भानुभक्त आचार्य : देशभित्र-देशबाहिर
भानुभक्तका कृतिहरू हाम्रा साहित्य-स्रोत बनेका छन्। भाषा माध्यम-भाषा बनेको छ। भानुभक्त अहिले देशभित्र पनि छन्, देशबाहिर पनि छन्।
१. भानुभक्तको जन्म र तत्कालीन परिवेश
भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदी, रम्घा हो। वि.सं. १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीको पुत्रको रुपमा उनी जन्मिएका थिए। भानुको हजुरबुबाको नाम श्रीकृष्ण आचार्य हो। उनको शिक्षाको थालनी आफ्नै घरको पिंढी पाठशालामा बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो। पछि बाजेको काशीवास हुँदा उनी वनारस गएर संस्कृत व्याकरण र साहित्य अध्ययन गरेको पाइन्छ। पोखरामा ज्योतिष विद्यामा पारङ्त भएका अघौर्का त्रिपाठीहरूको नाम प्रसिद्ध थियो। सम्भवतः तिनीहरूकै गुरुकुलमा भानुभक्तले ज्योतिष शास्त्र अध्ययन गरेको र पौराणिक साहित्य अध्ययनका निम्ति उनी वाग्लुङका वद्रिनाथ पन्तसँग गरेको अभिलेख प्राप्त भएको छ। तर वनारसमा अध्ययन गर्दा भने भानुभक्तसँग अरु कुनै व्याक्तिले परिचय माग्दा उनले जवाफ दिएको कविता यस्तो छ :

‘पहाडको अति वेश देश तनहुँ श्रीकृष्ण व्राह्मण थिया
खूप उच्चाकुल आर्यवंशी हुनगै सत्कर्ममा मन दिया
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया
उन्कै नाती म भानुभक्त भनि हुँ यो जानी चिन्ही लिया’
भानुभक्तको परिचयले के बताउँछ भने पोखरा र वागलुङमा पछिमात्र उनले अध्ययन गरेको हुनसक्छ। अन्यथा आफ्ना गुर्रुवर्गलाई कुनै न कुनै प्रसङ्गमा उनले अभिव्यक्ति दिएको अभिलेख पाइनुपर्ने थियोे।
२. आचार्य कुल परम्पराको परिचय
नेपालमा भएका व्राह्मणहरूको थर कोही योग्यताको आधारमा छन्, कोही दजेनी आधारमा छन् र प्रायःजसो स्थान विशेषको आधारमा पाइन्छन्। आचार्य भनेको मन्त्र सुनाउने वा वेद पढाउने गुरु, वैदिक यज्ञ आदिको अध्यक्ष वा संस्कृत विद्यातर्फको उच्च उपाधि हो। थरमा आचार्य भनिए पनि नेपालमा दुर्इ प्रकारका गोत्र भएका आचार्य छन्- कौडिन्य गोत्रीय आचार्य र गर्ग गोत्रीय आचार्यझ् भानुभक्त कौडिन्य गोत्रीय, त्र्रि्रवर, यजुवेदीय उपाध्याय व्राह्मण हुन्। त्यसैले उनले आफ्ना बाजे श्रीकृष्णको परिचय दिँदा ‘उच्च कुलका आर्यवंशी’ भनेका छन्। अहिले पनि चुँदी, रम्घाका आचार्य वंशका परिवार विभिन्न विषयका विद्वान् र प्राध्यापक छन्। भानुभक्त वि.सं. १८७१ असार २९ गते वृहत् नेपालमा जन्मिएका थिए। वि.सं. १८७२ मा सुगौली सन्धीबाट नेपाल सानो भएकाले भानुभक्तको जीवनयात्रा सानु नेपालमा भएको थियो। त्यस वखतको नेपालमा कुनै प्रकारका विद्यालय, महाविद्यालय थिएनन्। त्यसैले शैक्षिक दृष्टिले देश अन्धकारमा थियो।
