Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सडकमै गुञ्जिए सुर्खेती स्रष्टा

सुर्खेत ।

नेपाली सीमा मिचिएकोमा नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक रुपमै पहल गर्नु पर्नेमा अहिलेसम्म त्यसो हुन सकेको छैन । नेपाल सरकारलाई भारतसँग कुटनीतिक पहल गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रमहरु भइरहने क्रम जारी छ । यसै क्रममा सुर्खेतका स्रष्टाहरु सडकमै राष्ट्रियताका पक्षमा कविता वाचन गर्दै गुञ्जिएका छन् ।

प्रगतिशील लेखक संघ सुर्खेत शाखाले आयोजना गरेको सडकमै कविता कार्यक्रममा एवम् १८८ औं साहित्यिक यात्रा कार्यक्रममा सुर्खेतका स्रष्टाहरु देशभक्तले ओतप्रोत भएका कविताहरु लिएर सडकमा गुञ्जिएका हुन् ।
सीमा रक्षा र राष्ट्रियता भन्दा ठूलो अरु कुनै हुनै नसक्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि एवम् साहित्यकार डा. दीपक गौतमले सबै भन्दा पहिलो राष्ट्रियताको रक्षा गर्नु पर्ने बताए । राष्ट्रियताको रक्षा गर्न नसक्नेहरुले राष्ट्रवादको नारा लगाउनु खोक्रो भएको बताउँदै स्वाभिमानी नेपालीहरु राष्ट्रियताको रक्षा गर्न तयार छन् तर सरकारले चाल्नु पर्ने पहलकदमी चाल्न ढिला गर्न नहुने बताए ।

भारतले सीमा अतिक्रमण गरि नेपाली भूमिमाथि मात्र होइन नेपाली स्वाभिमान माथि नै धावा बोलेको बेलामा सरकारदेखि जनतासम्म एक भएर सीमा सुरक्षाका लागि लाग्नु पर्ने डा. गौतमको भनाई थियो ।

कालापानी लिपुलेक खिच्यो बैरीले
पिल्लर सारी तपाई प्रदेश मिच्यो बैरीले

गजलकार एवम् पाका कवि कर्णबहादुर बोहरा कविका यी गजलका शेरहरुले सीमामा नेपाली भूमि मिचिएको कुरालाई जोडतोडले उठाएका छन् । कार्यक्रममा साहित्यकारहरु युद्धविक्रम शाही, खगेन्द्र अधिकारी ‘अमृत’, समीक्षा नेपाल, साकार नेपाल, मायाराम न्यौपाने, टीकाप्रसाद पोखरेल, देवप्रकाश सिंह, पूर्ण भण्डारी भोकोलगायतले गजल, कविता, मुक्तक, गीत, हाइकुलगायतका रचना वाचन गरेको थिए । कार्यक्रम प्रलेश सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालको अध्यक्षतामा भएको थियो भने अविशेक दानीले संचालन गरेका थिए ।