Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

ध्वनी प्रदुषणले आक्रान्त शैक्षिक क्षेत्र

“कसले गर्ने यसको व्यवस्थापन”

क्वीकखबर सम्वाददाता
सुर्खेत ।
रत्न राजमार्गको बाटो भएर सुर्खेत उपत्यका प्रवेश गर्ने द्वार सुब्बाकुना देखि कर्णाली राजमार्गको लागि बाहिर निस्कने अर्को द्वार बाङ्गेसिमलसम्म फोरलेन बाटोको निर्माण भइरहेको छ । यो बाटोको निर्माण कार्यले सवारी साधन आवागमन झण्झटिलो र अव्यवस्थित बनेको छ । एकातिर धुलोको कारण अर्कोतिर सडक निर्माण भइरहेकोले कतै परेका खाल्डा त कतै निर्माण सामग्रीको थुप्रो । त्यही झण्झटको कारण अधिकांश सवारी साधनहरु महिला विकास नजिकैबाट माटो मोड्छन् र लाग्छन् मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रिय क्याम्पस र त्रिभुवन विश्वविद्यालयको सुर्खेत क्याम्पस (शिक्षा) रहेको शैक्षिक क्षेत्रको  बाटोतिर ।


उक्त बाटोमा गुड्ने प्रायः सवारी साधनहरुले अनावश्यक रुपमा हर्न बजाउने र ध्वनी प्रदुषण गर्ने गरेका छन् । त्यति मात्र होइन उनीहरुले बजाउने गीतको आवाजले क्याम्पस रोड लाइनका घरहरुमा बहालमा बस्ने विद्यार्थीहरुलाई समेत असर गरेको छ ।
क्याम्पस क्षेत्रमा नभई अन्य शैक्षिक क्षेत्रहरु जस्तै अमर ज्योति उच्च माध्यमिक विद्यालय नेवारेको शैक्षिक भवनकै आडमा मोटर बाटो छ । भित्र विद्यार्थीहरु पढिरहेका हुन्छन् तर बाहिर सवारी साधनले निकाल्ने ध्वनीका कारण उनीहरुको ध्यान पढाइमा भन्दा कति बेला कर्कश आवाज आउने र कानै दुखाउने हो भन्ने तिर बढि हुन्छ । त्यसै गरी अन्य विद्यालयहरुमा पनि यो समस्या छ । तर यसको न्यूनिकरणका लागि कुनै कसैले पहल गरेका छैनन् ।

उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरु समेत ध्वनी प्रदुषणबाट पीडित बनेका छन् । त्यसको न्यूनिकरण गर्नका लागि सम्बन्धित सरोकारवालाले चासोसम्म दिएका छैनन् ।

शैक्षिक क्षेत्रको नजिकमा हिड्दा मात्र नभएर सकेसम्म अन्य क्षेत्रहरुमा समेत वातावरणलाई प्रदुषित बनाउनु हुँदैन तर क्याम्पस लाइनको बाटो भएर हिड्ने सानादेखि ठूला गाडिहरुले अनाावश्यक बजाइने हर्नले शैक्षिक क्षेत्रमा ध्वनी प्रदुषण निकै बढेको छ । ट्राफिक नियमको पालना गर्नु भन्दा पनि ट्राफिकको आँखा कसरी छल्न सकिन्छ भनेर सोचिरहने सवारी चालकहरु कुन क्षेत्रमा सवारी चलाउँदा के के संयमता अपनाउनु पर्छ भन्ने ज्ञानको प्रयोगसम्म गर्दैनन् । जसले गर्दा एकातिर शहर अव्यवस्थित हुन जान्छ भने अर्कोतिर दुर्घटनाको सम्भावना बढेर जाने गरेको छ । त्यसको बलियो उदाहरण तल्लो हटिया (उद्योग बाणिज्य संघको कार्यालय अगाडि) चोक, नेता चोक, वीरेन्द्र चोकमा प्राय जसो जाम परेको झैँ सवारी साधनहरु देख्न पाइन्छ ।

पछिल्लो समयमा सामान ढुवानीका लागि सजिलो र छितो छरितो साधनको रुपमा रहेको पाउटेलरको आवाजले त ध्वनी मात्र होइन वातावरण समेतलाई असर पारिरहेको छ । वीरेन्द्रनगर बजार क्षेत्र पहिलेको भन्दा साँघुरिँदै गएको छ । सवारी साधनको चापले गर्दा पैदल यात्रीहरुलाई बाटो काट्न समेत अप्ठ्यारो पर्न थालेको छ । अर्काेतिर बजार व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिएको कारण सवारी साधनको पार्किङ्गस्थल नभएको र सकेसम्म आफ्नो सवारी साधनलाई सही स्थानमा पार्किङ्ग गरेर सभ्य नागरिकको परिचय दिनु पर्छ भन्ने ज्ञान र व्यवहारको अभावले गर्दा जहाँ पायो त्यही सवारी साधनको पार्किङ्ग हुन थालेपछि वीरेन्द्रनगर बजार सुन्दर होइन अस्तव्यस्त देखिन थालेको छ ।

