मर्दैछन् मातृभाषाहरु : कागजमै सिमित राखेर होला त भाषाको विकास
सुर्खेत ।
नेपाली भाषा नेपालको राष्ट्र भाषा हो । यही राष्ट्र भाषा नै सरकारी कामकाजको भाषा पनि भएकोले अधिकांश नेपालीहरुले नेपाली भाषा बोल्छन् र बुझ्न्छन् । तर अन्य भाषाहरु मातृभाषाको रुपमा वा भाषिकाको रुपमा समेत बोलिदै आएका छन् । बहुभाषिक, बहुसांस्कृतिक , बहुधार्मिक एवम् भौगोलिक विविधताले भरिएको देशको रुपमा चिनिँदै आएको नेपाल भित्र करिब १ सय २३ जातजातिको बसोबास रहेको छ भने नेपालमा विभिन्न भाषा भाषिकाहरु बोलिँदै आएका छन् ।

नेपालमा गणतन्त्रको स्थापना हुनु पूर्व न विभिन्न मातृभाषाहरुमा पाठ्यक्रम तयार गरी प्राथमिकस्तरमा मातृभाषामा समेत कक्षा संचालन शुरु भइसकेका थिए । तर मातृभाषाका कक्षाहरु कत्तिको उत्पादनशील भएका छन् त भनेर अहिलेसम्म ठोस निष्कर्ष निस्कन सकेको भने पाइँदैन ।
सुर्खेतलाई हेर्ने हो भने सुर्खेतमा राजी, माझी, थारु, नेवार, मगर, गुरुङ, खाम्पा, कामी, दमाई, बाहुन, क्षेत्री, ठकुरी, लगायतका जातजातिहरुको बसोबास रहेको छ । त्यसै गरी बौद्ध, हिन्दु, मुस्लिम, क्रिस्चियन धर्मालम्बीहरु रहेका छन् । जुनसुकै धर्म समुदायमा रहेको भएपनि यस जिल्लामा बसोबास गर्ने प्रायः सबै जातजातिहरुले नेपाली भाषा बोल्छन् र बुझ्दछन् । तर कतिपय जातजातिका आफ्नै मातृभाषाहरु पनि छन् । जस्तै मगरहरुको मगर भाषा, थारुहरुको थारु भाषा, गुरुङहरुको गुरुड भाषा, मुस्लिमहरुको उर्दुभाषा आदि । आजका दिनसम्म आइपुग्दा पछिल्लो पुस्ताले आफ्नो मातृभाषा बिर्सन थालेका छन् । पुस्तान्तरण हुँदै जानेक्रममा मातृभाषाहरुको संरक्षण र सम्बद्र्धन हुन सकेन भने मातृभाषाहरु लोभ भएर जाने निश्चित छ ।
सबै भन्दा पुरानो, काव्यिक र रसिलो भाषाको रुपमा रहेको संस्कृत भाषा आज अपवादको रुपमा केही ब्राह्मण पण्डितहरु बाहेक अरुले बुझ्दैनन् । नेपालमा नेपाली भाषाको बृद्धि विकास हुनुपूर्व सरकारी कामकाजको भाषाको रुपमा रहेको संस्कृत भाषालाई माओवादीले गरेको जनयुद्ध ताका यो ब्राह्मणहरुको भाषा हो भनेर विद्यालयहरुमा यसको पठनपाठनमा रोक लगाइएको थियो । फलस्वरुप यस भाषाको पठनपाठन बन्द भयो । लगभग २०५६ सालसम्म कक्षा ४ देखि ७ सम्म यस भाषाको पाठ्यक्रमको पढाइ हुने गरेको थियो । त्यसपछि माथि पनि संस्कृत पढ्न चाहने विद्यार्थीहरुले संस्कृत पढाइ हुने विद्यालय खोजेर पढ्ने गरेका थिए । तर अहिले नेपालमा एउटा संस्कृत विश्वविद्यालय भएपनि तल्लो तहमा संस्कृतका अध्यायन अध्यापन नहुने भएकोले यो भाषा मृत्युशैयामा रहेको छ भन्दा फरक नपर्ला ।