३. व्रतवन्ध, विवाह र घाँसीसँग भेट
भानुभक्तको व्रतवन्ध सात वर्षको उमेरमा १८७८ मा भएको थियो। बाजे श्रीकृष्ण आचार्यले गायत्री मन्त्र दिएका थिए। व्रतवन्धपछि उनले बाजेसँग आफ्नै घरको पिंढी पाठशालामा कौमदी, रुद्री र वेद पढ्न थालेका थिए। यसपछि १८८६ मा बाजेसँग काशीवास गर्न जाँदा कोश, व्याकरण र साहित्यका साथै ज्योतिषसमेत अध्ययन गरेका थिए। काशीवास जानुभन्दा डेढ वर्षअघि विवाह गरेकी श्रीमती चन्द्रकान्ताको स्र्वर्गरोहण भएकाले १८८६ मा पुनः मानुङ गाउँको विद्याधर खनालकी छोरी चन्द्रकलादेवीसँग उनले दोस्रो विवाह गरेका थिए। काशीबाट र्फकेपछि १८९० देखि भानुभक्तले गृहस्थी जीवन सुरु गरेका थिए। यसैबीच, मानुङ गाउँमा ससुराली जाने सर्न्दर्भमा बुर्लुङ वेसी, वुल्दीखोला किनारामा विश्राम गर्दा घाँसी चामुनारायण पन्तसँग भानुभक्तको भेट भएको थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लक्ष्मी निबन्ध सङ्ग्रहमा लेखेका छन्-‘भानुभक्त ढुङ्गाको तकियामा सुतेर व्युझिदा फूलको हृदय भेट्टाए। घाँसीमा उनको परमेश्वर बोल्यो। सच्चा नेपाली हृदयलाई ब्युझाइदियो र सुन्दर देशमा बोलाएर लग्यो।’
मानिसको हृदयमा वेलावखत अनेक तरङ्ग उठ्छन्। यस्ता तरङ्गलाई प्रेरणाको स्रोतमा वदलिदिने कुनै शक्तिले कहिलेकाँही अज्ञात रुपमा वरदान दिएको हुन्छ। त्यो वि.सं.१८९१ को वर्ष थियो। भानुभक्त २० वर्षका युवक थिए। त्यो वेला उनको हृदयमा भाषा, साहित्य, राष्ट्र र राष्ट्रियताबारेममनभित्र कति छाल उर्लिरहेको थियो होला। घाँसीसँगको क्षणिक संवादले उनलाई व्युझाइदियो। अनि भानुको हृदय रसाएर घाँसी प्रेरणाको स्रोत बन्न पुगेः
भरजन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस्पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर वुद्धि कस्तोझ्
यो भानुभक्त धनी भैकन आज यस्तोझ्
४. देशको गतिविधि र षड्यन्त्र
भानुभक्तको जीवनको पूवार्द्धर-उत्तरार्द्ध दुवै समय देशको राजनैतिक गतिविधि अत्यन्त नाजुक अवस्थामा थियो। दरवारिया षड्यन्त्रको कारण हत्या, हिंसा र रक्तपातको उत्पातमा महारानी राजेन्द्रलक्ष्मीले नेपाल एकीकरणको अभियानमा टिस्टादेखि सतलजसम्म विशाल नेपालको सृष्टि गर्ने राजकुमार बहादुर शाह, आफ्नै देवरलाई जेल-नेलको कठोर यातना दिई वि.सं. १८५४ आषाढ १४ गते शनिबार गुप्त रुपमा हत्या गरियो। काजी दामोदर पाण्डेलाई भीमसेन थापाले रणबहादुर शाहको हुकुमद्धारा वि.