धर्मबादमा लागेका मुर्दाबादका नाराहरु

नेपाल गोवंशदेखि महिषपाल हुँदै अहिलेको गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा थुप्रै परिवर्तनहरु भए । गाउँको सीमारेखा मात्र होइन देशकै सीमारेखा समेत परिवर्तन भयो । दौड जितेर राजा हुने लिगलिगको इतिहास कुनै जमानामा कसैले भनेको दन्त्यकथा होइन । जुन अहिले पनि जीवित छ । इतिहास लेख्नेहरुले जित्नेकै मात्र इतिहास लेख्ने प्रचलनलाई पछ्याउँदै आएका हामी नेपालीहरु अहिले पनि जित्नेकै पछि दौडिरहेका छौँ ।
केही पाउन केही गुमाउनु पर्छ भन्ने सिद्धान्तलाई लागु गरेर अगाडि बढ्ने हामी नेपालीहरुको पहिचान नै हो भन्दा फरक नपर्ला । विज्ञानले विकसित रुप लिई नसकेको अवस्थामा एउटा शासक वर्गलाई हराउँदै अर्कोले शासन व्यवस्था आफ्नो हातमा लिने र निर्धाहरु माथि शासन गर्ने परम्परा भने पुरानै हो । देवता र दानवहरु पनि यही यथार्थमा चलिरहेका थिए । त्यसैले विभिन्न युगहरुमा देवता र दानवहरुको मात्र होइन यो कलियुगमा शासक र शाषितहरुका बीचमा मतमतान्तर बढ्दै जाने र अन्तिम युद्ध नै हुने । युद्धमा जसले जित्छ त्यहीले शासन व्यवस्था आफ्नो पक्षमा पार्ने क्रम चलेको ।
विश्वको इतिहासलाई हेर्ने हो भने शासन सत्ता र शक्तिका लागि युद्ध नभएका देशहरु छैनन् । एकले अर्कोलाई हराउने र त्यसलाई पनि हराउनकै लागि अर्कोको गठबन्धन तयार हुने गरेको हेर्न, देख्न र सुन्न पाइन्छ ।
सत्ता र शक्तिमा पुग्नकै लागि नेपालमा पनि विभिन्न राजनीतिक युद्ध (आन्दोलन) हरु भएका छन् ÷हुँदैछन् । आखिर जनताको पक्षमा जे भने पनि आफ्नै हालीमुहाली गर्नेहरु नै सत्तामा पुग्छन् । जनतालाई कसरी भ्रममा हाल्न सकिन्छ भन्ने बारेमा उनीहरुले ठूलो रणनीति अपनाएका हुन्छन् । सत्तामा पुगेपछि सबैको मन बुझाउन सकिदैन भन्ने बारेमा उनीहरु एक अंशपनि सोच्दैनन् त्यत्तिबेला । अन्तमा त्यही उनीहरुको विनासको कारण बन्न पुग्छ ।
राजनीतिक युद्ध भन्दा बडो डरलाग्दो हुने गर्दछ धार्मिक र जातीय युद्ध । किनकी राजनीतिक युद्धमा राजनीतिका लागि सत्तामा पुग्नका लागि, शासन व्यवस्थाको परिवर्तन गर्नका लागि युद्ध हुने गर्दछ । राजनीतिक विचारधारा र सिद्धान्त फरक फरक हुने भएकोले राजनीतिक युद्ध त्यत्ति खतरनाक हुँदैन । त्यसको ताजा उदाहरणको रुपमा नेपालमा भएको १० वर्षे जनयुद्धलाई लिन सकिन्छ । १० वर्षसम्म युद्ध हुँदा १७ हजार मान्छे मरे । तर धार्मिक युद्ध वा जातीय युद्ध भयो भने एउटा जातीले वा एउटा धार्मिक समुदायले अर्को जाती र धार्मिक समुदायलाई स्वीकार गर्न सक्दैन । १० वर्षे राजनीतिक युद्धमा सरकार पक्ष र तत्कालिन विद्रोही पक्षका बीचमा युद्ध भएको थियो । तर धार्मिक युद्ध भयो भने वल्लो घर पल्लो घरका बीचमा युद्ध हुन सक्छ । जसले गर्दा घर घर, गाउँ गाउँ र टोल टोलबाट शुरु भएको देश भरी परालको आगो झैँ पैलिन्छ । जसले गर्दा अनगिन्ति मानव क्षति हुन सक्छ ।
