दैलेख र दैलेखका काँग्रेसीहरु
पञ्चकोशीको पुण्यभूमिको रुपमा र देवलोकको रुपमा चिनिदैँ आएको जिल्ला हो दैलेख । दैलेखको दूल्लु राज्य र दैलेख गौडाले बाइसे चौबिसे राज्य रहेका बेलामा पनि निकै चर्चा पाएको थियो । इतिहासको पाना पल्टाउने हो भने राणाहरुले दैलेखलाई जत्ति नजिकबाट नियालेका थिए त्यत्ति अहिलेको गणतन्त्रका नेताहरुको नजर पुग्न सकेको छैन । त्यसैको कारण दैलेख भौगोलिक विकासबाट टुहुरो बनेको छ भन्दा अतियुक्ति नहोला ।
२००७ सालमा प्रजातन्त्रको स्थापना हुनुभन्दा अगाडि दैलेखको गौडामा बोरामा हालेर ज्यान गुमाएकाहरु र मृत्यूदण्ड बराबरको यातना पाउनेहरु अहिले दैलेखमा जिउदो इतिहासको रुपमा कोही छैनन् । तत्कालिन राणा शासनले मायाराम रेग्मीलाई दिएको मृत्युदण्डबाट डराएकाहरु तर प्रजातन्त्रको हिमायतीहरु प्राणको रक्षा गरेर घर फर्केर पनि राणाहरुको विरुद्धमा बोल्न छोडेनन् । कालु खत्री, मोतिलाल अधिकारी, रतन कामी लगायतका व्यक्तिहरु अहिले भौतिक रुपमा यो संसारमा नभएपनि उनीहरुले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदान स्रहानिय भएपनि दैलेखका काँग्रेस मात्र होइन नेपाली काँग्रेसले समेत सम्मान गर्न सकेको छैन ।
भनिन्छ, नेपालमा सतिको सराप परेको छ । सायद राम्रो गर्नेहरुलाई कसैले सम्झना सम्म गर्दैनन् । आजको गणतन्त्रमा गाडि दुर्घटनामा ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गर्ने सरकारले मायाराम रेग्मीलाई शहिदको रुपमा एउटा शालिकको निर्माण गर्न सकेको छैन । यो भन्दा लज्जास्पद कुरा अरु के होला र दैलेखी नेताहरुको लागि ।
नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भइसकेपछि २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट संसदको उम्मेदवार बनेका गणेश बहादुर खड्काले पहिलो पटक सिंहदरबारको भत्ता चाख्ने अवसर प्राप्त गरेका थिए । दैलेखी जनताले दैलेखको विकास गर्नका लागि उनलाई संसद बनाएर पठाएका थिए । उनी दैलेखको विकासको सट्टा आफ्नो र आफ्नाहरुको विकास गर्ने कार्यमा निक्कै खटेर लागे । जसको फलस्वरुप २०४८ सालदेखि पछि भएका संसदीय निर्वाचन देखि संविधान सभाको निर्वाचन समेतमा दैलेखमा काँग्रेसको तर्फबाट अरु कसैले टिकट पाउन सकेनन् । पार्टीको केन्द्रिय नेतृत्वको चाकडि गरेर जिते पनि हारे पनि टिकट आफू बाहेक अरुलाई दिनु हुँदैन भन्ने राजनीतिको पाठ राम्रोसँग सिकेका गणेश बहादुर खड्का दैलेखमा आफूलाई काँग्रेसको विपी नै हुँ भन्ने ठान्छन् ।
संविधान सभाको दोस्रो निर्वाचनमा पराजित हुनु उनले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रिझाउन नसक्नु एकातिर हो भने अर्कोतिर गुटबन्दीको राजनीतिमा लागेर दैलेख सदरमुकाम बाहिरका नेताहरुलाई स्थापित हुन नदिने खेल नै हो ।
संगठन विस्तारको नाममा निर्वाचनको बेलामा भाषण गर्ने बाहेक अरुबेलामा माखो नमार्ने भएकोले पनि उनले दोस्रो संविधान सभाको निर्वाचनमा हार व्यहोर्नु परेको हो ।