सं. १८६० चैत्र ३ गते लुमडी, भद्रकालीनजिकैको मसानघाटमा लगी नृसंशतापूर्वक काट्न लगाए। स्वामी रणबहादुर शाहलाई वि.सं. १८६३ वैशाख १६ गते राति त्रिपुरेश्वरमा कचहरीमा बसेको समय स्वामीको व्यंगवाण सहन नसकेर उनकै भाइ शेरबहादुर शाहीले तरवारद्वारा हत्या गरेका थिए। वम शाह र वालनरसिंह कुँवरले शेरबहादुरलाई पक्रेर तत्कालै काटिदिए। भीमसेन थापाको आदेशानुसार कचहरीमा बसेका भारदारका साथै नजरबन्दमा राखिएका पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाई रणबहादुर सेनलाई पनि त्यहीं ल्याएर यिनका १८ जना अङ्गरक्षकसमेत काटिए। आवाल वृद्ध वनिता समेत गरी कुल ९३ व्यक्ति उक्त घटनामा काटिएको अभिलेख छ। यो भानुभक्तको जीवनको पूवार्द्धको घटना हो।
भानुभक्तको जीवनको उत्तरार्द्धमा वि.सं. १८९६ श्रावण ८ गते साँझ निगरानीमा राखिएको कोठाभित्रै आफ्नै कम्मरको खुकुरीद्वारा भीमसेन थापाले आत्महत्या गरे। वि.सं. १९०२ जेठ ६ गते मुख्त्यार माथवरसिं थापाको हत्या गरे। वि.सं. १९०३ भाद्र ३१ गते जंगबहादुरले कोतपर्व≤ १९०३ कार्तिक १७ गते भण्डारखाल पर्व र १९०४ श्रावण १३ मा अलौपर्वका नाउँमा जङ्गबहादुरले आफ्ना शत्रु पक्षका सयौं व्यक्तिको हत्या गरियो। भीमसेन थापाको हत्या हुँदा भानुभक्त २५ वर्षका थिए। कोतपर्व हुँदा ३२ वर्षका थिए। तर देशको यस्तो षड्यन्त्र र हत्या सम्बन्धमा भानुभक्तले कतै कलम चलाएको पाइँदैन। तर पनि देशको गतिविधिबाट भानुभक्त अनभिज्ञ थिए भन्न सकिँदैन। भययुक्त वातावरण त घटनाचक्रले नै देखाइरहेको छ।
५. पश्चातापको प्रायश्चित साहित्यिक योगदान
देशमा घटेका हत्या, हिंसा, कुकृत्य, कुसंस्कार, लुटपिट र भ्रष्टाचार, दुराचार आम नागरिकको दृष्टिबाट ओझेलमा परेको हुँदैन। यसलाई कुनै न कुनै रुपमा मानिसले अभिव्यक्त गरिरहेकै हुन्छ। समय आएपछि त्यसको विस्फोटन पनि नभई छाड्दैन। अतीतका घटनालाई भानुभक्तले देखे। इतिहासकारहरुले लेखे। वर्तमानले त्यसलाई घृणाको दृष्टिले हेरिरहेको छ। आजको हाम्रो देश भोलि यस्तै रुपमा प्रकट हुनेछ। आजका राष्ट्रघातकहरूलाई भविष्यका सन्तानले यसरी नै खलनायकको रुपमा घृणा गर्नेछन्। कालचक्रको गति कसैले रोक्न सक्दैन।
भानुभक्तले आफूले सुने-भोगेको अपराधलाई प्रहार गर्ने अस्त्रका रुपमा आध्यात्मिक दर्शन र साहित्य तथा आफ्नो मातृभाषालाई माध्यमको रुपमा अपनाउने दृढ सङ्कल्प गरेर सर्वप्रथम वि.सं. १८९८ मा रामायण बालकाण्डको भाषानुवाद लेखन अभ्यासमा कलम चलाए। अनि क्रमशः वि.सं. १९०१ मा गजाधर सोतीको घरमा वास नपाउँदा शास्त्रीय रुपमा नै प्रहार नगरी रहन सकेनन्। यसरी नै वि.सं. १९०६ मा काठमाडौं -कान्तिपुर) जाँदा सहरको मुखमा पर्ने वालाजु वर्णय र कान्तिपुरका युवतीहरूको आकर्षणले भानुभक्तको आँशुकविले कलम चलाउन उत्प्रेरित गरेको पाइन्छ। छन्द र लयात्मक रुपमा लेखिएको उक्त कविताभित्र भानुभक्तले शृङ्गार रसको अत्यन्त सुन्दर चित्रण गरेका छन्ः
