गेहेन्द्रको उम्मेदवारीदेखि झस्किएकाहरू

नेपाली राजनीतिक विषयको विश्लेषण गर्दा राणा शासनको शुरुवातलाई पनि हेर्न आवश्यक छ । नेपाली राजनीतिमा राणाहरुले प्रवेश पाएसँगै शक्ति र सत्ताको लागि एकले अर्कोलाई पछाडि पार्ने खेलको शुरुवात भएको पाइन्छ । हुन त यो खेल गोपाल वंशदेखि नै चल्दै आएको इतिहास छ । राणाहरुले पद लोलुपताकै कारण आफ्नै भाइछोराहरुको विचमा बर्गिकरणको नीति ल्याएपछि राणा शासन कमजोर भएको इतिहास साछी छ । राजनीति कठोरतामा मात्र टिक्दैन उदारवादी पनि हुनु पर्छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा राणा शासनलाई नै हेर्न सकिन्छ


राणा शासनको अन्त्य हुनुमा तत्कालिन राजा त्रिभुवनले राजगद्दीको समेत वेवास्था गर्दै नेपालमा प्रजातन्त्रको स्थापना गर्नमा दिएको योगदानलाई पनि बिर्सन हुँदैन । राणाहरुको निरंकुश शासनबाट मुक्ती दिलाउनका लागि राजा त्रिभुवनको त्याग र योगदानलाई आज सम्झनेहरु कमै छन् ।

नेपाली राजनीतिले लिएको मोडको काल खण्डलाई हेर्ने हो भने नेताहरुको अदुरदर्शी सोचका कारण नै २०१७ सालमा प्रजातन्त्रले कलिलै उमेरमा मृत्युवरण गर्नु परेको थियो । करिब ३० वर्षको पञ्चायती शासन कालमा नेपाली जनताको राजनीतिक चेतनाको स्तर कत्तिको माथि उठेको थियो भनेर आंकलन गर्न जो कसैलाई पनि अप्ठ्यारो पर्दैन ।

बहुदलीय प्रजातन्त्रको पुनस्थापना भइसकेपछि राजनीतिक दलका नेताहरुले एक अर्काको अस्तित्वलाई स्वीकार्न नसकेका कारण नेपाली जनताले १० बर्षे जनयुद्धको सामना गर्नु पर्यो । जसले गर्दा देशको विकासको गति निकै पछाडि पर्न गयो । अहिले पनि हामी बिजुली बत्तिको लागि, खाद्यनको लागि मात्र होइन तिहारमा माला लगाउनका लागि चाहिने सयपत्री फूलको लागि समेत परनिर्भर भएर बाँच्नु परेको छ । देशमा हुने राजनीतिक परिवर्तनले एउटा बसेको शासन सत्ताको कुर्सीमा अर्कोलाई पठाउने मात्र नभई नेपाली जनताले पनि परिवर्तन पश्चात पाउनु पर्ने सेवा सुविधा र भौतिक, आर्थिक, सामाजिक विकासको अनुभव गर्न पाउनु पर्ने हो तर त्यसो हुन सकेको छैन ।

देशमा स्थायी शान्ति स्थापना हुन नसक्नु यसको प्रमख कारण हो । स्थायी शान्ति स्थापनाका लागि राजनीतिक दलहरुले चाल्नु पर्ने कदम अहिलेसम्म चाल्न सकेका छैनन् । यो उनीहरुको ठूलो कमजारी हो ।

गत संविधान सभाको निर्वाचनमा सुर्खेतमा एमालेले नराम्रो हार व्यहोर्नु परेको कुरा कसैबाट छिपेको छैन । पार्टीको आन्तरिक विवाद मिलाउन नसक्दा दैलेखमा काँग्रेस मक्किएको काठ झैँ ढलेको छ । सुर्खेतमा विशेष गरी हेरिने वीरेन्द्रनगर नगरपालिकामा धमाधम उमेद्वारीहरु घोषणा गर्ने क्रम जारी भइसकेको छ । ४ वर्ष नेपाल शिक्षक संघको सचिव, ४ वर्ष अध्यक्ष समेत भएर शैक्षिक जगतको नेतृत्वको अनुभव बटुल्दै जेसिसको केन्द्रिय नेतृत्वमा समेत सफलता हात पारेका गेहेन्द्र प्रसाद दाहालले स्वतन्त्र रुपमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखको उमेद्वारी घोषणासँगै सुर्खेती राजनीतिक माहोल दिन प्रतिदिन बढ्दै गएको गर्मी भन्दा धेरै तातिएको छ ।

