Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

बहाल कर बहालवालालाई नै तिराउँछन् घरभेटी : चालु आ.व.मा साढे सात प्रतिशतले बृद्धि

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेका अघिकांश घरभेटीहरु घर बहाल कर बहालवालालाई नै तिराउँने गर्दछन् । सुर्खेत कर्णालीको प्रवेशद्वारको रुपमा चिनिन्छ । यस क्षेत्रका प्रायः सबै जिल्लाहरुको व्यापारिक केन्द्रको रुपमा वीरेन्द्रनगरलाई नै मानिन्छ । त्यसैले पनि वीरेन्द्रनगरमा व्यापारिक गतिविधि बढ्नु स्वभाविक हो । कुनै पनि शहरका प्रायः व्यापार गर्ने व्यापारीहरु अर्काको घर बहालमा लिने र व्यापार गर्ने
गर्दछन् ।

घर बहालमा लिनका लागि ठोस किसिमको कानुन नहुँदा पनि यहाँका अधिकांश घरभेटीहरुले घर बहाल कर आफूले नतिर्ने र बहालवालाहरुलाई नै तिराउने गरेका हुन ।

हालसम्मको अवस्था हेर्ने हो भने बहालमा बस्ने र घरधनीबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको छ । त्यसैले गर्दा घरभेटीहरुले मनोमानी भाडा बढाउने गरेका छन् । घर बहाल बढाउनका लागि कुनै पनि निश्चित मापदण्डको प्रयोग भएको पाइँदैन । बहाल कर तिर्न, बहाल बढाउन र बहालको सम्झौताका लागि कुनै कानुनी आधार नबनेका कारण पनि मनोमानी रुपमा एकातिर बहाल बढाउने र अर्कोतिर बहाल कर नतिर्ने गरिएकोले राजश्व संकलनमा कमी आएको छ ।

सुर्खेतको वीरेन्द्रनगर अब प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा विकासित हुँदैछ । प्रदेशको राजधानीको रुपमा विकसित भइसक्दा पनि यहाँ बहालमा बस्ने र घर बहालमा दिने मापदण्डको स्पष्टता नहुनु एकातिर राजश्वमा घाटा लाग्नु हो भने अर्कोतिर घरधनीहरुको मनोमानी बढ्नु पनि हो ।

आन्तरिक राजश्व सेवा कार्यालयले व्यापारीहरुले राजश्व बुझाउन गएको बेलामा उनीहरुसँगै बहाल कर समेत असुल्ने गरेको छ । घरकर र बहाल कर सम्बन्धित घरधनीले बुझाउनु पर्नेमा घरधनीहरुले त्यतातर्फ ध्यान दिइएको पाइँदैन ।

वीरेन्द्रनगर नगरपालिका भित्र भएका कति प्रतिशत घर धनीहरुले घर बहाल कर बुझाउँछन् भन्ने एकिन तथ्याँङ्क आन्तरिक राजश्व सेवा कार्यालय सुर्खेतमा नभएपनि समग्रमा सुर्खेत जिल्ला भित्रका १ हजार १ सय १७ जना करदाताहरुले चालु आ.व. मा बहाल कर तिरेको आन्तरिक राजश्व सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी दुर्गा कुमारी थापाले जानकारी दिए ।

नियमानुसार घर बहाल कर घरधनीले घर बहाल आय वापत तिनु पर्ने भएपनि आयकर ऐन २०५८ को दफा ८८ को खण्ड ५ बमोजिम घर बहाल रकम घर बहाल दिने व्यक्तिले घरधनीलाई दिनु पर्ने कुल रकममा १० प्रतिशत स्रोतमा कर कट्टी गरि उक्त १० प्रतिशत बहालकर रकम घर बहालमा लिने व्यक्तिले सम्बन्धित कर कार्यालयमा गई बुझाउनु पर्ने र उक्त बहाल कर रकम बुझाएको प्रमाण घर बहालमा लिने व्यक्तिले घर धनीलाई दिनु पर्ने प्रावधान रहेको आन्तरिक राजश्व सेवा कार्यालय सुर्खेतका सूचना अधिकारीले बताए ।

त्यसैगरी चालु आ.व. को जेठ मसान्तसम्ममा घर बहाल कर वापत जम्मा रु. ९१ लाख ७ हजार ६ सय ३६ रुपैयाँ १८ पैसा संकलन भएको समेत करदाता सेवा कार्यालयले जनाएको छ । यो चालु आ.व. को जेठ मसान्त लाई आधार मान्ने हो भने गत आ.व. भन्दा चालु आ.व. मा घर बहाल कर वापत ७.५७ प्रतिशतले बढि कर संकलन भएको हो । चालु आ.व. मा संकलन भएको जम्मा कर मध्ये घर बहाल कर यस कार्यालयमा उठेको करको ३.१७ प्रतिशत मात्र हो ।

सुर्खेतमा घर भएपनि स्थायी रुपमा २५ प्रतिशत घरधनीहरु सुर्खेत बाहिर बस्ने भएकोले पनि घरधनीहरुले बहाल कर तिर्ने तर्फ चासो नदिएको बुझिएको छ । उनीहरुले मनोमानी घरभाडा (बहाल) बढाउने गरेकाले आफूहरु मर्कामा परेको व्यावसायिहरु बताउँदै आएका छन् । वीरेन्द्रनगर मुख्य बजारमा खुद्रा व्यासाय गर्दै आएका हरि कठायत भन्छन् – अरु कुनै मान्छे आएर बढि भाडा दिन्छौ भनेको खण्डमा उनीहरुले एक हप्ताको समयमा दिएर कोठा खाली गर्न उर्दि जारी गर्दछन् । किनकी घरधनीहरु भाडाको सम्बन्धमा बलियो सम्झौता गर्न मान्दैनन् जसले गर्दा हामीलाई अप्ठ्यारो पर्छ ।