Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

हाम्रो संस्कृतिको संरक्षण हामी आफैले गर्नुपर्छ : थापा

जाजरकोट जिल्लाको दशेरा गाउँ विकास समिति वडा नं. २ मा आज भन्दा ४४ वर्ष अगाडि माता चन्द्रकला र पिता मोतिलाल थापाको तेस्रो सन्तानको रुपमा सामान्य परिवारमा जन्मनु भएको हो भक्तबहादुर थापा । अलि ढिलो गरी औपचारिक शिक्षामा लाग्नु भएका थापा पारिवारिक समस्याका कारण घर व्यवहारमा भने सानै उमेरदेखि लाग्नु भएको हो । आफूसँग भएको प्रतिभालाई तुरुन्तै प्रस्फूटन गर्न तयार हुने थापा पछिल्लो समयमा सुर्खेतलाई कर्मथलो बनाइ विभिन्न संघसंस्थाहरुमा आवद्ध समेत हुनुहुन्छ । विशेष गरी कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासका लागि सबैले आ–आफ्नो क्षेत्र, तह र तप्काबाट लागि पर्नु पर्ने विचारमा अडिग रहने थापाले सुर्खेतको इतिहासमै पहिलो दोहोरी साँझ काँक्रेविहार दोहोरी साँझको संचालन गरेर मोफसलमा रहेका कलाकारहरुलाई मञ्च दिने मात्र नभई रोजगारीको अवसर समेत सिर्जना गर्ने काम गर्नु भएको छ । कला, संस्कृति संरक्षण प्रतिष्ठान सुर्खेतको अध्यक्ष पदमा रहेर कला, र संस्कृति जगेर्ना गर्नका लागि दत्तचित्त भएर लाग्नुभएका भक्तबहादुर थापासँग कला र संस्कृतिकै पेरीफेरीमा रहेर खगेन्द्र अधिकारीले गरेको भलाकुसारी :

कला संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने भावनाको विकास कसरी भयो ?
मध्यपश्चिम क्षेत्र नै कला र संस्कृतिको धनी क्षेत्र हो । त्यसमा पनि जाजरकोट कला र संस्कृतिको लागि विशेष जिल्लाको रुपमा हेरिन्छ । जाजरकोटमा लाग्ने विभिन्न जात्रा मेला एवम् चाडपर्वहरुदेखि लिएर सामाजिक वा व्यक्तिगत उत्सव समारोहमा समेत यहाँको कला र संस्कृतिले सुनमा सुगन्ध थप्ने गरेको छ । एउटा विवाहमा होस् वा ब्रतबन्धमा होस् या दशैंको बेलामा होस् या तिहारमा । विशेष गरी देउडा गाउने र विभिन्न खेलहरु खेल्ने गरिन्छ । गर्रा नाचदेखि सिंगारु, पैसेरी नाचहरु यहाँका प्रसिद्ध नाचहरु हुन भने महिला–महिला र महिला पुरुष भएर खेलिने देउडा दोहोरीहरु विभिन्न लय र भाकामा प्रस्तुत हुने गर्दछन् । म ती सबैसँग प्रभावित भएँ । पछिल्लो समयमा जब बसाईको क्रममा म सुर्खेतमा आए । शुरुका दिनहरुमा मलाई दशैं तिहार तथा पर्वहरु खल्लो लाग्ने गर्दथे । किनकी जाजरकोटमा दशैंको दिन टीकाको नगरा बजाई सकेपछि मात्र टीका लगाउने चलन छ । यहाँ त्यस्तो केही भेटिन । अनि दशैं आएको हो कि होइन जस्तो लाग्न थाल्यो । तिहार पनि आए नआएको पत्तो नभएको जस्तो लाग्थ्यो । तर यहाँ जुन द्यौसी भैली खेल्ने चलन छ त्यसले तिहारलाई थोरै भएपनि रमाइलो बनाउने काम भने गरेकै हो । त्यसैले मैले हाम्रो संस्कृतिको महत्व सबैलाई बुझाउनु पर्छ भन्ने ठाने र त्यसको संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा जुटेको हुँ ।

सुर्खेतमा कला र संस्कृतिको लागि तपाइँले गरेका कार्यहरु के के हुन् ?
मैले शुरुमै मध्यपश्चिमको कुरा उठाएँ । मध्यपश्चिमको सबै भन्दा विकसित भएको स्थानको रुपमा सुर्खेत चिनिन्छ । कर्णालीको प्रवेशद्वारको रुपमा समेत चिनिने सुर्खेतले कर्णालीमा भएको कला र संस्कृतिलाई चिन्न सकेको जस्तो मलाई लाग्दैन । कर्णालीलाई भजाइ खाने भाँडोको रुपमा प्रयोग गरिएको छ । कर्णालीको लागि गर्नु पर्ने न त स्थानीयस्तरबाट केही भएको छ न त सरकारबाट नै । यस क्षेत्रमा भएका स्रष्टा सर्जकहरु राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित छन् । तर सिंगो कर्णालीदेखि सुर्खेत, दैलेख, जाजरकोटमा भएका संस्कृति र कलाकारितालाई जोगाइराख्नका लागि व्यक्तिगतदेखि संस्थागत रुपमै केही गर्नु पर्छ भन्ने योजनाका साथ कला र संस्कृतिको संरक्षण गर्नकै लागि यसै क्षेत्रमा काम गर्ने योजनाका साथ संस्था समेत दर्ता गरेर काम गरिरहेका छौ ।