हिजोका दिनमा खरले खाएको छानामुनी बसेर पढिरहेको बेला आकाशे बर्षालाई खरले छेक्न नसकेका कारण आफ्ना कापी किताब जोगाउन मुस्किल भइरहेको घुस्रा विद्यालयमा प्रधानाध्यापकको रुपमा काम गर्दै गर्दा विद्यालय प्रतिको समर्पण र आफ्नो जिम्मेवारीलाई बोध गर्ने क्रममा गरेको कार्यले उक्त विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित हुन सफल भएको थियो । जसको कारणले उक्त विद्यालयका अभिभावकहरुले उनलाई काँग्रेस निकट भन्दा पनि शिक्षा निकटको रुपमा, विकास निकटको रुपमा र जिम्मेवारी पूर्णता गर्ने असल नेतृत्वकर्ताको रुपमा हेरे । आज पनि दाहालले गरेका कार्यहरुको प्रसंशा जुनसुकै पार्टीमा आस्था र विचार राख्नेहरुले गरिरहेका छन् ।

इत्राम विद्यालयले भोगिरहेको थियो टिठ लाग्दो अवस्था । भौतिक एवम् शैक्षिक क्षेत्रमा निकै दयनीयबाट गुज्रिरहेका विद्यालयमा दाहालको प्रवेशसँगै कसरी चमत्कारी खेल भयो भन्ने बारेमा उक्त विद्यालयका विद्यार्थी, अभिभावक मात्र होइन शिक्षा क्षेत्रमा सरोकार राख्ने सम्बन्धित निकायहरु समेत चकित भएको अवस्था छ । इत्राम विद्यालयले गरेको प्रगति देखेर दाहालको प्रसंशा गर्नेहरुको कमी छैन । स्पष्ट विचारका धनि भएकैले होला उनले २०७० साल साउन १ गते पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको कुनै पनि पदमा सक्रिय भूमिमा नरहने घोषणा समेत गरे । जसले गर्दा उनलाई आफ्नो व्यक्तित्व निर्माण गर्नमा अझ सहज बनायो ।

वर्तमान सरकारले स्थानीयतहको निर्वाचनको घोषणासँगै आफूलाई वीरेन्द्रनगर नगरपालिकाको प्रमुखको उमेद्वारको रुपमा सबै माझ उभ्याउँदै अगाडि बढेका थिए । धेरैको अड्कल थियो । उनी नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बन्ने छन् । अन्ततः उनी स्वतन्त्र उमेद्वारको रुपमा देखा परे । हिजोका दिनमा नेपाली काँग्रेसमा रहेर राजनीति गरेका कारण र विपीको समाजवादको सिद्धान्तबाट प्रभावित हुँदाहुँदै पनि उनी काँग्रेसको तर्फबाट उमेद्वार बन्न चाहेनन् वा सकेनन् । काँग्रेसहरुले उनलाई उमेद्वार नबनाएकै कारण उनी स्वतन्त्र उमेद्वारको रुपमा खडा भएको अर्थ लगाउन सकिने अवस्था छैन । किनकी पार्टीमा उमेद्वारको ढुगो लागेकै छैन । त्यसैले उनी टिकटको पछि, अन्य शीर्ष नेताहरुको चाकडी तर्फ भन्दा पनि जनताको मत जित्ने योजनाका साथ लागेका छन् ।

उनले निर्वाचन जित्नु हार्नु स्वभाविक ठहर्ला । तर जुन क्रियाकलापका लागि उनी नगर प्रमुख बन्ने योजनामा लागेका छन् ती क्रियाकलाप भने पक्कै पनि अग्रगामी हुन सक्छन् । उनको उमेद्वारीबाट काँग्रेस मात्र होइन अन्य दलका समकक्षीहरु समेत त्रसित भएको देखिन्छ ।

उनको उमेद्वारीले एकातिर उनको नेतृत्व, क्षमता र दक्षतालाई राम्रोसँग चिन्नेहरु खुसी छन् भने अर्को तिर हिजोका दिनमा फुट र गुटको राजनीतिले पारेको असरलाई आंकलन गर्नेहरु पनि छन् । दाहालको उमेद्वारीको घोषणाले काँग्रेस नराम्रोसँग झस्किएको छ भने एमाले लगायतका अन्य दलहरु पनि नराम्रोसँग तर्सिएका छन् । अन्त्यमा उनको उमेद्वारीले कसलाई झड्का लाग्ने त्यो हेर्नका लागि वैशाख ३१ मा स्थानीयतहको निर्वाचन हुनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *