महिलाको आङ खस्ने रोग जटिल समस्या बन्दै
न्यूनिकरणका लागि स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया
२४ श्रावण २०७४
सुर्खेत ।
महिला, किशोरी तथा बाल अधिकार कार्यक्रम (केड), सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) र दलित महिला चेतना केन्द्र (ड्वाक) को आयोजनामा कार्यक्षेत्रका जनप्रतिनिधिहरुसँग ‘आङ (पाठेघर) खस्ने सवाल तथा प्रजनन् अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा तीनवटा संस्थाहरुले साझेदारी रुपमा सुर्खेत, दैलेख र जाजरकोटमा केही स्थानहरुको छनोट गरेर आङ खस्ने सवाल तथा प्रजनन् अधिकार सम्बन्धि कार्यक्रम संचालन गरिरहेका छन् । उक्त क्षेत्रमा महिलाहरुमा जटिल समस्याको रुपमा रहेको आङ खस्ने समस्या र प्रजनन् अधिकारसँग सम्बन्धित कार्यक्रम संचालन गरेर के कस्ता चुनौतिहरु छन्, के कस्ता उपलब्धिहरु भइरहेका छन् र अबका दिनहरुमा कसरी कार्यक्रम संचालन गर्नुपर्छ र त्यसमा स्थानीय तहको भूमिका के रहने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले आ–आफ्नो स्थानबाट आङ खस्ने समस्या समाधानका लागि गर्नु पर्ने कार्यहरु गर्ने बताएका छन् । उनीहरुले आयोजकसँग यो कार्यक्रम सिमित क्षेत्रमा मात्र संचालन नगरी यो समस्या सम्पूर्ण दिदीबहिनीहरुमा भएको वा हुन सक्ने भएकोले व्यापाक रुपमा लागु गर्न अनुरोध गरेका छन् ।

नेपालमा महिलाहरुको आङ खस्ने समस्याले २७ प्रतिशत महिलामा यो समस्या रहेको तथ्याँङ्क सार्वजनिक भएको छ । जिल्लागत रुपमा कुनै जिल्लामा २० प्रतिशत, कुनैमा २५ र कुनैमा ३९ प्रतिशतसम्म यो समस्या रहेको भएपनि सुर्खेतमा २६ देखि ३२ प्रतिशत महिलाहरुमा यो समस्या देखा परेको छ ।
आखिर के कारणले खस्छ त महिलाको आङ ?
विशेष गरी दुई प्रमुख कारणले महिलाको आङ खस्ने समस्या देखा पर्ने गरेको छ । चिकित्सासँग सम्बन्धित कारणमा एस्ट्रोजन हर्मोनको कमीबाट आङ खस्छ भने अर्को कारणको रुपमा गरिबीसँगै जोडिएको महिला माथि हुने भेदभाव, हानीकारक परम्परागत चलन र पितृसतात्मक समाजले बनाएका सामाजिक मान्यताहरु रहेको पाइएको छ । जस अन्तर्गत सानो उमेरमा बच्चा पाउनु, सुत्केरी हुँदा तालिम प्राप्त स्वास्थ्यकमीृबाट बच्चा नपाउनु, गर्भवती तथा सुत्केरी हुँदा राम्रो स्याहार, पोषिलो खाना र प्रयाप्त आराम नपाउनु, गर्भवती तथा सुत्केरी हुँदा गह्रौ भारी उचाल्ने, बोक्ने वा बल पर्ने काम गर्नु, सुत्केरी भएको १–२ महिना भित्रै यौन सम्पर्क गर्नु, छोराको आशमा धेरै सन्तान र थोरै जन्मान्तरमा बच्चा पाउनु, चुलोको धुँवा र चुरोटको कारणले बारम्बार खोकी लागिरहनु एवम् यौनी, मलद्वारको सरसफाइ राम्ररी नगर्नु लगायतका कारणहरु रहेका छन् ।

नेपालको भौगोलिक बनावट अनुसार हिमाल, पहाड तथा तराई जुनसुकै स्थानमा बसोबार गर्ने महिलाहरुमा यो समस्या देखा पर्दछ । गरिबी धेरै भएको कारणले शारीरिक रुपमा धेरै परिश्रम गर्ने महिलाहरु, शोषित एवम् अपहेलित महिलाहरु र शिक्षा एवम् स्वास्थ्य चेतनाको कमी भएका महिलाहरुमा यो समस्या चर्को रुपमा देखा पर्ने गरेको आयोजक संस्थाहरुले जनाएका छन् ।
पाठेघर नरम र लचिलो मांशपेसीले बनेको थैली भएका कारण गर्भमा बच्चा बसेदेखि नजन्मनेबेलासम्म यसलाई तन्तुले अड्याएको हुन्छ । तर त्यो तन्तुमा दवाब परेपछि विस्तारै आफ्नो ठाउँ छोडेर खस्न थाल्छ । अनि पछि यो यौनीको मुख हुँदै बाहिर आउने गर्दछ । महिलाहरुको आङ तीन चरणमा खस्ने र पहिलो चरणमा आफ्नो स्थान छोडेर अलि तल आउने, दोस्रो चरणमा यौनीको मुखसम्म आउने र तेस्रो चरणमा यौनी बाहिर नै आउने गर्दछ । यौनी बाहिर नै आएपछि शल्यक्रिया गर्नु पर्ने अवस्थाको सिर्जना हुन्छ ।
आङ खसेका महिलाहरुलाई पहिलो र दोस्रो चरणसम्म रिङ पेसनरी राखेर उपचार गर्न सकिने सम्बन्धित सरोकारवालाहरुले बताएका छन् भने तेस्रो र चौथो चरणमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
महिलाहरुमा यस्तो समस्या आउन नदिनका लागि बालविवाह गर्न नहुने, सानै उमेरमा बच्चा जन्माउन नहुने, गर्भवति एवम् सुत्केरी अवस्थामा कडा काम गर्न नुहुने, खानपानमा समेत विशेष ध्यान दिनु पर्ने हुन्छ ।