तपाइँले सुर्खेतमा पहिलो रोधीघरको रुपमा दोहोरी साँझ समेत संचालन गर्नु भएको छ । वास्तवमा यसको लक्ष्य र उद्देश्य र व्यापार नै होइन र ?
हो, यो व्यापार हो । मैले व्यक्तिगत रुपमा लगानी गरेपछि त्यसबाट आउने प्रतिफलको आशा गर्नु स्वभाविक छ । तर त्यो कस्तो खालको व्यापार हो भन्ने चाँही स्पष्ट हुन आवश्यक छ । किनकी एउटा लेखकले एउटा उपन्यास लेख्छ । त्यो लेखकले त्यो उपन्यासको लेखनदेखि प्रकाशनसम्म आइपुग्दा आर्थिक देखि बौद्धिक लगानी कति गरेको हुन्छ । अनि उसले त्यो किताब निःशुल्क त बाँड्न सक्दैन नि । हो त्यस्तै मैले रोधीघरको संचालन गर्दा जुन लगानी गरेको छु त्यसको प्रतिफलको आशा पनि गर्छु तर रोधीघरको संचालनले यस क्षेत्रमा भएका कलाकारहरुले मञ्च पाएका छन् । उनीहरुले आफ्नो कला र गलामा निखार ल्याउने स्थान पाएका छन् । अर्कोतिर केवल पैसा कमाउने योजना मात्र नभई यस क्षेत्रमा भएका कला र कलाकारहरुको संरक्षण गर्नु पनि दोहोरी साँझको उद्देश्य हो ।

दोहोरी साँझ संचालन गर्न के कस्ता चुनौतिहरु छन् नि ?
कुनै पनि कामको पहिलो शुरुवात चुनौतिबाटै हुन्छ । त्यसमा पनि दोहोरी साँझको जुन कुरा छ त्यो त अझैँ धेरै चुनौति मोल्नु पर्ने काम हो । किनकी पहिलो कुरा त त्यसको व्यवस्थापनको चुनौति छ । त्यसपछि भने अनुसारका कलाकारहरु पाउन गारो छ । जसरी हुन्छ कलाकारको पनि व्यवस्थापन भएपछि दर्शक पाउन झन गारो छ । किनभने रोधी साँझको समयमा संचालन हुने भएकोले संचालकदेखि कलाकार र दर्शकहरुलाई समेत चुनौति छन् । तर सुर्खेतमा छिटफुट बाहेक त्यस्ता उछुङ्खल कार्य गर्नेहरुको जमात नभएकोले पनि हामीलाई केही सहज भएको छ । काठमाडाँैमा जस्तो प्रत्येक दिन फरक फरक कलाकारहरुको व्यवस्था गर्न नसके पनि हामीसँग उपलब्ध भएकै कलाकारहरुबाट फरक फरक प्रस्तुती दिएर भएपनि दर्शकहरुलाई सन्तुष्टि दिन सकेका छौ । जसको कारणले गर्दा यसले निरन्तरता पाइरहेको छ ।

काठमाडाँैमा दोहोरी संचालकहरुले दैनिक देखि हप्ता सम्म बुझाउनु पर्छ रे सुर्खेतमा पनि त्यस्तो प्रथाको शुरुवात गरिसक्नु भयो कि ?
अरु ठाउँ र सुर्खेतमा यही फरक छ । सुर्खेतीहरु अझ भनौँ मध्यपश्चिमबासीहरु कला र संस्कृति प्रेमी छन् । केवल मनोरञ्जनका लागि मात्र नभई यस क्षेत्रको कला र संस्कृतिको विकासको लागि पनि दोहोरी साँझको स्थापना भएको हो भन्ने कुरालाई दोहोरी साँझमा पाल्नु हुने आगन्तुकहरुले राम्रोसँग बुझ्नु भएको छ भन्ने मैले ठानेको छु । त्यसैले पनि दोहोरी साँझ संचालन गरे वापत तपाइँले भने झैँ हामीले कसैलाई दैनिक वा हप्तामा कुनै पनि आर्थिक एवम् भौतिक उपलब्ध गराएका छैनौ र गराउने पनि छैनौ । किनकी एकातिर यो व्यापार हो भने अर्कोतिर कला संस्कृतिको जगेर्ना पनि । हप्ता त गलत काम गर्नेहरुले बुझाउँछन् होला । सही काम गरेका छौ कानून सम्मत अघि बढेका छौ भने किन बुझाउँने हप्ता ?

