Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

निर्णय कार्यान्वयन नभएको शहिद परिवारको गुनासो

शहिदको सम्झनामा स्मृति प्रतिष्ठान

सुर्खेत ।
आकाशमा कालो बादल मडारिरहेको थियो । सुर्खेत जिल्ला समन्वय समितिको सभा हलमा नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ ग्रहणमा व्यस्त थिए । कतिबेला सपथ ग्रहणको कार्यक्रम सकिएला र छैठौ प्रदेशको स्थापनाका लागि प्राणको बलिदानी दिने शहिदहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरौला भनेर शहिद परिवारका आफन्तहरु आत्तिएका थिए । चार दिन अगाडि शहिद स्मृति दिवसको कार्यक्रम गर्नका लागि रिजर्ब गरिएको जिल्ला समन्वय समितिको सभाहल जिल्ला समन्वय समितिको निर्वाचन पछि निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएकोले तोकिएको समयमा शहिद स्मृति दिवसको कार्यक्रमको लागि दिन नसकिने जिल्ला समन्वय समितिले बताएपछि शहिद परिवार निराश बनेका थिए । तर सपथ ग्रहणको कार्यक्रम समपन्न भएपश्चात हल प्रयोग गर्न सकिने आश्वासन पाएपछि केही सान्त्वना पाएका थिए शहिद परिवारले । शहिद स्मृति दिवसको रुपमा एक औपचारिक कार्यक्रमको गरेको थियो, प्रस्तावित शहिद याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतले ।

 

आज भन्दा २ वर्ष अगाडि आजकै दिन प्रहरीको गोली लागेर सुर्खेतका याम बिसी, गोपालसिंह रजवार र टीकाराम गौतम तथा जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए । जुम्लाका हरिबहादुर कुँवरको उपचारको क्रममा ज्यान गएको थियो । सुर्खेत स्थित राजनीतिक दल एवम् सरकारी निकायले शहिदको सम्झनामा स्मृति प्रतिष्ठान समेत स्थापना नगरिदिएपछि शहिद परिवारकै तर्फबाट याम बिसी स्मृति प्रतिष्ठानको स्थापना गर्न लागेको र त्यसको लागि प्रक्रिया समेत अगाडि बढिसकेको शहिद याम बिसीकी बहिनी एवम् याम बिसी स्मृति प्रतिष्ठानकी सचिव भगवती बिसीले आफ्नो स्मृति दिवस कार्यक्रममा स्वागत मन्तव्यमा बताइरहेका बेला सुर्खेत स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु उनको अनुहारमा टुलुटुलु हेरिरहेका थिए भने शहिदका आफन्तहरुका आँखामा आँसु टिलपिल–टिलपिल पारिरहेका थिए ।

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखको रुपमा सपथ लिएको एक घण्टा वित्न नपाउँदै शहिद स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथिको रुपमा आशन ग्रहण गर्न पुगेका छविलाल सिग्देल सबैका कुरा चाख लाग्दो ढंगले सुनिरहेका थिए ।

शहिद परिवारले प्रत्येक दिन सम्झने आफ्ना आफन्तहरुलाई प्रदेश नं. ६ का सरोकारवाला निकायहरु र राजनीतिक दलहरुले वर्षको एक दिन त्यो पनि औपचारिक रुपमा सम्झना नसकेकोमा दुखेसो पोखेका थिए शहिद टीकाराम गौतमका छोरा अमृत गौतमले ।

शहिद गोपालसिंह रजवारका छोराले त औपचारिक कार्यक्रममा बोल्नै सकेनन् । प्रस्तावित याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् शहिद याम विसीका पिता शेरबहादुर बिसी औपचारिक कार्यक्रमको समापन गर्नका लागि मञ्चमा पुगे तब उनको मन भक्कानिएर आयो । गलामा भएको लबेदाले आँखाको आँसु पुछ्ने कोसिस गरे र नजर डुलाए शहिदका तस्विर तिर । आफन्त गुमाउँदा लागेको घाउमा अहिलेसम्म खाटा बस्न सकेको छैन शहिदका परिवारलाई । छोराको तस्विरमा आँखा अड्याएर पीरलाई मुटुको कुनामा गाँठो पार्दै शहिद स्मृति दिवसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै शहिदहरुको आत्माको चिरशान्तिको कामना गर्दै उनले भने आन्दोलनको बेलामा शहिदले आफ्नो ज्यानको बेवास्ता गरि लडे र प्राण त्यागे तर दुई वर्ष बितिसक्दा पनि उनीहरुको सम्झनामा सम्बन्धित निकायहरुले न एउटा शालिक निर्माण गरे न त आज भन्दा दुई वर्ष अगाडि दिएका आश्वासन नै पुरा गरे ।

