजुरसँग प्रार्थना गर्दछु ।)
यसरी प्रार्थना गरेपछि अनेक प्रकारका नैवेद्य, फल आदिको भोग लगाई आरती, पुष्पाञ्जली अर्पण गरेर पूजा समापन गर्नुपर्छ । ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नुपर्छ । रात्रिकालमा भजन, कीर्तन, कथाश्रवण गरी भगवानलाई शयन गराएपछि आफू भगवानको नजिकै शयन गर्नुपर्छ ।
श्रीहरिको शयनकालमा भगवानको आशीर्वाद प्राप्त गर्न नसकिने अवस्था रहेकाले व्रतबन्ध, विवाहलगायत शुभकर्म गर्न हुँदैन । व्रतीहरूले श्रावणमा सागपात, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दाललगायत द्विदलीय गेडागुडी सेवन नगर्नु भन्ने शास्त्रवचन रहेको छ । यस्तै व्रतालुहरूले इन्द्रिय शोधन तथा शरीर शुद्धिका लागि चतुर्मासमा ज्यामिर, राजमा, मसुरो, सर्स्युं मूला, गाजर, उखु, कुभिन्डो, इमली, बयर, भन्टा, अमला आदि सेवन गर्नुहुँदैन । एकादशीमा एक दिन अघिदेखि व्रत पूर्ण नहुँदासम्म व्रतालु पतिपत्नीले सहवास गर्न हुँदैन । यस्तै माछामासु, मदिरा, लसुन, प्याज आदि व्रतालुले छुन हुँदैन । आफ्ना आराध्य देव शेषशय्यामा रहँदा पलङमा सुत्न र झूटो बोल्न पनि हुँदैन भन्ने शास्त्रवचन रहेको छ । चतुर्मास व्रत लिनेहरूले व्रतअवधिभर नै यी नियमहरू पालना गर्नुपर्दछ ।
यहि दिन भगवानकी प्रियस्वरूपा तुलसी घरघरमा रोपण गरी चतुर्मासभरि राधा–दामोदरका रूपमा तुलसी एवं विष्णुको आराधना गरिन्छ । हरिबोधिनी एकादशीमा भगवान श्रीहरि जागरणपश्चात् तुलसी विवाहोत्सव गर्ने विधान छ । धार्मिक रूपमा पवित्र एवं परं कल्याणकारी र आयुर्वेदमा अनेक रोगको निदान गर्ने गुणकारी महौषधिका रूपमा प्रसिद्ध तुलसीलाई आफ्नो घरआँगनको चोखो स्थानमा यो दिनमा रोपण गरिन्छ । यसो गर्दा आफ्नो स्थानमा साक्षात् नारायणको निवास हुने हुँदा घरमा सुख–समृद्धिको आगमन हुन्छ ।
विभिन्न अनलाइनको सहयोगमा