यहाँ जोड्न खोजिएको सन्दर्भ सुर्खेतमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीले लगाएको नाराहरुको पनि हो । विश्वको सबै भन्दा पुरानो धर्मको रुपमा परिचित हिन्दू धर्म । हो हिन्दू धर्म हिन्दूहरुका लागि मात्र ठीक होला । अरुहरुले यसलाई जबरजस्ती मान्नु पर्छ भन्ने छैन । हिन्दू धर्मकै विरुद्धमा उक्त पार्टीले समाजमा भएको जातीय तथा धार्मिक विविधता भित्रको एकतालाई उछृङ्खल बनाउने गरी विभिन्न जिन्दाबाद र मुर्दाबादका नारा लगाए । यो ज्यादै दुःखको कुरा हो ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा सबैले आफ्नो अधिकारको लागि लड्ने अधिकार छ । तर आफ्नो अधिकारको लागि लड्नु छ भन्दैमा अर्काको अधिकारको हनन् गर्न पाइने छैन भन्ने नेपालको संविधानमै उल्लेख भएको छ ।
सुर्खेतमा देखिएको उक्त आपत्तिपूर्ण कार्यको विरुद्धमा हिन्दूहरुले पनि मंगोल नेशनल अर्गनाइजेशन पार्टीका झण्डा च्यात्नेदेखि उनीहरुको विरुद्धमा जिन्दाबाद र मुर्दाबादको नारा लगाए । यो पनि धार्मिक विविधता भित्र एकतामा बाँधिएर बसेको समाजको लागि सहज थिएन र होइन पनि ।
मंगोल नेशनल अर्गनाइजेशनले समाज भड्काउने कार्य गरिरहेको बेला प्रशासन पनि टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेन । उनीहरुलाई आफ्नो अधिकारको लागि बोल्ने अधिकार त होला तर नेपालको संविधानमै उल्लेख भएको राष्ट्रिय जनावर गाई र नेपालको राष्ट्रिय झण्डा माथि धाबा बोल्ने अधिकार छ ? विश्वको उत्कृष्ट दश भित्र पर्ने नेपालको राष्ट्रिय झण्डालाई वर्तमान संविधानले समेत स्वीकार गरेर संविधानमै उल्लेख गरिसकेपछि उ्रक्त झण्डा माथि लगाइएको लाल्छना राष्ट्र माथि धाबा बोलिएको हो भनेर किन बुझ्न सकेनन् सम्बन्धीत सरोकारवालाहरुले । आज एउटा समूह र अर्को समूह बीचमा यस्तो वेमनश्यताको शुरुवात भएको छ । भालि सबै धर्मालम्बीहरुको बीचमा एकले अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने वातावरणको सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले कुनै पक्षबाट पनि यस्ता खालका समाजमा खलल पुग्ने गतिविधिहरु हुन नदिने जिम्मेवारी सरकारको हो । राजनीतिक दलहरुले पनि यसको बारेमा सोच्न जरुरी छ । राजनीतिक दलहरु आफै जाती, धर्म, समुदाय र भू–गोलका आधारमा हिमालदेखि तराईसम्मका नेपालीहरुका बीचमा फाटो ल्याउन उद्दत देखिएको छन् । त्यसैले कोही कसैको धर्मप्रति जिन्दाबाद र मुर्दाबादको नारा नलगाउँदा नै राम्रो होला ।









