Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

भारतमा दशैं : एक छड्के नजर

हिन्दू धर्मावलम्वीहरुको महान पर्व दशैं समस्त नेपाली जातिले भव्य रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई नेपालबाहेक भारत, बर्मा, थाइलैण्ड, भुटानलगायतका देशहरुमा सदियौंदेखि त्यहीँका नागरिक भएर बसेका नेपाली भाषीहरुले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

Image may contain: 1 person, standing and outdoor
सुरेन्द्र लिम्बू परदेशी,

अहिले नेपाली जाति विश्वभर छरिएर बसेको छ । नेपाली डायस्पोरा, गैरआवासीय नेपालीहरु र ट्रान्जिटको अवस्थामा रहेका करिव ४० लाख परदेशीहरुले पनि यो पर्वलाई प्रत्यक्ष-परोक्ष मनाइरहेको देखिन्छ ।

नेपाल गणतान्त्रिक अभ्यासमा प्रवेश गरिसकेपछि पछिल्लो समयमा भने नेपालमा दशैं मनाउने सम्बन्धमा केही फरक धारणा आउन थालेका छन् । नेपालमा दशैं सम्बन्धी जस्तोसुकै प्रयास र प्रवृतिहरु भैरहेको भएता पनि नेपाल बाहिर भने यसको प्रभाव आंशिकरुपमा मात्र परेको देखिन्छ ।

हुन त हिन्दू इत्तरका धर्मावलम्बीहरुलाई दशैंको खासै महत्व रहेको देखिँदैन । यद्यपि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानपछि क्रमशः भाषिक, धार्मिक, साँस्कृतिकरुपमा पनि एकीकरण अभियानको अभ्यास भएको देखिन्छ । यसलाई एकीकरण भन्न मिल्छ कि मिल्दैन म जान्दिनँ । मेरो विचारमा चाहिँ यसलाई एकीकरण भन्दा पनि अतिक्रमण भन्दा चाँहि उचित हुन्छ होला जस्तो लाग्छ । किनकि इतिहासले के देखाउँछ भने यसलाई ग्रहण गर्नैपर्ने खालको यो एउटा बाध्यात्मक परिस्थिति थियो । त्यसो गर्दा धार्मिक, भाषिक, सांस्कृतिक हिसाबले न्यायको परिधि बाहिर उछिटि्टएका हिन्दूइत्तरका अन्य समुदायहरुलाई मार परेको कुरा सत्य हो ।

तर, जेहोस् बिस्तारै दशैं नेपाली समुदायमा महान पर्वका रुपमा विकसित भएकै हो । अहिले आएर यो तेरो होइन रहेछ, मेरो होइन रहेछ भन्ने कुरा बुझेर पनि यसको सामीप्य तोडिन केही समय लाग्नु अनौठो कुरा होइन ।

डेरिडाले भनेजस्तै सामाजिक संरचनामा स्थापित भइसकेको सांस्कृतिक संरचना पनि एक प्रकारको पालिम्पोष्ट जस्तै हुन्छ, जुन तत्काल पूर्णरुपले मेटिन सक्दैन । बरु धुमिल हुँदै जान्छ र नयाँ संरचनालाई आंशिक प्रभाव पारिरहन्छ ।

अब यसको सत्यता के हो त ? भन्ने सवालमा चाँहि इमानसिं चेम्जोङ, इतिहास शिरोमणि बाबुराम आचार्य, डोरबहादुर बिष्ट, डा कृष्ण भट्टचन, बैरागी काइँलाहरुकै पदचाप पछ्याउनुपर्ने हुन सक्छ ।

हिन्दू धर्म मान्ने देशहरुमा भारत संसारकै सबैभन्दा ठूलो देश हो । भारतमा हिन्दु धर्म मान्नेहरुको संख्या झण्डै ८७ करोड अनुमान गरिएको छ । नेपालमा भने यो संख्या करिव २ करोड १५ लाख रहेको भर्चुअल सर्वेक्षणले देखाए पनि यो आँकडा यकिन नहुन सक्छ । राष्ट्रिय सामाजिक संरचनामा चलायमान रहेका आइडियोलजीहरुको स्कुलिङबाट कतिपय अहिन्दूहरुले पनि हिन्दू धर्म लेखाएको देखिन्छ । यसका अलावा पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, मौरीसस र फिजीमा पनि हिन्दू धर्मावलम्बीहरु निक्कै ठूलो संख्यामा रहेको पाइन्छ ।

भारतमा दशैंको अवस्था कस्तो छ त ?

भारतमा पनि दशैंलाई धुमधामका साथ एउटा महत्वपूर्ण पर्वका रुपमा मनाउने गरेको पाइन्छ । भारतीय अन्य हिन्दू धर्मावलम्बीहरुले यसलाई दुर्गा पूजाका रुपमा मनाउँछन् । हिन्दूमार्गीहरुमा पनि नेपाली जाति अथवा गोर्खाली जातिले भने यसलाई अलि बढी महत्वका साथ दशैंका रुपमा नै मनाउने गरेको देखिन्छ ।

यसको आफ्नै कारण पनि छ । त्यो के हो भने कुनै पर्वका रुपमा खुशीयाली मनाउँदै दही चामलको फूल टीका लगाउने प्रचलन अरु कुनै पर्वमा छैन ।