चपला अवलाहरु एक सुरमा,
‘गुनकेसरीको फुल ली शिरमा’
हिंडन्या सखी लीकन वरिपरी,
अमरावती कान्तिपुरी नगरी’
यसरी समय सापेक्षरुपमा रचना गरिएका भानुभक्तका अन्य कविता- बधुशिक्षा, मकै खाजा खाँदा, बन्दुक मनपरेकोमा, कारागारमा बस्दाको अनुभव तथा मुद्दामा पोखराका अदालतमा धाउँदाको वर्णयसमेत हृदयस्पर्शी देखिन्छ। यो तत्कालीन न्याय नगर्ने अदालतप्रतिको सजीव चित्रण होः
‘विन्ति डिट्ठा, विचारीसित कति म गरुँ चुपरहन्छन् नबोली
बोल्दछन् ता ख्याल गरयाझैं अनिपछि दिनदिन भन्दछन् भोलिभोलि
कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि
भोलि-भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली’
आज पनि हाम्रा अदालतका न्यायाधीश, कर्मचारीले न्यायिक मर्यादाको पालना गरेर निष्पक्ष न्याय दिन अनेक प्रकारका अवरोध खडा गरिरहेका पाइन्छन्। पीडितको क्रन्दन आज पनि यस्तै छ। सरकार पनि दण्डनीय अपराधीहरूलाई कारवाही गर्न सक्षम छैन। अदालत र पीडितहरू यस विषयमा उदासिन छन्।
६. रामायण, प्रश्नोत्तर र भक्तमाला
भानुभक्तको रामायण व्यासद्वारा रचित अध्यात्म रामायणको भावानुवाद हो। लोकको हित गर्ने इच्छा भएका नारद ऋषिको उद्देश्य अनुसार ब्रह्माजीसँगको संवादमा उक्त रामायणको महत्व दर्शाइएको छ। लोक कल्याण गर्ने सरल उपायको खोजीमा पार्वतीले प्रश्न गर्ने र शिवजीले जवाफ दिने गरी भगवान श्रीराम नै यो संसारबाट पार लगाउने परमात्मा हुन् भन्ने पुष्टि गरिएको छ। अध्यात्म रामायण यसैको नेपाली भाषामा सरल भावानुवाद हो। भानुभक्तीय रामायणभित्र आत्मवोध गराउने व्यावहारिक सूत्रहरू छन्। अन्त्यमा श्रीराम, लक्ष्मणबीच भएको संवादको प्रतिफल वेदान्त दर्शनसँग सम्बन्धित ‘रामगीता’ रहेको छ। ‘कार मात्रम् सःचराचरम जगत्’ यो रामगीताको उक्ति हो।
श्रीजगदगुरु शङ्कराचार्यद्वारा रचित मणिरत्नमालाको सोही छन्द अनुसार लेखिएको प्रश्नोत्तरमालाभित्र मानव कर्तव्यवोध सम्बन्धका प्रश्नोत्तर छन्। केही कविता उदाहरणको रुपमा हेरौँ-
कुन ज्ञान छ ठूलो भनी लिनु पर्न्या ?
वेदान्तको ज्ञान छ दुःख हर्न्या।
कुन हो धनी सब नरले कह्याको ?
सन्तोषमा जो छ खुसी रह्याको।
जन्म्यो कउन जन्मनु फेर नपर्न्या ?
मर्न्या कउन हो मरि फेर नमर्न्या।
कुन काम हो अति डराएर दूर सार्नु ?
