आमा गुमाएको दिन : आज
कुनैपनि प्राणी यस धर्तीमा जन्म लिनु पूर्व आमाको गर्भमा बास गर्ने गर्दछ । आमा बिना कुनैपनि प्राणीको जन्म सम्भव छैन । सन्तानलाई जन्म दिइसकेपछि आफ्नो मुटुको टुक्राको रुपमा आमाले गर्ने माया र स्याहारसुसार भन्दा ठूलो चीजवस्तु संसारमा अरु केही हुँदैनन् । गर्भमा बोकेको बेला आफूले खाएको खानाको रस खुवाएर गर्भको सन्तानको बृद्धि विकास गर्ने आमा सन्तान जन्मिसकेपछि आफ्नो रगतलाई अमृतमा रुपान्तरण गर्दै दूधको रुपमा खुवाउने गर्दछिन् ।
आफूले नखाएर सन्तानलाई खुवाउनु, आफूले च्यातिएको गुन्यू लगाएर सन्तानको खुसीका लागि नयाँ नानाको व्यवास्थापन गर्नु, आफूले गरेको दुःख बच्चाहरुले अनुभूति समेत नगरुन् भन्ने हेतुले दुःखको समयमा लुकेर रुनु र सन्तानको खुसीमा पीडाको भारीलाई पिठ्यू पछाडि राखेर हाँसी दिने आमा नै हुन् । यी कर्तव्य पूरा गर्न सक्ने क्षमता अरुहरुमा हुँदैहुँदैन । त्यसैले संसारमा आमा भन्दा महान कोही छैनन् ।
जब आमाको गर्भबाट जन्म हुन्छ, देखिन्छ संसार । संसार देखि सकेपछि आमाले पिलाएको अमृतको कारण नै भूमिमा टेक्न सक्ने अवस्थाको सिर्जना हुन्छ । हात समाउँदै हिड्न सिकाउने, तोते बोली बोल्न सिकाउने आमा नै हुन् । त्यसैले आमा पहिलो गुरु पनि हुन् । यी माथिका पंक्तिहरुले प्रमाणित गर्दछन् कि संसारमा कुनैपनि व्यक्तिले जीवित भगवानसँग साक्षात्कार गरेको हुन्छ भने त्यो आमासँग नै हो । संसारमा सर्वपूज्य भनेकै आमा हुन् यसमा कसैको दुईमत छैन ।
आफ्नो भोको पेटलाई थिचेर एक घुट्को पानीले आफ्नो भोक मेटाएपनि ‘को खा – को खा’ भन्दै एक – एक टुक्रा अन्न खुवाएर टन्न बनाउने आमाको अथक प्रयासले यो ज्यान हुर्किएको हो, बढेको हो । उत्तिसबाट बनेको पाटीमा खरीले लेख्न सिकाएर पढ्न सिकेको हुँ मैले आमाबाटै ।
त्यसरी हुर्कने क्रममा आमाले आफ्नो मुखबाट तानेको खानाको टुक्रा मीठो मात्र होइन अमृतमय पनि थियो र त जीवनलाई अगाडि बढाउन सकेको हुँ मैले । आमाको जुठो नै बच्चाको लागि पहिलो जुठो हो । अलि ठूलो भएपछि अरुलाई जुठो खुवाउनु हुँदैन र आफूले पनि खानु हुँदैन भन्ने शिक्षा आमाबाटै प्राप्त गरेसँगै मैले अरुहरुको जुठो खान छोडिदिएको हुँ ।
मलाई याद छ, एक दिन आमाको थालीमा धेरै भएको भात मलाई थपिदिने कुरामा मैले जुठो नखाने भन्दै असहमति जनाएको थिएँ । अर्कोदिन आमाले खाइरहेको मिठाईमा परे मेरा नजर । जुठै भएपनि खाउँ खाउँ लाग्यो । आफ्नो भागमा परेको स्याटसुट्टै खाइसकेर हेरिरहेँ आमाको भागतिर । मेरो भाव बुझेर आमाले भनिन्, ‘खान मन लागेको छ ?’ आमाको यो प्रश्नसँगै मैले उत्तरमा हात थापे । तर आमाले भनिन्, ‘यो त जुठो पो त ।’ मैले उत्तर फर्काएँ आफ्नी आमाको जुठो पनि कसले नखाला है आमा । सायद मैले मिठाई खानकै लागि भनेको यो शब्दलाई आमाले सकारात्मक रुपमा लिइन् र भनिन्, ‘खा खा जुठो खाए माया बढ्छ भन्छन् भविष्यमा माया गरेस् ।’
