Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

वर्षातमा ढिलाइ भएकोले असार पन्ध्रमा हिलो खेल्नै पाएनन् किसानले

सुर्खेत
यस वर्षको मनसुनी वर्षा हुन ढिलो भएकोले असार पन्ध्रमा किसानहरुले हिलो खेल्न समेत पाएनन् । । आकाशे पानीकै भरमा खेतमा रोपाइँ हुने भएकोले सुर्खेत उपत्यकाका किसानहरुले असार पन्ध्र अर्थात धान दिवसका दिनमा हिलो खेल्नबाट बञ्चित हुनु परेको हो । रोपाइँ गर्ने कुरा त परै छ राम्रोसँग बिउ समेत राख्न पाएका छैनन् किसानहरुले । अद्यपी पहाडि क्षेत्रहरुमा खोलाको पानीबाट सिंचाई हुने स्थानहरुमा भने रोपाइँ धमाधमा चलिरहेका छन् ।


सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा भएका अधिकांश खेतमा मनसुनी वर्षा भएपछि मात्र रोपाइँ हुने गर्दछ । यहाँ सिंचाईको कुनै सुविधा नभएका कारण यस्तो समस्या झेल्नु पर्ने बाध्यकारी अवस्था छ । नारा (सानो खोला) को छेउमा भएका खेतहरुमा पानी तान्ने मोटर तथा पप्पसेटको प्रयोग गरेर राखेको बिउ पनि वर्षा नभएका कारण सुख्खा भएको छ । बिउ सिंचाई गर्ने पानी समेत नभएकोले बिउ नै सुक्न थालिसकेको पीडा सुनाउँछन् किसानहरु । पानीको अभावमा जेनतेन कुवा र इनारको पानी प्रयोग गरेर राखेको बिउ समेत मर्ने अवस्थामा पुगेको छ । अधिकांश किसानहरुले त बिउ राख्न समेत पाएका छैनन् ।

दीर्घकालिन सोचका साथ सिंचाइको व्यवस्था नभएकोले वर्षेनी भोग्नु पर्ने समस्या हो यो । समयमै धान रोप्न नपाए उत्पादनमा समेत कमी आउने भएकोले किसानहरु चिन्तित देखिन्छन् । सुर्खेत उपत्यका भित्रका खेतहरु यति बेला जोतखन गरेर हिलाम्य र धुलाम्य हुने बेलामा खेतमा हरियो दुबो उम्रिएको छ । खेतका गराहरु फाटेर चिरा चिरा परेका छन् ।
मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाले गरेको भएपनि सुर्खेत लगायतका क्षेत्रमा अझैँ बर्षा हुन सकेको छैन । सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ ।

सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गरे पनि यसवर्ष भने पश्चिम नेपालमा मनसुनको प्रभाव पर्न सकेको छैन ।

दक्षिण एसियामा, मनसुन बङ्गालको खाडी हुँदै उत्तर पूर्व्ितर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बङ्गालको खाडीमा तथा बङ्गालादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।

नेपालमा प्रि मनसुन अवधिको सकिन लाग्दा पनि बङ्गालको खाडीबाट मनसुनी वायु चक्रबात उड्न सुरु भइसकेको छ । यो मनसुनी वायुको सुरुको दिशा नेपालतर्फ डोरिए पनि पछिल्लो चरणमा बङ्गलादेशको आकाशमा रुमलिएकाले यसको प्रभाव नेपालसम्म खासै नपर्ने मौसमविद्ले दाबी गरेका छन् । यसरी आएको मनसुनले पूर्वी पहाडि क्षेत्र र मध्य तराइका केही क्षेत्रहरुमा भने बर्षात पटक पटक वर्षात भइरहेको छ ।