जनप्रतिनिधिको रुपमा चयन हुनुपर्ने निर्वाचनमा हार जितलाई सहजै स्वीकार गर्नु पर्ने भएपनि पार्टी भित्रको आन्तरिक निर्वाचन र पार्टीका पदहरुमा समेत एक रुपता ल्याउन नसक्नु गणेश बहादुर खड्काको ठूलो कमजोरी हिजोका दिनदेखि नै देखिन्छ ।
पछिल्लो जिल्ला अधिवेशनमा कृष्ण कुमार बिसीले पार्टी सभापति हुने अवसर प्राप्त गरे । जब गणेश बहादुर खड्काको पछौटे भएर हिड्न शुरु गरे त्यसदिन देखि कृष्ण कुमार बिसीको पनि पार्टी भित्रको आन्तरिक राजनीति असफल हुँदै गएको स्पष्ट भएको छ । त्यसैले परिणाम हो – कृष्ण कुमार बिसीको आफ्नै वडामा भरखरै सम्पन्न भएको निर्वाचनमा हार व्यहोर्नु परेको ।
पार्टी सभापति भइसकेपछि संगठन विस्तारमा लाग्नु पर्नेमा स्थानीय निर्वाचनको बेलामा आफ्नालाई टिकट बाँड्ने प्रबृतिबाट कृष्ण कुमार बिसी पनि अछुतो रहन सकेनन् । पार्टी भित्रको आन्तरिक गुट र उपगुटको राजनीतिमा लागेको खण्डमा त्यस क्षेत्र र भेकमा कुनै पनि हालतमा पार्टीले जितको स्वाद चाख्न पाउँदैन भन्ने हेक्का नराख्नेहरुको कारणले गर्दा दैलेखको काँग्रेस ध्वस्त भएको हो ।
पंक्तिकारले यी पंक्तिहरु लेखिरहेको बेलामा दैलेखको काँग्रेस पार्टी कार्यालयमा ताला लागेको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका रेशम सुनारले पार्टी कार्यालयमा ताला लगाउँदै गरेको फोटो खिच्दा गौरवान्वित महसुस गरेका छन् । महाधिवेशन प्रतिनिधिले जिल्लामा भएको पार्टी भित्रको आन्तरिक विवाद मिलाउने हो कि पार्टी कार्यालयमा ताला लगाउने हो ।
कृष्ण कुमार विसीले गल्ती गरेका होलान् । उनले गरेका गल्तीहरुलाई पार्टीका उपल्लो समितिहरुमा राखेर उनलाई सभापतिबाट मात्र होइन पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गर्न सक्नु पथ्र्यो । तर हिजो गुटको राजनीति गर्दा समेत उनलाई पार्टी सभापतिबाट हराउन नसकेका कारण आज त्यसको प्रतिशोध लिनका लागि त्यो गरिएको हो भने कृष्ण कुमार बिसीको राजनीतिलाई होइन दैलेखमा काँग्रेस सिध्याउने खेल खेलिदैछ भन्ने सोझा काँग्रेसीहरुले बुझ्नु आवश्यक छ ।
दैलेखमा काँग्रेसको संगठन कमजोर भएर निर्वाचन हारिएका होइनन् । नेताहरुको दुरुदर्शीता र संगठनलाई सवल र सक्षम रुपमा राख्न नसक्ने क्षमता नभएका कारण दैलेखमा काँग्रेस पलायनको बाटोमा अघि बढेको हो । जनतालाई केवल भोटब्याङ्कको रुपमा मात्र सम्झने र आफूहरु व्यक्तिगत फाइदाको लागि गुटको राजनीति गरेमा त्यसको परिणाम यस्तै हुन्छ ।
अबका दिनमा दैलेखमा साँच्चिकै काँग्रेसीहरुले राजनीति गर्ने हो भने कृष्ण कुमार बिसी भन्दा अगाडिका नेताहरुलाई पाखा लगाएर युवाको नेतृत्वमा पार्टी संचालन गर्नुपर्छ । अन्यथा दैलेखी जनताको भोटबाट गणेश बहादुर खड्काले मन्त्री बनेर जो स्यालुट पाए अरुहरुले त्यसलाई इतिहासका पानामा राखेर घुटुघुटु थुक निल्नु बाहेक अरु विकल्प छैन ।