यो कुराले मलाई बारम्बार छोइरह्यो । मैले चाहेर पनि भुल्न सकिन आमाले भनेका यी शब्दहरु । संसारमा आमा त्यसै महान भएकी होइनन् । उनले भनेका अर्ति उपदेशहरु समेत जीवनका हरेक गोरेटाहरुमा काम लाग्छन् । याद आउँछन् । जसले गर्दा जीवनमा सजिला अप्ठ्याराहरुमा जीउन सजिलो हुने गरेको छ ।
संसारको रित भनौ या प्रकृतिको नियम । जन्मपछि मृत्यु निश्चित छ । मृत्युलाई कसैले पनि रोक्न सक्दैन । यदि मृत्युलाई रोक्न सकिने भइदिएको भए संसार चलायमान पनि त हुने थिएन होला । सायद यही कुरालाई पछ्याउँदै आएको होला त्यो मृत्यु मेरी आमाका सामुन्नेमा । आजकै दिन हो अर्थात कार्तिक २० गतेका दिन । २०७१ साल कार्तिक २० गते, मैले मेरी आमा गुमाएको दिन । त्यसैले कार्तिक २० गते मेरो जीवनको नारकीय दिन । आजकै दिन मेरी आमाको सामुन्ने आएको काललाई मैले कुनैपनि हालतमा रोक्न सकिन । अनि छेक्न सक्नु भएन आमाले पनि । आफ्ना मुटुका टुक्राहरुलाई यो लोकमा छोड्न बाध्य र विवश भएर हजुरले लिएको अन्तिम श्वास टुलुटुलु हेर्नु बाहेक अरु केही उपाय भएन मेरो । आफूलाई संसार देखाउने आमाले संसार देख्न छोड्दा म र म जस्ताहरुले केही गर्न नसक्दा रहेछन् । आफ्नी आमाको मृत्युमा कसरी कर्तव्यका कुरा गर्छन् होला भनेर सोच्ने म हजुरको मृत्युमा कर्तव्य सम्झेर कर्म तिर लाग्नु र दुष्मनका अगाडि आँसु लुकाउन विवश थिएँ ।
एकातिर भाइ र अर्कोतिर बहिनीले अंगालो मारेर रोइरहेको बेलामा मैले समाउने हाँगो र टेक्ने ओखट्टो पाउन सकिन । म हाँस्थे हजुरको काखमा । म रुन्थे हजुरकै काखमा । तर हजुरले नै संसार छोडेपछि सुखदुःखको भारी बिसाउने चौतारी नै भत्किएको थियो । कर्तव्यले थिचेका कारण आमाको पार्थिव शरिर माथि घोप्टो परेर रुने अवसर नपाउनु मेरो भाग्यको खेल थियो वा जेठो छोरो भएर जन्मनुको अभिसाप ।
गुँडमा बच्चालाई एक्लै छाडेर चारा चर्न गएकी आमा उतै शिकारीको फन्दामा पर्दा ती बच्चाहरुको बिचल्लीको वर्णन गर्न सक्ने शब्दहरु छैनन् मसँग । हो, त्यस्तै भएको छु । आमा बिनाको म । समयको गतिसँगै मनका बहहरुलाई लुकाउँदै बाहिरी संसारमा हाँसो देखाउन बाध्य भइँदोरहेछ । तर मनमा लागेको घाउ भने चितामा नजल्दासम्म निको हुने छाँट छैन । चाहे हजुरको जन्मदिन होस् या मेरो जन्मदिन । चाहे भाइको जन्मदिन होस् । हजुरले संसार छोडेको दिन या हजुरले दिएका आसिरवचनहरु हुन । दशैंको टीका लगाउँदै गर्दाको क्षण होस् या माघिमा तरुल खाँदै गर्दाको क्षण होस् । हजुरको याद र सम्झनाले भक्कानिन्छ मुटु र रोकिन खोज्छ स्वास । यी पीडाहरुलाई देखाउन सक्ने सामथ्र्य छैन मसँग । सक्दिन देखाउन पनि । जीवनमा हजुरसँग धेरै कुरा मागेको छु । मेरा सबै मागहरु हजुरले पूरा गरिदिनु भएको छ । अब हजुरसँग यति माग्छु, आमा ! अर्को जन्मपनि हजुरकै छोरो भएर जन्मिन पाउ । नाइँ नभन्नु है ।