वीरेन्द्रनगर बजारको मुख्य क्षेत्रमा समेत ध्वनी प्रदुर्षणले हैरानी पारेको छ । प्रायः युवापुस्ताहरु मोटरसाइकलको यात्रामा हुन्छन् । उनीहरुले अनावश्यक रुपमा समेत हर्न बजाउने र मोटरसाइकलको साइलेन्सरबाट आउने कानै दुखाउने आवाजको कारण कान थुनेर हिड्नु पर्ने बाध्यता छ । सवारी चालकहरुले बिच सडकमै गाडि रोकर अन्य सवारी साधनलाई आवागमनमा समेत अवरोध पु¥याएको अवस्थामा झनै ध्वनी प्रदुषण गराउने हर्नहरुको ट्याँ ट्याँ र टु टु को आवाजले नजिकैका पसललेहरुलाई समेत हैरान पार्ने गरेको बताउँछन् फलफूल पसले हरिचन्द्र थापा ।

वीरेन्द्रनगरको केन्द्र मानिने वीरेन्द्र चोकमा ट्राफिक प्रहरीको ड्यूटी हुन्छ । अनावश्यक रुपमा हर्न बजाइरहेका सवारी चालकहरुलाई उनीहरु केही भन्न सक्दैनन् । एकातिरबाट गाडि आइरहेको देखेर पनि त्यसको मतलब नै नगरी बाटो काट्ने पैदल यात्रीको बानीको कारण पनि धेरै हर्न बजाउनु पर्ने अवस्था आएको हो भन्छन् मोटर साइकल चालक मीन राज शर्मा । पैदल यात्रीहरु फुटपातबाट हिडुन् पर्नेमा उनीहरु बिच सडकबाट हिड्ने गर्नले पनि सवारी आवागमनमा समस्या उत्पन्न हुने गरेको देखिन्छ । ठूला सवारी साधनहरु जत्तिबेला पायो त्यत्तिबेला बजार क्षेत्रमा प्रवेश गर्छन र अनावश्यक रुपमा हर्न बजाउँछन् जसले गर्दा पनि ध्वनी प्रदुषण समस्याको रुपमा रहेको छ ।

ठूला सवारी साधनहरुलाई निश्चित तोकिएको समयमा मेन बजार क्षेत्रमा प्रवेशमा रोक लगाइएको भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख सावन सिंह क्षेत्रीका अनुसार मोटरसाइकल
चालकले साइलेन्सरबाट निकाल्ने अस्वभाविक ध्वनी नियन्त्रणका लागि भने पहल चालिरहेको बताउँछन् । उनले भने ट्राफिकले गर्नु पर्ने कार्य गर्नमा कदापी पछि पर्दैनौ । कतिपय स्थानमा ध्वनी मात्र नभएर अन्य वातावरणमा समेत प्रदूर्षण भएको छ । फोरलेन बाटोको निर्माण कार्य भइरहेकोले पनि यो समस्या आएको छ । अर्कोतिर आवश्यकता अनुसारको ट्राफिक प्रहरीको जनशक्तिको अभावका कारणले गर्दा सोचे अनुसारको काम गर्न समस्या परेको सिंहले बताए ।
पछिल्लो समयमा स्थानीयतहको निर्वाचनको कारणले पनि धेरै जनशक्तिको आवश्यकता पर्ने भएकोले जनशक्ति अपुग भएको हो । स्थानीयतहको निर्वाचनलाई मध्य नजर गरे धेरै स्थानहरुमा विशेष सुरक्षा व्यवस्था समेत मिलाउनु पर्ने आवश्यकता छ । ध्वनी प्रदुषण मात्र नभई व्यवस्थित सवारी आवागमनलाई सहज बनाउनु ट्राफिक प्रहरीको कर्तव्य हो ।

शहरी क्षेत्रमा हुने ध्वनी प्रदुषण र फोहोर व्यवस्थापनलाई बेलैमा व्यवस्थित ढंगले व्यवस्थापन गर्न सकिएन भने भविष्यमा यसले विकराल रुप लिने निश्चित छ । सम्बन्धित सरोकारवालाहरुले बेलैमा सोच नपुर्याउने हो भने भविष्यमा काठमाडौँको झैँ डोजर चलाउनु पर्ने अवस्थाको सिर्जना नहोला भन्न सकिदँैन ।

प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्र अहिले उद्योग बाणिज्य संघको पहलमा जडान गरिएको सिसि क्यामेरा निगरानीमा छ । बजार क्षेत्रमा हुने चोरी, लुटपात लगायतका घटनाहरुलाई न्यूनिकरण गर्न यो प्रविधि कत्तिको प्रभावकारी हुन्छ त्यसको परिणामको लागि भने अझैँ केही समय पर्खनै पर्ने हुन्छ । वैशाख ३१ मा हुन गइरहेको निर्वाचनबाट साँच्चिकै वीरेन्द्रनगरलाई आधुनिक शहर निर्माण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई निर्वाचन जिताउन आवश्यक छ ।