लोकापवाद् छ घटिया कहिल्यै नधार्नू।
वि.सं. १८९८ मा बालकाण्ड सुरु गरेका भानुभक्तले १९११ मा कुमारीचोक काण्डमा, पाँच महिना थुँनिदा अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्ध काण्ड र सुन्दरकाण्ड, लेखेका थिए। वि.सं. १९१५ मा युद्धकाण्ड र वि.सं. १९१९ मा उत्तरकाण्ड लेखी वि.सं. १९२५ मा सातकाण्ड रामायणको पाण्डुलिपि एक साथ मिलाएका थिए। प्रश्नोत्तर-माला र रामगीता यसरी नै बेस्ठन गरी राखिएका थिए। मोतिराम भट्टद्वारा भानुभक्तको जीवन चरित्र प्रकाशित भएपछि भानुभक्तका कृति खोजी गर्न थालियो। सर्वप्रथम दार्जिलिङबाट सूर्यविक्रम ज्ञवालीले भानुभक्तका कृति प्रकाशन गर्ने जमर्काे गरे। १९८९ मा सम्पूर्ण रामायण प्रकाशित गरे। १९९७ मा भानु स्मारक ग्रन्थ प्रकाशित गरेर भानुभक्तको भाषा साहित्यप्रति विस्तृत प्रकाश पार्ने काम गरे। यसका निम्ति पारशमणि प्रधानको पनि कम योगदान रहेन। उनले त भानुभक्तका रचनालाई आफ्ना पाठ्यपुस्तकमा नै समावेस गरी प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। धरणिधर शर्मा र दार्जिलिङका विद्दतवर्गह भानुभक्तको योगदानप्रति महत्व बुझ्ने अग्रणी समीक्षक हुन्।
७. मोतिराम भट्ट र भानुको जीवन चरित्र
नेपाली भाषा साहित्यका बहुमुखी प्रतिभा मोतिराम भट्ट (१९२३-१९५३) हुन्। ३० वर्षका आयु पाएका उनले अध्ययन, लेखन, संगठन, कविता, गजल, जीवनी-लेखन, अनुवाद आदि विषयमा जग लगाएका थिए। वनारसका ‘भारतेन्दु मण्डलीका हिन्दी भाषा साहित्यका अग्रणी व्यक्तित्व भारतेन्दु हरिश्चन्द्र मोतिराम भट्टका प्रेरणाका स्रोत मानिन्छन्। साहित्य मनिषी भारतेन्दु हरिश्चन्द्रको साहित्य मान्यता यस्तो थियो-
अन्धकार है वहा, जहाँ आदित्य नहीँ है
मुर्दा है वह देश, जहाँ साहित्य नहीं है।
आफ्नो प्रेरणाको स्रोत उक्त रचना पनि हुनसक्छ मोतिराममा। मोतिरामले नेपालमा ‘मोति मण्डली’ बनाउनका साथै अग्रणी कविको खोज गर्ने र नयाँ कविलाई प्रेरणा दिए। यसै सर्न्दर्भमा वि.सं. १९४८ मा उनले ‘भानुभक्तको जीवन चरित्र’ लेखे। प्रसिद्ध समालोचक कृष्णचन्द्रसिंह प्रधान उक्त जीवन चरित्रकबारे लेख्छन्-यो भट्टको प्रमुख गद्य रचना हो। तर जीवन-चरित्र आलोचना होइन। उक्त जीवन चरित्रमा भट्टको भूमिका यस्तो रहेछ-‘भानुभक्त आचार्य सहज कवि थिए। धारा प्रवाह कविता लेख्न सक्थे। कविताको मर्मजानी भाषामा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्।’ यसरी सर्वप्रथम भानुभक्तलाई आदिकविको पगरी दिएर सम्मान गर्ने व्यक्ति पनि भट्ट नै हुन्। यसपछि भानुकै वंशज नरनाथ आचार्यले ‘भानुभक्तको सच्चा जीवन चरित्र’ लेखे। व्रतराज आचार्यले पनि भानुभक्तको जीवनी लेखेका छन्। छिमेकी श्रीभद्र शर्माले ‘भानुभक्तले कलम किन चलाए -‘ लेखे। भानुभक्तसम्बन्धी धेरै अनुसन्धानात्मक कृति पाइन्छन्।
नेपाली भाषा, साहित्यका मूर्धन्य व्यक्तित्व भानुभक्तप्रति उद्गार व्यक्त गर्ने साहित्यिक व्यक्तित्व धेरै छन्। एक-एक वाक्यमा यसलाई हेरौँ :