छैठौँ प्रदेशका लागि भएको आन्दोलनमा चार जनाको ज्यान गइसकेपछि यहाँका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज र क्षेत्रीय एवम् सुर्खेत उद्योग बाणिज्य संघसँगै शहिद परिवारहरु समेत संलग्न गरि विभिन्न वैठकले विभिन्न निर्णयहरु गरेका थिए । तर दुई वर्ष वितिसक्दा पनि एकाघ निर्णयहरु बाहेक अरु निर्णयहरु कार्यान्वयन नभएको गुनासो शहिद परिवारहरुको छ । त्यतिबेला गरिएका निर्णयहरु अक्षरस पूरा हुन नसक्नु शहिदको अपमान भएको उनीहरु बताउँदै आएका छन् ।

याम बिसी स्मृति प्रतिष्ठानले आयोजना गरेको शहिद स्मृति दिवस कार्यक्रममा बोल्दै सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले शहिद पार्क निर्माणको लाािग आफूले संस्थागत रुपमा गर्नु पर्ने कार्यमा कुनै कसर बाँकी नराखी गर्ने प्रण गरेका छन् । त्यसैगरी जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्सालले शहिदहरुको सपना साकार पार्नका लागि सबैको साथ र सहयोगको आवश्यता रहेको औल्याए ।

कार्यक्रममा विशेष अतिथिको आशनबाट बोल्दै ६ नं. प्रदेश उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले आन्दोलनको समयको स्मरण गर्दै भने – ‘शहिदहरुले देखेको सपना पुरा गर्नका लागि हामीले पहल ग¥यौ र गरेका छौ । राज्यको तर्फबाट उहाँहरु चारै जनालाई शहिद घोषणा गराउन सफल भएका छौ भने आर्थिक रुपमा क्षतिपूर्ति दिलाउन समेत सफल भएका छौ । यसमा राजनीतिक दल लगायत नागरिक समाज र शहिद परिवारको तर्फबाट समेत सहयोग मिलेको छ । केही निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् तर अब स्थानीय तहमा जनप्रतिनिधिहरु आइसकेकोले बाँकी निर्णयहरुको कार्यान्वयन हुनेमा म आशावादी छु ।’ श्रद्धाञ्जली मन्तव्यमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले भनिन् – ’शहिदको बलिदानीले यो प्रदेशको स्थापना भएको छ भने उनीहरुको योगदानका कदर गर्न कसैले कञ्जुस्याँई गर्नु हुँदैन । त्यसका लागि स्थानीय तहको तर्फबाट के गर्नुपर्छ म तयार छु ।’

२०७२ साल श्रावण २६ गते तत्कालिन मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिलाउने, घाइतेहरुको निःशुल्क उपचार गराउने, घटनाको निष्पक्ष छानविन गरी दोषि माथि कारवाही गराउने निर्णय गरेको थियो । त्यसैगरी २०७२ श्रावण ३१ गते शाहीकै अध्यक्षतामा बसेको बैठकले शहिद परिवारलाई रोजगारी र छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क तथा छात्रबृत्तिको निर्णय गरेको थियो । तर अपवाद बाहेक अधिकांश निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् ।
कार्यक्रममा राजनीतिक दलको तर्फबाट राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, एमाओवादी सुर्खेतका संयोजक कृष्ण जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका टोपबहादुर वली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले शहिदलाई मेरो वा तेरो भन्ने नाममा कसैले पनि उपेक्षा गर्न नमिल्ने बताउँदै यो प्रदेश स्थापनाका लागि प्राणको बलिदानी दिन सक्ने महान योद्धाको सम्मान गर्नु पर्ने बताउँदै आफ्नो तर्फबाट गर्नु पर्ने कार्य गर्नका लागि तयार रहेको समेत बताएका  छन् ।

कार्यक्रम याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष शेर बहादुर बिसीको अध्यक्षतामा भएको थियो सहजीकरण उपाध्यक्ष बखत बिसीले गरेका थिए ।