तपाइँ कला संस्कृतिको संरक्षणको कार्यमा लाग्नु भएको छ । सरकारी निकायहरुबाट कत्तिको सहयोग पाइराख्नु भएको छ ?
कला र संस्कृति भनेका हाम्रा धरोहर हुन । कलाकार भनेका राष्ट्रका गहना हुन् । यिनको संरक्षण गर्नु भनेको देशको पहिचानलाई संरक्षण गर्नु हो । देशको पहिचान जोगिनु भनेको अन्य राष्ट्रहरुको अगाडि शिर ठाडो पारेर हिड्न सक्नु हो । अन्य देशहरुमा त्यहाँको सरकारी निकायले कलाकारको, साहित्यकारको, अनुसन्धानकर्ताको जिम्मा लिएको हुन्छ । हाम्रो देशमा संस्कृति जगेर्ना गर्ने नाममा थुप्रै संघसंस्था स्थापना भएका छन् चाहे ति सरकारी निकायको तर्फबाट हुन् वा गैरसरकारी निकायको तर्फबाट । तर सबै काम कागजमा सिमित राख्ने र भाषणमा मात्र प्रस्फूटन गर्ने भएकोले यसको संरक्षण, विकास र विस्तार हुन नसकेको हो । यो ज्यादै दुःखको कुरा हो । अब देश संघीयतामा गइसकेको र स्थानीय तहको निर्वाचन समेत सम्पन्न भइसकेकोले स्थानीय सरकारले यस क्षेत्रमा विशेष ध्यान दिएर लाग्न जरुरी छ । स्थानीयस्तरमा भएका कला, संस्कृतिलाई राष्ट्रियस्तरमा पु¥याई अन्तराष्ट्रिय क्षेत्रमा समेत यसको महत्वलाई बुझाउनको लागि स्थानीय सरकारले पाइला चाल्ने बेला आइसकेको छ । किनकी सिंहदरबारले जाजरकोटका विभिन्न देउडाका विभिन्न भाकाहरुलाई सुन्न सकेन । दैलेख, सुर्खेत, जाजरकोट लगायत कर्णालीमा नाचिने विभिन्न नाचहरुमा सिंहदरबारको नजर पुगेन । बीस वर्षदेखि स्थानीय तह प्रतिनिधि विहिन थियो । अब यहाँका जनप्रतिनिधिहरु यहाँको कला र संस्कृतिसँग परिचित हुनुहुन्छ । त्यसैले पनि यसको संरक्षण, सम्बद्र्धन र विकास हुने कुरामा आशा नै मार्नु हुँदैन ।

तपाइँ सहकारीदेखि विभिन्न संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । अझ व्यापारिक दृष्टिकोणले भन्ने हो भने पनि निकै व्यस्त मान्छे कसरी मिलाउनु भएको छ समय ।
संघसंस्था चलाउनका लागि समय दिनै पर्छ । सबै भन्दा बलवान भनेको त समय नै हो । कुन समयमा के काम गर्ने भन्ने योजनाका साथ लाग्नु पर्छ । योजना अनुसार समयको व्यवस्थापन गर्न सकेको खण्डमा खासै गाह्रो पर्दैन । हो, म आफ्नो व्यवसायमा अलि बढि व्यस्त हुनुपर्छ । तर पनि आफ्नो रुचि, लक्ष्य र उद्देश्य भएका कारणले पनि कला संस्कृति संरक्षण प्रतिष्ठानलाई विशेष समय दिएर काम गरिरहेको छु । संस्थागत रुपमा काम गर्दा समूह पनि हुने भएकोले खासै समयको कारणले समस्या परेको छैन ।

अन्तमा के भन्न चाहानुहुन्छ ?
कला संस्कृतिको जगेर्ना हुन नसकेन भने भविष्यमा हाम्रो पहिचान नै मेटिन सक्छ । त्यसैले सबै तह र तप्कामा भएकाहरुले आ–आफ्नो क्षेत्रबाट यस क्षेत्रमा विशेष योगदान गर्न सबैलाई आग्रह गर्दछु । जो सँग कला छ उसले बाहिर निस्कने बाटो नपाएको हुनसक्छ । राम्रो प्रतिभा भएकाहरु नेपालको गाउँ गाउँमा पनि छन् । केवल राजधानीमा बस्दैमा मात्र सबै पूरा हुने वा सबै दक्ष हुने होइन । मोफसलमा रहेर पनि देशको इज्जत राख्ने र स्वाभिमानको शिर ठाडो पार्ने काम गर्न सकिन्छ । त्यसैले कला र संस्कृतिको जगेर्ना गर्न आफूसँग भएको कला प्रस्फूटन गर्न कलाकार आफैपनि जागरुक हुनु पर्छ । हाम्रो संस्कृतिको संरक्षण हामी आफैले गर्नुपर्छ । मैले अघि नै भने कला क्षेत्रमा काम गर्नेहरु देशका गहना हुन । जसरी गहनाले एउटा शरिरलाई सुन्दर देखाउँछ त्यसरी कलाकारहरुले देश सुन्दर बनाउने काम गरेका छन् । त्यसैले यिनीहरुको संरक्षण र सम्बद्र्धन हुन जरुरी छ ।

काँक्रेविहार दैनिक