भोलिका दिनहरुमा अन्य मातृभाषाहरुको अवस्था पनि संस्कृत भाषाको झैँ नहोला भन्न सकिन्न । आज थारु भाषाको अवस्था पनि यस्तै हुन खोजेको छ । नेपालमा बोलिने सबै भाषा र भाषिकाहरु हाम्रा संस्कृति र सम्पत्ति हुन । सबै तह र तप्काबाट यिनीहरुको विकास संरक्षण र सम्बद्र्धन हुन आवश्यक छ । तर अंग्रेजी पढ्ने र पठाउने नाममा हाम्रा मौलिक संस्कृतिको जगेर्ना गर्न समेत हामी पछि परेका छौँ ।
वीरेन्द्रनगर ११ निवासी कल्लु थारुको ७ जनाको परिवार छ । परिवारका ७ जना मध्ये दुई जनाले मात्र थारु भाषा बोल्छन् । कल्लु र उनकी श्रीमति । उनको छोरा जयरामले त थारु भाषा पुूरै बुझ्छन् तर घरमा समेत बोल्दैनन् । अनी बुहारी निर्मला त थारु भाषा बोल्नु भन्दा बुझ्दै बुझ्दिनन् । किनकी जयरामले अन्तरजातीय विवाह गरेका छन् । निर्मला थापा क्षेत्रीकी छोरी हुन् । कल्लुका १ नाती र १ नातिनी पनि छन् । नातीनातिनी पनि थारु भाषा बोल्न र बुझ्न सक्दैनन् । जयरामले आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढ्न पठाउँछन् । उनीहरुले अंग्रेजीमा लेखिएका वाक्यांश शुद्ध उच्चारण गर्दछन् तर नेपाली भाषामा लेखिएका वाक्यांशहरु अशुद्ध । यसबाट पनि के प्रष्ट हुन्छ कि हामी आफ्नो मातृभाषाको जेगेर्नाको लागि के काम गरिरहेका छौ । अझ भन्नु पर्दा हामी अंग्रेजी भाषा सिक्दै जाने क्रममा कतै आफ्नो भाषा त मारिरहेका छैनौ ।
सुर्खेतमा बसोबास गर्ने अधिकांश नेवारहरुले नेवारी भाषा बोल्दैनन्, मगर समुदायका पछिल्लो पुस्ताका युवाहरुले मगर भाषा बोल्दैनन् थारु समुदायका युवा पुस्ताहरुमा पनि यस्तै समस्या छ भने राजी, गुरुङ समुदायमा पनि यसले असर पारिरहेकै छ । सम्बन्धित सरोकारवालाहरुले विभिन्न मातृ भाषालाई संरक्षण गर्ने कार्य कागजमा मात्र सिमित राखेको खण्डमा कुनै पनि भाषाको संरक्षण हुन सक्दैन ।
सुर्खेत साटाखानी ४ निवासी रण बहादुर मिदुन मगरले पनि आफ्ना बच्चाबच्ची नीजि विद्यालयमा पढाइरहेका छन् । तपाइँका सन्ततीले त तपाईको मातृभाषा बिर्सने भए नि भन्ने हाम्रो प्र्रश्नमा उनले भने पढेर भोलि सरकारी जागिरको लागि प्रतिस्पर्धा गर्नमा मगर भाषाले होइन अंग्रेजी भाषाले सहयोग गर्छ । जागिर नपाएर वैदेशिक रोजगारमा जानु पर्दा पनि अंग्रेजी भाषाले नै सहयोग गर्छ । अनि म अंग्रेजी पढाउन थालौँ कि मगर भाषा । घरमा अलि अलि बोलिन्छ अलि अलि बोल्छन् त्यति भए पुग्छ । तर अंग्रेजी त नभई हुँदैन ।
पछिल्लो समयमा भाषा र संस्कृतिमा नेपाल सरकारले ठूलै रकम छुट्याउने गरेको छ । मातृभाषाका पाठ्यक्रम निर्माण पनि भएका छन् । तर मातृभाषा पढाउनका लागि किन अभिभावकहरु तयार छैनन् त भन्ने कुरालाई समेत अनुसन्धान गरेर मातृभाषाहरु जोगाउन नेपाल सरकारले अझ विशिष्ट रणनीति अपनाउन सक्नु पर्छ । अन्यथा यो कागजमै मात्र सिमित राखेर मातृभाषाको संरक्षण र सम्बद्र्धन एवम् जगेर्ना हुन सक्दैन ।





