Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

राप्ती साहित्य परिषद् रोल्पाको तेस्रो अधिवेशन चैत्र २१ मा हुने

रोल्पा १८ चैत्र ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको तेस्रो अधिवेशन चैत्र २१ गते हुने भएको छ । जिल्ला शाखाका अध्यक्ष गोकर्ण पुनमगरको अध्यक्षतामा बसेको बैठकले तेस्रो अधिवेशन लिबाङमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
अधिवेशन सम्पन्न गर्नका लागि लोक आलोकको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको जिल्ला शाखा अध्यक्ष पुनमगरले जानकारी दिए । निर्वाचन समितिमा महेन्द्र महक र खेमराज गाउँले सदस्य रहेका छन् ।
२०६४ सालमा जिल्ला संयोजन समितिको रुपमा स्थापित परिषद्ले जिल्लामा रहेर विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । जिल्ला शाखाले नियमित रुपमा हरेक महिनाको १५ गते ‘स्रष्टा चौतारी’ कार्यक्रम सञ्चालन गर्छ । त्यस्तै २५ भन्दा बढी स्रष्टाहरुको कृतिको प्रकाशकीय जिम्मेवारी लिनुका साथै ‘स्रष्टा चौतारी’ हवाई पत्रिका र ‘शीतविन्दू’ साहित्यिक पत्रिका समेत प्रकाशन गर्दै आएको छ ।

ललितको वार्षिकोत्सव पनि

ललित साहित्य परिषद्, रोल्पाले चैत्र २१ मा लिबाङमा आफ्नो १६ औं वार्षिकोत्सव मनाउँदैछ ।
परिषद्का अध्यक्ष लोक आलोकको अध्यक्षतामा हालै बसेको बैठकले वार्षिकोत्सवको अवसर पारी २१ गते सोमबार लिबाङमा साहित्यिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
परिषद्ले रोल्पा जिल्लामा विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आएको हो । डी.बी. टुहुरोको अध्यक्षतामा २०५७ सालमा परिषद् गठन भएको हो । टुहुरोसहित विनय श्रेष्ठ, कृष्ण डी.सी. निर्जन र ओम केसीले परिषद्को नेतृत्व गरिसकेका छन् ।
परिषद्ले हालसम्म विभिन्न स्रष्टाहरुका २७ भन्दा बढी विभिन्न विधाका कृतिहरु प्रकाशन गरेको छ । परिषद्ले ‘शब्दसारथि’ साहित्यिक पत्रिका दर्ता गरेर प्रकाशन गरिरहेको छ भने ‘लालित्य’को ११ औं अंकको प्रकाशन तयारी गरहेको परिषद्का अध्यक्ष लोक आलोकले बताए । विभिन्न साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै परिषद्ले नियमित द्वैमासिक रुपमा एकल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।