सम- हाम्रा अदिकवि भानुभक्तले हाम्रो देशमा युग परिवर्तन ल्याए। उनको प्रेरणाले नेपाल नयाँ बन्यो।
महाकवि देवकोटा- भानुभक्त ढुङ्गाको तकियामा सुतेर ब्यँुझदा फूलको हृदय भेटाए। घाँसीमा उनको परमेश्वर बोल्यो।
लेखनाथ पौडयाल- राज्य-व्यवस्था, विधि वा विधान≤ रहन्छ जसमा लिपि – लिख्यमान। यस्लाई हुकाउनका निमित्त, जो भानुभक्ता क दि थिए प्रवृत्त।
माधव घिमिरे- भानुभक्तले रामायण लेख्दा नेपाली व्याकरण थिएन। हाम्रो भाषालाई सुनेर भानुभक्त श्रुतिमधुरतामा मुग्ध छन्।
प्रा. वासुदेव त्रिपाठी- भानुको शब्द सच्चा भाषाको ओजस्विता, गम्भीरता र कमनीयताको नमुना बन्न गएको छ।
प्रा. शिवगोपाल रिसाल- भानुले नयाँ युगको सिर्जना गरे। नेपाली मुटुको माझमा बसेर ज्ञानामृत पान गराए।
प्रा. बालकृष्ण पोखरेल- अब भानुभक्तीय कोश तथा व्याकरण निर्माण गर्ने समय आइपुगेको छ।
यसरी नै हृदयचन्द्रसिंह प्रधान, रुपनारायण सिंह, बाबुराम आचार्य, कुलचन्द्र गौतम, बालचन्द्र शर्मा, यज्ञराज सत्याल, मृगेन्द्र शमशेर, ब्रह्मशमशेर आदिले पनि भानुभक्तको भाषा, साहित्यको प्रसंशा गरेका छन्। समालोचक रामकृष्ण शर्मा र गोविन्द भट्टले आफ्नो सिद्धान्तलाई मध्यनजर राखेर आलोचनात्मक समर्थन गरेका छन्।
नेपाली भाषा नेपालभित्र पनि विविध भाषाभाषीबीचको माध्यम भाषा बनेको छ। विदेशमा रहेका नेपालीबीच पनि यही भाषा माध्यम भाषाको रुपमा छ। यसै कारणले गर्दा आदिकविको नामबाट स्वदेश र विदेशमा धेरै शिक्षण संस्था, पुस्तकालय, साहित्यिक संस्थाको नाम, सामाजिक संस्थाको नाम राखिएको पाइन्छ। तनहूँ बन्दिपुरमा भानु मावि छ। खैरेनीटारमा भानुभक्त क्याम्पस छ।
८. भानु जयन्ती र भानुका सालिकहरू
नेपालमा गत वर्षमात्र भानुभक्तको दुर्इ शताब्दीऔँ जन्मजयन्ती मनाइसकिएको छ। यसरी जन्मजयन्ती मनाउने प्रचलन धेरै अघिदेखिको हो। नेपाली भाषा, साहित्य, संस्कृतिको क्षेत्र नेपाली वसोवास गर्दै आएका ठाउँ भारतमा- दार्जिलिङ, कालिम्पोङ, मेघालय, सिलाङ, आसाम, कलकत्ता, मणिपुर, नागाल्याण्ड, मुम्मइ, देहरादून, बनारस आदि हुन्। विदेशमा- वर्मा, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, इङल्याण्ड, अमेरिका आदि देशमा विशेष उत्सवका साथ भानुजयन्ती मनाइन्छ। यस्ता ठाउँमा नेपाली साहित्यका संस्था पनि छन्।
भानुभक्तको सालिक स्थापना गर्ने अभ्यास दर्जिलिङबाट सुरु भएको हो। १७ जुन १९४९ मा दार्जिलिङको चौराहमा नेपाली साहित्य सम्मेलन दार्जिलिङले यो अभियान सुरु गरेको थियो। दोस्रो शाशिक भानु साहित्य अध्ययन समितिद्वारा सन् १९६७ मा कालिम्पोङ सहरमा स्थापना गरिएको थियो। वंगालको सिलगुडी सहरमा पनि भानुभक्तको आकर्षक शालिक छ। सिक्किमको राजधानी गान्तोकमा मुख्य मन्त्री पवनसिं चामलिङको अगुवाइमा पूर्ण कदको भानुको सालिक स्थापना गरिएको छ। नेपालमा दरबार स्कूलको गेटनेर २०१६ सालमा भानुभक्तको शालिक स्थापना गरिएको थियो। काठमाडौँमा भानुजयन्ती मनाउने ठाउँ त्यहीं थियो। पोखरामा पनि आज वि.सं. २०७३ अषाढ २९ गते भानुजयन्तीका दिनमा भानुको पूर्ण कदको शालिक अनावरण हुँदै छ। यो अभियानले अब विस्तारित रुप लिं’दै जानेछ।