एकातिर आमासँग सदाका लागि बिछोडिँदाको पीडा । अर्कोतिर टुहुराहरुलाई गिज्याउनेहरुको भीड । एउटा सुगालाई पिंजडामा राखेर यातना दिँदै रमाउँदै बारम्बार त्यो सुगालाई घोच्नेहरु यो संसारमा कति छन् कति । फलामको पिंजडा भित्र रहेको त्यो सुगाको चिच्याहटमा अट्टहास हाँसो हाँस्नेहरु कति निर्दयी हुन्छन् भन्ने कुराको यथार्थता त देखिएको थियो । आमाले सदाका लागि एक्लै बनाएर छोडेपछि त्यस्तै नियती भोग्नु परेको पीडाले अहिले पनि शरिर झमझमाइरहेको छ । बाख्राका थुन जस्तै दुई दाजुभाइ । हामीलाई निरिह ठानेर त्यसरी नै राखियो पिंजडामा र हाँसियो अट्टहास हाँसो । जसले संसारको थर्कावट भयो । जुन थर्कावट हजुरसम्म पुग्यो होला । हामीले गरेको बिलौनाको स्वर हजुरको कानसम्म गुञ्जियो होला । तर खै भगवानले पनि दया गर्न नसक्दा रहेछन् टुहुराहरुलाई । सायद प्वाँस उम्रिदै गरेका बच्चाहरु मरेर आमा बाँचिदिएको भए आमाले त्यति धेरै पीडा खप्नु पर्ने थिएन होला जति भरखरै आँखा खुलेका बच्चाहरुले चाराको पर्खाइमा च्याँ–च्याँ गर्दै घोक्रो सुकाउँदै आमालाई पर्खिरहेका हुन्छन् ।
यी पीडा, दुःख, दर्द र विलौनाहरु आमाको बियोगमा आएका हुन् । हो, जीवनमा उतार चढावहरु आउँछन् र जान्छन् । सुख र दुःख सबै झेल्छ जिन्दगीले । दुख्न छोड्छ खाटा बसेको घाउ तर मेटिदैन खाटा । हरेक कार्तिक २० गते त्यही खाटालाई कोट्याउँदै दुुख्ने गर्छु आफैभित्र । सिरकले मुख छोपेर घोप्टो परेर धित मरुन्जेल रुन्छु र पखालिन्छ अलिकति पीर । अनि फेरि सम्झन्छु आफ्नो कर्तव्यलाई ।
बाध्यता र विवशताका उकाली ओरालीहरु हिड्नै पर्छ । सजिला र अप्ठ्याराहरुसँग पौठेजोरी खेल्नै पर्छ । लुकाउनै पर्छ पीरहरु । देखाउनै पर्छ बनावटी हाँसोहरु । एकदिन म रुँदा मज्जाले हाँसेकी मेरी आमा मलाई जीवनभर रुवाउने गरि क्षितिजपारी गएको दिन आजै हो ।
पोल्छ, कार्तिक २० गतेले । दुखाउँछ, चिमोट्छ तर पनि हरेक वर्षका कार्तिक २० गतेलाई सम्झन्छु । कार्तिक २० गते बिर्सिए भने त आमा तिमीलाई बिसिन्छु । त्यसैले यो कालो दिन । मैले आमा गुमाएको दिन । म टुहुरो भएको दिन । साँच्चिकै मैले हारेको दिन र मेरो मायासँग मेरी आमाले हारेको दिन ।
केही गर्न सकिन र सक्दिन पनि । बस, हजुरका आसिरवचनहरु शिरोपर छन् । हजुरले दिएका अर्ति उपदेशहरु मुटुको कन्तुरामा पोको पारेर राखेको छु । हजुरको आत्माको चीरशान्ति र बैकुण्ठवासका लागि भगवानसँग कोटी प्रार्थना गर्दै कोमल पाउमा साष्टाङ्ग दण्डवत प्रणाम ।