भारत वर्षमा सिक्किम त्यस्तो राज्य हो, जहाँ गोर्खालीहरुको बाहुल्य छ । त्यो राज्यमा महत्वपूर्ण पर्वका रुपमा ल्होसार पर्वलाई पनि मनाउने गरिएको देखिन्छ । यद्यपि उनीहरुले दशैंलाई पनि भव्यताका साथ नै मनाउने गर्छन् । सिक्किममा दशैंको चित्र हेर्दा के देखिन्छ भने सिक्किमको राजधानी गान्टोकमा चाहिँ दशैं केही सुनसानजस्तै हुन्छ । यसको कारण के हो त भन्दा गान्टोकमा बसोबास गर्ने मान्छेहरुको ठूलो संख्या आफ्ना नातागोता भेट्न मूल घर अथवा गाउँको घरमा जाने गर्छन् । तसर्थ गान्टोक सुनसान हुँदा पनि गाउँमा भने दशैं भव्यरुपमा चलिरहेको हुन्छ ।

यसबाहेक भारतका अन्य राज्यहरु पश्चिम बंगालको दार्जीलिङ, असम, मणिपुर, अरुणाञ्चल प्रदेश, मिजोरम, मेघालय र देहरादूनमा पनि गोर्खालीहरुको ठूलो संख्यामा बसोबास छ । यी राज्यहरुमा पनि गोर्खालीहरुले विजय दशमीलाई अन्य सम्प्रदायहरुले भन्दा भव्य रुपमा नै मनाएको पाइन्छ ।

दार्जीलिङमा भने दशैं मनाउने र नमनाउने दुई समूह देखिएका छन् । खासगरी केही तामाङ र गुरुङहरुले दशैं मनाउन छाडेको देखिएता पनि नाता सम्बन्धका कारण अहिले पूर्ण रुपमा दशैं नमनाएको अवस्था भने छैन । मानौं तामाङकी छोरीले क्षेत्रीसँग बिवाह गरेकी छिन् भने छोरी-ज्वाइँ दशैंमा घर आउँदा टीका लाउने, आशिर्वाद दिने- लिने गरेको नै देखिन्छ ।

असामका गोर्खालीहरुले भने दशैंलाई भव्यताका साथ मनाइरहेको देखिन्छ । सन् १९४८ सालदेखि गुवाहाटीमा अवस्थित नेपाली मन्दिरमा अहिले पनि दशैंमा भव्य रुपमा पूजापाठ चल्छ । त्यहाँ खासै साम्प्रदायिक विभाजन छैन ।

मिजोरम मूलतः क्रिश्चियन राज्य हो । तर, पनि त्यहाँका गोर्खालीहरु ५ प्रतिशतजति मात्रै क्रिश्चियन बनेका छन् । तथापि मिजोरममा पनि सबै जातजातिले उहिल्यैदेखि भव्यरुपमा नै दशैं मनाउने गरेको पाइन्छ ।

मणिपुरमा भने दार्जीलिङमा जस्तै दशैं मनाउने र नमनाउने दुई समूह त देखिन्छन् । तर, दशैं नमनाउनेको संख्या केही न्यून रहेको पाइन्छ । मेघालयमा पनि तामाङ र गुरुङहरुले दशैं मनाउन छाडेको देखिन्छ । अन्य जातिहरुले भने मनाउने गरेका छन् ।

समग्रमा, भारतका विभिन्न राज्यमा बसोबास गरिरहेका गोर्खालीहरुले दशैं पर्वलाई खासै अलग-अलग तरिकाले मनाउने गरेको देखिँदैन । एकाध कुराहरु बाहेक सबै राज्यका गोर्खालीहरुले उस्तै गरी दशैं मनाउने गरेका छन् ।

कतिपय ठाउँमा चाँही वाध्यात्मक स्थिति रहेको देखिन्छ भने कतिपय ठाउँमा स्वतस्फुर्त मनाएको देखिन्छ । वाध्यात्मक स्थिति किनभने कतिपय ठाउँमा नेपाली अथवा गोर्खालीहरु बसेको ठाउँमा अन्य जातिको बाहुल्य हुन्छ । त्यस्तो ठाउँमा उनीहरुले अनेक प्रकारका चाडपर्वहरु मनाउँछन् । त्यसैले त्यो ठाउँमा हाम्रो पनि चाडपर्व छ भन्ने देखाउन वा पहिचानवोधका लागि भए पनि दशैं मनाउनुपर्ने वाध्यता देखिन्छ । यो कुरा आर्य इत्तरका जनजातिहरुको सवालमा लागु हुन्छ ।

हुन त यो एउटा बाहिरी अध्ययनजस्तो मात्रै हो । यो कुनै गम्भीर रिसर्चको प्रतिवेदन होइन, जो सतप्रतिशत तथ्यपरक होस् । यद्यपि पाठकहरुले यसबाट सामान्य जानकारी चाँहि प्राप्त गर्न सक्छन् भन्ने मलाई लाग्छ ।

भारतमा दशैंको अवस्था बारे संक्षिप्त चित्र निकाल्न यो सर्वेक्षणमा साथ सहयोग गर्नु हुने सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख प्राडा कविता लामा, भारतीय अकादमी परामर्श समितिका पूर्वअध्यक्ष दार्जीलिङ निवासी प्रेम प्रधान, कमला तामाङ र अजम प्रधान, कालेबङका डा. राजेन्द्र भण्डारी, भारतीय साहित्य अकादमी अवार्डले विभूषित मेघालयका विक्रमबीर थापा, असमका वरिष्ठ लेखक लीलबहादुर क्षेत्री, प्राडा इन्दुप्रभा देवी र रण काफ्ले, मणिपुरका राहुल राई बागिको र भवानी अधिकारी, मिजोरमका डा किङगुनु घर्ती र लक्ष्मी मिनुलगायत सम्पूर्णमा हार्दिक आभार । धन्यवाद ।

अनलाइन खबरबाट