९. हार्दिक श्रद्धाञ्जली आदिकवि भानुभक्त
भानुभक्तका पिता धनञ्जय र पितामह श्रीकृष्ण आचार्यले शास्त्रीय रुपमा मोक्ष हुने ठाउँ बताइएको काशीमा गएर आफ्नो प्राण ल्यागे। भानुभक्त केही समय थला परेर घरमा रहँदा पनि काशी जान चाहेको पाइएन। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ यस उक्तिले पनि उनले आफ्नो जन्मभूमि छाड्न नचाहेको हुनुपर्छ। भानुभक्त अनुवादकला भएका शास्त्रीय कवि हुन्। उनले व्यवहारिक क्षेत्रमा घर, व्यवहार र मुद्दा मामिलाको अनुभव गरे। कुमारीचोक बाँकीमा जेलको कष्ट काटे, आफ्नो जीवनको युवावस्थामा उनले दरवारिया षड्यन्त्र र रक्तञ्जित इतिहास पनि अनुभव गरे≤ फुटकर कवितामा श्रृङगार रसका, उपदेशात्मक, व्यंग्यात्मक र कर्तव्यच्युत भएका न्याय क्षेत्रका कर्मचारीलाई प्रहार गर्न पनि बाँकी राखेनन्। अन्तमा यो संसार आखिर छोडेर जानुपर्छ भनी मोक्षको निम्ति रामायण र प्रश्नोत्तरमाला, रामगीता पनि अनुवाद गरे। त्यस वखत नेपालमा सञ्चार माध्यम थिएनन्। तर पनि मोतिरामले भानुभक्तको महत्व बुझेर उनको जीवन चरित्र प्रकाशित गरे। दार्जिलिङले भानुभक्तको योगदानको महत्व बुझ्यो। नेपालीले बुझ्दै आएका छन्। आखिर भानुभक्त जीवनको ५४ औं वर्षको उमेरमा वि.सं. १९२५ मा परमधाम भए। मस्र्याङ्दी नदीको सतीघाटनिर उनको सतगत् गरियो। भानुभक्तका कृतिहरू हाम्रा साहित्य-स्रोत बनेका छन्। भाषा, माध्यम-भाषा बनेको छ। भानुभक्त अहिले देशभित्र पनि छन्, देशबाहिर पनि छन्। भानुभक्तले वनारसमा आफ्नो परिचय दिंदा बाजे श्रीकृष्ण आचार्यको नामवाट दिए। ‘भानुभक्त-घाँसी’ संवादमा भानुभक्तले आफ्नो व्यक्तित्व आफैले दसाा। भानुभक्त प्रसिद्ध भएपछि अरु पारखीले भानुभक्तको महत्व दर्शाए। अन्तमा एउटा कविता हेरौँ-
भानुभक्त भनी प्रसिद्ध नरमा जस्को छ नाउँ पनि
घर तिन्को तनहूँ त वेसी चुँदी हो गाउँ छ रम्घा भनी
प्रख्यात छन् सब लोकमा, ती कवि हुन् विद्धान गुणी खुब थिया
यो प्रश्नोत्तर बुझ्नलाई सजिलो भाषा बनाइदिया।
त्यो युगलाई माध्यम बनाएर हामीले भानुभक्तका रचना पढौँ। त्यस वखत त्यो काली गण्डकीको मुहानजस्तै थियो। पछि त्यो देवघाट हँुदै नारायणी नदीमा परिणत भएको छ। नेपाली भाषालाई पण्डितहरूले उपेक्षा गरिएको समय, शास्त्रीय पण्डित भानुभक्तले नेपाली भाषामा संस्कृत ग्रन्थ अनुवाद गरेर नेपालीलाई भाषा र साहित्यका साथै आध्यात्मिक विषयको समेत ज्ञान दिन खोज्नुले भानुभक्तलाई हामी परिवर्तनका प्रवर्तक ‘सन्तकवि’ पनि भन्न सक्दछौँ। सन्तहरू सधैँ कल्याण मार्गमा लागेर लोकको हित गरिरहेका हुन्छन्। रामायण यस्तै लोकोपकारी कृति हो। यो हाम्रो मार्गर्दर्शन पनि हो। आफ्नो कृतिले गर्दा भानुभक्त स्वयम् अमर बनेका छन्। कृतिर्यस्य सः जिवति अर्थात् जसको कृति छ उ सधै अमर रहन्छ।
आदर्श समाज बाट साभार






